19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरी उनी

कथा सुदर्शन पौडेल February 28, 2011, 10:45 am

धेरै दिनदेखिको इच्छा थियो गुरुकुलमा चलिरहेको नाटक “सुइना कर्नालीका” हेर्न जाने त्यो आज पूरा भएको छ । यो भन्दा अगाडि एकपटक गएको थिएँ “रिमाल नाटक घर” अर्थात् गुरुकुलमा जतिबेला द्वन्द्वका बेलामा एक गरीब परिवारको एकमात्र सन्तान द्वन्द्वमा जकडिएर हराएको र आमा बाबुले उसको फोटो हेरेर दिन काटिरहेको विषयवस्तु रहेको सामाजिक नाटक “पानी फोटो” चलिरहेको थियो ।

हुन त नाटक पौष २५ गतेसम्म चल्नेवाला थियो तर पनि म २० गते नै हतार हतार ठिक्क ४:३० बजे पुगें किनकी मलाई नाटकको नशा पसिसकेको थियो । त्यसमाथि पनि कर्णाली जस्तो विकट जिल्लाहरुको संयोगले बनेको अञ्चलको भौगोलिक, सांस्कृतिक, तथा आर्थिक पक्षलाई समेटेर निर्माण गरिएको भएकोले मलाई अझ “सुइना कर्नालीका” ले तान्यो । जब म नाटक घरतिर अगाडि बढेर भित्र प्रवेश गरें, त्यहाँ मानिसको भीड खचाखच थियो तर पनि वातावरण शान्त थियो । नेपथ्यबाट आवाज आइरुहेको थियो कर्णालीका बासिन्दाहरुको रहनसहन, दुःख, दर्दलाई अत्यन्तै कारुणिक रुपमा शब्दचित्र उतार्दै, त्यस्तै नेपालको वर्तमान सत्ता राजनीति, हुनेखानेहरुको रजाईं र हुँदा खानेहरुको विजोगका बारेमा नाटक केन्द्रित भएको र नाटक नेपालकै प्राचीन तथा नेपाली भाषा उद्गम खसमा प्रस्तुत हुनेकुरा। एकैछिनमा कर्णालीका विभिन्न झाँकीहरु तथा गीतहरुका झलकहरु प्रस्तुत भए र विदूषकले कर्णालीको परिवेश, नाटकको संरचना र सीमाका बारेमा बताई पलायन भएपछि नाटकको औपचारिक आरम्भ भयो । यतिबेलासम्म पनि सबै मौन छन्, दर्शकतिर श्वास फेरेको आवाज बाहेक केही सुनिंदैन, सबैका आँखा मञ्चतिरै एकोहोरिइरहेका छन् ।म मञ्चको अगाडि एक कुनामा पलेंटी कसेर बसेको थिएँ । छेवैमा एक नवयौवना पनि थिइन्, तर मलाई त्यतातिर खासै वास्ता भएन म पनि एकोहोरिएर नाटक हेरिरहेको थिएँ ।

नाटक शुरु भयो, एक कर्णालीको वृद्ध आफ्नी नातिनीलाई लिएर उपचार गराउनको लागि सदरमुकाम हिंडेको हुन्छ जो जातले दलित हो । हिंड्दा हिंड्दै बाटोमा रात पर्न आँटेको हुन्छ भने उता नातिनीलाई व्यथाले च्यापिरहेको हुन्छ । ऊ त्यहीं नजिकैको बाटोपरिको होटलमा बास बस्नको लागि जान्छ, त्यहाँ पुग्दा झमक्कै साँझ परिसकेको हुन्छ, त्यहाँकी साहुनीलाई आफुले ल्याएको चामल उसिनीदिन आग्रह गर्छ तर ऊ दलित भएकोले उसको चामल उसिन्न नमिल्ने दलितले छोएको चामल उसिन्दा कूलदेवता रिसाउँछन् र अशुभ हुन्छ भनि फर्काउँछे तर उसले नातिनी विरामी भएकोले उसलाई एक गिलास पानी तताईदिन आग्रह गर्छ, रात परेकोले बासको आग्रह गर्छ, अहँ, कुनै सुनुवाई हुँदैन बिचरा π नातिनीलाई आफुले ल्याएको चिसो पानी नै खुवाई आफ्नो न्यानो काखमा सुताइ दुवै सडकमा पल्टिन्छन् । नाटकको एक चरण सकिन्छ ।

म यसो यताउता हेर्छु, सबैले आफ्नो चर्मचक्षुलाई रङ्गमञ्चतिरै फर्काएर स्थिर राखेका छन् । एक्कासी मेरो जीऊ भारी भएजस्तो अनुभव भयो, यसो हेर्छु मेरो काखमा कसैको टाउको घोप्टिएको छ, मेरो मन ढक्क फुल्यो, मुटु ढुकढुक गर्न थाल्यो । म किंकर्तव्यविमुढ भै हेरिरहें । म मा केही गर्ने साहस नै भएन ।

उता नाटक शुरु भैरहेको थियो कर्णाली एउटा स्वायत्त प्रदेशको रुपमा स्थापित भैसकेको थियो । यहाँका जडिबुटीहरु विदेश निर्यात हुन्थे । औद्योगिक नगरीका रुपमा स्थापित भैसकेको हुन्छ । सडक, यातायात, कल–कारखाना, वायुसेवा, कम्प्यूटर आदि क्षेत्रमा अत्यन्तै ठूलो फड्को मारिसकेको हुन्छ । अमेरिका, भारत, चीन, इङ्गल्यान्ड आदि देशहरुमा जडिबुटी निर्यात हुन्थे । विभिन्न देशबाट कामदारहरु मगाइन्थ्यो । नेपालको केन्द्रीय सरकारका प्रधानमन्त्री समेत कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग ऋण माग्न आउँथे । नाटक चलिरहेको थियो मेरो मन त्यसै त्यसै कता हरायो कता आँखा भने नाटकको मञ्चतिरै थिए । तर मेरो मन कता गयो कता सबै इन्द्रियलाई संचालन गर्ने मन नै हराएपछि जाबो इन्द्रियको के काम ? त्यसपछि नाटकमा के भयो मलाई पत्तै भएन ।

म त अर्कै नाटकमा व्यस्त भएँ जसको म आफैं प्रमुख पात्र थिएँ । यसो काखमा नियालें मेरो काख पुसको यस्तो जाडोमा पनि पसिनाले भिजिसकेको थियो । उनको सम्पूर्ण शरीर एकपटक सरसर्ती नियालें चौरीगाइको पुच्छरजस्तो बाक्लो लामो कालो कपाल भुइँसम्म फिजारिएको, टम्म मिलेको उनको जीऊमा पहेंलो कुर्ता पनि कसिएको शरीरका प्रत्येक कोषिकाहरु बाहिर निस्कनका लागि आतुर भएजस्तो प्रतीत हुन्थ्यो, बाटुला पैताला जसमा पहेंलै रङ्गका मोजाले सुवर्णाभुषणले जस्तै शोभा दिइरहेका साथै युगल पाउमा मसिना चाँदीका झुम्का जसलाई पाउजु भन्छन् क्यारे सजिएको थियो । उनले प्रयोग गरेको अत्तरको मन्दवासना आइरहेको थियो ।

यसो मञ्चतिर आँखा तेस्याएँ, नाटकमा अगि बाटोमा सुतेका नातिनी–हजुरबा सुती नै रहेका थिए । केही क्षण पछि उज्यालो हुन्छ, बुढो जाग्छ । नातिनीलाई हस्पिटल पु¥याएर निको गराउन पाए हुन्थ्यो, यो बुढेसकालको सहारा यति एउटी नातिनी थिई भन्ने सम्झँदै नातिनीलाई जगाउन थाल्छ— “उठ नानी उठ π चा“डै अस्पताल गएर औषधी खानुपर्छ अनि निको भैहाल्छ ।” यसो भन्दै जगाउन उसले नातिनीको हात के समातेको थियो हात चिसो भएको अनुभव गर्छ, झस्केर झक्झकाउँछ, अहँ नातिनी उठ्दिन । बिचरा बुढालाई के थाहा नातिनीले उसलाई छोडेर अर्कै संसारमा गैसकेकी छ उसलाई एक्लोे बनाएर । बुढो विलाप गर्न थाल्छ, अघिकी त्यो साहुनी सम्झन्छ, आफ्नो जात सम्झन्छ, र सम्झिन्छ भगवानलाई अनि धिक्कार्छ त्यो भगवानलाई जसले जातभातको सीमा लगाइदियो मानव समाजमा ।

मेरो मन साह्रै अमिलो हुन्छ, आँखा रसाउँछ । अघिको त्यो कर्णाली प्रदेशको विकास, त्यो उन्नति, प्रगति त उसले देखेको सपना पो रहेछ ।गरीबले त सपना देख्न पनि नपाउने रहेछ, झुक्किएर राम्रो सपना सम्म देख्यो भनेपनि दण्ड भगवानले दिंदा रहेछन् । जुन दण्ड त्यो बुढोले भोग्दैछ नातिनीको वियोगमा तड्पिएर ।

मैले यसो सम्झें आफुतिर हेरें म त ठूलो जाति रे ब्राहम्ण र त्यो बुढो विचरा दलित । यत्रो भिन्नता उ र ममा ? एउटा कुलमा जन्म लिंदा वित्तिकै अझ गर्भमा छँदै वर्ग छुट्टिने रे ! कसले ल्यायो विभेद ? के हिन्दु धर्मशास्त्रमा लेखिएको “ब्राहमणऽस्य मुखमासीद्बाहुराजन्य.................” बाक्यले ? जसमा ब्रह्माको मुखबाट ब्राहमण,..... पैतालाबाट शुद्र पैदा भएको भनेर लेखिएको छ । त्यसो भए हामीले शुद्रलाई पनि पुज्नु पर्ने किनभने हामीले भगवानका पाउ नै त पुज्छौं । अनि हाम्रा धर्मशास्त्रमा “जन्मना जायते शुद्र कर्मणा द्विज उच्यते ।” पनि त भनिएको छ– जसले “हरेक मानिस जन्मिंदा शुद्र नै हुन्छ, ब्राहमण र शुद्र त कर्मले बनाउने हो अर्थात् कामले नै मानिसलाई ब्राहमण वा शुद्र बनाउँछ ।” यो भनाइ हाम्रो समाजमा किन लागु हुदैन ? किन खराब काम गर्ने ब्राहमणले शुद्र र असल र परोपकारी काम गर्ने शुद्रले ब्राहमणको दर्जा पाउँदैन ?

यस्तै अनेक तर्कना मनभित्र खेलाउँदै उक्त बुढाकी न्ँँतिनीतिर दृष्टि लगाएँ बिचरा उसको के दोष थियो र जन्मँदै दलित भएर जन्मिनु पर्ने बरु मेरो कूलमा जन्मेको भए कमसेकम एउटा जीवन त बाँच्दथ्यो । मनभित्र यावत् तर्कना गर्दागर्दै नाटक सकिइसकेछ । उनी मेरो काखबाट कतिबेला गइन् थाहै भएन । उनी को हुन्, कहाँकी हुन् केही थाहा भएन । उनी किन मेरो काखमा पल्टिइन्, किन नबोली गइन् ? यतिसम्म कि उनको अनुहार सम्म पनि देख्न पाइन मैले ।

उनको नजीक बस्दा नाटकतिरै ध्यान थियो, उनको अनुहारतिर हेर्ने फुर्सदै भएन । जब उनीतिर ध्यान गयो त्यतिबेलासम्म उनी मेरो काखमा घोप्टिइसकेकी थिइन्, सुँक्क–सुँक्क रुँदै थिइन् अनुहार नै देखिएन, उठाउने कोशिस सम्म पनि गर्न सकिन, म मा त्यो साहसै भएन । उनी उठेपछि परिचय गरौंला भनेर कुरिरहें । तर ................

...................तर के गर्ने शुरुमा नाटकले भुलायो उनीतिर ध्यानै गएन, जब उनी काखमा सुतिन् उनले नाटकलाई नै भुलाई दिइन् नाटकतिर ध्यानै गएन । अन्त्यमा, नाटकको बुढाको कारुणिक वेदना देखेर म आफैंभित्र भुलें न नाटकतिर ध्यान गयो न उनीतिर । मनको ढोका खोली बाहिर आउँदा न नाटक थियो न उनी ।

अमवा–४ रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।