14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नजिकको प्रश्न

कविता मनोज बोगटी January 22, 2011, 7:36 am

एउटा दह्रो रेखा छ

त्यसलाई टेकेर निस्किएको छ उ

रावनबाट ज्ञान थाप्नु

शरीरमोह

च्वाट्ट चुट्टिएको छ

उसको जीवनको गुड्डीबाट।

खेल्नु त हो जीवन

खेलौं।

खेल भनेको हारजितको डोरीले बॉंधिएको बँधुवा खसी हो कि?

खेल्छ उ

अब उसको चेतना मात्र।

कहीं त भूल छ कि यो वाक्यमा

वा शब्दमा

कि अक्षरमा?

नर जस्तो बलियो हुँदैन कि

नॉंकेडोरी

र त फुस्कन्छ गाई, बाख्रा र सोत्तर पार्छ

बनाइसकेको खेत जस्तो संस्कार।

कुन्नी

चेतना भन्ने कुराले

नाङ्गो स्वास्नीलाई छोप्न सक्छ कि सक्दैन।

नत्र नाङ्गो नाङ्गै कविता

उत्पादन गर्न कुनै कम्पनीले घुरेनबारी मिच्दैन भनेर के ग्यारेन्टी छ?

धागोले आफूलाई छोप्नु

कि आगोले?

उसले सोधेको प्रश्न हो

भित्तालाई

भर्खर।

खासमा भित्ता र समयमा

कुनै फरक छैन।

हुन पनि तिनले आफ्नै मात्र एकलो धारणाले उठाएको महल

तिनकै मात्र भयो।

त्यहॉं उसको सत्ता र चेतनाको प्वॉंख काटियो

खन्याइदियो

छोराछोरी, लिपपोत र भन्साकोठामा

उसको जम्मै तरलता।

तिनको घरबाट निस्किएपछि उ

आफू भएको छ र

अहिले नजिकबाट प्रश्न आइरहेको छ-

तिमी-लाई र म-लाई छुट्याउने रेखा कसले बनायो?

रेखापथमा उसका प्रश्नहरू

लहर लागेका छन्‌।

तिमीले पनि सुन्यौ उसको प्रश्न?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।