19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्को सामन्तको जन्म

लघुकथा प्रवीण राई जुमेली February 15, 2011, 1:17 pm

उसको घर र बारी पैह्रोले लगिदिएको थियो।

सरकारले घोषणा गरेको राहत राशी पाउन कम्ति खर्पन खप्नपरेन उसले तर। महकुमा कार्यालयको त्यो अधिकारीले उसको दुःख नै बुझिदिएन। घरको झिटिझाम्टी सकिएर पनि ऋण बोक्नपरेथ्यो उसले। अन्तमा त्यस राशीबाट केही अंश छुट्टाएर त्यस अधिकारीलाई दिएपछि मात्र उसले आफ्नो ‘पाउना’ रकम पायो।

संयोगवश, त्यस अधिकारीको नाम ‘हिटलर’ थियो।

त्यो पैसाबाट उसले एउटा घर बनायो र एउटा गोठालो पनि राख्यो। गोठालोको जन्मको नाम एउटा भए तापनि उसले त्यसको नाम फेरिदियो – गोठालोको नयाँ नाम ‘हिटलर’ भयो।

अनि उसले हरेक साँझ-बिहान गोठालोलाई त्यसको पछिल्लो नामबाट बोलाउँदै लात-घुस्सा कस्नथाल्यो॥़

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।