19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सहिदप्रति

कविता विजय देवकोटा January 28, 2011, 11:24 am
विजय देवकोटा
विजय देवकोटा

ओ सहिद !

ओ मेरो प्रियजन!

आज तिम्रो ठाडो अपमानको हरेक हिस्सा

यो कवि मनलाई अप्रिय भएको छ,

तिनको बेइमानी र गद्धारीको पराकाष्ठा

तिम्रा रक्तविजहरुलाई असैह्य भएको छ,

तिम्रा मृदुल सपनाहरुको क्रुर हत्या

जराङ, जलजला र जेलवाङलाई

तातो मरुभुमीको हिटरजस्तै भएको छ ,

त्यसैले मेरो सहिद !

हिजो दुश्मन मूर्खहरुले तिम्रो शरिरलाई कुल्चँदा

मेरो कलम यसरी नै दुखेको थियो,

आज मित्र मुर्खहरुले तिम्रो विचारलाई कुल्चँदा

मेरो कलम उस्तै छट्पटिएको छ,

तिम्रा सपनाहरु तुहाईएको विषाद् घडिमा

मेरो कवित्वनिहीत संवेदना

प्रशव वेदनामा डुबेको छ ।

ओ सहिद !

तिम्रा स्वर्णिम सपनाको घाम प्राचीमा उदाउनुअघि नै

दक्षिण मडारिने अन्धमुष्टि कुहिरोले पूर्व ढाक्दैछ

सपाट सुख्खा वगरजस्तो तिनको नियतीले

संघारमा आएको मुक्ति दुर क्षितिजमै फर्किएको छ,

आशा र आकांक्षारुपी शिशु

तुहिएको बेनामे अम्रोजस्तै भएको छ,

तिम्रो रक्तयाथार्थ र तिनको नाट्यप्रतिबिम्व उस्तै रहेनछ,

त्यसैले;

तिमी हामीले भोगेको जीवनशिल विगत

वर्तमानलाई समेत ठिमाहा घोषित गर्नै अवशान भएको छ,

छैनन् यहाँ जीवन, स्पन्दन, प्रेम, संघर्ष र सन्देश

निर्मम समर लड्नेहरुको उत्साह

आगोको भुङ्ग्रोमा परेको गौरीफट्याङ्ग्रोजस्तै

निराशाको दियोमा पिल्सिएको छ ।

प्रिय सहिद !

तिमी कहरमा अपमान लुकाएर सुन्छौ भने

सर्वहारा जीवनका जस्तासुकै विषादमय घडीमा

अब, आवेग र सुस्केरा बारुदको धुँवामा बदलिने छैनन्,

लक्ष्यको बिन्दु भेट्ने रक्तक्रान्तिका लालरेखाहरु

फेरी निरन्तर कोरिने छैनन्,

तिम्रो स्वप्नवागमा सुन्दर विपनाका फूलहरु

फेरी सायदै हुर्किएलान्,

बेईमानहरुलाई दासताको पुष्पगुच्छा चढाउन विवश तिम्रा सहयात्रीहरु

निरन्तर मुक्तियात्रामा लामबद्ध सायदै बन्लान्,

त्यसैले मेरो सहिद !

मेरो कवित्व दुखाईएको यो बिषम परिबेशमा

मैले एक तमोर आँशु तिमीलाई चढाएँ ।

पन्द्रुङ ३, जराङटारी, गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।