सहिद दिवसको दिन उसलाई धरहराबाट सहरको आवरण नियाल्न मन लाग्यो । ऊसँग टिकट काट्ने पैसा थिएन । अनुरोध गरेपछि कसैले उसलाई हृविलचेयरबाट बोकेर माथि पुर्याइदियो । उसले धरहराको टुप्पोबाट नअघाउञ्जेल चारैतिर हेर्यो । सबै यथावत र सहज रूपमा चलिरहेको थियो ।
चन्द्रशमशेरको सिंहदरबार रङ्गमञ्चका कलाकार फेरिएका थिए । निर्देशक र नाटक उहि थियो । रत्नपार्कमा नाराहरू फेरिएका थिए । मौन घण्टाघर समय हिँडाइरहेकै थियो । यायावरहरू स्वयम्भुमा फेरिएका थिए । एकजोडी आँखा उस्तै शान्त थियो । आर्यघाटमा लासहरू फेरिएका थिए । मलामी वेदनाहरू उस्तै थिए ।
त्यसपछि उसले आफैलाई नियाल्यो । शरीर फेरिएको थियो -काटिएको खुट्टा र अझै गोली नझिकिएको छाती, जीर्ण र रोगी देह । उसको आँखा रसायो । घृणा लाग्यो यो समयप्रति, "उफ् ! जनआन्दोलनको घोर अपमान गरे यिनीहरूले ।'
ऊ 'अन्तिम लडाईं' भन्दै जनआन्दोलनमा होमिन ओखलढुङ्गाबाट चार दिनको बाटो हिँडेर काठमाडौँ आएको थियो । हेडमास्टरको जागिर दाऊमा राखेर हिँडेको थियो । साथीहरूजस्तो धेरै ठूलो महत्वाकांक्षा थिएन उसको । मात्र सानो र मीठो सपना थियो - शान्त, समुन्नत र नयाँ नेपालको । आफूसँग परिवर्तनको आगोमा होमिएका उनका साथीहरू कोही मन्त्री भए, कोही राजदुत र कोही नवधनाढ्य ।
ऊ भने गोली लागेर ढलेपछि नराम्ररी थलियो । हिँडडुल गर्न सक्दैनथ्यो । त्यसैले हेडमास्टरको जागिर छाड्यो । उपचार गर्दागर्दै राजधानीले उसको धानखेत, घरबारी र श्रीसम्पत्ती निल्यो तर पनि उसले हरेस खाएको थिएन । राज्यले नाम मात्रको 'जनआन्दोलन-घाइते परिचयपत्र' बनाइदिएको छ । त्यो बाहेक अरू केही गरेको छैन । सहयोगका लागि कतै भन्न जाँदा माग्नेलाई जसरी व्यवहार गर्छ यो समाज उसलाई ।
'निष्ठा र सिद्धान्तको राजनीतिमा खिया लागिसकेछ । फोहोरी खेलमा व्यस्त छन् मेरा आदर्श पुरूषहरू । त्यसैले मलाई माफ गर नेपाल आमा ! म अब तिम्रो बोझ बनिरहन सक्तिन ।' उसले सुसाइड नोट लेख्यो । अनि धरहराबाट हामफालेर आत्महत्या गर्यो ।
उसको मृत्युमा धेरैले चासो दिएनन् । नजिकै सहिदगेटमा भने प्रधानमन्त्रीलगायत मन्त्री र नेताहरू सहिदको सालिकमा फूलमाला चढाउन तछाँडमछाँड गरिरहेका थिए ।