16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रयोगवादको उत्कृष्ट नमुना ‘घामको वर्षा’

कृति/समीक्षा सिजन ‘नयन’ श्रेष्ठ February 9, 2011, 6:59 pm

१.उठान

नेपाली साहित्यजगत्मा कवि कृष्ण प्रसाई (वि. सं. २०१७) को एउटा छुट्टै स्थान छ । समाजशास्त्र तथा नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका प्रसाईले वि. सं. २०३२ सालबाट साहित्ययात्रा आरम्भ गरेका हुन् । झापाको सूर्याेदय साप्ताहिकमा प्रकाशित कविता ‘कविप्रति उठेको सम्झना’ उनको प्रथम प्रकाशित रचना हो । त्यसै समयदेखि प्रसाई नेपाली साहित्यका कविता, कथा र निबन्ध विधामा निरन्तर साधनारत छन् । यसअघि उनका प्रक्षेपण (कथासङ्ग्रह , २०४७), घाम नभएको बेला (कवितासङ्ग्रह, २०६२), अनुभूतिका छालहरू (नियात्रासङ्ग्रह, २०६५) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् भने उनले छरिएका केही पृष्ठ (२०४४) र नेपाली समसामयिक कविताहरू (२०४८) आदि कृतिको सम्पादन समेत गरिसकेका छन् । डोको इन्टरनेसनल (हङ्कङ) द्वारा प्रकाशित जेनकविताहरूको सङ्ग्रह ‘घामको वर्षा’ (२०६६) उनको पछिल्लो कृति हो ।

२.जेनकविता ः परिचय र संरचना

जेन (ZEN) शब्दको अर्थ ध्यान वा चिन्तनमनन (meditation) भन्ने हुन्छ । ‘जेनकविता’ जापानी शब्द ‘जेन’ र नेपाली शब्द ‘कविता’ को फ्युजन हो । जेनको नेपाली अर्थ ध्यान हुने भएकोले ‘जेनकविता’ लाई नेपालीमा ‘ध्यानकविता’ पनि भन्न सकिन्छ । जेन शब्द बुद्ध धर्मको जेनदर्शनसँग सम्बन्धित छ ।

हाइकु, ताङ्का र चोकाजस्तै ध्यानकविता पनि अत्यन्तै छोटो आयामको हुन्छ । तर ध्यानकवितामा हाइकु, ताङ्का र चोकामा जस्तो निश्चित नियम हुँदैन । जस्तै– हाइकु, ताङ्का र चोकामा अक्षर र पङ्क्तिको गणना हुन्छ भने ध्यानकवितामा त्यस्ता कुनै पनि नियम लागु हुँदैन । हाइकु, ताङ्का र चोकाभन्दा फरक अस्तित्व भएको जेनकविताको छुट्टै संरचना हुन्छ । एउटै ध्यान कवितामा पनि विविध विषयवस्तु समेट्न सकिने हुनाले यो बिना शीर्षक नै रचना गर्नु उपयुक्त मानिन्छ । नेपाली साहित्यमा यो एउटा नयाँ प्रयोग हो । ध्यानकविताबारे अझ स्पष्ट पार्नका लागि यसै कृतिमा समेटिएका विज्ञहरूको धारणालाई उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

(क) “जेनकविता शब्दको समाधिबाट जन्मिएको एउटा आध्यात्मिक तनावको विराट उज्यालो हो । जीवन र प्रकृतिका क्षण र अंशहरूबाट पूर्णत्वतर्फ उन्मुख रहेको चेतनाको एउटा महायात्रा हो ।”

– विप्लव ढकाल

(ख) “अति छोटोमा झ्वाम्मै अनुभूतिको प्रकटीकरण गर्दा बन्ने ध्यानकविताको पहिलो आधारभूत विशेषता आयामगत सड्क्षिप्तता हो भन्ने भावगत गम्भीरता यसको अर्को उल्लेख्य विशेषता हो ।”

–डा. खगेन्द्रप्रसाद लुईंटेल

जेनकविता नेपाली साहित्यमा एउटा नयाँ सदस्यको रुपमा भर्खरै प्रवेश गरेको हुनाले यसको ठोस परिभाषा यहि हो भन्न सकिने अवस्था छैन । त्यसैले अझै विस्तृत रुपमा खोज अनुसन्धान हुन जरुरी छ । जुन भविष्यमा जेनकविताको विकासक्रमका लागि सहायक सिद्ध हुन्छ ।

३. ‘घामको वर्षा’ भित्रको अन्तर्वस्तु

‘घामको वर्षा’ नेपाली साहित्यको क्षेत्रमा गरिएको नयाँ प्रयोग अनि महत्वपूर्ण आविष्कारको पुस्तकाकार रूप हो । यसमा समाविष्ट १०८ वटा कविताहरू २ देखि १० हरफ वा पङ्त्तिमा रहेका छन् । जेनकविता शीर्षक विना नै लेखिने हँुदा यस कृतिका प्रत्येक कवितालाई अङ्कद्वारा सङ्केत गरिएको छ । संसारको सर्वाेच्च शिखर सगरमाथाप्रति समर्पित यो कृति बिल्कुलै नौलो लाग्छ । नेपाली साहित्याकाशमा एउटै पुस्तकभित्रका सबै रचनाहरू एकै ठाउँमा गोलबन्द गरेर फरक तीन भाषामा प्रकाशन भएको सम्भवतः यो पहिलो अवसर हुनुपर्छ । प्रत्येक रचनालाई एउटै पेजभित्र क्रमशः नेपाली, अङ्ग्रेजी र कोरियाली भाषामा प्रस्तुत गरिग्को छ ।

यसमा समाविष्ट रचनाहरू जति सरल छन् उत्तिनै राम्रा, मीठा र रसिला छन् । पुस्तक पढिरहँदा बेग्लै आनन्दको अनुभूति हुन्छ । जसले मस्तिष्कलाई ताजा बनाउँछ । प्रत्येक कविताले पाठकको मनलाई आकर्षित गर्छ र कवितामा बग्ने भावनाको सागरमा चुर्लुम्म डुबाइदिन्छ । जस्तो कि यी कविताहरू ।

कोपिला फक्रिएपछि

म निदाएँ

सपनामा हाम्रो

सँगै फुल्ने वाचा छ ! (कविताक्रम–७३)

$ $

आफूजस्तै

अरूका लागि बाँच्न

पहाडले मलाई

सुटुक्क भन्यो ! (कविताक्रम–१४)

$ $

पर्दा तान्ने र उघार्नेलाई

न त दर्शकले देख्छन्

न त कलाकारले देख्छन्

तर ऊ

सबैलाई देख्छ । (कविताक्रम–५०)

कवितामा हिमालसमेत बोल्छ, हाँस्छ अनि रुन्छ । जमिन पनि त्यसै गर्छ । त्यसैले तिनीहरूसँगको अन्तरङ्गमा भुल्नुको मज्जा नै बेग्लै हुन्छ । वाह ! कविता त यस्तो पो हुन्छ । जसको सागरमा पौडन थालेपछि पौडिरहन मन लागोस् । जीवन–जगत्प्रतिको वास्तविक दृष्टिकोणलाई कविताका हरफहरूमा उतार्न कहाँ सजिलो छ र ? तर त्यसलाई सम्भव तुल्याइदिएका छन् कवि कृष्ण प्रसाईले । त्यही पनि यति सरल तवरले ।

जमिन हाँस्यो

आफूलाई किन्नेको

आयु सम्झेर ! (कविताक्रम–१०८)

$ $

हिमाल हेरेपछि

म खुशीले रोएँ

हिमाल पनि रोयो

उसको आँसुले

म मुक्त भएँ । (कविताक्रम–७७)

यो सबै उनको साधनाको परिणाम हो । त्यसैले त उनका कविता बाहेकका प्रत्येक शब्दहरू पनि कविताझैं भएको अनुभूत हुन्छ । मृत्युप्रति सकारात्मक रहेका कवि कहिलेकाँही बाध्यता र विवशताको भुमरीमा पर्छन् । त्यस्तो अवस्थामा पनि नेपालको गौेरव सगरमाथाप्रतिको सम्मान यथावत् रहनु उनको महानता हो । यस्ता अतुलनीय विशेषताका धनीका अतुलनीय कविताका हरफहरू जीवन्त बनेका छन् ।

मैले स्वागत गरेँ

ताली बजाएर

आफ्नै मृत्युदण्डलाई ! (कविताक्रम–१००)

$ $

ऊ आउँछ

आएपछि कसैगरी

मैले जानैपर्छ । (कविताक्रम–६०)

$ $

मैले गुराँस टिपेँ

र सिउरिदिएँ

सगरमाथालाई (कविताक्रम–६)

अति थोरै शब्दमा धेरै भन्न सक्नु उनको शाब्दिक वैशिष्ट्यता हो । त्यही विशिष्ट गुणको परिणाम हो यो शब्दचौतारी । जसमा बस्दा अनन्त थकानको आनन्द लुट्न सकिन्छ । उनको कवितामा मानिसदेखि हिमालसम्म प्रेमको साम्राज्यमा रमेका छन् । सुन्दरताले सुन्दरता नै खोज्छ । त्यसो भए आफैंमा सुन्दर सगरमाथाले सुन्दरताले समीचीन सरक्सानसँग (दक्षिण कोरियाको सबैभन्दा अग्लो र सुन्दर पहाड) प्रेमप्रस्ताव राख्नु स्वाभाविक ठान्नुपर्छ ।

“सरक्सान !

तिमी अलि होची भए पनि

उमेर उस्तै उस्तै हो भनेर”

प्रस्ताव ग¥यो सगरमाथाले

लाज लागिरहेछ

बेहुली हुने सम्झेर ! ! (कविताक्रम–६२)

सम्राट् सम्राट्बाट साधारण मान्छे बन्छ । प्रकृति इन्द्रेणीको रूप धारण गरेर मान्छेलाई सिकाउँछ जीवनका रङ्गहरू । कति उदार सम्राट् ? अनि कति उदार प्रकृति ? यहाँ कविले उदारवादको अनुपम नमुना पेश गरेका छन् ।

त्यतिमात्र कहाँ हो र ? त्रेता युगका रावण (लङ्काका राजा) का अधुरा अनि असम्भवप्राय ! योजनाहरूलाई कविले धर्तीको आवश्यकता ठानेर कविताको घुम्टो ओडाइदिएका छन् । यसैलाई भन्छन् अनुभूतिका सहज प्रकटीकरणहरू—

कस्तो राम्रो !

एउटा सम्राट्

मुकुट फुकाएर

मान्छे हुन राजी भयो । (कविताक्रम–६७)

$ $

इन्द्रेणी बनेर प्रकृतिले

तिमीलाई सिकाइरहेछ

जीवनका रङ्गहरू । (कविताक्रम–३०)

$ $

रावण फेरि जन्मिनुपर्छ

पूरा हुन पाउनुपर्छ उनका अधुरा योजनाहरू–

सुगन्ध भरिएको सुन,

स्वर्ग पुगिने सिँढी

र चिनीको बगिरहने समुद्र

चाहिएको छ धर्तीलाई । (कविताक्रम–६४)

यस्तै यस्तै प्रयोगपरक कविताहरूको प्रस्तुति ‘घामको वर्षा’ प्रयोगवादको एउटा उत्कृष्ट नमुना हो भन्न सकिन्छ ।

४.उपसंहार

गम्भीर चेतनाका जेनकविताहरू स्वादिला भएर आएका छन् । अति छोटो बसाइँमै पढिसकिने यस कृतिको शीर्षक ‘घामको वर्षा’ रचनाहरूभन्दा बिल्कुलै फरक रूपमा उभिएको छ । वस्तुतः कृतिको शीर्षक अति सुहाउँदिलो र सुन्दर भएर आएको छ । गद्यलय र भाषाशैलीको उत्कृष्ट संयोजन, विविध विषयको प्रस्तुति र प्रयोगवादी मूल्यमान्यताअनुरूपको अन्तर्वस्तु पनि यसका विशेषताहरू हुन् । यसै कृतिमार्फत् नेपाली साहित्यमा एउटा नयाँ प्रयोगको जन्म हुनु महत्वपूर्ण कार्य हो । यो वर्तमानको उपलब्धि मात्रै होइन भविष्यको इतिहास पनि हो । अतः ‘घामको वर्षा’ सँगै उदाएको जेनकविताको अस्तित्व रक्षा र विकासका लागि धेरै कृष्ण प्रसाईहरू लागि पर्न आवश्यक छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।