14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यकार मोहनराज शर्मा

व्यक्तित्व / कृतित्व सुकुम शर्मा January 18, 2011, 6:33 am

१. प्रवेश

नेपाली भाषा साहित्यका क्षेत्रमा मोहनराज शर्मा सुपरिचित नाम हो । साहित्य सिर्जना, समालोचना, साहित्य, इतिहास, भाषा व्याकरणका क्षेत्रमा कलम चलाउने शर्माको सम्पादक व्यक्तित्व पनि विर्सन मिल्दैन । लामो समयसम्म प्राध्यापन पेसामा सङ्लग्न शर्मा भाषा साहित्यका गहन अध्येता हुन् । उनको प्रयोगमूलक साहित्य लेखन, वस्तुपरक वा भाषापरक समालोचना र आधुनिक व्याकरण लेखनमा महत्वपूर्ण योगदान रहेको छ । नेपाली सहित्यका सबै विधामा शर्माको उपस्थिति देखिन्छ । उनको सृजनात्मक लेखन, कथा, नाटक र निवन्ध विधामा उर्वर रहेको छ । यहाँ साहित्यकार शर्माको लेखकीय चिनारीको सामान्य रूपरेखामात्र प्रस्तुत गरिएको छ ।

२. लेखकीय चिनारी

मोहनराज शर्माको जन्म वि.सं. १९९४ कात्तिकमा काठमाडौंमा भएको हो । आफ्ना पिता बनारसमा रहेका हुँदा उनको बाल्यकाल पनि बनारसमा नै बित्यो । उनको शिक्षादीक्षा पनि बनारसमा नै भएको हो । शर्मा इतिहास र नेपाली विषयमा स्नातकोत्तर गरी प्राध्यापन पेसामा प्रवेश गरेका हुन् । लामो समयसम्म प्राध्यापन पेसामा संलग्न प्राध्यापक शर्माको जीवनको मुख्य यात्रा यही क्षेत्रमा नै केन्द्रीत छ ।

साहित्यमा उनको सार्वजनिक यात्रा हिन्दी भाषामा लेखिएका ‘मनोराज्य’ निबन्ध र ‘अचाएँ कवितासङ्ग्रहका कविता (२०१३) बाट भएको हो । हिन्दी साहित्यका क्षेत्रमा २०१६ सालबाट प्रवेश गरेका शर्माको आधा शताब्दी लामो साहित्य साधना रहेको छ । नेपाली साहित्यमा ‘बिलु’ निबन्ध र ‘एकको एक हात लाग्यो शून्य’ (२०१६) कथाबाट प्रवेश गरेका शर्माको साहित्यका सबै विद्यामा साधना देखिन्छ । नेपाली भाषासाहित्यमा झण्डै तीन दर्जन कृतिका लेखक शर्माको नमेटिने उपस्थिति रहेको छ । शर्मा ‘मोराश’ उपनामबाट पनि परिचित छन् । साहित्यका सबै विधाका अतिरिक्त भाषाव्याकरण समालोचना, सोध, इतिहास लेखनमा शर्मा साधनारत देखिन्छन् ।

शर्मा ‘मैनाली कथा पुरस्कार’ (२०४०), मदन पुरस्कार (२०४२), ‘प्रतिभा पुरस्कार’ (२०४८) आदिबाट सम्मानित पनि भइसकेका छन् । आधुनिक नेपाली गद्यसाहित्यको प्रयोगमूलक लेखनक्षेत्रभित्र शर्माको योगदान महत्वपूर्ण रहेको छ । नेपाली भाषापरक समालोचनाका प्रतिष्ठापक शर्मा नै हुन् । आधुनिक भाषाविज्ञानका पद्धतिमा नेपाली व्याकरण लेखनको मार्गनिर्देश पनि शर्माका कार्यबाट भएको छ । यिनै योगदानका कारण शर्माको लेखकीय व्यक्तित्व स्मरणीय रहेको छ ।

३. साहित्यलेखन

साहित्यकार मोहनराज शर्माको साहित्यका सबै विधामा उपस्थिति देखिन्छ । उनी निबन्ध विधाबाट नेपाली साहित्यमा देखापरेका हुन् । उनको नेपाली साहित्यमा सर्वप्रथम सार्वजनिक उपस्थिति देखाउने निबन्ध ‘बिलु’ (२०१६) हो । नेपाली साहित्यका आख्यान, निबन्ध, नाटक÷एकाङ्की विद्यामा शर्माको उपस्थिति रहेको छ । नेपाली साहित्यसिर्जनामा आधा शताब्दी बिताएका शर्मा साहित्य सिर्जनामा निरन्तर साधना गर्ने अथक साधक हुन् । उनको साहित्यलेखनको क्षेत्र र योगदानको चिनारी साहित्यका विविध विधाका आधारबाट नै हेर्न सकिन्छ ।

३.१ कवितालेखन

साहित्यकार मोहनराज शर्माको लेखन प्रकाशनको थालनी कविता विधाबाट भएको हो । उनको हिन्दी भाषामा लिखित ‘ऋचाएँ’ एकमात्र कविता कृति हो । उनले नेपाली भाषामा पनि आरम्भिक समयमा कविता रचना गरेका थिए । उनी विस्तारै गद्यलेखनमा केन्द्रित भएपछि कवितालेखन इतिहासको विषयमात्र बनेको देखिन्छ । गद्यविधाको सिर्जनात्मक कार्यबाट उचाई बढ्दै गएपछि कवितासिर्जना प्रारम्भिक कालको रहरमात्र बनेको देखिन्छ ।

३.२ निबन्धलेखन

नेपाली साहित्यमा निबन्ध लेखबाट सार्वजनिक उपस्थिति देखाउने शर्माको निबन्ध विधामा उल्लेख्य योगदान रहेको छ । शर्मा आधुनिक नेपाली निबन्धको हास्यव्यङ्ग्य धाराका निबन्धकार हुन् । यिनका ‘इन्टरभ्यू स्पेसलिष्ट मिस्टर झप्पुसिं डबल एम.ए.’ (२०३८) र ‘पुछारको पातो’ (२०४०) प्रकाशित निबन्धका कृति हुन् । यिनका झण्डै एकसय निबन्ध विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । यिनका निबन्धमा सामाजिक सन्दर्भ नै मुख्य विषयक्षेत्र हो । आधुनिक जीवनशैलीका विविध पक्षमा यिनको दृष्टि पुगेको छ । यिनी निबन्धमा विकृति र विसङ्गतिका पक्षमा टिप्पणी गर्दछन् । आफ्ना टिप्पणीमा हास्यको जलप भर्ने पनि उनको कला मौलिक छ । सुधारको अपेक्षासहित व्यङ्ग्यको झटारो हान्ने शर्माको निबन्धलेखनको लोभलाग्दो पक्ष नै यही हो । व्यङ्ग्यका तीरमा समसामयिक जीवनयात्रा, राष्ट्रिय परिवेश भर्न खप्पीस शर्मा कुशल निबन्धकार हुन् । उनका निबन्धमा विविध प्रयोग, आत्मपरक लेखन, व्यङ्ग्यात्मक प्रस्तुतिसँगै हास्यभाव पोतिएको हुन्छ । यही विशिष्टतामा स्वशिल्पको निर्माण गर्ने निबन्धकार मोहनराज शर्मा हुन् ।

३.३ आख्यानलेखन

साहित्यकार मोहनराज शर्माको आख्यानलेखनमा पृथक चिनारीसहितको स्थान रहेको छ । कथाकार शर्माको ‘एकको एक हात लाग्यो शून्य’ (२०१६), पहिलो प्रकाशित कथा हो । शर्माका ‘च्याँखे धर्ना’ (२०२४), ‘कोर्रा’ (२०४०), ‘महाशून्य’ (२०५०) र ‘वैखरी’ (२०५४) मा प्रकाशित कथाकृति हुन् । यी कृतिवाहेक उनका झण्डै एकदर्जन कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । शर्माको कथालेखन समाजको वास्तविक तथ्य वा यथार्थमा नै आधारित छ । उनका कथा समाजका धरातलमा वा यथार्थमा नै आधारित छन् । उनका कथा समाजका धरातलमा उभिएर नयाँनयाँ बान्कीमा प्रस्तुत गरिएका हुन्छन् । आधुनिक जीवनका भोगाई नै उनका कथा हुन् । जीवनका विविधताबाट काव्य चयन गरी प्रस्तुतिगत पक्ष वा शिल्पसजावटमा नयाँनयाँ प्रयोग गर्नु उनको कथालेखनको वैशिष्ट्य हो ।

उनी जीवनका कटुतथ्य स्वैकरकल्पना र हास्यव्यङ्ग्यबाट प्रस्तुत गर्न रुचाउँछन् । मिथक, प्रतीकबाट वर्तमानका तथ्यहरू उद्घाटन गर्ने शर्माका कथा जीवनका विविधताभित्र एक शृङ्खलामात्र हुन् । उनका कथामा बाहिरी आवरण अपत्यारिलो भए पनि त्यसका भित्री तहमा तितो यथार्थ उजागर भएको हुन्छ । नेपाली कथामा यिनको यो प्रयोग नवीन प्रवृत्तिका रुपमा देखापरेको हो । यिनका कथामा झर्रो र संयमित शब्द प्रयोग भएको पाइन्छ । यिनका कथा सरल, आकर्षणक हुनाका साथै वौद्धिक छन् । लामो समयसम्म कथालेखनमा साधनारत शर्माको उपन्यास विद्यामा पनि कलम चलेको छ । उनको उपन्यास कृति प्रकाशोन्मुख अवस्थामा रहेको छ । जीवनका विविध घटनाको आख्यानीकरण नै शर्माको आख्यान धरातल हो ।

३.४.एकाङी÷नाटकलेखन

साहित्यकार मोहनराज शर्माको नेपाली नाट्यपरम्परामा सशक्त उपस्थिति रहेको छ । नेपाली नाटकका क्षेत्रमा प्रयोगधर्मी नाट्यकलाको प्रौढ प्रस्तुतिमा शर्माको योगदान विशिष्ट छ । यिनका ‘जेन्मन्त÷यमा’ (२०४१), ‘वैकुण्ठ एक्सप्रेस’ (२०४२) र ‘उताको बाघ’ (२०६२ प्रकाशित नाट्यकृति हुन् । शर्माका नाटकमा विज्ञानको प्रभाव र सन्त्रास, आधुनिक जीवनका जटिलताको चित्रणसँगै मानवमूल्यको अस्तित्वमूलक खोजी गरिएको छ । जीवनको विसङ्गत चित्रण भए पनि जीवनप्रति सकारात्मक दृष्टि यी नाटकमा आएको छ ।

मानवका जीजिविषा, सङ्घर्षचेतभित्र मानवीय समस्याको उद्घाटनमा यिनका नाटक लेखिएका छन् । यिनका नाटकमा पनि प्रयोगमूलक लेखन नै मूलपक्ष बनेको छ । नाटकको कथा वाह्यरुपमा हास्यभावयुक्त भए पनि आन्तरिक रुपमा सन्त्रास, विसङ्गति आदिको उद्घाटनमा केन्द्रित हुनु यिनका नाटकको अर्को उल्लेख्य पक्ष हो । मानव र यन्त्रका बीचको सङ्घर्षमा नाटकीय भाव भर्दै जीवनको खोजी गर्नु यिनका नाटकको अर्को पक्ष हो । यिनका नाटकमा मर्दै गएको मानवता र मानिसको अस्तित्वका पक्षमा व्यङ्ग्यात्मक अभिव्यक्ति आएको हुन्छ । शर्माका नाटकमा जीवनका विविधताको यथार्थमूलक प्रदर्शनी प्रयोगमूलक शैलीमा गरिएको छ । शर्माका नाटक अभिनय र पठनमा सघन र जीवन्त छन् ।

४. समालोचना लेखन

नेपाली समालोचनाका क्षेत्रमा मोहनराज शर्माको महत्वपूर्ण उपस्थिति रहेको देखिन्छ । नेपाली समालोचनामा भाषावादी समालोचनाका अग्रणी व्यक्तित्व समालोचक शर्मा हुन् । समालोचनाका क्षेत्रमा यिनका प्रकाशित कृतिहरू ‘नेपालीका केही आधुनिक साहित्यकार’ (२०२६), ‘कथाको विकास प्रक्रिया’ (२०३५), ‘शैलीविज्ञान’ (२०४८), ‘समकालीन समालोचना सिद्धान्त र प्रयोग’ (२०५५) हुन् । सुरुमा प्रभावपरक समालोचना लेख्ने शर्मा क्रमशः वस्तुवादी, भाषावादी र अन्तर्विषयक समालोचनामा केन्द्रित भएको पाइन्छ ।

नेपाली समालोचना शास्त्रको निर्माणमा शर्माको साधना सामान्य भन्न मिल्दैन । प्रभावपरक, भाषावादी, वस्तुवादी र अन्तर्विषयक समालोचनाका यात्राबाट नै उनको समालोचना लेखनको मूल्याङ्कन गर्न सकिन्छ । सैद्धान्तिक र व्यवहारिक दुवै क्षेत्रमा कलम चलाउने शर्माको भनाई छ– ‘मेरो निरन्तर प्रयास नेपाली साहित्यको प्रकृति, प्रवृत्ति र स्थितिअनुकुल रहेर समालोचनाका नयाँ बाटाहरू खोस्रने रहेको छ । नेपाली साहित्यको अध्ययन र संश्लेषणबाट नेपाली समालोचना पद्धतिको निर्माणमा उनको जोड रहेको छ । भाषावादी मान्यताबाट साहित्यको विश्लेषण र मूल्याङ्कन गर्ने शर्मा समकालिन चेतनाबाट अभिप्रेरित भएर ती सिद्धान्तका आधारमा कृतिको चिरफार गर्ने समालोचक हुन् । समालोचनाका क्रममा शैलीवैज्ञानिक आलोचनाका अनेक नवीन पद्धतिको प्रयोग उनले गरेका छन् । उनको मूल्याङ्कन यही क्षेत्रबाट हुँदा नै अर्थपूर्ण देखिन्छ । नेपाली समालोचनाको यही पृथक धारको नेतृत्व गर्ने समालोचक मोहनराज शर्मा हुन् ।

५. भाषाव्याकरण लेखन

नेपाली व्याकरणका परम्परामा मोहनराज शर्माको विशिष्ट योगदान रहेको छ । शर्माका ‘नेपाली व्याकरण परिचय’ (२०२४), ‘शब्द रचना र वर्णविन्यास’ (२०३१) र ‘शब्द रचना र वर्णविन्यास भाषावैज्ञानिक पद्धति’ (२०३६), यस क्षेत्रका प्रकाशित कृति हुन् । ‘शब्द रचना र वर्णविन्यास’ शीर्षकमा यिनका विभिन्न तहका लागि स्तरअनुसारका संस्करणकृति प्रकाशित छन् । भाषा विज्ञानमा ‘भाषाविज्ञान र नेपाली भाषा’ र ‘आधुनिक नेपाली भाषाविज्ञान’ (सहलेखन) प्रकाशित कृति हुन् । भाषावैज्ञानिक आधारमा नेपाली भाषाको व्याकरण लेख्ने शर्माको सैद्धान्तिक स्पष्टतासँगै भाषिक सन्दर्भको कुशल उदाहरण पनि प्रस्तुत छ । नेपाली व्याकरणका परम्परामा परम्परित व्याकरण लेखनबाट प्रवेश गरेका शर्मा पछि भाषावैज्ञानिक दृष्टिकोण अँगाली व्याकरण चिन्तनमा केन्द्रित भएको पाइन्छ । वर्णनात्मक पद्धतिबाट व्याकरण लेखनमा साधनारत शर्माका संरचनात्मक व्याकरणका क्षेत्रको कार्य उल्लेखनीय रहेको छ । नेपाली व्याकरणका परम्परामा भाषावैज्ञानिक पद्धतिको आरम्भ र उठानमा शर्माको योगदान बिर्सन मिल्दैन ।

६. साहित्येतिहास लेखन

नेपाली साहित्यको इतिहास लेखनका सन्दर्भमा पनि शर्माको योगदान स्मरणीय रहेको छ । यिनको ‘नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’ (२०३४, सहलेखन) यस क्षेत्रको महत्वपूर्ण कृति हो । ‘प्राथमिक कालको नेपाली साहित्यको पृष्ठभूमि’, ‘प्राथमिक कालको नेपाली पद्य’ शीर्षकका लेखमा पनि शर्माको साहित्यतिहास लेखनको परिश्रम परेको छ । ‘कथाको विकास प्रक्रिया’ मा पनि शर्माको इतिहासलेखनको दृष्टि आएको छ । नेपाली साहित्यको इतिहास लेखनमा सचेत रहेर इतिहास निर्माणका पक्षमा शर्माको सचेत उपस्थिति देखिन्छ । प्राथमिक कालीन साहित्यको पृष्ठभूमि र कवितापरम्पराका क्षेत्रमा गहन अनुसन्धान गर्ने शर्माको अनुसन्धानात्मक लेखनको पक्ष पनि बिर्सन मिल्दैन ।

७. सम्पादकीय र भूमिका लेखन

साहित्यकार मोहनराज शर्माको सम्पादकीय र भूमिका लेखन पनि स्मरणीय छ । यिनका सम्पादनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘मायाविनी सर्सी’ (२०२४), ‘नवरस’ (२०२४), ‘आकाश बोल्छ’ (२०२५), ‘हाँगासँग कुरा’ (२०२६) प्रकाशित भएका छन् । यसका अतिरिक्त ‘समसामयिक साझा कथा’ (सहसम्पादन, (२०४१), ‘नेपाली निबन्ध भाग– १ (२०४८), ‘नेपाली हास्यव्यङ्ग्य कविता’ (२०४८) रहेका छन् । यी कृतिहरूको सम्पादनका क्रममा सम्पादकीय या भूमिका लेखनमा पनि शर्माको कुशलता देखिन्छ । पाठमात्र सङ्कलन नगरी पाठको अप्ठ््यरो गाँठो फुकाउँदै टिप्पणी गर्नु उनको सम्पादनको पक्ष हो । ‘नवरस’ को भूमिका सिङ्गो पुस्तकमा लेखिएको छ । निबन्ध, कथा र हास्यव्यङ्ग्य कविताका क्षेत्रका सङ्कलित कृति सम्पादनमा पनि शर्माको योगदान बिर्सन मिल्दैन । आफ्नो सिर्जनात्मक रुचि क्षेत्रमा नै सङ्कलन र सम्पादन गर्न शर्मा लागि परेको देखिन्छ । सम्पादकीय र भूमिका लेखनका सामग्रीहरू सङ्कलन गरी पुस्तकाकार कृति बनाउँदा यस क्षेत्रको उल्लेख्य प्राप्ति हुने यथार्थ पनि यस प्रसङ्गमा स्मरणीय छ ।

८. पाठयपुस्तक लेखन

साहित्यकार मोहनराज शर्माको लेखकीय व्यक्तित्व पाठ्यपुस्तक लेखनमा पनि विस्तार भएको पाइन्छ । विद्यालय तहदेखि उच्च शिक्षाका विभिन्न तहमा पठनपाठनको खाँचो महसुस गरी त्यस किसिमको पाठ्यपुस्तक लेखनमा शर्माको परिश्रम परेको पाइन्छ । शर्माका ‘शब्द रचना र वर्णविन्यास’ यस प्रसङ्गमा स्मरणीय कृति हो । यसका साथै सहलेखनका क्रममा ‘शोधविधि’, ‘पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त’, ‘लोकवार्ता विज्ञान र लोक साहित्य’ आदि रहेका छन् । पाठ्यपुस्तक लेखनमा पनि शर्माको महत्वपूर्ण योगदान रहेको यथार्थ बिर्सन मिल्दैन ।

९. निष्कर्ष

साहित्यकार मोहनराज शर्माको आधा शताब्दी लामो यात्रा विविधतामा निर्मित भएको छ । यिनको लेखकीय क्षेत्र साहित्य, समालोचना र भाषाव्याकरणमा विस्तार भएको पाइन्छ । शर्मा नेपाली साहित्यका आख्यान र निबन्धका विविध विद्यामा चर्चित स्रष्टा हुन् । समालोचनामा भाषावादी मान्यतामा उनी केन्द्रित रहेका छन् । यस क्षेत्रको आरम्भ र विस्तारमा उनको योगदान अमूल्य छ । शर्मा संरचनावादी दृष्टिकोण अँगाली नेपाली व्याकरण लेख्ने वैयाकरण हुन् । यसका अतिरिक्त साहित्यको इतिहास, सम्पादन, भूमिका लेखन र पाठ्यपुस्तक लेखनमा पनि शर्माको वस्तुवादी चिन्तन नै आएको छ । शर्मा नयाँ नयाँ प्रयोगमा रमाउने स्रष्टा, भाषावादी समालोचक र भाषाको वैज्ञानिक पद्धतिमा व्याकरण लेख्ने वैयाकरण हुन् । शर्मा नेपाली भाषासाहित्यका गहन अध्येता हुन् ।

कीर्तिपुर, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।