15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संरक्षण कविता आन्दोलन : विशेषता, प्रभाव र मूल्याङ्कन

विचार डा. लक्ष्मीशरण अधिकारी January 19, 2011, 9:40 pm

नेपाल गाउँ नै गाउँको देश हो । यो देशका पुराना कविको पृष्ठभूमि गाउँ नै हो । कतिपय नयाँ कविको पृष्ठभूमि पनि गाउँ नै हो । सुख सुविधाको खोजीमा सहर पसेका कविहरू गाउँ बिर्संदै छन् । तिनको प्रेरणास्रोत गाउँ रहे पनि त्यहाँको सभ्यता, संस्कृति, रीतिथिति, वातावरण उपेक्षित बन्दैछन् । कविहरूले बिम्ब र अलङ्कार गाउँबाट लिन छाडेका छन् । कविता पढेलेखेका व्यक्तिका निम्ति मात्र हुन थालेको छ । गाउँका भञ्ज्याङ्ग चौतारीमा मान्छे जम्मा गरेर कविता सुनाउने प्रचलन हराउँदै जान थालेको देखिन्छ । कविता मात्र नभएर गुरूप्रसाद मैनाली पछिका आख्यानकारले गाउँबाट घटना, पात्र र परिवेशको संयोजन गरी र तिनले बुझ्ने गरी आख्यान लेख्ने परिपाटी पनि घट्दो छ । गाउँघरका मर्म कृत्रिम रूपमा व्यक्त हुन थालेका छन् । तिनका आँसु र हाँसो साहित्यमा उतिसारो आउन सकेको देखिँदैन । कहिलेकाहीँ साहित्यकार वनभोजको सिलसिलामा सहर छाडेर बस्तीका छेउछाउ पुग्छन् तर त्यो भ्रमण मनोरञ्जनमा सीमित हुन्छ । यस्ले पृष्ठभूमिमा साहित्यकार सरुभक्तको संयोजकत्वमा पोखराका साहित्यकारहरूले उद्देश्यमूलक अवधारणाले संरक्षण कविता आन्दोलनको जन्म दिए । ‘कवितात्मक माध्यमले प्रकृति–संरक्षण चेतना अभिवृद्धि गर्ने, पहाडी जनजीवनको अध्ययन गर्ने र तद्स्थानीय कविता गोष्ठीहरूको आयोजना गरी गाउँले जनसमुदायमा कवितात्मक अर्थबोध र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले लिएर विक्रमाब्द २०५३, असोज १० गते ‘संरक्षण कवितायात्रा’ आरम्भ भएको थियो (संरक्षण कविता आन्दोलन घोषणापत्रः २०५५) । ‘संरक्षण कविता यात्रा’ उद्देश्यमूलक र नयाँ सोचसहित थालिएको यात्रा हो । यस यात्राका सहभागीहरूमा सरुभक्त, हरिदेवी कोइराला, सरस्वती श्रेष्ठ ‘सरु’, धनप्रसाद तामाङ, सुकुम शर्मा, जे. अस्मिता, नवराज अधिकारी, भूपिन व्याकुल र पुष्प आचार्य थिए’ (शर्मा, २०६४ ः १२४) ।

‘संरक्षण कवितायात्रा’ मा सुनाइएका कविताहरू सरुभक्तको सम्पादनमा प्रकाशित’ संरक्षण कविता यात्रा’ (२०५३) शीर्षक कृतिमा सङ्कलित छन् । सुकुम शर्माको ‘कोम्रोङ खोला बाँचे भेट होला’ (२०५९) शीर्षकको कृति पनि कवितायात्रासँग सम्बन्धित छ । सं. २०५५ असोज २६ गते मुक्तिनाथको रानीपौवा भन्ने गाउँमा पहिलो संरक्षण कविता आन्दोलन गोष्ठी आयोजना गरी सोही आन्दोलन गोष्ठीमा संरक्षण कविता आन्दोलनको घोषणापत्र जारी भएको हो (सरुभक्त, २०५६ः३०) । यो घोषणापत्र यसप्रकार रहेको छ ः

१) संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो ।

२) आजको आवश्यकता गाउँमुखी कविताको सिर्जना हो । हामी सहर बजारमा बसेर गाउँको कविता रचना गर्ने युगको अन्त्य चाहन्छौं । गाउँको कविता गाउँमै बसेर गाउँलेहरूकै लागि रचना गरिनु पर्छ ।

३) कविताले ग्रामीण प्रकृति, संस्कृति र ग्रामीण जनताका सुख–दुःखमा सोझै संवाद स्थापना गर्नुपर्छ ।

४) कविताले ग्रामीण जनजीवनमा जागरणको शङ्खघोष गर्नुपर्छ ।

५) नेपाली साहित्यमा सहरिया आन्दोलनहरू धेरै भए, अब हुने आन्दोलन गाउँघरबाट थालिनुपर्छ ।

यो आन्दोलन मुस्ताङ, कास्की, बाग्लुङ, पर्वत, लमजुङ, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा, चितवन र धादिङ जिल्लाका विभिन्न गाउँमा विस्तारित भएको छ । हिमालदेखि प्रारम्भ भएको यो आन्दोलन पहाडी भाग हुँदै तराईसम्म विस्तारित भएको छ । यस आन्दोलनका ४२ शृङ्खला पुगिसकेका छन् । यस आन्दोलनमा सहभागी कविहरूमा सरुभक्त, विनोद गौचन, हरिदेवी कोइराला, जे. अस्मिता, नवराज अधिकारी, सरस्वती श्रेष्ठ ‘सरु’, धनप्रसाद तामाङ, सुकुम शर्मा, भूपिन व्याकुल, पुष्प आचार्य, रोशन शेरचन, सरिता तिवारी, सरस्वती ‘प्रतीक्षा’, दीपक समीप, इन्द्रकुमार विकल्प, सुरेश रानाभाट, सोम आचार्य आदि रहेका छन्’ (शर्मा, २०६४ ः १२५) । अन्य नयाँ कविहरूको सहभागीता बढ्दै गएको पाइन्छ ।

संरक्षण कविता आन्दोलनका विशेषताहरू निम्न रहेका छन् ः

१) जीवनवादी प्रवृत्ति

कला कलाका निम्ति हुनुपर्छ वा कला जीवनका निम्ति हुनुपर्छ भन्ने पुरानो विवाद छ । संरक्षण कविता आन्दोलन कविता जीवनको निम्ति हो र जीवनले संरक्षणको माग गर्छ भन्ने मान्यता राख्ने आन्दोलन हो । यस आन्दोलनको पहिलो बुँदा ‘संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो’ भन्ने रहेको छ । अहिले विश्वमा सबैतिरबाट जीवनमाथि आक्रमण भएको छ । यस सन्दर्भमा जीवनको अस्तित्व कसरी बचाउने भन्ने प्रश्न उठेको छ । कविहरूलाई जीवनको अस्तित्व बचाउनु पर्छ र यही संरक्षित जीवनले ग्रामीण पर्यावरण, सभ्यता, संस्कृति र धर्म बचाउन सक्छ भन्ने सघन अर्थ पहिलो बुँदामा ध्वन्यात्मक रूपमा व्यक्त भएको छ । दार्शनिक अभिव्यक्ति बोकेर पहिलो बुँदा आएको छ । स्वच्छन्दतावादी कविहरू प्रकृतिको पुजा गरेर मात्र जीवन बाँच्दैन । सरुभक्तको कथन छ – ‘हामी त्यस युगका कवि हौं जुन युगमा कविताले संरक्षण माग गरिरहेको छ । हामी प्रकृतिको त्यस कालखण्डमा उभिएका कवि हौं जब सम्पूर्ण विश्व–प्रकृति, जनजीवन, संरक्षणको एक सिर्जनात्मक अन्तर्दृष्टि माग गरिरहेछ । अतीतका स्वच्छन्दतावादी रोमान्टिक कविहरूझैं हामी प्रकृतिका पुजारी होइनौं, संरक्षण वादी हौं (सरुभक्त, २०५६ ः ३०) । उपर्युक्त कथनबाट कविहरू वातावरण जोगाउन गाउँ पस्न आवश्यक छ र यसैका निम्ति पोखराका कविले गाउँ पस्ने अभियान थालेका हुन् भन्ने स्पष्ट हुन्छ । पोखराका कविहरू मनोविनोदका निम्ति नभएर सोद्देश्यमूलक ढङ्गले गाउँ पस्ने अभियानमा निस्केका छन् प्रकृतिको स्वतन्त्रतालाई मान्छेले खोसेको छ । पोखराका कविहरू प्रकृतिको स्वतन्त्रता फिर्ता गर्ने अभिनय अभियानमा जुटेका छन् ।

२) उत्तर आधुनिकतावादको प्रभाव

यो आन्दोलन एउटा नौलो, प्रयोगशील र समकालीन आन्दोलनका रूपमा देखा परेको छ । केन्द्रलाई भत्काउनु उत्तरआधुनिकतावादको विशेषता हो । ‘उत्तरआधुनिक रचना द्वयार्थक, बहुअर्थक, बहुविध, तात्कालिन, विद्रोहजन्य, अनिर्णित, विनिर्मत, अकेन्द्रिक, विपरिभाषित जस्ता गुणले परिभाषित हुन्छ’ (भट्टराई, २०६१ ः २०३) । उत्तरआधुनिकतावादका सबै प्रवृत्तिलाई संरक्षण कविता आन्दोलनले बोकेको छैन तर यसका केही विशेषता बोकेको देखिन्छ । परम्परादेखि कविताको केन्द्र सहर रहँदै आएको स्थितिलाई विनिर्मित गरी कविता गाउँमै गएर लेख्ने र गाउँलेलाई नै सुनाउने प्रवृत्ति यस अभियानले थालेको देखिन्छ । उत्तरआधुनिकतावादले प्लेटोदेखिका मान्यता भत्काएको सन्दर्भमा यो खालको भत्काइ मिल्दो देखिन्छ । कविता पठ्यविधा बन्दै गएको स्थितिलाई भत्काएर कवितालाई श्रव्य विधा बनाउने प्रयत्न गरेको देखिन्छ । कविताका पाठक शिक्षित वर्ग भइरहेको स्थितिमा गाउँका शिक्षित अशिक्षित सबैलाई कविताको मर्म बोध गराई कवितावाचन गरेर कविता सबैको साझा बनाउने प्रयत्न देखिन्छ । कवितालाई पठ्यविधाबाट श्रव्यविधामा रूपान्तरण गर्ने अभिनव प्रयत्न राम्रै हो । रचना प्रकाशित गर्ने अवसर नपाएका, रचना सुनाउने अवसर नपाएका, समीक्षकका आँखामा नपरेका नवकविलाई कवितायात्रामा सहभागी तुल्याउनु पनि परम्परित केन्द्र भत्काउनु हो ।

नेपाली साहित्यका अधिकांश आन्दोलन सहरकेन्द्री छन् । तर यो आन्दोलन पाखा परेका, हेपिएका, केन्द्रमा टेक्ने अवसर नपाएका, केन्द्रले सधैं ‘मार्जिनल’ बनाइरहेका सीमान्तकृत वर्गलाई उठाउने आन्दोलनका रूपमा देखा परेको छ । सहरमा कविता छपाएर महान् भइन्छ भन्ने दृष्टिकोणलाई उल्टाएर अघि बढ्न खोजेको अभियानका रूपमा उत्तरआधुनिकतावादले कुनै एउटा बीचार, दल, समूहको केन्द्रयता अस्वीकार गर्छ । यसको अर्थ व्यक्तिलाई छनोटको स्वतन्त्रता छ भन्ने हो । यस आन्दोलनका विशेषताबारे सरुभक्तको कथन छ – ‘यस आन्दोलनले कवि–कवयित्रीहरूलाई स्वतन्त्र रूपले आ–आफ्नो शैली–निर्माण गर्ने स्वतन्त्रता प्रदान गरेको छ । कविता–सिर्जनाका लागि हामीले कुनै सम्झौता गरेका छैनौं’ (सरुभक्त, २०५६ः३०)

उच्च संस्कृतिको सट्टा लोकप्रिय संस्कृति रोज्नु उत्तरआधुनिकतावादको विशेषता हो । कविहरू गाउँगाउँमा जाने र त्यहींँका सभ्यता, संस्कृति, कला, धर्म, रीतिथितिलाई विषय बनाएर लेखेका साहित्यमा विविध संस्कृति आउँछ । लोकप्रिय संस्कृति फस्टाउँदै जान्छ । एउटै संस्कृति मान्न बाध्य पार्ने प्रवृत्ति घटेर जान्छ ।

उत्तरआधुनिकतावादले अँगालेका अनिर्णित, विपरिभाषित, अनिश्चितताजस्ता कतिपय गुणहरू यस आन्दोलनले अँगालेको देखिन्न । संरक्षण कविता आन्दोलनको चौथो बुँदामा ‘कविताले ग्रामीण जनजीवनमा जागरणको शङ्खघोष गर्नुपर्छ’ भनिएको हुँदा यसको लक्ष्य अनिश्चित र अस्पष्ट नभएर निश्चित र स्पष्ट छ भन्ने देखिन्छ । सदियौंदेखि किच्चिएकाका निम्ति जागरण फैलाउने काम त उत्तर आधुनिकतावादले गर्छ । अल्पसङ्ख्यक र दलिएका वर्गको निम्ति पहिचानको खोजी गर्ने काम पनि यसले गर्छ । धेरै कुराको खोजी गरेर पनि स्पष्ट दिशाबोध नगराउनु उत्तरआधुनिकतावादको कमजोरी हो । जीवन र पर्यावरणको संरक्षण गर्ने र ग्रामीण जनतामा जागरणको शङ्खघोष गर्ने निश्चित लक्ष्य राखेको हुँदा यस अर्थमा यो उत्तर आधुनिकतावादको नयाँ संस्करण होइन तर यसले उत्तरआधुनिकतावाद अर्थात् समकालीनता प्रभाव ग्रहण गरेको छ भन्न सकिन्छ ।

३) प्रगतिशीलता

साहित्य गाउँगाउँमा पु¥याउने, सीमान्तकृत वर्गका सुख–दुःख बुझेर कविता लेख्ने, ग्रामीण जनताका सुखःदुखका प्रत्यक्ष संवाद गर्ने, साहित्यिक कार्यक्रमहरूमा नवोदित कविहरूलाई पनि उच्च महत्व दिई सहभागी गराउने, स्थलगत लेखन गर्ने, जनताले नै बुझ्ने भाषामा कविता लेख्ने आदि विशेषता यस आन्दोलनमा भेटिने हुँदा यस आन्दोलनलाई प्रगतिशील आन्दोलन भन्न सकिन्छ ।

४) प्रयोगशीलता

प्रयोगको तात्पर्य परम्पराबाट मुक्त भएर नयाँपनको खोजी गर्नु वा आविष्कार गर्नु हो । संरक्षण कविता आन्दोलनलाई प्रयोगपरक आन्दोलन भनिएको छ । सरुभक्तको कथन छ – ‘यस आन्दोलनले गाउँघरमा गई तद्स्थानीय कविता रचना (अन द स्पट पोएट्री क्रियसन) र तद्स्थानीय कविता – गोष्ठीहरू आयोजना गर्ने अभिनव प्रयोग गरेको छ’ (सरुभक्त २०५६ ः ३०) । प्रयोग भन्ने कुरा वाक्य – संरचना, कथन, शब्दार्थ, व्याकरणको प्रयोगमा मात्र सीमित हुने रहेनछ । यस आन्दोलनले औंल्याएको शारीरिक र भावनात्मक रूपमा पनि क्रियाशीलता एउटा अभिनव प्रयोग हो । ग्रामीण पहाडी जनजीवनका स्थलगत अध्ययन गरी पहाडी गाउँमै बसेर एउटा क्षणमा कविता लेख्दा कविताको गुणस्तर कस्तो होला ? यो एउटा प्रयोग मै सीमित हुने हो कि भन्ने आशङ्का गर्न सकिन्छ ? अर्कातर्फबाट सोच्दा कवितायात्रा भनेको एक किसिमले मानसिक तयारीको अवस्था पनि हो । कविहरू बिम्ब सँगाल्दै र भावनात्मक तयारीका अवस्थामा यात्रा गरिरहेका हुन्छन । यस्ता भ्रमणमा इच्छा राखी सहभागी हुनु भनेको पनि कविता स्फुरणको मानसिकता हो । त्यसो त लक्ष्मीप्रसाद देवकोटाले ‘शाकुन्तल’ तीन महिनामा लेख्दा उनीसँग पच्चीस वर्ष लामो काव्य साधना थियो । शीर्षक नतोकिने, वैचारिक सम्झौता गर्नु नपर्ने, मानसिकता नबनेमा कविता सुनाउन बाध्य नपारिने स्वतन्त्रताले गुणस्तरको क्षति नहुन पनि सक्छ । सरुभक्तको कथन छ – ‘कविता सिर्जनाका लागि हामीले कुनै सम्झौता गरेका छैनौं (सरुभक्त, २०५६ ः ३०) यसको अर्थ स्पष्ट छ कविलाई विषय छान्ने स्वतन्त्रता छ । यसमा के भन्न सकिन्छ भने बिसे नगचीका सन्तानको बास उठाइएको यथार्थ घटना देखेपछि श्रवण मुकारङको चर्चित कविता ‘बिसे नगर्ची’ त्यहीं स्थानमा त्यहींँ बसेर लेखिएको कविता हो । यो कुरा उनले धेरै ठाउँमा भनेका छन् । त्यसैले यो आन्दोलन एउटा प्रयोग मात्रै हुने छैन भन्ने आशा गर्न सकिन्छ । अब कविता लेख्नेले स्वकेन्द्री भएर मात्र भएन । त्यो उद्देश्यपूर्ण, अर्थपूर्ण र समसामयिक हुनु पर्छ । वनविनाश, कीटनाशक औषधीको अत्याधिक प्रयोग, कृषियोग्य जमिनको विनाश, वनस्पतिको लोपजस्ता विषयमा हाम्रा कविहरू त्यति गम्भीर देखिएका छैनन् । यस आन्दोलनमा लागेका कविहरूका केही कविता पढ्दा यसतर्फ चासो बढेको देखिन्छ । सधैं गौंण र द्वितीय स्थानमा राखिँदै आएको गाउँलाई प्राथमिक स्थानमा राख्नु भनेको विषयपरक प्रयोगशीलता हो । वर्डस्वर्थ, कलरिज, किट्स र हाम्रा देवकोटा र घिमिरेले प्रकृतिका गीत गाए । यिनीहरू अप्रदूषित प्रकृतिको शरणमा पर्न चोहका हुन् । यिनीहरूमा धेरथोर पलायनवादी प्रवृत्ति देखिन्छ । यो आन्दोलनमा लागेका कविहरूले कठोर पहाडी जीवनको रक्षाका विषयमा गाउँलेहरूको चेतन विस्तार गर्ने विषयमा, प्रकृतिको संरक्षण कसरी गर्ने भन्ने विषयमा चिन्ता र चासो व्यक्त गरेका छन् । यो सकारात्मक पाइला हो । यस अर्थमा कविहरूद्वारा जीवन र प्रकृति बचाउन गरिएको एउटा प्रयोग हो ।

प्रभाव

संरक्षण कविता आन्दोलनबाट प्रभाबीच र प्रेरित भई नेपाली साहित्यमा केही आन्दोलन कार्यक्रम भएको बुझिन्छ । गजल सन्ध्या ( ) ले गरेको ‘ग्रामीण कविता यात्रा ५, गजल सन्ध्या, भावना परिवार ( ( र नवनीत साहित्य सागर ( ( ले संयुक्तरूपमा गर्दै आएको ‘अक्षर यात्रा’ कार्यक्रम यसका उदाहरण हुन् । यी आन्दोलन कार्यक्रममा सहभागी कतिपय सदस्य संरक्षण क.विता आन्दोलनका पनि सदस्य हुन् । यिनीहरूले विभिन्न कार्यक्रममार्फत् यसलाई विस्तारित गर्न खोजेको देखिन्छ ।

मूल्याङ्कन

संरक्षण कविता आन्दोलनका बारेमा सकारात्मक मूल्याङ्कन भएको पाइन्छ । डा. दयाराम श्रेष्ठको कथन छ – “संरक्षण कविता आन्दोलन निश्चय पनि सडक कविता क्रान्तिको अर्को संस्करण वा स्थानीय भेद होइन । सरल अभिव्यक्ति यी दुवै आन्दोलनका साझा गुण भए पनि यी दुवैको गन्तव्य फरक–फरक छ । (श्रेष्ठ, २०५९ ः १६२) । सडक कविता क्रान्तिले राजनैतिक मूल्य बोकेको देखिन्छ । संरक्षण कविता आन्दोलन जीवन र प्रकृतिको संरक्षणका निम्ति गाउँमुखी हुने गैरराजनैतिक आन्दोलन हो । गाउँका समस्याका बारेमा कुरा गर्दा राजनैतिक सन्दर्भ आउन सक्छ । तर त्यो प्रासङ्गिक मात्रै हो । डा. गोविन्दराज भट्टराईले यसले इकोसिस्टमलाई ग्राह्यता दिई पर्यावरणलाई जोगाउन प्रयत्न गरेको टिप्पणी गरेका छन् (भट्टराई, २०५९ः २३५) ।

डा. खगेन्द्रप्रसाद लुइटेलले यस आन्दोलनका बारेमा सतर्कतापूर्वक मूल्याङ्कन गर्दै केही समय यसका गतिविधहरूको अवलोकन गर्नु आवश्यक छ भनेका छन् । उनको कथन छ – ‘कविताको कलात्मकता, सौन्दर्यात्मकता, गुणात्मकता, स्तरीयता, सार्वजनीनताजस्ता कतिपय सीमाहरूतर्फ सचेष्ट रहँदै यस अभियानलाई स्थानविशेषमा सीमित नगरेर देशका कुनाकन्दरासम्म विस्तार गर्दै लगिएमा भविष्यमा यस स्पष्ट राइटिङ्ले एउटा सशक्त आन्दोलनकै रूप नलेला भन्न चाहिँ सकिन्न (लुइटेल, २०६०ः३५१) । लुइटेलको मूल्याङ्कनपछि यस आन्दोलनका १० शृङ्खला थपिएका छन् । सुकुम शर्माले यस आन्दोलनले सफलता पाउन आगामी दिनमा अँगाल्नु पर्ने कार्यदिशाका बारेमा सुझाव दिँदै कवितासँगै अन्य विधाका सिर्जनामा लाग्न पनि रचनाकारहरूका लागि सिर्जनात्मक ऊर्जा थप्ने हुँदा यस आन्दोलनको महत्व बारेमा अन्तक्र्रिया हुँदा यस आन्दोलनको निरन्तरतामा दिगोपन आउने देखिन्छ (शर्मा, २०६४ः१२६) । यस आन्दोलन दिगो बनाउनु पर्छ भन्ने सोंच शर्माको छ ।

पश्चिमाञ्चलका गाउँघरबाट यो आन्दोलनले क्षेत्र फराकिलो बनाउँदै लगेको छ । कान्तिपुर दैनिकलगायतका विभिन्न अखबारमा यस आन्दोलनका बारेमा बेलाबखतमा चर्चा हुने गरेको पनि भेटिन्छ ।

सहरमा बसेर गाउँका कविता लेख्नभन्दा गाउँमै गएर गाउँका कविता लेख्दा कविता अकृत्रिम बन्छ । अर्कोतर्फ गाउँलेहरूमा साहित्यिक अभिरुचि जगाउनु भनेको अत्यन्त राम्रो उद्देश्य हो । पाठक नभए कविताको अर्थ हुँदैन । कविहरूले पाठक जुटाउनु भनेको कविताको लोकप्रियता बढाउने कदम हो । जतिसुकै राम्रा कविता लेखे पनि त्यो पढिँदैन सुनिँदैन भने त्यसको अर्थ भएन । स्पष्ट राइटिङले पाठकलाई आनन्द दिन्छ । त्यहींँका बिम्ब समेटेर लेखेका कविता सुन्न पाउँदा पाठकले आनन्दको अनुभव गर्छन् । कविलाई आफ्नो कविताको लोकप्रियता जाँच्ने मौका पनि यसले दिन्छ । पाठकबाट प्रशंसा पाएका कविहरू साहित्यमा आउने स्थिति भएमा कवि र पाठकका बीचको निकटता बढ्ने देखिन्छ ।

निष्कर्ष

जीवनको अस्तित्व बचाउने, प्रकृतिको संरक्षण गर्ने, गाउँलाई केन्द्र बनाउने, पाठकलाई ख्याल गर्ने, गाउँको अध्ययन गरी त्यहींँका बिम्बको उपयोग गरी स्वतन्त्र शैलीको निर्माण गरी कविता लेख्ने यस आन्दोलन उत्तरआधुनिकतावाद, प्रगतिशीलता, प्रयोगशीलताका कतिपय गुणहरू लिई जनतालाई आन्दोलित र उत्प्रेरित गर्ने उद्देश्य बोकेर अघि बढेको देखिन्छ । समीक्षकको समेत सहभागीता जुटाउने, विधा विस्तार गर्ने र आन्दोलनलाई देशका पूर्वी र पश्चिमी गाउँसम्म पु¥याउने, यसलाई बचाएर टुङगोमा पु¥याउने काम बाँकी नै छ । अहिले साहित्यकारले खास जाति र क्षेत्रका सुख–दुःखलाई मात्र साहित्यको विषयवस्तु बनाएका छन् भन्ने आरोप खेप्नु परेको स्थितिमा यस आन्दोलनलाई सहयोग पु¥याउनु सबै जाति, वर्ग र क्षेत्रलाई साहित्यमा स्थान दिनु हो ।

सन्दर्भ–सूची:-

भट्टराई, गोविन्दराज (२०५९) काव्यिक आन्दोलनको परिचय, (दो.सं.) काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

भट्टराई, गोविन्दराज (२०६१), पश्चिमी बलेसीका बाछिटा, ने.रा.प्र.प्र. ।

लुइटेल, खगेन्द्रराज (२०६०), कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौंः नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान ।

श्रेष्ठ, दयाराम (२०५९), साहित्यको इतिहास ः सिद्धान्त र सन्दर्भ, काठमाडौँ ः त्रिकोण प्रकाशन ।

शर्मा, सुकुम (२०६४), नेपाली भाषा–साहित्यमा आन्दोलन, काठमाडौं ः एकेडेमिक बुक सेन्टर ।

सरुभक्त (सम्पा.) (२०५३), संरक्षण कविता यात्रा (पोखरा ः अन्नपूर्ण संरक्षण क्षेत्र) ।

सरुभक्त (२०५६), ‘संरक्षण कविता आन्दोलन र यसको घोषणा पत्र’, मधुपर्क, (वर्ष ३२, अङ्क १) पृ. २९–३० ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।