19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घर २१-२४

कविता केवलचन्द्र लामा February 23, 2011, 12:26 pm

घर-२१

सॉंझछेक घरले एउटा गीत गाउँछ

एउटा केटौले प्रेमको गीत

रोगी घरले गीत गाइरहन्छ सॉंझछेक-

सॉंझछेक घरले एउटा चित्र बनाउँछ

एउटा पुरानो प्रेमको चित्र

बेरङ्ग घरले चित्र बनाइरहन्छ सॉंझछेक-

-जब त्यो याद बिउँझन्छ

र ओहोरदोहोर गर्छ

घरको चकमन्न मनमा

राम्री पीड़ा भएर।

सॉंझछेक मुसारिरहन्छन्‌ गीतहरू

आफ्ना घाउहरू

आफै भॉंचिएर।

घर-२२

आधा जिन्दगी बस्छ

आधा घरमा

एउटा डल्लै परिवारको।

घरमा बाबुको रिस बस्छ।

आमाको बिरामी बस्छ।

घरको आँखामा टॉंसिइरहन्छ

तेस्‌को अनुहारको पहेंलो निराश

र चर्किँदै गरेको तेसको छातीको फूल।

घरको ढुकुढुकमा बजारिरहन्छ

तेस्‌को कुलतको त्रास।

घरमा एउटा माघ बस्छ

र चिलिरहन्छ घरको चिसो।

घरमा एउटा बाघ बस्छ

र खाइरहन्छ घरको मन।

हावामहलहरूको सिरक गुम्लुङ ओड़ेर

डल्लो परिरहन्छ घर

जा़ड़ो न जोड़ो कोठामा।

कोही कोही बेला रमाउनु पाउँदा

हतार हतार हॉंसिरहन्छ घर।

आकाङ्‌क्षाको निम्नस्तरीय उल्थामा

उहीँ पर आउँदै हुन्छ

असुरक्षाको अर्को संस्करण।

रातभर सुत्नु हुँदैन घरलाई

फुटाएको खिर्कीबाट छिरिआएको

भविष्यत्‌कालको सिरेटोले।

घर-२३

पानी परेको परेकै छ।

झरी झरेको झरेकै छ।

ओरिपरिबाट निरङ्‌कुश सैन्यद्वारा घेरिएको

निःशस्त्र आतंकवादझैं

थर थर कॉंप्दैछ

भिरालोको एक्लो घर।

घर-२४

ढकम्क्क घाममा

घर फक्र्यो

बिहानै।

बिहानै उठेर घरले

खिर्की खोल्यो

र पढ्नु बस्यो।

जिस्किँदै स्कूल जाने फुच्चेहरूको

ड्रइङ्खाताजस्तो भयो घर-

छिर्बिरे।

आँगनको ऐनामा

घाम हॉंस्यो सुनजस्तै,

फूलहरूका गरगहना टल्किए।

घरको मन

आकाशमा छर्लङ्ग भयो

घमाइलो पाराले।

कति वर्षपछि घरले

खातामा सारिराख्यो

मनपरेको गीत।

घरजस्तै घर घरै भयो।

निको भएर आमा

अस्पतालबाट फर्किन्‌ ।

(कविको यो 'घर' शृंखला अन्तर्गतको अन्य कविताहरु क्रमश: राखिने छ । सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।