१. श्रीशीशा राई (२०३६) एउटा आशा लाग्दो नाम हो । उनको सेवा र पेसा पत्रकारिता हो । उनी नेपाल पत्रकार महासँघ र किरात राई पत्रकार संघसित आबद्ध हुन् । उनले ‘इँटा’ (२०५९) सम्पादन गरेका छन् । उनले ‘विमल गुरुङ्ग स्मृति पुस्तकालय’ वाट युवा प्रतिभा सम्मान पाएको कुरा यस पुस्तकको पश्चपृष्ठले देखाउँछ । उनका कविताको पुस्तक ‘चेतनाहरु चबाएर’ (२०६६) का बारेमा टिप्पणी गर्ने समीक्षक भूपाल राईले विचार, चिन्तन या चेतनाहरु कविताका अधिरचना हुन् भनेका छन् । ‘चेतनाहरु चबाएर’ कविता सङ्ग्रह वाणी प्रकाशन विराटनगरवाट प्रकाशित सानो कृति हो । यस कृतिमा जम्मा पचासको हाराहारीको संख्याका फुटकर रचना छन् । यी सवै रचना गद्य शैली, अनुप्रासयुक्त हरफ, छोटा गुच्छक र सुन्दर स्फुट रुप तथा हेर्न रुचि लाग्ने कागजको गुणात्मक अवस्था पाएर जन्मिएका छन् ।
२. राईका रचनामा कल्पनाहरु नै सपना हुन् । यी सपनाहरु भित्र अनेक विषयको खचाखच रहन्छ, त्यसमा खेतीपातीलाई पहिलो महत्वको वस्तु ठानिएको छ, किनभने पुर्खाको धर्म त्यही हो । आफ्नो प्यारो संसारभित्र आफ्नो घर छ; जस्तै ः
‘‘म स्वप्न जिन्दगी वाँचीरहेछु
म घामको सवैभन्दा नजिक उभिएको
अग्लो हिमाल हुँ
बाढीमा डुब्दै गरेको घर मेरो हो ।’’
(‘म र सपनाहरु’, पृष्ठ – १८)
श्रीशीशाका प्रतीक भएर आएका विम्व प्रधान शब्द समूहलाई हेर्न सकिन्छ; ढुङ्गा काँचो हुनु, फूलको कोलम्बस देख्नु, गोलीको माला लगाउनु, निर्विकल्प आशाहरु सजाउनु, भाइले गोली छातीमा बर्साउनु, मृत्युको घोषणाको तयारी गरिनु, सोफिष्टिकेटेड आँगनमा हनिमुन मनाउनु, भोकको दुनियाँ भेट्नु, सुनको डल्लो फोर्न नसक्नु, देश बाढीमा वग्नु, हाँगामा कोपिला फुल्नु, प्रिय टेकनाथको सम्झना गरिनु, एम्बुसको विष्फोटनको आवाज सुन्नु, करक्क चुहुने जाडो भोग्नु, यतावाट जङ्गल पसी उतावाट गाउँ घुसेर बच्नु, जिन्दगीको स्थायी हुलिया बनाउन नसक्नु, शान्तिको सङ्कास्पद आगमन हुनु, पर्खाईको एक छेउ जलिसक्नु, कविताको आगमनलाई महशुस नगर्नु, आफ्नै देशभित्र परदेशी बन्नु, कञ्चटमा बन्दुकको नाल हुनु, सेता परेवा छाड्नु, मेलापात गर्न नसक्नु, चुरोट तानेर कविता निकाल्नु, पानी अस्थिर मन बराबरी हुनु, सनाखत हुन वाँकी लाशहरु थुपारिनु, घुँईचोमा आफ्नो अनुहार भेट्न गाह्रो हुनु, घण्टाघरको आवाज सुन्नु, जिजीविषाको कोलाज हराउनु, खुशीको घाम हेर्नु, हत्केलावाट देश खस्नु, उनको पाईलाको डोबमा आफ्नो अनुहार खोज्नु, बगैँचामा ब्वाँसाले सिँगौरी खेल्नु, विश्वासको रिक्तता भरिनु, चक्रपथ नै यात्रा बन्नु आदि बिम्बप्रधान पदावलीमा कविताको भाव प्रकाश गर्न सकिने स्थितीको बिकास हुन्छ । यस्ता बिम्बप्रधान अभिब्यतिmबाट हाम्रो समाजले भोगिरहेको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक र एतिहासिक सन्दर्भ निर्देशित छन् । यिनमा कतै प्रेमप्रीति, कतै युद्व र कतै अराजक स्थितिलाई चिनाउने आवाजहरु एवम् गम्भीर बस्तुका सङ्केतहरु परिभाषित छन । एउटा कुनै बिम्बप्रधान सर्ग एउटा कवितामा सक्रिय गराइन्छ । त्यसैलाई माथिदेखि तलसम्म सिलसिलामा राखिन्छ र जीवन झैँ आदि, मध्य र अन्त्यको गतिबाट रचना जीवन्त रहेको बोध गराइन्छ, यति धेरै शृङखलाहीन सँसारमा यति राम्रो शृङखलाबद्व रचना दिनु एक कलाकारको लक्षण हो;
‘‘जमेको छ पानि
पानी अस्थिर मन हो
स्थिर स्वाभिमान र प्रदूषण हो ।
..................
म धुवाँ, धुलो, आवाज र दृश्यहरुसँग भिड्दै
खाल्डाको किनारमा अटन सकिनँ
र घचेटिएँ पानीमा’’
(‘खाल्डाको पानी र जुन’ पृ – ५९)
एउटा रचनामा मात्र होइन, धेरैवटा रचनामा यस किसिमको एउटा प्रतिकात्मक अर्थले यस्ता पदावली प्रयोग गर्न धर्मको सिलसिला खोज्न सकिन्छ ।
३. कवितामा चेतनाहरु सवै चबाइएको विषयमा एक टिप्पणी गर्न सकिन्छ । हाम्रो स्वाभिमानलाई बचाएर बोल्न पाइदैन, तिनलाई चबाएर निल्न पनि सकिँदैन र ओकल्न पनि हुँदैन । ती चेतनाहरु कल्पनाका पर्यायवाची भएका छन् । समीक्षकहरु मध्येका प्रा.डा.टङ्कप्रसाद न्यौपानेले समयलाई चिनाउने असरल तरङ्गलाई सुन्दर ढंगमा देखाउने रचना भन्नुभएको छ । अर्का समीक्षक प्रा. डा. गोविन्दराज भट्टराईले अकृत्रिम सहजतामा वगेका रचना भन्नुभएको कुरा भूमिकामा हेर्न सकिन्छ ।
श्रीशीशाका कविताहरु ‘म र सपनाहरु’, ‘सशङ्कित नजरहरु’, ‘काँधमा आशाहरु’, ‘आँगनमा’, ‘सर्त’, ‘हुलिया’, ‘अर्थ’, ‘जून टिप्न’, ‘जिन्दगी’, ‘शान्ति’ आदी शीर्षकले सजिएका छन् ।
यी रचनावाट हाम्रो समाजलाई लक्षण र व्यञ्जनाले चिनाउन खोजिएको हो । यस्ता रचनामा गुच्छकहरु उचित ढङ्गले विकास भएका पाइन्छन् र शब्दशब्दको क्रम श्रृङ्खला रहर लाग्दा छन्, ती अझ माझिँदै, खारिँदै र बिम्बप्रधान हुँदै जानेछन् भन्ने आशा गर्न सकिन्छ ।
धरान