17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मैंले देखेको सपना

कथा शम्भु सुस्केरा January 15, 2011, 10:48 pm

टण्टलापुर घामले निस्सासिंदो छ छाति । पात झरेर सिङरिङ भएको रुखमा चराहरु पखेटा फिंजाएर बसेका छन् । समयमा पानी नपरेकैले खेतका फाँटहरु उजाड देखिएका छन् । खेती लाउने समय टरे पछि पानी प¥यो, दुखसुख लगाएको थोर बहूत धानको रोपो पनि बालूवाले पुरिदियो । समयमा पानी नै परेको भए पनि खेती लगाउने कसले ? हामी जस्ता तन्नेरी युवाहरुलाई बन्दुक र खुँडा बोकेर जङगल पस्ने रोगले गाँजेको छ । गाउँका बूढाखाडा कति मारिए । कति आफ्नै अगाडि छोरी बुहारीको इज्जत लुटिंदाको पीडा हेर्न नसकेर आत्म हत्या गरे ।

किन हो आफ्नै जाति मात्र ठूलो लागेको होला सबैलाई । पहिचानको आधार त व्यक्तिको असल कार्य हुनु पर्ने हो । तर जाति भित्र पहिचान खोज्दैछौं हामी ।

आफ्नै यात्रा गन्तब्यहीन लाग्न थालेको छ आफैंलाई । आफ्नै काँधको बन्दुक र आफूले चाहार्ने जंगल भालुको कान भएको छ आज । जातिय मुक्तिको लागि बोकेको बन्दुकले आफ्नै आमा र स्वास्नीको ईज्जत बचाई राख्न सकिएको छैन । बरु कारण बन्यो गावै उजाडिनुको । आहा ! कति सुन्दर र ममतामयी थियो गाउको वातावरण । सिरानघरे अजाकोमा कोक्ती पाके बाहून काकाकोमा चुलो बल्दैनथ्यो । वडाअध्यक्ष दाई कहाँ दर पाक्दा छिमेकी बिर्खे राई कहाँ चुलै निम्तो हुन्थ्यो । हाम्रो गाउँ त मेलजोल र मान मनितोकोे नमूनै थियो । मर्दा पर्दा कोही कसैले जाति र धर्म नछुट्याई काँध थाप्थे । पूजा, पूराण, भजन कीर्तन सबैको साझा बन्थ्यो । दसैंमा हामी यूवा बाँसका लिङ्गा माग्थ्यौं बूढा पाकासँग । पाटाका लाछी उठाएर लट्ठा बाटेर पिङ हाल्थ्यौं । तिवारको रौनक नै बेग्लै । खत्री बाको भट्याई र भूजेल रत्नेको मादल बजाई दुई महिना सम्म चर्चा चल्थ्यो । छट पर्वमा केराका थाम र ध्वजा पताकाले खोलो सिंगार्दाको मज्जा लिन कोही छुट्दैनथे । दिनेश यादवले लेखेको धार्मिक नाटकले दसैंको मूखमा खुब चर्चा पाउँथ्यो । बुढाहरु समेत मैंले कुन भूमिका गरौं भन्दै अघि सर्थे । हर्के मगरको संवाद ,दनुवारनी भाउजुको क्रन्दनयुक्त रुवाईलाई तिखार्ने काम गर्थे निर्देशक भएर हिमचुली प्रा.वि.का हेड सरले । अहँ कहिल्यै कसैले कसैको जाति धर्म धन सम्पतिको निहँु निकालेर उछितो काढ्ने काम गरेको थिएन । तर आज तिनै हामी मारिंदै छौं आफैं बाट । देविथानमा उँधौली उँभौली पूजाको चाँजो मिलाएर सबलाई खबर गर्ने अर्याल बा मेरै गोलीबाट मारिए । कस्ता बुझकी थिए बूढा । ए बा ! यो काटमार छोडौं फलफूलले पूजा गरौं भनेको हामीले नै हो । सुरुमा त अन्कनाए पछि ठिकै भन्यौ होला । तिमीहरु पढेलेखेका केटा मान्नै प¥यो भगवानकै रचनालाई बली दिएर भगवान के खुशी होलान् त भने । अनि हामीले फलफूलले देवीथानमा पूजा चलाएका हौं अर्याल बाकै अगुवाईमा । यस्ता समझदार बूढाले मेरो जातिलाई के नोक्सान गरेका थिए र ? सिशु कक्षा देखि सँगै पढि खेली सँगै मेलापात गर्ने दिनेश यादवले किस्ने श्रेष्ठलाई काटेरै मारेछ । नमूना मीत जोडी हीतमान राई र राधेश्याम पोखरेल विभत्स तरिकाले लडेरै मरे एकापसमा । अरु...............खै कति संझना गरौं ?? आखिर आज यो सबको सम्झना किन आई रहेछ ? थाहा छैन ।

यतिका कुरा मनभरी आई रहँदा मेरा आँखै अगाडि वरपीपल चौतारीमा दुईटा नीला गाडिहरु धूलो उँडाउँदै आए र रोकिए । त्यही हो मेरो गाउँ । गाउँकै छेउमा सेल्टर छ यतिबेला हाम्रो । टुलुटुलु गाउँको दुरावस्था हेरेर बसेको छु सेण्ट्री बनेर । गाउँ देखि एक किलोमिटर मात्र छ हाम्रो पटाङगीनी र हतियार दस्ता । हेरिरहें । गाउँका बूढाबूढी,बालबच्चा देखि आईमाई सम्म काखको नानी बोकेर गाडितिर दौडिए । गाडि भित्रबाट एक हुल मान्छेहरु, विभिन्न खाले लुगा लगाएका, कसैले आधूनिक हतियार समेत बोकेका समेत,उत्रिए । ती युएनका मान्छे थिए सायद । पोलीथिनको झोला थियो केहीका हातमा । उनीहरुको दयामा बाँचेका मेरा गाउँका मान्छेलाई बिस्कुट बाँडे सायद तिनले । एक पकेट बिस्कुटका लागि तँछाडमछाड गरिरहेका मेरा गाउँका मान्छे....पटक्कै सह्य दुृष्य थिएन मेरा लागि । तर पनि हेर्नुको बिकल्प थिएन । त्यसको कारण म पनि त हुँ । त्यस्तो समृद्ध गाउँलाई एक पकेट बिस्कुट भन्दा कमको मूल्यमा साटिरहेका छौं । सुनिने गर्छ एक छाकका लागि हाम्रा नारीहरुले इज्जत पनि बन्धक राखेका छन् रे, फिर्ता नहुने गरि । के हाम्रो यो जातीय मुक्ति आन्दोलनले ती नारीहरुको इज्जत फिर्ता ल्याउन सक्ला त ?के ठान्लान् तिनले हाम्रो मुक्ति आन्दोलनलाई ? खेती छ । खेती सम्हाल्ने लाठे छैनन् । हलो जोत्ने सम्मको साहस गरे तिनले । खेती लगाए । अर्कैले आएर दुई दिनमा खाई दिन्छ । मेरै दुई तीन सयको जत्था गएर एक घरको अन्न एक छाकमा सखाप पारेर हिंडेका छौं कति पटक । के गरुन् त बिस्कुुट सँग जीवन नसाटेर । भित्रभित्रै अरुको देशमा युद्ध चर्काएर युएनमा लागानी गरेर अनि दया देखाएर पुण्य कमाएका छन् तीनले । पहिल्यै पनि यो कुरा सुनका हौं । पत्याईएन । आज मैंले बुझें तर म आफैं मनन् गर्न सक्ने अवस्थामा छैन । आखिर कसले पत्याउँछ र ?

गन्तब्यहीन लक्षमा राईफल ताकेर हेर्नु बाहेक कुनै उपाय पनि थिएन । जातीय पहिचानको लागि हतियार उठाएको म आज राष्ट्रि पहिचानकै सीम।मा कतै पाउन नसके जस्तो लाग्यो आफूलाई । किन देखाउँछन् दया हामीलाई ?जाउँ ती विदेशी र ती यूएन का गाडिलाई उँडाईदिउँ । आक्रोस पोखें साथीहरुसँग । सहमत कोही भएन । यूएनलाई तारो बनाउन पाईदैन रे ।

साँझ पर्किए ती नीला गाडिहरु ।

आज रातको मिसन प्रतिक्रियावादीहरुलाई आक्रमण गर्नु छ । तर आज मलाई आक्रमणमा सहभागि हुन मन लागेन । कहिल्यै यस्ता भएको थिएन । परिवारको यादले सतायो । मेरी आमा,मेरी संगीनी अनि मेरो प्यारो छोरोले एक पेट खान पाएका छैनन् । ईष्ट मित्रलाई बाँडेर खान्थिन् मेरी आमा । आज नीला गाडिवालाको दयामा बाँचेकी छिन् । तीनको दया लाग्दो जीन्दगी हेर्नलाई औडाहा भएर आयो । धिक्कार लाग्यो मेरो मुक्तिको लडाईंप्रति । मेरो मुक्तिको लडाईले आफ्नैलाई पीडा बाहेक केही थपेन । परिचय दिनुको साटो अस्मिता खोस्यो उहाँहरुको । छोराले मम्मी भोक लाग्यो भन्दा खान दिने केही नभएर आफूलाई बेच्दिहो उसकी आमा चाहीँले । आफ्नै परिवारलाई यो दलदलबाट मुक्ति दिनु अब असम्भव भईसक्यो । सारा जातिलाई मुक्ति दिन कसरी सम्भव होला ? कतै लुटेर भए पनि एक छाकको व्यवस्था गर्छु पविारका लागि र परिवार सँगै बसेर रात बिताउँछु भन्ने लाग्यो । आखिर भोलिको के आशा कतिबेला मारिईन्छ ?

तर एक छाकको व्यवस्था कहाँबाट कसरी गर्ने ? कसका घर जाउँ ?जंगल छेवैमा रेशमको घर छ । उ मेरो कलेज पढ्दाको साथी हो । तर मेरो दुस्मन भएको छ । कति चोटी उनीहरुकै जत्थासँग आक्रमण परिसक्यो । आक्रमण उनीहरुले नै गरेका हुन् । उसकी श्रीमती पनि क्लासमेट नै हो । घरमा उसका बूढा बाबू आमा र श्रीमती छोराछोरी मात्र होलान् । सम्पन्न नै हुन गाउँका । अन्त कहाँ जाने त ? आफ्नै समर्थक कहाँ जाने कुरा भएन । के भएर पो दिउन् । त्यही परिवारलाई निशाना बनाएँ ।

भान्सामा थिए सबै । अनुहारमा मखुण्डो लगाएको लामो हतियार भिरेको डरलाग्दो मान्छे भित्र छिर्दा सबै अतालिए । चूलोमा एउटा भाँडो बसेको थियो अरु केही देखिन । रुवाबासी चल्यो साना नानीमा । मैंले बन्दुक तेस्र्याएँ र हकारें । चुपचाप के छ खाने कुरा ल्याओ । कोही केही बोलेनन् । एउटा सानो तोते आवाजले मेरो ध्यान तान्यो—जाति मुक्ति अंकल मेरो ममीलाई केही नगर्नु हिजो पनि तपाईं जस्तै जाति मुक्ति अंकलहरु आएका थिए एउटा अंकलले ममीलाई भुत्ल्यायो पिट्यो अनि भुईंमा लडाएर थिच्यो । आज तपाई केही नगर्नु बरु हाम्रो सबै भात खानु हामी खाँदैनौं । करिब तीन चार बर्षकी सानी छोरी थिई । उसको आवाजले स्तब्ध भएँ म । मेरो छोरोलाई सम्भेंm यतिखेर, अनि त्यो फूचिको बाबूलाई । साह्रै मिल्थ्यौं हामी । उसको प्रेम विवाह हो । मैंले नै मध्यस्तताको भूमिका खेलेको थिएँ उनीहरुको प्रेम सफल बनाउन । उसले मजाक गर्दै त्यस बेला भनेको थियो —पछि तँ र म सम्धि बन्नु पर्छ । सायद हामी युद्धमा नफसेका भए हामीले एक पटक त्यो खुसी साट्ने थियौं । उसकी सानी छोरीलाई म बुहारी भन्ने थिएँ होला र उसले मेरो छोरोलाई ज्वाई भन्थ्यो होला । मलाई यो सबले म आफू एक कठोर लडाकु हुँ भन्ने हेक्का नै राखेन । रोऊँरोऊँ लागेर आयो । एक चोटी सबैको मुख हेरें । साह्रै नै दया लाग्दो थियो । मेरो परिवारले यस्तो अवस्थाको कति चोटी सामना गरे होला ? यो प्रश्नले मेरा मुटुमै घोच्यो । अरु केही नसोचेर म पछि हटें र दौडिंदै घर आएँ ।

घरमा अचानक मलाई देखेर खुशी हुनुको साटो सबै डराए । मुखमुख गरे आमा र बुढीले । उसकी आमाको काखमा बसेको छोरो समेत मेरो नजिक आएन । देखे जति भाँडा कुँडा सबै हेरें खाने कुरा केही देखिन । भोक लागेर भाँडा हे¥यो भन्ने लागेछ क्यार, आमाका आँखाबाट बरर आँसु झरे । लोग्ने बिते पनि छोराको आशमा बाँचेकी आमा आज छोराको समेत यो ताल देखेर साह्रै चाउरी सक्नु भएछ । मलाई नमीठो लाग्यो । मेरै लागि होला साँचेर राखेकी, पुरानो टालोमा बाँधिएको सानो पोको खोल्दै आमाले बुहारीलाई अह्राउनु भयो भात पकाउन । तरकारी बिनाको भात तैपनि म आएका कारण धित मरुञ्जे खान पाएको थियो मेरो छारोले । अरुको झन के हाल थियो होला । कति मीठो है बाबा भन्दै छोरोले निस्तो भात गम¥क्याउँदा मेरो घाँटीबाट भात छिर्नै गाह्रो भयो । यसै मौकामा आमाले मतिर हेर्दै भन्नु भयो —खै तिमीहरुको मुक्तिको आन्दोलनले दिन त केही सकेन तर भएको कुनै कुरा पनि बाँकी राखेन । दुनिया आएर दस थरी भन्छन् । एकातिर तेरो पीर अर्कातिर आफैंलाई पीडा, कसको कति थोक सहनु ? बरु तेरो बन्दुकमा भएको एकएक गोली हानेर हामीलाई मारिदे । कसैको कुनै पीर त सहनु पर्दैन । जिउँदै मरिरहनु भन्दा एकै चोटीमा मर्न पाए तँलाई पनि धर्मै हुन्छ ।

म केही बोलिन । योे पारिवारिक मायाले मलाई आँट दिएको छ आज । यस्ता माया ममताका कुरा कहिल्यै सुन्न पाईन्न लडाकु दस्तामा । आज त कस्तो कस्तो रमाईलो पो लागिरहेछ । आ दुस्मन आएर मार्छ भने पनि मारोस म बाँचेर पो मेरो परिवारलाई के राहत भा छ र भन्ने लाग्यो । निर्धक्क सँग छातिमा सानो छोरोलाई सुताएर आफू बूढीको हातको सिरानीमा पल्टें । बूढीले आज मेरो व्यवहारमा सहजता पाइ कि क्याहो मेरो टाउको मुसार्दै भनी—बाबा सहन सकिएन । अब त अति भो । लुटिन केही बाँकी छैन । जीवन जस्तो जीवन नभए पछि बाँच्नुको के सार । अब म सहन सक्दिन छोरोलाई पनि मार्छु म पनि मर्छु आमालाई जे गर्नु छ गर्नु । म सुनिरहें उसका कुरा । निर्वस्त्र भएर कुटाई खाएका निलडाम,दाँतका डोबहरु र चिथोरिएका घाउहरु देखाई । चुपचाप हेरिरहें उसको दसा । आफूले कयौं पटक भोगेका पीडाहरु सबै सुनाई । आफ्ना कुराहरु भनिरहँदा बगेका उसका आँसुहरु पुछ्न समेत सकिन मैंले । अनि आमा............आमाका बारेमा धेरै कुराहरु भन्न खोज्दै थिई कसरी सुनौं बूढी आमा लुटिएका कुरा ? मैंले राकें उसलाई । भाउन्न भएर आयो । रीस र पश्चातापले झण्डै चिच्याएँ । तर सम्हालें आफूलाई । हाम्रो अस्मिता भनेको नेपाली राष्ट्रियता थियो । बहूधार्मिक,बहूसास्कृतिक र बहूभाषिक हाम्रो पहिचान थियो । सहिष्णु नेपाली भनेर विश्वमा सबैले चिन्थे । तर आज हामीले जातियताको पहिचानका फोस्रा नाराले आतङ्क ,हत्या बलहत्कार जस्ता कर्मले चिनाएका छौं नेपाललाई विश्वमा । आखिर राष्ट्र समृद्ध भए त जुन सकै जातिका भए पनि राष्ट्रका नागरिक आफैं समृद्ध हुन्थे होलान्.....?? सोचिरहेर निन्द्रा पटक्कै आएन । सानो छोरो आज धेरै समय पछि मेरै छातिमा घोप्टो परेर निदाएको छ । उसकी आमालाई यसो हेरें । मस्त निन्द्रामा थिई । सायद उसलाई निदाउने बानी परिसकेको छ । मेरो छातिमा टाँसिएर निदाएको छोरोलाई सरक्क थाङनामा सुताएँ । मेरो राइफल भित्तामा ठडिएको थियो जुरुक्क उठें राईफल हातमा लिएँ र आमाको कोठामा गएँ । मस्त निन्द्रामा थिईन् आमा । सायद छोरो घरमा आएको छ भन्ने आशले निर्धक्क भएर निदाएकी थिईन् । उनको छाति ताकेर दुई राउण्ड हानें । सायद उनले आफ्नो छोरो घर आएको थाहा पाएर कुनै दुस्मन आएर आक्रमण गर्दैछ भन्ने आंकलन गरेर होला, सकि नसकि चिच्याईन् मेरो छोरोलाई केही नगर ...मेरो छोरो..... भाग बाबू.....। मुस्किलले यति बोलेर तनक्क तन्किईन् दुःखी संसारलाई विदागर्दै । त्यपछि दौडेर आफ्नो कोठामा आएँ । ओछ्यानमा श्रीमती र छोरो कोही थिएनन् । उनीहरुले पनि त्यही सोचेर भागे क्यार । यताउती खोजें । अँध्यारो कुनामा छोरो च्यापेर सासै दबाएर बसेको देखें । मैंले उनीहरु तिर बन्दुक तेस्याएँ । उ डराएकी थिई दबेकी स्वरमा बोली ..तपार्ईंले के गर्नु भएको ???? आमाचाहींले यति भनी सक्दा छोरो चाहीँ सिनेमाको दृष्यमझैं अचम्म लाग्दो गरी बोल्न थाल्यो—बाबा ! तपाईंको बन्दुकले पनि मानवता र आफन्तको ममता चिन्दो रहेनछ । मार्नु नै हुन्छ भने ममीलाई नमार्नु । ममीले तपाईंलाई कत्ति माया गर्नु हुन्छ । तपाईलाई सम्झेर रातभरी रुनुहुन्छ । आफूलाई यतिधेरै माया गर्ने मान्छेलाई मार्नु हुन्न । ममीलाई तपाईंसँगै लानु । यस्तै अर्को हतियार दिनु । म त तपाईंको मायामा रातभर जागा बस्न सकेकै छैन बरु मलाई मार्नु । मलाई तपाईहरुको युद्धमा लान पनि त गाह्रो हुन्छ । यति बोल्दै उसको काखबाट पर हटेर छाति थाप्दै फेरि बोल्यो —हान्नु न बाबा म रिसाउँदिन..अझ अघि बढेर मेरो राइफल समात्दै आफ्नै छातीतिर सोझ्यायो र भन्यो—पड्काउनु न बाबा तपाईंको बन्दुक । कुनाबाट यो दृष्य हेरिरहेर उ घुँक घँुक गरिरहेकी थिई । अनायस मेरो हातबाट राईफल भुईंमा खस्यो मैंले छोरोलाई तानेर छातिमा च्याप्प टाँसें र रुन थालें—मेरो प्यारो छोरा म तिमीलाई मार्न सक्दिन ....म तिमीलाई मार्न सक्दिन । म अब तिमी जस्तै युद्ध पीडित नेपाली जातिको लागि अनि भाइचाराको लडाई लड्छु । अब यो बन्दुक बोक्दिन छोरा । नडराउ म तिमीलाई मार्न सक्दिन......म रोईरहें...बरबराइ रहें ......म तिमीलाई मार्न सक्दिन.......

हैन के भएको तपाईंलाई ?

के भन्नु भएको त्यस्तो ?के को भाईचाराको लडाई ? झक्झक्याई उसले मलाई । म झसङ्ग ब्यूँझिएँ । कति नमीठो सपना देखिरहेको रहेछु । मनले सम्झेको कुरामात्र सपनामा आउँछ भन्थे । यस्ता खाले कुनै कुराहरु त सम्झेर सुतेको त थिईन । शरीर खलखली थियो पसिनाले । छोरो मस्त निन्द्रामा थियो । हतारमा उठेर आमाको कोठामा गएँ । आमा अघि नै उठेर बाथरुममा नुहाउँदै हुनुहुन्थ्यो । तै पनि ढुक्क हुन आमालाई बोलाएँ । नुहाउँदै छु किन कराको भन्नुभयो भित्रैबाट । रेडियो खोलें बिहान छ बजेको पत्रपत्रिको संगालो सुरु भएको रहेछ । पूर्वी नेपालमा लिम्बूवानको बन्द...पश्चिममा थरुहटको सेना प्रदर्सनी....मधेसीद्धारा तराई आन्दोलनको चेतावनी...माओवादीद्धारा संसद अवरुद्ध....उपराष्ट्रपतिको सपथको भाषा विवाद......यस्तै यस्तै थिए समाचारका शीर्षकहरु...सुन्न मन लागेन रेडियो बन्द गरें । म सँग कामना गर्नु बाहेक अरु उपाय केही थिएन । अनेकतामा एकता विश्वमा यस्तै पहिचान छ हाम्रो । सबै जाति, भाषा, धर्म संस्कृति, मिलेरै बसेका छौ । यसलाई कायमै राखिरहन पाए कस्तो हुन्थ्यो होला । नत्र त मेरो सपनाले साकार रुप लिनेछ । अनि त्यस पछि मेरो सानो छोरो,मेरी श्रीमती र मेरी आमाको भोली...???

उफ्.............।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।