17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपना, घडीफूल अनि चाँदनी

कविता बिबश बिप्र February 10, 2011, 7:08 pm

ब्युँझिएर,

आफ्नै आँखाले वयस्क सपनाहरुको

अतिक्रमण गर्दा

दिमागभरि उम्रिएका घडीफुलको छटपटी

लाग्छ- क्रोध पिइरहेछ |

कच्चा नक्षेत्रको संयोजनमा

पन्ध्रौ सताब्दीतिरकी एउटी सुत्केरी

मुखको जुठो नपुछिकन

उल्लिखित सपनाहरु उपर

जुलुमी वेतनको

किस्ताबन्दी खाम थोपर्दैछिन |

अनुमतिपत्रको शिलबन्दि आह्वानसंगै

टल्किएकी चाँदनी-

घडीफुलको बैंश फक्रिएको हेरिदिन्छिन-

-एकटकले,

अण्डाकार वगैंचाभित्रका

ए/एक बोटहरुलाई मुकदर्शक बनाउँदै |

सदियौसम्म नतँग्रिएकी उनि-को हातका सिताहरु

दृष्टिका तापले सुक्न सक्छन |

हात जोडिएका पाखुराहरुमा

श्रीजित रोमकूपले पनि

चाँदको पराबैजनी आवर्तनमा

दृष्टिबिहिनता सहनुपर्ला……|

प्रिय चाँदनी,

तिम्रो दर्शनसंयन्त्रको ज्योति

भोलि माटोका कण-कणलाइ पनि छेड्नसक्छ ..|

ए चाँदनी,

के गड्यौलालाइ पनि यो नियम लागु हुन्छ ??

हुन

तिमीले भरखर सपनाहरुको बैंश हेरेकीछ्यौ |

प्रस्ताबनाका तिम्रा देखाईहरु

मेरा सोचाइ नहुन सक्छन |

तैपनि

एकपटक मेरा सोचाइ हेर्नु

दुइपटक मेरा सोचाइ सोच्नु

बरु,

मलाइ पनि बिर्सनु

तर-

-नबिर्सनु है मेरो प्रश्न..

प्रिय चाँदनी,

के गड्यौलालाइ पनि यो नियम लागु हुन्छ ??

उत्तर

प्रतीक्षा

उही तिम्रो घडीफुल|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।