छ्या
कस्तो उराठ लाग्दो चैते धूप
खोलानाला सबै सुस्ताछन्
बोट विरुवाहरु सबै ओइलाछन्
पशुपंछी सबै छट्पटाछन्
पानीपधेरा सबै सुक्याछन्
तन्मन् पनि सबै आलस्य बन्याछन् ।
हत्तेरिका
कहिले आउला पानी बोक्ने
मेघ र बादल पनि
अनि त
खोल्साखाल्सीहरु पनि रसाउंथे होलान्
पशुपंछीहरु पनि पुच्छर उचाल्दै रमाउंथे होलान्
बन्चरीहरुले पनि मनमोहक गीत गाउंथे होलान्
हाम्रो वातावरण पनि परिवर्तन हुन्थे होलान् ।
ए हेर हेर
ए सुन सुन
मेघ र बादल होकि
आकास त मडारिंदै छनि
मनसुन आउने छांट होकि ।
ल
बादलको घेरा त हाम्रै घरमाथि
ए बादल पानी पार पार
नभन्दै पानीका छिटा
सातआठ महिनादेखि
काकाकूल पशुपंछी
अनि
लखतरान परेका बोटविरुवाले प्राण धान्ने भोनि ।
ल
कस्तो उदेगलाग्दो भोनि
रोकिने भो पानीका बुंद पनि
आज त यत्तिकै होकि
मेघ बादल त बिलिन भोनि ।
अहो
अब त सुत्ने बेला पनि भो क्यारे
चकमन्न रात सन्नाटाले छाइसक्यो
त्यसैले
सबै चुपचाप छन्
कस्तो सियो खसेको आवाज सुनिने रात ।
अहा
अचानक पानी
खै मेघ र बादल
अहो कति छिट्टै परिवर्तन
फेरि मेघ र कालो बादल
पहिला पहिला त पारी देउराली माथि
तर यस पाली त आप्mनै घर आगन माथि ।
लौन
के उपद्रो हुन ला हो
आंखी भ्mयालबाट त केही देखिंदैन
हिजोअस्तिका चम्किला ताराहरु पनि बिलाएछन्
अब के हुने हो
लौन कति ठूलो मेघ गर्जन
अनि कति चर्को चड्कने
कानकै जाली फुट्ला जस्तो ।
ओहो
पोहोर सालमा त बिर्खेको
घरबासै उठ्यो रे
ऐले हाम्लाई के हुने हो
हेर हेर बिछट्टै हुने भो
कति ठूलो आंधि तुफान
लौ कति ठूलो असिना पानी
लौ बित्यास पर्ने भो
घर सर्दा पूजा पाठ गरेको नि
कामै नलाग्ने भो ।
ए हेर हेर
अलि कम भाको होकि
लौ त्यति उपद्रो त नहुने भो
अब त प्राण धानिने भो
तर के गर्नु खै
अहिले बन्न लागेको नयां बाटोघाटो त
हावाहूरी र असिना पानीले क्षत विक्षत
लौ अब त अर्कै नयां बाटो बनाउने होकि
पुरानो टेण्डर पनि क्यान्सिल गर्ने होकि
अनि नयां बाटोको लागि
अर्कै टेण्डर खोल्ने होकि ।
उफ
कति सास्ति
नयां टेण्डर त खोल्ने
तर झनै महा पर्लयको मेघ र बादल
अनि शक्तिशाली चड्कनेले
हाम्रो नाम र निशाना नै मेटिने पो हो कि ।
ताइपेई, ताइवान