17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन

कृति/समीक्षा दिल साहनी February 9, 2011, 7:58 pm

नन्दलाल आचार्यले मलाई ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’कोे भूमिका कोरिदिनका लागि यस्तै एक वर्षअघि पाण्डुलिपि पठाएका हुन् । उनको भनाइ थियो, मैले पनि नाटक लेख्ने हुनाले उनका नाटकको मर्म बुझ्न सक्छु होला । तर आचार्यले पुस्तक प्रकाशित गर्न केही ढिलो हुने हुनाले मलाई हतार गरेर भूमिका लेख्न पर्दैन भनेका थिए । यसैले पनि मैले नाटकहरू पढेर भूमिका कोर्ने कुरामा जाँगर चलाएको थिइनँ । नाटकहरू मेरा कम्युटरमा सुरक्षित थिए । तर उनले झन्डै तीनचार महिनाअघि देखि मलाई भूमिका लेखिदिन ताकिता लगाएकाले मैले त्यसको थालनी गरेँ । यसैबीच अरू पनि लेखनको जिम्मेवारी पूरा नगरी नभएको हुनाले मलाई ती काममा अल्मलिन प¥यो । यसैले मैले निकै ढिलो यो भूमिका तयार पारेँ । भूमिका लेखिसकेपछि मलाई लाग्यो, कतै यस्तो पनि भूमिका हुन्छ र ? म यो लेखनलाई भूमिका भन्न तयार छैनँ । मैले भूमिका भने पनि अरूले त्यस रूपमा स्वीकार गर्ने छैनन् । यसैले मैले यस लेखनलाई भूमिका नभनेर ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययन भन्न रुचाएँ । वास्तवमा यो भूमिका नभएर आर्चायको ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’को अध्ययनमात्र हो । मलाई थाहा छ, आचार्यका नाटक (एकांकी) अत्यन्त महŒवपूर्ण छन् । यदि यस अध्ययनले आचार्यको नाटकको महŒवमाथि प्रकाश पार्न सकेछ र त्यसप्रति पाठकको पनि ध्यान आकृष्ट गर्न सकेछ भने म मेरो अध्ययनलाई उपलब्धिपूर्ण मान्नेछु । ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा जम्माजम्मी पन्ध्रओटा एकांकी÷नाटक समावेश छन् । म प्रत्येक नाटकका बारेमा अवधारणा प्रस्तुत गर्ने जमर्को गर्दछु ।

‘वादविवाद’ पारिवारिक एकांकी÷नाटक हो । नाटक पारिवारिक भए पनि यसले विषयवस्तु भने सामाजिक उठाएको छ । सामाजिक यस अर्थमा कि यसले हाम्रो समाजमा युगौँयुगदेखि चल्दै आएका अध्यात्मवादी र भौतिकवादी चिन्तनलाई वादविवादको रूप दिएको छ । नाटकमा श्रीमती अध्यात्मवादी चिन्तनले ग्रस्त छिन् भने श्रीमान भौतिकवादी चिन्तनबाट दीक्षित । नाटककारको उद्देश्य अध्यात्मवादी चिन्तनको सट्टा भौतिकवादी चिन्तनकै पक्षपोषण गर्नु हो । यसैले ‘वादविवाद’मा लेखकले तुलनात्मक रूपमा भौतिकवादकै पल्ला भारी बनाएका छन् । यस नाटकमा लेखकको विश्व दृष्टिकोण भौतिकवादी भए पनियसले अरू फरक दृष्टिकोण वा विचारलाई सम्मान गर्ने अवधारणा राख्छ । नाटकले दिन खोजेको सन्देश हो, वास्तविक स्वतन्त्रता भनेको विपक्षको विचारमाथि दमन होइन बरु सम्मान हो । नाटककारले यस नाटकमा विगतखेखि वर्तमान र भविष्यमा पनि निरन्तर चलिरहेका र चलिरहने अध्यात्मवाद र भौतिकवादबीचको वादविवादलाई तार्किक रूपमा प्रस्तुत गरेका छन् । परिवारिक पात्र भएको यस नाटकको हास्यव्यङ्ग्य मिश्रित भाषाशैली विषयवस्तु सुहाउँदो छ । लेखकले वादविवादलाई बडो रोचक ढंगले प्रस्तुत गरेका छन् ।

दोस्रो एकांकी÷नाटक ‘करार विवाह’ हो । हामी कुनै पनि कानुनको किताबमा करार विवाह लेखेको पाउँदैनौँ । हामी कतै करार विवाह सञ्चालन गर्ने संस्था पनि पाउँदैनौँ तर पनि लेखकले यहाँ करार विवाहको नाटक रचेका छन् । करार विवाहले विवाहको विकृत रूप र विवाहको अवमूल्यन वा अवहेलना नगरी विवाह सम्बन्धमा गम्भीर कुरा व्यक्त गरेको छ । विवाहका सम्बन्धमा हरेक व्यक्तिको आफ्नै दर्शन हुन सक्छ । ‘करार विवाह’ले यही कुरा झल्काएको छ । विवाह मानिसको सामाजिक जीवनको एउटा अभिन्न अंग भएको हुनाले यसबारे विविध व्यक्तिका सकारात्मक तथा नकारात्मक धारणा हुनु स्वाभाविक हो । विवाहका बारेमा विविध व्यक्तिले व्यक्त गरेका विचारलाई हामीले लिपिबद्ध गर्दै जाने हो भने हजारौँ ग्रन्थका ठेली बन्न सक्छन् । विवाहका बारेमा विविध व्यक्तिले व्यक्त गरेका अवधारणा एकपक्षीय र पूर्वाग्रही भए पनि तिनले सत्यको सानो अंशलाई छोएको हुन सक्छ । वास्तवमा समाजका अनेक व्यक्तिले विवाहका बारेमा भनेका अनेक कुराले समाजमा सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेको हुन सक्छ । त्यस्ता अभिव्यक्तिलाई लेखकले यस नाटकमा समावेश गरेका छन् । दार्शनिक रूपले हेर्दा विवाह एकप्रकारको करार हो । समाजमा पारपाचुकेको संख्या बढ्नुले पनि विवाह करार हो भन्ने कुरालाई पुष्टि गर्दछ । करारका लागि दुई पक्ष हुनु जरुरी हुन्छ । दुई पक्षको मन्जुरीमा मात्र करारले कानुनी वैधता प्राप्त गर्न सक्छ । दुवै वा कुनै एक पक्षले करारअनुसारको वाचाबन्धनलाई अनुशरण नगरे त्यो भंग हुन सक्छ । यसैले विवाहलाई कानुनको किताबले करार नभने पनि यसको प्रकृति करार जस्तै हुन्छ । आधुनिक समाजमा विवाहलाई करार नभने पनि करारका रूपमा लिन थालिएको छ । यसैले लेखकले करार विवाहको साइनबोर्ड वा तुललाई हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरे पनि यसले यथार्थको एउटा पाटोलाई राम्ररी समातेको छ । करार विवाहका दुवै पक्षको भविष्य बिहेवारीको महलले भन्दा पनि करार ऐनले निर्धारित गर्दछ । यसकारण पनि कि यो विवाह कुनै धार्मिक परम्पराअनुसार सम्पन्न नभई करार ऐनको कानुनबमोजिम सम्पन्न हुन्छ । नाटक निकै रोचक तथा व्यङ्ग्यात्मक छ ।

तेस्रो एकांकी÷नाटक हो ‘दर्द’ । यस नाटकमा लेखकले एकजना उपेक्षित महिलाको दर्दलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् । यस नाटकले नेपाली समाजको यथार्थ चित्र प्रस्तुत गरेको छ । नाटकले समाज सुधारको लक्ष्य लिएको छ । यस नाटकमा प्रतगिशील चिन्तनलाई ठाउँ दिइएको छ । नाटक रोचक छ तर यसमा प्रयोग भएको भाषाशैली कृत्रिम जस्तो लाग्छ । यो यस नाटकको कमजोरी हो । लेखकले पात्रको अवस्था र स्थिति सुहाउँदो नाम जुराएको र भाषा प्रयोग गरेको देखिएन ।

चौथौ एकांकी÷नाटक हो ‘आधा मेरो आधा तिम्रो’ । यस नाटकले वर्तमान नेपाली समाजमा पाइने महिला र पुरुषका बीचको भेदभावको विरोध गरेको छ र समानता हुनुपर्ने वकालत गरेको छ । नाटक रोचक र शिक्षामूलक छ । लेखकले कानुनमा आमाको नाममा पनि सन्तानले नागरिकता लिन सक्ने व्यवस्था गरेको कुरालाई समस्याका रूपमा देखाउन खोजेका छन् । कुरा सही र उचित भए पनि यसले पतिपत्नीबीचमा अनावश्यक द्वन्द्व बढाउन सक्ने सम्भावनालाई लेखकले व्यङ्ग्यात्मक रूपले प्रस्तुत गरेका छन् । हाम्रो पुृरुषप्रधान समाजमा छोराछोरीले आमाको होइन, बाबुको थर लिनपर्ने र फेरि पत्नीले बाबुको होइन, पतिको थर लेख्नुपर्ने सामाजिक तथा कानुनी मान्यता छ । कानुनमा आमाको नाममा पनि नागरिकता प्राप्त गर्न सकिने व्यवस्था भएपछि छोराछोरीले आमाको नाममा नागरिकता लिँदा बाबुको नभई आमाकै थर लिनुपर्ने अवस्था आउन सक्छ । यो कुरा बेग्लै हो, हाम्रो समाजमा पत्नीले पतिको थर लिनुपर्ने अवस्था भएकोमा आमाको थर लिनुको अर्थ बाबुको थर लिएकै जस्तो पनि हुन सक्छ । थरकै कुरा गर्दा मेघालायमा खसिया समाजमा छोराछोरीले बाबुको होइन, आमाको थर लिन्छन् । बंगालीमा पतिपत्नी दुवैको थर लिने प्रचलन पनि छ । छोराछोरीले कसको थर लिने भन्ने सवालमा नेपाली समाजमा कुनै समस्या नहुनुपर्ने हो । परम्पराअनुसार बाबुको थर लिएमा आमालाई आपति नहुनुपर्ने । कसैले आमाको थर लिन खोजेमा बाबुलाई आपति नहुनुपर्ने । फेरि समझदारीमा बाबुआमा दुवैको थर लिन पनि सकिनुपर्ने । जे होस्, लेखकले थरको विषयमा पतिपत्नीका बीच चर्केको द्वन्द्वलाई रोचक रूप दिएका छन् ।

सङ्ग्रहमा परेको पाँचौँ नाटक हो ‘जस्तो मति उस्तै गति’ । यसको निष्कर्ष लोग्नेस्वास्नीको झगडा परालको आगो भन्ने उखानमा आधारित छ । यसका साथै उनीहरूको जीवनबाट के शिक्षा पाइन्छ भने सम्पत्तिको बलमा पतिले पत्नीलाई दबाउनु हुँदैन । त्यसरी नै पत्नीले पनि आयआर्जन वा सम्पत्तिको बलमा पतिसित बदला लिने विचार राख्नु ठीक छैन । यसले गर्दा पतिपत्नीबीच सुमधुर सम्बन्ध स्थापित हुन सक्दैन । यस नाटकको विचित्रता, विशेषता रनवीनता हो, लेखकले पात्रपात्राको नामकरण वा चयनमा प्रदर्शित गरेको कौशल । अङ्ग्रेजी साहित्यको इतिहास पढ्दा पन्ध्रौँ शताब्दीमा लीली जस्ता नाटककारले आफ्नो नाटकको भाषा र संवादमा प्रचुर मात्रामा अनुप्रास (ब्ििष्तभचबतष्यल) प्रयोग गर्दथे । यसले भाषालाई कर्णप्रिय, श्रुतिमधुर र सङ्गीतमय बनाउँथ्यो । अङ्ग्रेजी साहित्यमा यो प्रचलन लामो समयसम्म चल्यो । यस नाटकमा पनि ‘प’ ध्वनिको अनुप्रास पाइन्छ । नाटकको पात्रपात्रा चयनका कारण लेखकले हास्यव्यङ्ग्य शैली अनुशरण गरिरहेको अनुभूति हुन्छ । यसको हास्यव्यङ्ग्यात्मक प्रस्तुतिले पनि यही कुराको झलक दिन्छ । संवाद, परिवेश, विषयवस्तु आदिले नाटकमार्फत हास्यव्यङ्ग्यात्मक स्वर गुन्जित गर्न सहयोग पु¥याएको छ । कुरो के भने नाटक शिरदेखि पाउसम्म हास्यव्यङ्ग्यात्मक छ । लेखकले प्रयोग गरेको उपमामा नवीनता छ ।

हाम्रो समाज पुरुषप्रधान समाज हो । यस्तो पुरुषप्रधान समाजमा महिलाहरू दोस्रो दर्जाको नागरिकका रूपमा छन् । पुरुषप्रधान समाजमा महिलाहरू उत्पीडित रहनु आम चरित्र हो । तर युरोपतिर अठारौँ शताब्दीतिर सुस्तसुस्त जागरित हुँदै गरेको महिलावादी स्वर उन्नाइसौँ शताब्दीमा चर्को हुन पुग्यो । बीसौँ शताब्दीको उत्तरार्धतिर आएर महिला आन्दोलन झन् शक्तिशाली बन्दै गयो । पुरुष र महिला समान हुनुपर्दछ भन्ने आवाजले बल पायो । यतिबेला नेपालमा पनि महिला र पुरुषबीचको भेदभाव हट्नुपर्दछ भन्ने कुरा निकै चर्को रूपमा उठेको छ । तैपनि समाजमा महिलाले जेजति अधिकार प्राप्त गर्नुपर्ने हो, त्यति प्राप्त गर्न सकेको अवस्था होइन । यो एउटा आम सत्य हो । तर लेखकले यस नाटकमा आम सत्यभन्दा पनि विशेष सत्यलाई नाटकको विषयवस्तु बनाएका छन् । विशेष सत्य हो, महिलाले पुरुषमाथि हैकम चलाउने । पत्नीले पतिलाई दबाउने । कजाउने । हाम्रो सामन्ती समाजमा यहाँसम्म कि बुर्जुवा समाजमा समेत पुरुषले महिलामाथि हैकम चलायो भने त्यसलाई स्वाभाविक रूपमा लिइन्छ । तर महिलाले पुरुषमाथि हैकम चलायो भने यसलाई हास्यव्यङ्ग्यका रूपमा लिइन्छ । यस्तो अवस्थालाई समाजले मजाकका रूपमा लिन्छ । हाँसोका रूपमा हेर्दछ । लेखकले हाम्रो समाजको यही मनोविज्ञानलाई हास्यव्यङ्ग्यात्मक नाटकका रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् । यस अवस्थाले लेखकलाई हास्यव्यङ्ग्यात्मक नाटक लेख्न खुराक दिएको छ । दरबारी भाषा र परिवेशको प्रयोगले नाटकलाई हास्यव्यङ्ग्यात्मक रङ दिएको छ । लेखकले हास्यव्यङ्ग्य सृजना गर्न दरबारिया भाषाका अतिरिक्त हिन्दी र अङ्ग्रेजी शब्द पनि प्रयोग गरेका छन् । आम रूपमा पुरुषप्रधान सामन्ती समाजमा महिलाहरूले हकअधिकारका लागि सङ्गठन निर्माण गर्नु र आन्दोलन सञ्चालन गर्नुलाई स्वाभाविक र आवश्यक प्रक्रियाका रूपमा लिइन्छ । तर महिलाहरूले पुरुषमाथि हैकम गरे भनेर पुरुषहरूले त्यसको प्रतिवाद गर्न सङ्गठन निर्माण गर्नु वा आन्दोलन चलाउनु हास्यव्यङ्ग्यको विषयवस्तु बन्न सक्छ । कथा बन्न सक्छ । लेखकले नाटकलाई रोचक पार्न अर्थशास्त्रको भाषा पनि प्रयोग गरेका छन् । पतिपत्नीबीचको द्वन्द्वको घटबढलाई बजारमा माग र पूर्तिको नियमसित तुलना गर्नु हास्यव्यङ्ग्यात्मक शैलीमा सामाजिक विकृति र विसङ्गतिप्रति प्रहार केन्द्रित गर्नु पनि हो । प्रस्तुत हास्यव्यङ्ग्यात्मक नाटक सुधारात्मक छ । यसले भन्न खोजेको कुरा हो, पति र पत्नी दुवैले धनसम्पत्तिको बलमा एकले अर्कालाई दबाउन खोज्नु उनीहरूका बीचको पारस्परिक र पारिवारिक विघटनको मूल कारण हो । पतिपत्नीबीचको बैमनस्यताको समाधान समझदारी बढाउनु हो । पलायन र प्रतिशोध समस्या समाधानको सही तरिका होइन । ठठ्यौली जस्तो देखिए पनि यसले उठाएकोे समस्या र खोजेको समाधान गम्भीर र यथार्थपरक छ ।

‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ सङ्ग्रहको छैटौँ नाटक हो । यही नाटकको शीर्षकबाट पुस्तकको नाम जुराइएको छ । यो ऐतिहासिक नाटक हो । यस नाटकले मूलतः जनप्रिय कवि तथा पत्रकार कृष्णसेन इच्छुकलाई पुलिस क्लबमा दिइएको बर्बर यातना तथा निर्मम हत्याको दर्दनाक दृश्यलाई समेटेको छ । लेखकले नाटकमा पुलिस अफिसरले राजनीतिक बन्दीप्रति प्रकट गर्ने आक्रोश र घृणा एवं तल्लो स्तरमा झरेर प्रयोग गर्ने अपशब्द वा गालीको भाषालाई पनि नाटकमा ठाउँ दिएका छन् । यसले पुलिस प्रशासनको क्रूर, बर्बर तथा असभ्यतालाई उजागर गर्दछ । यसबाट उनीहरू बन्दीलाई पशुतुल्य व्यवहार गर्छन् भन्ने स्पष्ट हुन्छ । जनयुद्धका बेला आततायी राज्यसत्ताले महेन्द्र पुलिस क्लबमा कवि एवं पत्रकार कृष्णसेन इच्छुकलाई बर्बर यातना दिएर कारतापूर्ण ढंगले हत्या ग¥यो । लेखकले यसैको पर्दाफास गर्नुका साथै देश र जनताको मुक्तिका निम्ति सेनले देखाएको अदम्य साहस, क्रान्तिकारी दृढता, नेपाली माटोमा बगाएको रगत र महान् बलिदानको सजीव चित्रण गरेका छन् । यस नाटकले नयाँ यथार्थको स्प्रिटलाई प्रतिनिधित्व गरेको छ । नाटक जनयुद्धको जीवन्त दस्तावेज हुन पुगेको छ ।

सातौँ नाटक ‘हो पीडा एक ः भाका अनेक’ । नाटकमा प्रमुख भूमिका सूत्रधारको छ । सूत्रधार शास्त्रीय नाटकका पात्र जस्ता देखिए पनि उनी नयाँ युगका नयाँ चेतना, विचार र भावना बोकेका पात्र हुन् । उनी दशबर्से जनयुद्धबाट दीक्षित व्यक्तित्व हुन् । उनी मुलुकको विसङ्गति र विकृतिको पहिचान गर्दछन् र नयाँ नेपालको आधारभूमि तयार पार्दछन् । नाटकमा मुलुकको विकृत र विसङ्गतपूर्ण चित्र सडकमा देख्न पाइन्छ । लेखकले दशबर्से जनयुद्ध रजनआन्दोलनको छाप सडकमा परेको देखाएका छन् । सङ्क्रमणकालीन नेपालको यथार्थ सडकमा पोखिएको हुनाले सडक मुलुकका जल्दाबल्दा समस्या हल गर्ने थलो हो । यस अर्थमा सडक समस्या नै समस्याको पोको होइन, हल गर्ने थलो पनि हो । लोकतान्त्रिक गणतन्त्र स्थापित भइसक्दा पनि देश र जनताको अवस्थामा उल्लेखनीय परिवर्तन आएन । सूत्रधारले विविध समस्याले पीडित भएर सडकमा आएकाहरूलाई सम्बोधन गर्छन् । उनी समाधानका लागि संघर्ष गर्नुपर्ने र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने सन्देश दिन्छन् । नयाँ विचार लिएर अघि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिन्छन् । नाटकले तराईका शोषितपीडित जनताको यथार्थ चित्र उतार्दै उनीहरूमा प्रगतिशील चेतना र क्रान्तिकारी विचारको बिजारोपण गर्न खोज्छ ।

सङ्ग्रहको आठौँ नाटक हो ‘एकता’ । नाटकको शीर्षकले नै एकताको सन्देशको झलक दिन्छ । मञ्चमा रहेका हिमाल, पहाड र तराईको चित्रले वर्तमान समयमा राष्ट्रिय एकताको सन्देश दिन खोजेको संकेत दिन्छ । फेरि मञ्चमा सुनिएको राष्ट्रिय गीतले पनि त्यही संकेत गर्दछ । नाटकले वर्तमान नेपालको यथार्थ चित्र उतारेको छ । यतिबेला हिमाली, पहाडी र मधेसी जनताका बीचमा देखा परेको अन्तरविरोधलाई यथार्थ रूपमा चित्रण गरिएको छ । उनीहरूबीच चलेको अनावश्यक खिचलो उनीहरूकी आमा नेपाल आमालाई मन परेको छैन । दाजुभाइका बीचको झगडा र फुट उनीहरूकै सन्तानलाई मन परेको

छैन । भाइभाइका बीचमा फुटको सट्टा एकता र झगडाको सट्टा मिलाप बढ्दै गएको देखेर नेपाल आमा प्रशन्न हुन्छिन् । उनी चाहन्छिन्, कुनै भाइ शासक र कुनै भाइ शासित, कुनै भाइ सम्पन्न र कुनै भाइ विपन्न नरहून् । सबै समान हैसियतका हुन् । आमाको ठहर छ, अग्रगामी परिवर्तनको सन्देश पनि यही हो । यसरी नाटकमा लेखकले प्रतीकात्मक रूपमा हिमाल, पहाड र मधेस÷तराईको द्वन्द्वलाई सफलतापूर्वक उजागर गर्दै त्यसको सन्तुलित र सही समाधान दिने जमर्को गरेका छन् ।

नवौँ नाटक हो ‘नम्र विनम्र’ । लेखकले नाटकमा समाजमा देखा परेका विकृति र विसङ्गतिको यथार्थ चित्रण गरेका छन् । यसलाई उनले जल्दोबल्दो समस्याका रूपमा प्रस्तुत गरेका छन् । लेखकले नाटकमा प्रेम र विवाहसम्बन्धी समस्याको यथार्थ चित्रणमात्र गरेका छैनन्, त्यसको समाधान पनि दिएका छन् । यसैले ‘नम्र विनम्र’ समस्याको पेटारोमात्र नभई समाधानको चाबी पनि हो । उनले प्रेमलाई संकुचित रूपमा होइन, व्यापक रूपमा बुझ्न उत्पे्ररित गरेका छन् । नाटकमा लेखकले दोषीप्रति घृणा होइन, प्रेमभाव राखेर समाजमा सामञ्जस्य ल्याउन सकिन्छ भन्ने मान्यता राखेका छन् । यो लेखकको समाजमा रहेका पारिवारिक समस्याको मित्रवत् ढंगले समाधान निकाल्ने तरिका हो । निश्चय नै लेखकको यस किसिमको समाधान खोज्ने तरिकालाई यथार्थवादी भन्नुभन्दा पनि आर्दशवादी समाधान भन्न सकिएला तर कुरा के पनि हो भने आर्दशवाद पूरै नकारात्मक विचार होइन ।

सङ्ग्रहको दशौँ नाटक हो ‘नाम तिम्रो काम हाम्रो’ । नाटकमा बोर्डिङ स्कुलका जल्दाबल्दा समस्या प्रस्तुत छ । बोर्डिङ स्कुलमा हुने व्यापारीकरणको झलक प्रस्तुत छ । निजी विद्यालयका क्षिक्षकका समस्याको चर्चा छ । राम्रो तलब दिन नसक्ने हुनाले कुनै पनि शिक्षक बोर्डिङमा लामो समय नटिक्ने कुरा बताइएको छ । बोर्डिङ त शिक्षकका लागि तालिक केन्द्र वा रेलवेको प्लेटफार्म जस्तो भएको कुरा व्यक्त गरिएको छ । बोर्डिङले रिजल्ट राम्रो बनाउन सबै प्रकारका विकृति अवलम्बन गर्ने कुरा देखाइएको छ । स्कुलले धेरै शुल्क लिए पनि विद्यार्थीको सुविधा र ज्ञानको विकासका लागि कुनै पनि भौतिक सुविधा उपलब्ध गराउन नसकेको उल्लेख छ । बोर्डिङ विसङ्गति, विकृति र शैक्षिक भ्रष्टाचारको बाटोमा लागेपछि त्यसको नकारात्मक प्रभाव विद्यार्थीमा पर्ने र उनीहरू आफ्नै स्कुलका भौतिक सम्पत्ति तोडफोड गर्न थाल्ने वा हड्तालमा ओर्लेर सबै कुरा अस्तव्यस्त बनाउने कुराको सजीव चित्रण गरिएको छ । नाफा कमाउने उद्देश्यले च्याउ उम्रिएझैँ बेलगाम खुल्दै गएका बोर्डिङका भ्रष्टाचार र खराबीको नांगो झाँकी प्रस्तुत छ । लेखकले नाटकबाट भन्न खोजको कुरा हो, जब स्वयं स्कुल र शिक्षक नै भ्रष्टाचारको बाटो अवलम्बन गर्दछन् भने त्यसको नराम्रो छाप विद्यार्थीमा पनि पर्छ । उनीहरूले आक्रोशित भएर हडताल र तोडफोडमा उत्रिएर स्कुलको सम्पत्ति तहसनहस गर्न सक्छन् । अर्कोतिर स्कुलको प्रशासनले विद्यार्थीका जायज र जल्दाबल्दा मागलाई समाधान गर्न उचित र आवश्यक बाटो अवलम्बन गर्नाको सट्टा उनीहरू विद्यार्थीलाई झुठो आश्वासन दिएर आश्वस्त पार्न खोज्छन् । त्यो क्षणिक समाधान भए पनि त्यसले विशेष गरी बोर्डिङ स्कुलमा देखा परेका जल्दाबल्दा समस्याको स्थायी समाधान दिन सक्दैन । टालटुल समाधान स्थायी समाधान होइन । लेखकले स्कुलको शैक्षिक स्तर उकास्न र शिक्षा क्षेत्रलाई मर्यादित बनाउन स्कुल प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबै जिम्वेवार बन्नुपर्ने सन्देश दिएका छन् । नाटक शिक्षाप्रद र सुधारात्मक छ । यसले शिक्षामा फैलिएको भ्रष्टाचारको यर्थाथ चित्र उतारेको छ ।

‘परिवर्तन’ यस सङ्ग्रहको एघारौँ नाटक हो । लेखकले गाउँलाई केन्द्र बनाएर पूरै मुलुकको यथार्थ चित्र उतार्न खोजेका छन् । लेखक मुलुकमा सकारात्मकभन्दा पनि नकारात्मक परिवर्तन भइरहेको कुराप्रति चिन्ता व्यक्त गर्दछन् । अङ्ग्रेजी उपन्यासकार टमस हार्दीको चर्चित उपन्यास ‘फार फ्रममैडिङ क्राउड’ वा प्रसिद्ध अङ्ग्रेजी कवि टमस ग्रेको चर्चित शोककाव्य ‘लाइन रिटन विटबिन द कन्ट्री चर्चयार्ड’मा खिचिएको जस्तो गाउँले परिवेश बढ्दो सहरीकरणको हावाले स्पर्श गर्दा त्यसको स्वच्छता पवित्रता तथा सरलतामा नकारात्मक प्रभाव परेको कुरा नाटकका पात्रहरूको मुखबाट सुनिन्छ । उनीहरू सहरको हावाले गाउँले जीवनलाई प्रदूषितमात्र गरेको होइन, सामाजिक र सांस्कृतिक जीवनमा पनि नकारात्मक प्रभाव पारेकोेले पुरानो पिँढीका गाउँलेहरू प्रसन्न देखिन्नन् । नाटकमा गाउँका नयाँ पिँढीका युवकयुवतीको जीवनशैलीमा पश्चिमा भद्दा प्रभाव परेकोले पुरानो पिँढी चिन्तित बनेको कुरा चित्रित छ । पुरानो पिँढी चिन्तित हुनाको अर्को कारण समाजमा जाँडरक्सीको बढ्दो प्रयोग पनि हो । पहिले रक्सीजाँड नछुने बाहुनक्षेत्री अहिले रक्सीजाँड नभए भाग नै नबस्ने अवस्था सृजित छ । यस कुराले समाजमा निकै विकृति ल्याएको छ । तर लेखकले समाजमा आएका सबै परिवर्तनलाई नकारात्मक रूपमा लिएका छैनन् । बाहुनक्षेत्रीले बङ्गुर पाल्नु सामाजिक विकृति होइन बरु प्रगतिवादी चिन्तन हो । लेखकले आजका युवा पिँढीलाई कडा अनुशासनभित्र राख्ने कि उनीहरूलाई पूरै स्वतन्त्रता दिने भन्ने सवालमा पनि सन्तुलित विचार प्रकट गरेका छन् । नाटकमा युवा पिँढीलाई विवेकी बनेर अघि बढ्न उत्प्रेरित गर्नु नै सबभन्दा राम्रो हुन्छ भनिएको छ । लेखकले नाटकमा तराईमा बसाइसराइको समस्या र बढ्दो बनजंगलको विनासप्रति चिन्ता व्यक्त गरेका छन् । लेखकले सङ्क्रमणकालीन नेपालको राजनीतिक, आर्थिक, सामाजिक, औद्योगिक, शैक्षिक, सांस्कृतिक र नैतिक जीवनमा देखा परेका विविध खाले विकृति र विसङ्गतिको यथार्थ चित्रण गरेका छन् । उनले हाल राजनीतिमा अपराधीकरण र अपराधीकरणको राजनीतिकरण जस्ता सवाललाई पनि ठूलो चुनौतीका रूपमा देखाएका छन् । नाटकको अन्त्यतिर लेखकले राजनीतिक पार्टी र तिनका नेता इमानदार हुनुपर्ने र उनीहरूले व्यक्तिगत स्वार्थका लागि होइन, देश र जनताको हकहितका निम्ति समर्पित भएर योगदान दिनुपर्ने कुरामा जोड दिएका छन् । नाटकमा कताकता सोक्रेटिसको डायलग पद्धति वा माक्र्सवादको वादप्रतिवाद र संवादको सत्योद्घाटन पद्धति अनुसरण गरे जस्तो देखिन्छ । नाटकको आत्मा नै यही हो । नाटक प्रगतिशील विचारले उत्पे्ररित देखिन्छ ।

‘छलछाम छात्ते छ पार्टी’ बाह्रौँ एकांकी÷नाटक हो । यसको शीर्षकले नै यो हास्यव्यङ्ग्यात्मक नाटक हो भन्ने अनुमान गर्न सकिन्छ । यसका पात्रपात्राहरू पनि हास्यव्यङ्ग्यात्मक नाटकलाई उपयुक्त हुने खालका देखिन्छन् । लेखक पात्रपात्राकै मुखबाट नवस्थापित पार्टीनेताहरूको परिचय प्रस्तुत गर्दछन् । समयको मागअनुसार जन्मेको पार्टीले नै छलछाम गर्ने कार्यक्रम, रणनीति र कार्यनीति लिएको हुनाले यसका पदाधिकारीहरूले पार्टीको बैठकमा लुकाउनुपर्ने कुरा केही हुँदैन । यसैले उनीहरू हिजो जे थिए र जे गरे त्यसको यथार्थ बयान गर्छन् । उनीहरूको बयानबाट उनीहरूको चारित्रिक विशेषता र प्रवृत्ति बुझ्न गाह्रो पर्दैन । नाटकमा लेखक मुलुकको वर्तमान राजनीतिक विकृति र विसङ्गतिको यथार्थ चित्र उतार्दै रोचक पारामा त्यसप्रति कडा व्यङ्ग्यबाण प्रहार गर्दछन् ।

तेह्रौँ नाटक ‘दाइजो’ हो । नाटकमा शिक्षकको जागीरमा केन्द्रित छलफल नाटकीय रूपमा दाइजो विरोधी चेतना जगाउने दिशातिर मोडिन पुग्दछ । नाटक रोचक, शिक्षाप्रद तथा यथार्थवादी छ । समष्टिमा नाटकले बोकेको विचार प्रगतिशील र क्रान्तिकारी छ ।

सङ्ग्रहको चौधौँ नाटक हो ‘देश हराएको सूचना’ । सूत्रधार देश खोज्ने अभियानमा लागेको आभास मिल्दछ । सूत्रधारले टुक्राटुक्रा भएर हराउन थालेको देशलाई जोरजार पारेर पुनर्संरचना गर्न चाहेका छन् । सूत्रधार आशावादी छन् । उनी मिलीजुली अघि बढ्न आह्वान गर्दछन् । युवक पनि देश हराएको पीडाले व्यथित छ । ऊ आफूलाई अवाक र असमर्थ अनुभूत गर्दछ । युवकभन्दा युवती आशावादी छे । ऊ नवीन इतिहास बनाउन चाहन्छे । नाटकमा वृद्ध अनुभवी पात्रका रूपमा छन् । सूत्रधार पीडामुक्तिको आह्वान गर्दछन् । युवकको पीडा शिक्षित बेरोजगारी हो । युवतीको व्यथा सहयात्री नपाउनु हो । नेपथ्य यथार्थबोध गराउँदै भन्छ– दासताले पनि देश हराएको छ । टुक्रिन परेकोले पनि देश हराएको छ । खिइँदै जाँदा पनि देश हराएको छ । कालापानी र दशगजामा देश हराएको छ । लेखक नाटकमा देश हराएको कुरा गर्दछन् । नाटकमा देश कसरी हराउँदै छ भन्ने कुराको फेहरिस्त छ । लेखक सङ्क्रमणकालीन नेपालको समस्या कलात्मक रूपले प्रस्तुत गर्छन् । उनको प्रस्तुतिमा नवीनता र रोचकता छ ।

सङ्ग्रहको पन्धौँ र अन्तिम नाटक हो ‘परिचय’ । नाटकका पात्रपात्राले सम्भाव्य संघीय प्रदेशको प्रतिनिधित्व गर्दछन् । नाटकको आरम्भ सूत्रधारको उद्घोषणबाट हुन्छ । उनी नयाँ नेपाल निर्माण र संघीयताको कुरा गर्दछन् । उनको दाबी छ, संघीयता देशको विखण्डनका लागि होइन बरु एकताका लागि हो । सबै पात्रहरूले व्यक्तिगत र राज्यको परिचय दिएपछि सूत्रधारले फेरि हरेक राज्यका प्रतिनिधिलाई सम्बोधन गर्दै बेग्लै पहिचानका कुरा गर्ने प्रस्ताव राख्दछन् । उनको प्रस्तावलाई समर्थन गर्दै आफ्नो छुट्टै पहिचान भएको कुरा प्रकट गर्छन् । प्रतिनिधिहरूका कुरा सुनेपछि सूत्रधार कुुसंस्कार हटाउनुपर्दछ भन्छन् । कुसंस्कार र अन्धपरम्पराका विरोधमा लेखक पनि देखिन्छन् । सूत्रधार भन्छन्– पुरानो चीज नष्ट हँुदै नयाँ चीज सृजना हुन्छ । उनी एकताको आवश्यकतामाथि जोड दिन्छन् । राष्ट्रिय एकताका सन्देश दिँदै नाटक समाप्तहुन्छ । नाटकले नेपाली समाजको नयाँ पहिचान खोजेको छ । त्यो नयाँ पहिचान हो, विविधताबीचको एकतायुक्त नयाँ नेपाल । द्वन्द्व नै नाटकको आत्मा हो । द्वन्द्व मूलतः पात्रपात्राबीच हुन्छ । तर यस नाटकमा पात्रपात्राबीच कुनै द्वन्द्व देखिन्न बरु मिलाप र एकता देखिन्छ ।

नाटककार आचार्यका पन्ध्र नाटकको अध्ययन गर्दा संक्षेपमा के भन्न सकिन्छ भने उनी कुशल नाटककार हुन् । उनले मुलुकका जल्दाबल्दा विषयमा एकांकी÷नाटक लेखेका छन् । उनका प्रत्येक नाटकमा नयाँ विचार, नयाँ भाषाशैली तथा नयाँ प्रयोग छ । उनको चिन्तनमा गहिराइ र अभिव्यक्तिमा ऊर्जा छ । उनका नाटक रोचक, विचारोत्तेजक, यथार्थपरक, प्रगतिशील, क्रान्तिकारी, शिक्षामूलक, समस्यामूलक, समाधानमूलक र समाजलाई नयाँ चेतना दिने खालका छन् । उनका केही नाटक हास्यव्यङ्ग्यात्मक छन् भने केही नाटक गम्भीर र दार्शनिक पनि छन् । उनका केही नाटक सामाजिक छन् भने केही राजनीतिक पनि । उनका केही नाटक मनोवैज्ञानिक छन् भने केही ऐतिहासिक पनि । सामान्य विषयलाई गम्भीरता र रोचकताका साथमा प्रस्तुत गर्नु उनको विशेष खुबी हो । लेखकले यतिबेलाका नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, धार्मिक, राजनीतिक, जातीय वर्गीय, क्षेत्रीय, राष्ट्रिय आदि सबै प्रकारका समस्यालाई आफ्ना नाटकका विषयवस्तु बनाएका छन् । उनले नाटकमा समस्याका साथै समाधान पनि दिएका छन् । उनका नाटक सार्थक र बौद्धिक छन् । अध्ययन र अनुभवको व्यापकता झल्किन्छ । मलाई आशा र विश्वास छ, उनको यस सङ्ग्रहले पाठकको माया प्राप्त गर्नेछ । यसले नयाँ नेपाल निर्माणका लागि ऊर्जा थप्नेछ । आउँदा दिनमा उनीबाट अझ राम्रा र उत्कृष्ट नाटकहरू लेखिँदै जाऊन् भन्ने कामना गर्दै कलम यही रोक्न चाहन्छु ।

सहप्राध्यापक तथा विभागीय प्रमुख

एम.ए. (अङ्ग्रेजी विभाग)

बुटवल बहुमुखी क्याम्पस, बुटबल

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।