ओ मेरो प्रिय अरब सागर !
तिमीसंगको यो साक्षात्कारसंगै
मेरो पैतलाले भुईं टेकेको छैन आज
कपास बनेर उडेको हो कि शरीर ?
कि पखेटा लाग्यो कतै मेरो ?
सत्ते म आफैलाई नै थाहा छैन ।
किनारामा ठोक्किन आईपुगेका
तिम्रा छालहरुलाई स्पर्श गर्दै जाँदा
अनायसै आयतनहरु तन्किन्छन् मनका
आहा ! कस्तो हार्दिक समानता ?
तिम्रो छाल र मेरो मनको छचल्काईमा
सपनाको संसारमा पो छु कि ?
कि भ्रमको जालोले छोप्यो मलाई ?
आफैले आफैलाई गहिरिएर नियाल्छु म ।
तिम्रा असीमित फैलावटहरुमा
एकतमासले नजर दौडाउँदै जाँदा
अनायसै हराउन पुग्छु यौटा निराकार कल्पना भित्र
साँच्ची कति बेफिक्री बहिरहेछौ तिमी ?
उद्वेलित हुन्छु म तिम्रो उन्मुक्तता देखेर
म किन यसरी बग्न सक्दिन ?
कि, बग्न नजानेको हो मैले ?
प्रश्न उम्रन्छन् मनभरि च्याउ सरि ।
साँच्ची कति ठूलो बिरोधाभाष छ हामीबीच ?
कि, उस्तै उस्तै तरङ्गहरुमा उस्तैगरि छचल्किए पनि
एकरुपता पटक्कै छैन हाम्रा बहाइहरुमा
कारण- तिमी बहिरहेछौ आफ्नै उन्मुक्ततामा
अनि म बहिरहेछु बाध्यता र विवशतामा ।
त्यसैले, मेरो प्रिय अरब सागर !
तिमीसंग मित्रताको हात फैलाउँदैछु
कि, म पनि उन्मुक्त बनेर बहन सकूँ
आफ्नै स्वकीयतामा बेफिक्री तिमी जस्तै
के तिमी मलाई स्वीकार्न सक्छौ ?
कि, समाहित हुनु पर्छ तिमीमा स्वयं मैले ?
तिम्रै किनाराको एकछेउमा उभिएर
यही प्रश्नको जवाफ पर्खिरहेकोछु म ।