19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाल चिहाइरहेछ दार्जिलिङ

कविता गोपीकृष्ण ढुंगाना पथिक January 7, 2011, 1:49 pm

अधरमा प्रकृति मुस्कान बोकेर

टाइगर हिलबाट सूर्योदय स्वागतमा रम्दै,

अंगप्रत्यंगमा चियाका बुट्यानहरु

अनि शान्त अनुहारमा निर्दोषपन बटुल्दै

नेपाल चिहाइरहेछ दार्जिलिङ ।

देखिन्न दाग कतै, संवेदनशील तर स्नीग्ध

मुटुभरि आत्मविश्वासको पहाड बोकेर,

बिरानो भूमिमा आफ्नै संस्कृतिको दियो बाली

सन्तानका खुसी र सुखलाई काखी च्याप्दै

नेपाल चिहाइरहेछ दार्जिलिङ ।

मातृत्व र भातृत्वमा संसार देख्ने

घोत्लिएर हरपल भाषा र साहित्यमा भुल्दै,

सगरमाथाबाट कोसौं टाढा रहेर पनि

तेञ्जिङ र हिलारीलाई मुटुमा टास्दै

नेपाल चिहाइरहेछ दार्जिलिङ ।

झस्किन्छ, चस्किन्छ अनि पुःन व्युतिन्छ

लाखौंपटक मरिसकेको छ स्वतन्त्रताका लागि,

परम्परा र पहिचानको प्रमाणका लागि

रातदिन अनि दिनरात बर्बराउदै

नेपाल चिहाइरहेछ दार्जिलिङ ।

दुई प्राण एउटै श्वास बाच्ने प्रयासमा

नदीका दुई किनार भए पनि,

पागलपनबाट बौरिदै र भक्कानिदै

अन्ततः क्षितिजमा मिलनको संभावना बोकेर

नेपाल चिहाइरहेछ दार्जिलिङ ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।