14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भन् भगवती !

निबन्ध युवराज नयाँघरे January 13, 2011, 6:14 am

आज चैँ चर्कियो कलह !

यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा ।

आँगन जोडिएको दुई घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा ।

अनेक अड्कलबाजीका शब्दको पालोपहरो छ, छ ।

भगवती र अमरावतीका कुरा सुनिरहेको छु म । सँधैको विपन्न, बिजोग र बेहालमा समयका पाङ्ग्रा गुडाए यिनले । गाउँमा मान्छेको हाहाकार भएर के—के ठानिरहेछन् यी सरल अनुहार !

अर्थ आँफै लगाइरहेछु म ।

‘मलाई त छोरो गएदेखि खाएको अन्न नि माटै चबाए झँै लागिरा छ ! धर्ती फाटेर आफू तल—तल गए झैँ भाकोभाकै छ ! भन् त भगवती, तँलाई कस्तो हुन्छ ?’

कुरो एउटै छ ।

अर्थात् दुबैका छोराहरु पसिना खर्चेर धनको बिटो बोक्न गएका छन् । आशाको मसिनो ध्वनि वरपर जताततै तरङ्गित छ नै ।

अमरावती बोल्छे ।

‘मैले रगतको फाल्साबाट बनाएकी हुँ । पानी खाँदा नि पिरोलिन्छु । अन्न निल्दा नि भुटभुटिन्छु । कुन रात, कुन दिन सारा घर रित्तै !’

भगवतीको उत्तर सुन्छु ।

मरेको लास भगवतीको छोराको सँगी थियो । बाकसमा कोचिएर आएको मुर्दा अमरावतीको छोराको दौँतरी थियो ।

समयका कुइनेटामा प्रश्नका गजबार अब भटाभट देखापरे । सुरक्षित को होला ? को सद्दे आउला ? अथवा सबल अनुहारले यो आँगनमा खित्का छोड्न सक्ला ?

म एउटा कुनाबाट ती दुई विधवाका कुरा सुनिरहेको छु ।

आँखा त छोपुँला तर रगतपच्छे सभ्यताको दृश्य कसरी बिर्सनु ! कान त थुनुँला तर आँसुका आहालका सुँकसँुकाइ कसरी भुल्नु ! ओठ त चूप लगाउँला तर आपट्टे भक्काना कसरी थाम्नु !

‘भन् भगवती ! कत्ति हैरानी खपिरहेकी छस् तैँले ? मेरा घरका बस्तुभाउ सार्ने मान्छे मैले कतैबाट नि पाइनँ । घाँस, कुँडे र सोत्तर नभएपछि पशुले नि हाम्रा लागि मनुष्यत्वको दर्जाबाट तल झार्दो रहेछ । एकदमै तलंंं ! मलाई यतिखेर भैँसीको किलो बनाइदिने एउटा तन्नेरीको खाँचो छ चरम—चरम ।’

अमरावतीको वेगवान बोली छ ।

हरेक अवस्थाले विध्वस्त लाग्छ बस्ती । पहिरो थेग्ने पाखुरा, जँघार रोक्ने जोस र भल थाम्ने आँट नभएको दृश्यमा उभिएको छु म ।

‘मलाई समस्याले जति थिचेको छ । उम्किन मिल्ने सुझावको कुनै एउटा स्वर सुन्न सक्दिनँ म । मैले मेरो भविष्यका हरेक मानाचामल पठाएँ । अब पर्खेर बस्नुको विकल्प छँदै छैन !’

भगवतीको सोझो आवाज सुन्छु ।

गाउँबाट छानिएर गएको पुस्तासँग समयको कुनै व्यवधान ओर्लिएको छैन किञ्चित । जे विपत्ति, जे असहज र जे चौपट भोग्नु प¥यो—बस्तीका सबै खाले हृदयले स्वीकार्नै प¥यो ।

मानिस हुँदाको मूल्य कति—कति !

यो बेला यी सबै अकाल वा खेदशून्य कथा सबै बार्दलीले बोलिरहेकै छन् । यतिखेर चकमन्नतामा मानिसविहीन बुइँगल देखिइरहेकै लाग्छन् ।

‘चाडपर्वले आँखा तर्छन् । कसका निम्ति पकाउनु ? कसलाई भनेर पर्खनु ? अथवा टपरी, बोहोता वा दुनामा परिकारको भाग लगाएर पर्वको अर्थ खोज्नु ? भो, मलाई भताभुङ्ग हुँदै गइरहेको संसार चाँडै सकिए हुन्थ्यो भन्ने लाग्न थालिरा’छ ।’

अमरावतीलाई सुनाई भगवतीले ।

नबोली भएकै छैन दुबैलाई । आखिर सुन्ने र सुनाउने समाजको सबभन्दा शक्तिशाली रुप यिनै दुई अनुहार हुन्—हजार थप्पड खाएका मुजे गाला र भास्सिइरहेका आँखा र उठिरहेको च्युँडोसहितका वृद्घा विधवाहरु ।

कठोरतालाई पाए पगाल्नु हुन्थ्यो !

‘भन् त भगवती ! तेरो छोराले कसको मात्र भाषण सुनेन ? कसको नारा लाएन ? कति हण्डर खाएर कहाँ—कहाँ टाढाका बग्गीखाना र जेलखानामा थुनिनु प¥यो । कुन्दाको कुटाइ र बाघेझप्पुको झम्टाइले कति दिन आलसतालस भयो तेरो छोरो ! तैपनि त्यसले कतै भुइँ कोरेर थाकेन !’

भगवतीको छोराले गाउँमा नयाँ समाजको मौसम छ¥यो । बल्ल जीवन—जीवनजस्तो, ढुकढुकी—ढुकढुकीजस्तो र दृष्टि—दृष्टिजस्तो भएर गतिशील भएको ठानेथे सबैले ।

विस्थापित एक पटक फेरि भयो त्यो नयाँ सोच ।

‘हो, खेतमा खेती गरौँ । आँगनमा कुरा रोपौँ । बारीमा तरकारी छरौँ । मेरा छोराले लगाएको नारा यति थियो । मात्र यति थियो । अमङ्गल कुरा थिएन त्यो !’

म भगवतीका कुरा सुन्छु । म अमरावतीका आवाज सुनिरहेको छु । यी वृद्घा आमाहरुका निष्कपट बोलीमा शक्तिशाली दर्शनका केस्रा—केस्रा ओर्लिएको अनुभूत गरिरहेको छु ।

ताँतीमा मिसिएथे दुई किशोरहरु !

सम्भाव्य परिणामले पार्ने वृतान्त यतिखेर भेटिन्छ । बितिरहेको कालखण्डमा नापजोख भइरहेको चरित्रले चनाखा आँखा लगााएको पाइरहेको छु म ।

‘भन् त भगवती, तेरो छोराले कसको मात्रै आदेश सुनेन होला ?’

‘भन् त अमरावती, तेरो छोराले कसको मात्रै उर्दी दिमागमा घुसाएन होला ?’

दुबैका प्रश्न छन् दुबैलाई ।

म यी उही स्थिति र उही अवस्थामा सास फेरिरहेका बस्तीका सबभन्दा उँचो मानवीय अनुहारलाई पढिरहेको छु । अनुहारले भनेका छन्—‘ हाम्रा निम्ति त्यही कृतज्ञता हो, दिनु र फेरि पनि दिनु !’

यो अर्थ यसरी पनि लाग्न सक्छ—‘सन्तानका सबै खुशी, उल्लास, श्रम र पसिना दिनु !’

मानिस भएर बाँच्ने चाहनाको अपेक्षा गरिनु कृतघ्नताको गाढा टीको टाँस्नु थियो निधारमा । मैले पुछ्रने प्रयत्न नगरेको होइन—तर शक्ति, सामथ्र्य र तेज थिएन कसैसँग ।

मानिसहरुको धारणा छ—तेल थपेकै भरमा दियोको प्रकाश झन् उल्लसित भएर बल्छ । तर भगवती तथा अमरावतीको आफ्नो गच्छेअनुसारको तर्क हेर्दा लाग्ने गर्छ—हावाको चापले पनि ह्वारह्वारी बल्ने गर्छ बत्ती ।

एउटा आँगनमा दुबै उभिएका छन् । सामान्य समाजमा पार्ने स्थितिले स्पर्श गरेको छ, छ ।

शरीरको रगतमा कति क्रोध छ ? अथवा कति पश्चाताप छ ? अनुहारका मुजा छोएर अड्कलसम्म गर्ने हो ।

अमरावती र भगवतीको वर्तमान त्यस्तै छ ।

‘धर्तीजस्तो चोट हाम्ले मात्रै भोग्नु पर्ने । के मात्रै सहेनौँ हामीले । भातका डल्लामा आँसुको झोलले भिजाएकै हो । घुटुक्क पिउँदै, सुरुप्प पार्दै र सान्त्वनाका हिँक्का स्वीकारेकै हो नि ! भन् त भगवती !’

अमरावतीका बोली सुन्छु अत्यासले अँगालिएको ।

बिस्तारै बजारजस्तो आकार बन्यो त्यो रुवाबासीमा । मानिस नभएका होइनन्—जिउँदो मान्छे दगुराउने थुप्रै थिए । तर यतिखेर मरेको मानिस थन्काउने कोही देखापरेका छैनन् ।

एकले अर्कालाई हेर्ने पुरानै रोग छ । त्यो रोगलाई सबै दिइरहेछन् निरन्तरता । सारा गाउँ, टोल र बस्ती त्यसबाट निरपेक्ष छैन । अँह, छँदै छैन ।

अब कसरी भाग्छन् यी दुई आमाहरु !

भगवतीले भाग्ने कसरी ? अमरावतीले भाग्ने कसरी ? उही समाजलाई उस्तै भोजन, पोषणले हेरविचार गरिदैँछ । अब कसरी रहनु उकुसमुकुसबाट बेखबर !

‘सुन् भगवती ! हाम्रा छोराले बाटो नबनाएका होइनन् । कुलो पैनीका फोहोर नहटाएका होइनन् । झार उखेलेर, उबडखाबड सम्म्याएर अनि लहरा पन्छाएर यो गोरेटो यति प्यारो नबनाएका होइनन् । तैपनि तिनका हातमा कुनै फूलको स्वागत कहिल्यै भएन । हुँदै भएन नि !’

अटुट थाहा पाइरहेको छु म वृद्घा आमाहरुका रोदन ।

हजार भँुवरीमा परेका हृदयको आगो साथको बोली छ, स्वर छ र तर्कनाहरु छन् । अकाट्य विचारका पाङ्ग्रामा दगुरिइरहेछन् यी आमाहरु ।

‘भन् भगवती भन् ! यो बस्तीमा एउटा छोराले दिने सबै पसिना हाम्रा छोराले दिएकै हुन् । बाँकी केही थिएन । एउटा माटोको डल्लोदेखि एउटा बिरुवाले पाउने स्याहार सम्भारसम्म हाम्रा छोराबाटै पाए । सुरक्षा, स्नेह र साथ सँधै पाए !’

अमरावतीका कापिरहेका आवाज छन् । असुरक्षा, अन्याय र आपतका तिखा सुइरामा थला परेका लाग्छन् ती आवाजहरु ।

आँगनमा चाङ छ वेदनाको ।

‘सबै खोसे । अरुले त खोसे—खोसे, आफ्नाले झन् क्यै नराखी खोसे । एक थोपो नराखी खोसे । हामीलाई सर्वाङ्ग पारेर थुते !’

अमरावतीको आवेग छ अनवरत ।

मानिसलाई अभाव बोध त्यतिखेर हुन्छ—सबैतिर समाप्तिको सूचना आउँछ जब ।

भगवती र अमरावती त्यही अवस्थाका केही अनुहार हुन् । त्यस पर अरु कुनै चरित्र वा भूमिका तिनले पाउँदैनन् । किञ्चित् पाउँदैनन् ।

आफ्नै छातीका कौलासा सुनाउँछन् ती ।

‘मेरा घरको गारोमा बर्खाको भेल पसेको—पसेकै छ । मैले जतिसुकै माटो, ढुङ्गा र बालुवाको थुप्रो राखे पनि बग्न छोडेको छैन त्यो पेटी । अब माटो नहालेको कुरामा भन्दा राख्ने पद्दतिबारे ठीक नभएको तर्कले घेरिएको छु म । तन्नेरीका हातले राखेजस्तो माटो हामी बूढीहरुका कामले कसरी पूर्णता पाउने ?’

एउटा गहन कुरा आयो ।

सिङ्गो जीवनले जानेको तर्क । सारा उमेरले पहिल्याएको विचार । पुरै समयले पर्गेलेको सिद्घान्त ।

बनिसकेको बाटोमा हिँड्नेहरुले बाटोबारै लगाउँछन् अनेक खोट । तर तिनले फर्केर कुनै एउटा ढुङ्गो सडकको कुनै पिँधमा कहिल्यै राख्तैनन् । आँगनमा इनारको पानी खाएर दोष देखाउने मान्छेको कुनै कमी छैन हाम्रो वरपर । तर ओखती, सम्भार वा परीक्षणका निम्ति हतपत मनले ताउरमाउर गरेको देखिन्न ।

आँगनको बाकस कसले उठाउने ?

अलिक उमेर वा शक्ति बोक्ने तिनै विधवा आमाहरु ह्ुन् । ती झनै भित्री अन्तष्करणदेखि नै थला परेका छन्, गलेका छन् र खुम्चेका छन् । नहारे पनि पराजयको बादल र चट्याङ छन् तिनमा । जिते पनि विजयको बोली तिनको वरपर आउन सकेको छैन ।

‘भन् भगवती ! सरम लाग्नुपर्ने होइन । निल्न नसक्ने कुरा किन खानु ? हाम्रा छोराको हरेक थोक खाएर पनि पुगेन यिनलाई । अब के बाँकी छ यिनले खाने ?’

आकुलतामा मान्छे न्याय वा निसाफका कुरा गरिरहँदैन । आफ्नै अदालतमा प्रमाणका अनेक अर्थ बोलिरहेको हुन्छ ।

युद्घले थाकेको छ मन र शरीर ।

सिङ्गो बस्तीमा जब थामियो युद्घको अग्निप्रलय । अनि सुरु भयो आफनै खोजखबर र अर्थहरुको बेलिबिस्तार । धेरै कुरा गुमेपछि, अब के बच्न सक्छ ?

यही एउटा तर्कले सबैलाई उछिनेको छ निरन्तर !

‘हामी कुनै बेला बिजोगमा पर्न सक्छौँ । कुनै दिन बाँकी रहेन—नकल्पेको, नरोएको र नटोल्हाएको ।’

विधवा भगवतीको कलेँटी परेका ओठको आवेग सुनिरहेको छु म ।

आँगनमा मसिना केटाकेटी छन् । भविष्यहीन पाइलामा डोर्रिएका किशोरी छन् झन् बेस्मारी । धेरै र झन् धेरै छन् वृद्घ र वृद्घाहरु । त्योभन्दा बढी देखिरहेछु म विधवाहरु ।

हारेर अनि दबिएका थुप्रै विधवाले सेतो कपडामा बेहृेर अरुका आँखाबाट केही साथ खोजेजस्तो लाग्छ । किनभने सिङ्गो जीवनको बोझ तिनका थाप्लामा बसिरहेछ ढसमस्स ।

लासको बाकस छँदैछ ।

कुनैबेला दिनहुँ आउँथे यस्ता बाकसहरु । बस्तीमा त्यतिखेरैदेखि अभाव हुन थालेको हो—बाकस बोक्ने, चिन्ने र थन्काउनेको । अर्थात् युवा ज्यानको ।

युद्घले पटक—पटक नङ्ग्रा गाढेर सबै विध्वस्त पारिएको परिवेशमा बोल्नेहरु गलिसकेका छन् मज्जैले । जडता, कठोरता र संवेदनहीनताको कम्पन छ जताततै । यस्तो बेलामा बोल्ने को ?

बाकसको लास बोल्यो—‘भन् भगवती, भन् ! पाखण्डीहरुलाई अझै भन् !’

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।