15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यमा आलोचना

विचार श्यामप्रसाद February 4, 2011, 9:43 pm

अरू विषयमा जस्तै साहित्यमा आलोचना गर्दा पनि धेरै कुराको विचार पु¥याउन सक्नुपर्छ । तीमध्ये केही कुरा यी हुन् :-

कुनै कुनै कवि–लेखक जानाजान नै जनताको कुभलो हुने कुरा लेख्ने गर्छन्, बोल्ने गर्छन् । तर कैयन् साहित्यकारहरू जनताको हित नै चिताएर चल्छन् तापनि चेतना र अनुभवको कमीले गर्दा तिनका रचना र प्रवचनहरूमा जनताको अहित हुने कुरा समेत पर्न गएका हुन्छन् । पारखी आलोचकले यी दुई थरीलाई राम्ररी छुट्याएर आफ्ना पाठकहरूलाई प्रष्टसित चिनाइदिन खोज्नुपर्छ ।

अपराध पनि ठूलो–सानो हुन्छ । अपराधको आलोचना गर्दा होस् अथवा कमजोरीको, ठूलोलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ भने सानोतिनोप्रति चाहिँ त्यति नै बढी गम्भीर भइरहनु हुँदैन । यसरी सन्तुलन राख्न जानिएन भने आलोचनाले राम्रो परिणम ल्याउन सक्दैन ।

आलोचना गर्ने ठाउँ पाइयो भन्दैमा आलोचकले अरूप्रति अलिकति पनि अनादर देखाउनु हुँदैन । सार रूपमा, जतिसुकै तिखो कडा आलोचना गर्न कर लागे पनि प्रस्तुतीकरण वा शैली भने विनम्र र शिष्टतापूर्ण हुनु अति आवश्यक छ । गल्ती जसले पनि गर्न सक्छन् र कुनै न कुनै प्रकारको कमजोरी पनि सबैमा हुन्छ भन्ने कुरा बुझेको आलोचक घमण्डी र फुइँवाज हुँदैन ।

समानतापूर्ण व्यवहार गरी अरूको इज्जत राख्न जान्ने नम्र आलोचकको मानमर्यादा नघटेर झन्झन् बढ्दै जान्छ । आफूले गरेको आलोचना सही छ, गलत छैन भन्ने कुरा देखाउन तर्कहरू दिनुपर्छ र उदाहरण–प्रमाणहरू पनि पेश गर्नुपर्छ । यसरी सिद्ध गरेर देखाउनु नपर्ने, दोष लाइदिए मात्र पुग्ने पद्धति न्यायपूर्ण र वैज्ञानिक हँुदैन । तर्कहरू पनि कुरा जित्न मात्र बल गर्ने खालको नभई वास्तविकतासित मेल खाने हुनुपर्छ । व्याकरण लेखिएर, कोष बनाइदिएर र अरू भाषाको साहित्य अनुवाद गरिदिए नेपाली भाषालाई समृद्ध पार्न ठूलो सघाउ पु¥याउने विद्वान् र विशेषज्ञहरू जति सबैलाई नेपाली भाषाको विकासका बाधक भनी फतुर लाउन पुगियो भने त्यस्तो आलोचना कसरी यथार्थवादी ठहरिएला ?

आलोचना तर्कपूर्ण र प्रामाणिक भएर मात्र पनि पुग्दैन, त्यो अरूलाई पनि चित्त बुझ्ने खालको समेत हुनुपर्छ । यो आलोचना त मनासिबै हो भन्ने कुरा आलोचना गरिएको व्यक्तिको मनमा समेत पार्न सक्ने आलोचकलाई त झन् प्रभावशाली मान्नुपर्छ । आलोचना प्रभावपूर्ण हुन सके पहिले बाटो बिराउने कवि–लेखकले पनि पछि निकै होस गर्नुपर्ने हुन्छ र आफ्नो कमजोरी फाल्न चाहने साहित्यकारहरूले पनि त्यसबाट प्रेरणा पाउँछन् ।

हामीले जतिसुकै बुद्धि र विवेक पु¥याएर आलोचना गरे पनि सब साहित्यकार र सबै पाठकहरूलाई त्यसको पक्षमा तान्न त सकिँदैन होला । तर तीमध्ये सकेसम्म धेरै जनलाई आफ्नो पक्षमा तान्ने प्रयत्न भने अवश्य हुनुपर्छ । यस्तो प्रयन्न पुगेन भने सम्बन्धित आलोचनाको पक्षमा आउन सक्नेहरूमध्ये पनि धेरैजना छुट्छन् । आफ्नै शिविरका साथीहरूको समेत समर्थन पाउन गाह्रो पर्ने आलोचना गर्ने वानी बस्नगयो भने सफल आलोचक कसरी बन्न सकिन्छ र ? सफल आलोचक बन्न त मित्रहरू नै बढी कमाउन सक्नुपर्छ ।

हातीसार

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।