व्याकुल पाठक अथकित हिँडिरहेका छन्, ‘प्रख्यात नेपाली कथा’ र ‘चर्चित व्यक्तित्व’ का शृङ्खलाबद्घ कृतिहरू लिएर । व्याकुल व्याकुल छन् पाठक मनलाई व्याकुल पार्न । व्याकुलको त्यही व्याकुलताले निरन्तर नेपाली वाङ्मयको श्रीवृद्घिमा योगदान पु¥याइरहेको छ ।
पुस्तक सम्पादन कठीन कार्य हो । यो कार्य मात्र होइन कला पनि हो, त्यस्तो कला, जसमा समय र ऊर्जा खर्चिनु पर्छ र सम्पादकले प्रशस्त पुस्तकहरू पढेको हुनुपर्छ, साहित्य ज्ञानको ठोस आधार बनाउन । त्यतिमात्र होइन उसमा सिर्जनात्मक प्रक्रियाको बुझाई पनि हुनुपर्छ । व्याकुलमा सबै विशेषता छन्, उनले प्रमाणित गरिसके ।
‘प्रख्यात नेपाली कथा’ (खण्ड ३)मा शैली र विषयवस्तुको विविधता पाइन्छ । गोविन्दबहादुर मल्ल गोठाले, कमला सरुप, मनु ब्राजाकी, रूपा धीरु, नरेन्द्रराज पौडेल, इस्माली, दीपक लोहनी, खगेन्द्र सङ्ग्रौला, ममता शर्मा नेपाल, विजय चालिसे, डा. बेन्जु शर्मा, कनकमणि दीक्षित, हिरण्यकुमारी पाठक, ध्रुव सापकोटा, सुधा त्रिपाठी, चन्द्रप्रसाद भट्टराई, रमेश रञ्जन, रमेश क्षितिज, उज्ज्वल जीसी, डा. विष्णु राई, नारायण तिवारी र इल्या भट्टराईका कथाहरूमा डुबुल्की लगाएपछि पाठकले विषयवस्तु, शैली र प्रवृत्तिलाई समुद्रतलमा जैविक विविधता जस्तै अनुभव गर्दछ । व्याकुल हुन्छ पाठक मन अनि पत्ता लगाउँछ लेखकसम्म पुग्ने द्वारमार्ग, जुन नयाँ लाग्छ । भावनात्मक, संवेदनात्मक जीवन्तता आविर्भाव हुन्छ क्षणक्षणमा ।
समाजको जटिल संरचनामा मान्छेको नियति, मानवीय सम्बन्धको जटिलतालाई संवेदनात्मक अन्र्दृष्टिद्वारा सूक्ष्मतापूर्वक उद्घाटित गरिएका यसभित्रका कथाहरू जसरी जसरी पढ्दै गइन्छ, व्याकुलता पनि सँगसँगै गहिरिँदै जान्छ । पुस्तकका सम्पादक व्याकुलको संवेदनाका तार कथाहरूमा प्रस्तुत यर्थाथ र चरित्रहरूसँग जोडिएका छन् । यस सङ्ग्रह भित्रका कथाहरू पढ्दा लाग्छ समाजलाई व्याकुलले व्यापकताकासाथ र गहिराईमा अनुभूत गरेर कथाहरू छानेका छन् र समाजको ऐना पाठकलाई देखाइदिएका छन् । उनको समृद्घ संवेदना कथाका रूपमा परिणत भएको, गतिमान भएको प्रतीत हुन्छ । ‘प्रख्यात नेपाली कथा’ (खण्ड ३) को कथा कोलाजमा घटना, प्रसङ्ग र विचार समाज र विडम्बनाको गोलाद्र्घमा मौलाएका छन् । सम्पादन कौशल नै हो व्याकुलको, जसले विविध कथाहरूमार्फत् बाहिर रहेको पाठकलाई भित्र र भित्र रहेको पाठकलाई बाहिरतिर मोडिदिन्छ । यो उनको मनोवैज्ञानिक सुझबूझ हो, जसले पाठकलाई बाँधेर मात्र राख्दैन भित्र बाहिर गर्ने तार्किक आधारपनि दिन्छ ।
‘प्रख्यात नेपाली कथा’ (खण्ड ३)मा उठेका अनुभूति, संवेदना, अवलोकनका लहरहरू शान्त छन् र ती वास्तविकताको गोलाद्र्घमा रचिएका छन् । यसभित्रको रचना संसार सीमित नभएर फैलिएको छ । लेखनमा कथनको नयाँ शैलीको पनि प्रयोग भएको छ । कथाहरूमा परिवर्तित जीवनमूल्य, सामाजिक–आर्थिक विडम्बना, मूल्य विघटन र संवेदनहीनताको फलस्वरूप जन्मिएको व्याकुलताको अन्तध्र्वनि बारम्बार सुनिन्छ र त्यही अनुगुञ्जित हुन थाल्छ पाठक मनभित्र । यस सङ्ग्रह भित्रका कथाहरूमा पाइने विषयवस्तुसम्बन्धी विविधता र कथाकारहरूको अनुभवको विस्तार र कल्पनाशीलताले यसलाई विशेष बनाइदिएको छ, जसले नयाँपनको अनुभूति गराउँदछ । सम्पूर्ण पुस्तक नै यस्तो पात्र भएर उभिएको छ, जसभित्र हामी भित्रकै संवेदना छ, अन्तर्विरोधहरू छन्, जुन टाढैबाट चम्किएको देखिन्छ । जुन कुरा कथाकारहरूले कथाका माध्यमले भनिरहेका छन्, त्यो सम्पादक व्याकुलभित्र रहेको डिस्टोपियाप्रतिको असन्तोष हो, सामाजिक जीवन्तताका निम्ति गहिरो छटपटी पनि हो ।
‘आखिर कति निरीह, निम्छरो, शङ्कालु र कुरुप रहेछ मान्छे भन्ने जीव ? पद, प्रतिष्ठा र साधन सम्पन्न सहज जीवन भोग्दाभोग्दै पनि आफैँ भीर खोजेर दाँयाबाँया लाग्न खोज्दो रहेछ । अनि भीरबाट लडेर आफैँ घायल बन्न पुग्दोरहेछ । ’ (एउटा यस्तो दिनः नरेन्द्रराज पौडेल, पृष्ठ ५०)
‘व्यवस्था जति छिटो परिवर्तन हुन सक्दोरहेछ, संस्कार र संस्कृति तुरुन्तै अगाडि बढ्दो रहेनछ । राणाकालदेखिको चाकडी, चुक्ली, चाप्लुसी, शोषण र भ्रष्टाचारको संस्कार जस्ताको तस्तै रहेछ ।’ (यहाँ किन आएको ?ःडा. बेन्जु शर्मा, पृष्ठ १११)
कथाहरू पढ्दै जाँदा कथाकारहरूको सूक्ष्म अवलोकन र त्यसको प्रतिक्रिया स्वरुप उत्पन्न भएको रचनाशीलतामा फैलिएको यथार्थप्रति परिचित हुँदै जान्छ पाठक । यो पुस्तक आफैँमा मानवीय यात्राको जीवन्त चित्र बनेको छ । यो विडम्बना र मूल्य विघटन र संवेदनहीनता बिच मडारिएको बादलपारि हेर्ने प्रयास पनि हो । व्याकुलले नाडी छामेका छन् समाज र त्यसभित्र फैलिएको विडम्बनाको अनि उनी समयको दारुण यथार्थलाई आफ्नो दृष्टिको परिधिमा विडम्बनाहरूलाई जोड्दै समयको जीवन्त साक्ष्य प्रस्तुत गर्दछन् । आम मानिसको दुःख, पीडा तनाव र द्वन्द्वको गहन परीक्षण गरिएका कथाहरू छानेर उनले सामाजिक विद्रुपताको प्रतिरोध गरेका छन् । अनि मानव मनको अन्तर्वृत्ति र आदिम कुनोलाई अनावृत, उद्घाटित गरिएका कथाहरू पाठक माझ ल्याएर आत्ममन्थनको मार्ग प्रशस्त गरेका छन् । सङ्गृहीत कथाहरूको विशेषता हो, परिवेशको वर्णन गर्दै यर्थाथको भित्रसम्म पुगेर बाह्य यथार्थको परीक्षण गर्ने र त्यहीँ त्यस यथार्थबाट प्रभावित व्यक्तिको उहापोह र विवशतालाई पनि संवेगात्मक घनत्वले, गुरुत्वले अनुभूत गराउने । प्रस्तुत सङ्ग्रहमा कथाकारहरूले मान्छेको मनोवृत्ति बुझ्ने संवेगात्मक र वैचारिक अनुभूतिको धरातल प्रदान गरेका छन् । कथाहरूले सरल भाषामा जीवन र जगतका सन्दर्भ, स्थितिहरूमा प्रवेश गरेर मानिसमा त्यसको प्रभावको आकलन मात्र गर्दैनन्, समयगत यथार्थका भित्री तहहरूको शल्यक्रिया गरेर जीवन्त वातावरण पनि बनाउँछन् ।
माथि नै भनि सकिएको छ, ‘प्रख्यात नेपाली कथा’ (खण्ड ३)मा विविध र पृथकधारका कथाहरू पनि छन् । विजय चालिसेको कथा ‘सायद प्रेम मरेको छैन’ विज्ञान कथा हो, जसमा वर्णित कतिपय प्रविधिको प्रगतिलाई हामी नेपालमा नभएपनि विदेशमा अनुभव गर्न सक्छौँ र नेपाल विज्ञान र प्रविधिमा पछाडि परेको मुलुक भएकाले नेपालमा त्यसको अनुभव गर्न सन् २०५० नै हामीले पर्खनुपर्ने हुन सक्छ । कथाले प्रेमको अस्तित्वलाई शाश्वत मानेको छ । यसको सुस्पष्ट शीर्षकसहित प्रेमको शाश्वतताका सन्दर्भमा उठिरहने प्रश्नमा यसले प्रतिविषको कार्य गरेको छ र पुनः निश्चित वा पुनःआश्वस्त गरेको छ । विज्ञान आख्यानको महत्वलाई भविष्यवाणीका दृष्टिले हेर्नु भन्दा पनि आजको युगमा वैज्ञानिक÷प्राविधिक प्रगतिको समाजमा कस्तो प्रभाव पर्नेछ ? प्रविधि आधारित वा केन्द्रित समाजको दशा कस्तो हुनेछ र मानिसको मानसिकतामा त्यसको कस्तो असर पर्नेछ ? यी प्रश्नका विषयमा पनि वर्तमान समाजलाई सतर्क गर्न विज्ञान आख्यानले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विजय चालिसेको कथामा कल्पना र यथार्थ बिच सहज सन्तुलन छ र त्यसलाई कुशलतापूर्वक बुनिएको छ, जसमा बग्दै जाँदा विज्ञान र प्रविधिका कारण प्रेम मरेको ठान्ने पाठकले आफ्नो अविश्वासलाई स्थगित गर्दछ । बाल उपन्यास ‘मङ्गलग्रहमा विज्ञान’ मा उनले बाल मष्तिकलाई कल्पनाशील बनाउने उपक्रम गरेका छन् भने, ‘सायद प्रेम मरेको छैन’ मा उनी पाठकलाई सन् २०५०मा लिएर जान्छन् र घोषणा गर्दछन् त्यतिबेला पनि प्रेम सायद मर्दैन । हो, मर्दैन जबसम्म मनुष्य छ तबसम्म मर्दैन ।
चन्द्रप्रसाद भट्टराईको कथा ‘प्रतीक्षा एउटा नयाँ इतिहास’मा मानवीय संवेदनाको धारा भित्र संरक्षण चेतनालाई खोज्न सकिन्छ । सरिसृपविज्ञ करनबहादुर शाहको ‘आँधो सर्पको खोजी’ पनि वन्यजन्तु संरक्षण चेतनायुक्त संवेदनाले भरिएको कथा सङ्ग्रह हो, जसले मनलाई द्रविभूत गर्ने सामथ्र्य राख्दछ ।
पृथकधारमा रचित अन्य कथाहरू पनि यस पुस्तकमा पढ्न पाउनु नेपाली पाठकका निम्तिपनि एक सम्पूर्ण साहित्यिक अवसर हो ।
‘कृषिप्रधान देशका हामी युवाहरूले अब कृषि मै आधारित व्यवसाय गर्नुपर्छ । अझ मेरो त प्रष्ट धारणा छ—प्राङ्गारिक कुरिलो के तरकारी र जडीबुटी खेतीबाट हामीले परम्परागत खेतीको तुलनामा नसोचेको आम्दानी गर्न सक्छौँ ।’ (मनकी मय्जुः दीपक लोहनी, पृष्ठ ६४)
‘हो, म सबै प्रकारका मासु खान्छु, तर त्यसका साथै तिमी परेवाहरू जे–जे खान्छौ ती सबै थोकपनि खान्छु । यस प्रकार म जस्ता हजारौँ कौवाहरूले पाटन सहरलाई सफा राख्न मद्दत पु¥याएका छन् । हामी भएनौ भने यो सहर दुर्गन्धले भरिएर कोही पनि बस्न नसक्नेहुन्छ ।’(कौवा र सुन्दरी परेवीः कनकमणि दीक्षित, पृष्ठ ११६)
विविधतापूर्ण कथाहरू पाठक माझ ल्याएकोमा व्याकुल पाठकको परिश्रमको प्रशंसा नगर्नु मेरा निम्ति उनी माथि अन्याय हुनेछ । नेपाली साहित्यका अध्येता, शोधार्थी र पाठकले ‘प्रख्यात नेपाली कथा’ (खण्ड ३) पढ्नै पर्ने र सङ्ग्रह गर्नै पर्ने पुस्तक भएको छ ।