18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अक्षरहरुको अवज्ञा

कविता चैतन्य अधिकारी  February 23, 2011, 8:04 pm

एकाबिहानै

अक्षरहरु अनसन बसेपछि

कसको के लाग्छ ?

(हजुर यस्तै भयो,

आन्दोलन भनेपछि नशा लाग्ने,

रातमा पनि जाग्ने

र काम भनेपछि

तुरुन्तै थाक्ने र

दिउँसै भाग्नेहरुको मुलुक न पर्यो यो,

अक्षरहरुले पनि आन्दोलन गर्न सिकेछन)

रातारात

गजब योजना गरेछन अक्षरहरुले 

र जहाँसुकैका अक्षरहरू

एकाबिहानै अनसन बसेछन

डिकाहरु जोडिएर एक ढिका भएछन

फुर्काहरु सोहोरिएर गुजुल्टा परेछन

मिल्नेसम्मकाले अंगालो मारेर

हच्कने लच्कनेलाई समेत विचमा पारेछन

र थपक्क बसेर

बज्राशन कसेर

अक्षरहरुले भनेछन-

‘अब हामी डेग चल्दैनौं यहाँबाट’

यो आन्दोलनमा,

‘हामी हिंसा गर्दैनौं’ भनेछन अक्षरहरुले

‘शहिद भै विनसित्तैं मर्दैनौं’ भनेछन अक्षरहरुले

‘राँको बाल्दैनौं, दुर्वचन बोल्दैनौं

तर शिर्फ एक डेग चल्दैनौं’

अक्षरहरुले त्यसो भनिरहँदा

मलाई

इतिहासका एक चांग पुराना किताबहरुको याद आयो

ए हजुर,

सधैं आन्दोलन हुँदा

फाइदामा पर्थे पत्रकारहरु

अन्दाजमै पनि खबर बन्थे र

तिनको वाह-वाहैमा  

नेता भै निस्कन्थे लोभी अनुहारहरू 

यसपाली भने

आन्दोलनले तिनलाई पनि लपेटेछ

अहँ, रौँ चलेका हैनन् अक्षरहरु

न माथिको तल झार्न सकिन्छ

न दायाँको बायाँ सार्न सकिन्छ

न ठुलोको सानो पार्न सकिन्छ

काँटछाँटको त कुनै कुरै भएन हजुर

न दुरुस्तै कतै उतार्न सकिन्छ

कोलको ढुंगोजस्तो अचल भैदिएपछि अक्षरहरु

हेर्नुस, आज एउटै अखबार निस्केको छैन

कठै,

फसाद पो पर्दोरहेछ हजुर

अक्षरहरु बाउंठिएपछि

तिनलाई तह लाउन

पुलिसका भ्यानमा बोक्न पनि मिल्दो रहेनछ

गोली ठोक्न पनि मिल्दो रहेनछ

यस अघिका हरेक ठूला आन्दोलनमा

सम्झाउन भनेर छिमेकी आउंथे, सम्झाउंथे 

समुद्रपारिकाले समेत दुत खटाउंथे     

अक्षरहरुको अबज्ञामा भने

त्यस्तो केहि गर्न मिल्दो रहेनछ

निकै बेर तमासा हेरेपछि

झसंग भएर मैले सोधें -

अँ साँच्ची के का लागि हो यो आन्दोलन ?

अक्षरहरुले एकै स्वरमा भने -

बन्द गर, हाम्रो अबमुल्यन !

असीम खेलवाड भो अक्षरहरुको भावनामा

रोक्नैपर्छ यस्तो मानमर्दन !

सहमति भन्दै जुध्नेहरुले

उभों भन्दै उँधो उँधो कुद्नेहरुले

संबिधान भन्दै जब थाले सत्ता-गान

असह्य भयो हाम्रो अपमान

हर अर्थको भयो नृशंस बलिदान

त्यसैले, अब अक्षरहरु चाहन्छन

आफ्नो गुमेको शान

आफ्नो यथावत स्थान

ए हजुर,

एक भौंज्याहा पुर्व-राजकुमारको जस्तो

अक्षरहरुको माग सुनेपछि

म सोचमग्न भएको छु

यी अक्षरहरुलाई उठाउन

अब कसलाई बसाउन पर्ने हो थाहा भएन

यो गांठो फुकाउन

कसलाई झुकाउन पर्ने हो थाहा भएन

कुन तांत्रिक बोलाउन पर्ने हो एकिन भएन !

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।