पृष्ठभूमि
२०१७ सालपछि लमो अवधिसम्म स्रष्टालाई कलम चलाउन हम्मेहम्मे प¥यो । औसत धारणा राखेर लेख्नुको माने थिएन । विशिष्ट विचारसहित लेख्नु भनेको कलाको प्रज्ञापत्र लिएर यमराजको प्रयोगशालामा छिनर््ुझैँ कठिन थियो । यस्तो बेलामा पनि प्रगतिवादी विचार राखेर कलम चलाउन हिक्मत गर्न केही स्रष्टाहरू अगाडि सरे । तिनै हिक्मतिला स्रष्टा प्रतिभाको पङ्क्तिमा नाटककार नरनाथ लुइँटेलको नाम आउँछ । अहिले यिनैद्वारा संरचित पूर्णाङ्की नाटक ‘तुवाँलो फाट्दै छ’ लाई अवलोकन गर्न प्रयास गरिएको छ ।
यो नाटक लेखिएको समयमा शासनका समर्थकलाई जेसुकै भन्न र गर्न पनि सुगम थियो । जनताका समर्थकलाई सास फेर्न पनि दुर्गम थियो । बोल्न नपाइने, लेख्न नपाइने र शासनका कमजोरीका विषयमा लुकेर पनि कुरा गर्न नपाइने त्यो समय स्रष्टाका लागि साँच्चै जटिल थियो । त्यसो भनेर चुप लागी बसिरहन पनि सकिँदैनथ्यो । वनमा बाघ छ भनेर वनको बाटै नहिँडी पल्लोपट्टीको गाउँमा जान पनि त सकिन्न । नरनाथका छातीभरि जलन थियो । यिनले राष्ट्रदेह र जलिरहेको आफ्नो मुटुमा पानी छर्किनका लागि ‘तुवाँलो फाट्दै छ’ नाटक लेखे ।
नाटक लेखियो मात्र होइन । खेलियो पनि । ‘तुवाँलो फाट्दै छ’ काठमाडौँको कीर्तिपुरमा अवस्थित अडिटोरियम हलमा मञ्चन भयो । जनताका पसिनामा हालीमुहाली गर्न सामन्त र शोषकहरूको बाँदरे प्रवृत्ति छर्लङ्ग भयो । काम गरेबापत् श्रमिकलाई ज्याला नदिएर महाजन भएकाहरूको दुर्नियत खुल्यो । मानव तस्कर तथा मूर्ति बेचुवाहरूले बनाएको भ्रमको जालो फुस्कियो । सत्ताका समर्थकहरूले जतिसुकै ठूलो जालो लगाउन खोजे पनि विकृत तुवाँलो क्रमशः घट्दै गइरहेको यथार्थ पनि दर्शकलाई बोध भयो । समाज परिवर्तनका लागि नरनाथद्वारा रचित नाटक ‘तुवाँलो फाट्दै छ’ निक्कै उपयोगी हुने तथ्य अभिलेखसहित सार्वनिक भयो । त्यसपछि २०४० साल चैतमा प्रस्तुत नाटक छापिएर पाठकका हातमा पनि आइपुग्यो । जानकारीमा आएअनुसार नाटक लेख्ने नरनाथ भए पनि छापिएर आउँदा नाटकमा कलाकारको भूमिका निर्वाह गर्ने देवराज कार्कीको नाम पनि लेखकका रूपमा समाविष्ट भयो ।
घटना–अवस्थिति
मानबहादुरको विपन्न घरायसी परिवेशबाट नाटक आरम्भ भएको छ । चौबीस घण्टामा अठार घण्टा काम गरे पनि श्रमिकलाई हातमुख जोर्न धौधौ पर्छ । घरखर्च चलाउन नसकेपछि साहूसँग रिन लिन बाध्य हुनुपर्छ । एकातिर व्यवहार चलाउन मुस्किल छ अर्कातिर समयमा रिन तिर्न नसकेर दिनहुँको साहूको खप्की ! घरपरिवार लथालिङ्ग पार्नका निम्ति नभएर आफ्नो चिन्ता भुल्नका लागि मानबहादुरले रक्सी खानुपरेको विवशता लेखकले नाटकमा देखाउन खोजेका छन् । पोषणयुक्त खानेकुराको कमी त थियो नै । त्यसमा रक्सी थपियो । त्यसैकारण मानबहादुरलाई टिबी लाग्यो । उपचारका निम्ति खर्चको अभाव ! पुरानो रिन तिर्न बाँकी भए पनि पैसाका लागि साहूकोमा नपुगी सुख भएन । मानबहादुरकी श्रीमती धनमाया रिन खोज्दै मकरध्वजकोमा पुगे पनि तिर्न नसके के गर्ने ? साहूले प्रश्न उठाउँछ । छोरो हर्क अथवा छोरी सान्नानी आफ्नो घरमा राख्न पाउने वचन दिएपछि धनमायालाई बारबीस दस अथवा दुई सय पचास रुपियाँ रिन प्राप्त हुन्छ । जति प्रयास गरे पनि रोगलाई घटाउन सकिएन । जीवनभरि हाड घोटेर पनि कङ्गालको कङ्गालै हुन बाध्य भएका मानबहादुर ठीक ढङ्गको उपचार नपाएर मरे ।
एकातिर गरिबीले जीवन कहालीलाग्दो भएको दृश्य छ । अर्कातिर जनताको श्रम र सुविधा खोसेर सम्पन्न भएका मकरध्वज, अक्कलबहादुर र दिपक गरिबकै अवन्नतिमा रमाउँछन् । यिनै चरित्रले ब्याज धेरै लिएर निम्न वर्गका मानिसलाई गलाएका छन् । मानव तस्करी गरेर आफ्नो आर्जन बढाएका छन् । प्राचीन सम्पदा मूर्ति बेचेर घटिया व्यवहार प्रदर्शन गरेका छन् । अक्कलबहादुरले हर्कजितलाई भर्तीमा पठाएर दलाली भाग लियो । दिपकले चाहिँ मानबहादुरकी छोरी सान्नानीलाई बम्बईमा पु¥याएर बेच्यो र पैसा सोहो¥यो ।
अभाव, विछोड र गरिबीको आशीर्वाद पाएकी धनमाया सहाराहीन जीवन बिताउन बाध्य छिन् । “साह्रो ढुङ्गामा पनि हरियो लेउ लाग्ने मौसम आउँछ” भन्दै धनमाया निराश हुँदा विमलाले आशाको त्यान्द्रो दिइन् । मकरध्वज जस्ता दैत्यहरूकै कारण सबै गाउँलेले दुःख पाएको यथार्थ पनि बताइन् । शोषणको रीतिरिवाजलाई फेरेर सुन्दर संसारको निर्माण गर्न सबै गाउँलेहरू एकजुट हुन आवश्यक देखाइन् । हर्कजित दुःख पाएर लाहोरबाट गाउँ फर्किनु, सान्नानी बम्बईबाट उम्केर घरमा उपस्थित हुनु र गाउँका सबै गरिबहरू मिली सामन्त मकरध्वज अनि मानव तस्कर दिपकलाई घेरेर प्रहार गरेको परिघटना उपस्थित गरी नाटककारले एकताको बल अचुक तथा परिणाममुखी हुने यथार्थ घटनातथ्य अगाडि सारेका छन् । जनतालाई कयसमा राखेर शासन गर्न तत्कालीन पञ्चायती व्यवस्थाका पक्षधरहरूको दुरूद्देश्य पनि छर्लङ्ग पारेका छन् ।
चरित्र
मानबहादुर, धनमाया, विमला, कुलमान, खत्री कान्छो, हर्कजित र सान्नानी यस नाटकभित्रका दर्शकबाट सहानुभूति प्राप्त गर्न नायकीय भूमिका भएका पात्रपात्रा हुन् । मकरध्वज, दिपक, चन्द्रकला आदि खलनायकीय भूमिकामा सक्रिय पात्रपात्राका रूपमा देखा पर्दछन् । सुरूका दृश्यहरूमा विमलाको छातीभित्र वर्गीय भावना झिनो रूपमा देखिन्छ । मानबहादुरको मृत्यु, मकरध्वजको निर्देशनमा सान्नानीको बिक्रि र अक्कलबहादुरको उक्साहटमा हर्कजितलाई विदेश पठाइएको थाहा पाएपछि विमलाभित्रको भुतभुते आगो एकतासहित सामन्तमाथि आक्रमण गर्न अग्रसर हुन्छ । दलाल, मानवतस्कर तथा कुकृत्यको मतियार गाउँको प्रधानपञ्चलाई चौखु¥याउँदै चिर्पटले दनक दिनसक्ने क्षमता विकास गरेर नाटककारले ठगाहा सामन्तबाट निमुखा भनिएका चरित्रलाई विश्वसनीय शक्तिका रूपमा अगाडि सारेका छन् । गतिलाई रोक्न खोज्ने अनि प्रगतिलाई छेक्न बल गर्ने दुष्ट, धूर्त र तस्कर चरित्रका विरूद्ध शोषित पात्रपात्रालाई आत्मबल प्रदान गरी जुझारू दृष्टि दिएर अनुकरणीय चरित्र निर्माण गर्ने काम पनि भएको छ । यसबाट परजीवी र जाली चरित्रको दिन लामो छैन भन्ने तथ्य पनि अगाडि आएको छ । हर्कजित, विमला, कुलमान आदिले प्रदर्शन गरेको हिक्मत र पुरूषार्थबाट महान, उच्च र विशिष्ट चरित्रहरू हामी वरिपरि नै छन् भन्ने सन्देश पनि प्रवाहित भएको छ ।
यहाँ भन्नै पर्ने एउटा प्रसङ्ग छ । लेखकले नाटकको सुरूमै देखा पर्ने मानबहादुरलाई दुःख पर्दा रक्सी खाने कमजोर चरित्रका रूपमा देखाएका छन् । मानबहादुर एक्लै छैनन् । उनको दुःख बिसाउने ठावैँ नभएको पनि त होइन । छोरा, छोरी र श्रीमतीसमेत भएको मान्छे ! साहूको टोकसो खप्न लागुपदार्थ खाएको फितलो तर्क ल्याउनु र रक्सीकै कारण टिबी लागेर मरेको देखाउनु उपयुक्त थिएन । समस्याको सुरूङबाट कतिपय चरित्रलाई आफ्नै अक्कल र बुद्धि लगाएर उम्किएको देखाउन सक्ने लेखकले मानबहादुरको विषयमा किन दुब्लो धारणा अघि सारेका हुन् कुन्नि ! पसिना बगाउँदा बगाउँदै दुर्घनामा परेर मृत्यु भएको प्रसङ्ग ल्याई बाँचेकाले रिन तिर्न नसक्दा मकरध्वजलाई पैसा उठाउनका लागि आक्रामक बनेको देखाउन सकेको भए नाटकलाई अझै द्वन्द्वपूर्ण बनाउन बल मिल्थ्यो । हामीले स्थापित गरेको चरित्रप्रति न्याय पनि हुन्थ्यो ।
संवाद तथा दृश्य–व्यवस्थापन
नाटकमा मञ्च व्यवस्थापन, पात्रहरूको आवागमन, हाउभाउ आदिका लागि नाटककारको निर्देशनको खाँचो पर्दछ । यसै प्रयोजनका लागि लेखकले कोष्ठक वाक्यमा धेरै कुरा दिएका छन् । नाटकमा चरित्रअनुरूप गाउँले कथा, व्यथा, दृश्य र समस्या अभिव्यक्त गर्न आवश्यक पर्ने सरल संवादको प्रयोग भएको छ । यसमा थोरैमा एक पङ्क्तिको संवाद आयाम देख्न सकिन्छ । बढीमा बाइस पङ्क्तिसम्मको लामो संवाद पनि समाविष्ट भएको छ ।
गोरा र हर्कतिको आपसी वार्तामा गोराले बोलेको संवाद “नोअन्सेन, ह्वाई आर यु कम हियर ?” जस्ता अङ्ग्रेजी वाक्यहरू समावेश भएका छन् । त्यसै गरी बम्बईको दृश्यअन्तर्गत मालिक र सान्नानीको वार्तामा “रे कान्छी तुम क्या कर रही ?” जस्ता हिन्दी भाषाका वाक्यहरू पनि परेका छन् । यसमा समय समयमा बज्ने धुनले पनि सूचना विस्तारको काम गरेको देख्न सकिन्छ । यसका अतिरिक्त नाटककारले आफ्नो कलादृष्टिलाई दर्शक वा पाठकसमक्ष सुगम ढङ्गले अभिव्यक्ति विस्तार गर्नका निम्ति नेपथ्य गीत, सङ्गीत तथा आवाजको समेत व्यवस्था गरेको देखिनाले ‘तुवाँलो फाट्दै छ’मा संवादको सहज उपयोग भएको थाहा पाइन्छ ।
‘तुवाँलो फाट्दै छ’ नाटकमा मानबहादुरको घरको पिँडीबाट दृश्यको आरम्भ हुन्छ । मकरध्वजको घरआँगन र चौतारो पनि दृश्यव्यवस्थापनमा समेटिएका छन् । मूक दृश्यअन्तर्गत बोर्नियोको जङ्गल देखापर्छ, मलायाको मिलिट्री छाउनी, बम्बईको होटेलको भाँडा माझ्ने ठाउँ र अन्तिममा मकरध्वजको घरको आँगनलाई मञ्चदृश्य बनाएर नाटक टुङ्गिएको छ । मञ्चमा चराचुरूङ्गी र कुकुर भुकेको आवाज भर्न र सुनाउने उपकरणको व्यवस्थापन गर्न असजिलो छैन । निर्देशकले मञ्चमा जङ्गलको दृश्य देखाउने कामको भूमिका निर्वाह गर्दा प्रश्न उठे पनि बाँकी दृश्यको मञ्चविधिका लागि लेखकले सजिलो तरिका अगाडि सारेका छन् ।
संवाद वा नेपथ्य ध्वनिका केही अंश
‘तुवाँलो फाट्दै छ’, मुक्ति, परिवर्तन र क्रान्तिको आवाज घन्काउने नाट्यरचना हो । यसले चरित्रलाई जागरूक तथा क्रियाशील बनाउन यथेष्ट आँट र ऊर्जा दिने हैसियत समेटेको छ । यहाँ उद्देश्य र नतिजा प्राप्तिको लागि नाटकमा समाविष्ट केही सटिक संवाद र नेपथ्य आवाजहरू प्रस्तुत गर्न सान्दर्भिक ठानिएको छ :
करूणाजन्य संवाद :
हर्केका बाउ ! हामी सबैलाई माया मारेर जाने भयौ नि । (धनमाया)
...ह्वाल्ल रगत बान्ता गरेर चिरनिद्रामा जान्छन् । रूवाबासीको कोलाहल सुरू हुन्छ (कोष्ठक–वाक्य)
ठूलाठालुको हैकम बोधक संवाद :
माने म¥यो, हर्क विदेश भासियो । रहे आमाछोरी, आइमाई पाजीलाई पनि मान्छे गन्ने ? (मकरध्वज)
पाखो बारी चैँ ब्याजमा मात्रै सदाउनुपर्छ साउँ भने ज्यूँका त्यूँ । (ललित)
सान्नानीलाई पकाउने जिम्मा तपाईंको अरू सबै काम मेरो । तीन हजार अहिले नै लिनुहोस् । (दिपक)
विद्रोहजन्य संवाद :
यी सबैको मूलकारण साहू मकरध्वजको कुटिल षडयन्त्र थियो । अब मकरध्वज र ऊ जस्तालाई ...टेवादिने यहाँको रीतिरिवाजलाई बदल्नुपर्छ (विमला)
गाउँका मान्छेको मासु खाने मकरेजस्ता दुष्टसँग जुझ्न साहस र शक्ति बटुलेर फर्केछौँ । (कुलमान)
यी मेरा हात कसैका जुत्ता पालिस गर्न होइनन् । बन्दुक र राइफल समात्ने हात हुन् साब । (हर्कजित)
हामीलाई जुन पापीले दिए यो दुःख भुक्तान÷ती गरिबमारा पापीलाई मास्न गाउँमै फर्कन (नेपथ्यगीत)
शोषण र दुःखका साङ्लाहरू चुँडाल्न एकगठ हुनैपर्छ । (धनमाया)
अब हामी मकरेको यो अत्याचार सहेर बसिरहन सक्तैनौँ । (खत्री कान्छो)
मुटुमा दनदनी आगो बल्दै छ मामा, त्यो मकरे पशुको रगत पिउन मन लागिरहेछ । उसका चोक्टा लुछ्न मन लागिरहेछ । (सान्नानी)
नेपथ्य गीतहरू ः
कोही त भने जहाजमा हरर÷कोही त भने पसिना तरर ...
गाउँको ठालु फोहोरी भालु÷यसको नङ््रा असाध्यै विसालु
कोहीको घरमा डाक्टरको चाकडी÷कोही त मर्छ अस्पताल नहेरी ...
डाँडा काटी गयौ नि दाजै गाउँघरको मायालाई बिर्सेर...
बाबु बूढा काललाई भै गए बूढी आमै ओछ्यानलाई भइगइन् ।
आँसुको सागर बगाउँदै चेलीले सिन्दुर पुछेको...
नराम्रो लाग्छ मलाई विधुवा रूँदै हिँडेको...
साहूको रिन तिर्न भनी गाको मेरो छोरा
मेरो बाबा हर्कजित फेरि फर्केन
राष्ट्रप्रेमजन्य संवाद ः
आफ्नो प्यारो गाउँघरमा खनीखोस्री गर्न छोडेर लाहुरे ! (विमला)
लाहुरे सपना बुन्न थाल्यौ भने त्यो घरले तिमीलाई सराप्नेछ । (कुलमान)
हर्कजित यो घर, यो आँगन... छोडेर तँ आज कता जाँदै छस् ? (नेपथ्य–आवाज)
हो, मलाई हिमालको माया छ । डाँडापाखा र खोलानालाको माया छ । (हर्कजित)
चिन्तनदृष्टि र द्वन्द्व
नरनाथ लुइँटेलको ‘तुवाँलो फाट्दै छ’ नाटकले निम्न वर्गका चरित्रमाथि दर्शकको सहानुभूति विस्तार गरेको छ । नैतिकता र मर्यादा ठूलाबडाका मान्छे चुस्ने उपकरण भएको देखाउँदै सम्पन्न भनिने तर मानसिक रूपले दरिद्र महाजन, सामन्त र धनाड्यका व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ । यसले मञ्चमा पुगेर नाटक हेर्न भ्याउने वा पुस्तक मात्रै पढ्न पाउने दुवैथरीलाई सम्पन्न र विपन्न वर्गप्रतिको आपसी टक्करको तथ्यसँग नजिक हुन बल पु¥याएको छ । नाटकले सामन्त र मानवतस्करमाथि चोर औलो ठड्याएर मात्र नपुग्ने सत्य उद्घाटन गर्दै सौन्दर्यशास्त्रप्रेमी तथा सामान्य ज्यामी, ढाक्रे आदि पसिनाका संवाहकलाई लाठा र चिर्पट लिएर अघि बढ्न उत्प्रेरित पनि गरेको छ । आज देखिने शोषण, थिचोमिचो, तस्करी आदिलाई हेर्दा नाटकको चिन्तनदृष्टि लेखनसमय र वर्तमान विन्दुले खोजेको सामाजिक अन्तवस्तुका दुवै समय आयामसँग गाँसिएको देखिन्छ ।
‘तुवाँलो फाट्दै छ’ नाटकले आँसु पिएर पनि जीवन धान्न मुस्किल पर्ने र विनाकष्ट हाँसीहाँसी जीवन चलाउने वर्गका बीचको द्वन्द्वलाई सुस्पष्ट रेखाङ्कित गरेको छ । मुखमा रामराम बगलीमा छुरा राख्ने धनाढ्यको सम्बन्ध अरूको खोस्ने र बसी खाने विषयसँग छ । निश्छल संस्कृतिका वाहक श्रमिकको मूल विषय चाहिँ गाँसवास जुटाउने उपायसँग सम्बन्धित छ । यहाँ जालझेलबाट टाढा रहेका र जीवनलाई पौरखमा फुलाउन मन पराउने परिश्रमी वर्ग जहिले पनि अँध्यारोमा रूमलिन विवश भएको यथार्थ एकातिर देखाइएको छ । अर्कातिर ठुल्याइँको धाक लगाएर अरूको पसिना लुछी निरन्तर नाच्ने वर्गको राक्षसी अनुहारलाई पनि दर्शक वा पाठकका सामुन्ने प्रस्तुत गरिएको छ । मकरध्वज र दिपक परजीवी हुन् । धनमाया, कुलमान, हर्कजित आदि स्वावलम्बी वर्गमा पर्दछन् । यिनै बसी खान प्रयास गर्ने र गरी खान जमर्को गर्ने दुई पक्षको जीवन्त द्वन्द्वले प्रस्तुत नाटकको अन्तर्वस्तु सघन बन्न पुगेको छ ।
नाटकले रोगका कारण थला परेको श्रमिकलाई उपचार गर्नका लागि रिन माग्नुपरेको तीतो यथार्थ प्रस्तुत गरेको छ । पुरानो थैली ज्यूँका त्यूँ बाँकी राखेर रिन थप्न नचाहने साहूको बाहिरबाहिरको एकोहोरो ढिपी देखिए पनि भित्रभित्र ब्याजको लोभले ¥याल झार्ने दैत्य प्रवृत्तिको चिरफार पनि नाटकमा भएको छ । गरिबले “गाह्रो–साँघुरोमा गुहार दिनुहोस् हजुर !” भनेपछि साहूद्वारा उदारताको स्वाङ गरी कृपापूर्व रिन दिइएको अवस्था एकातिर देखिन्छ । अर्कातिर रिन लिनेको कमजोरी देखेर साहूले, “माने म¥यो, हर्के विदेश भासियो, बाँकी रहे आमाछोरी, आइमाई पाजीलाई पनि मान्छे गन्ने हो के ?’’ भनेर हुनसम्मको दानवी स्वभाव प्रदर्शन गरेको दृश्य पनि प्रस्तुत भएको छ । साहू, दलाल र तस्करहरूका प्रत्येक भनाइ अनि व्यवहारबाट निम्न वर्ग उकुसमुकुस बनेको देखाउनु र अन्त्यमा बाउन्न ठक्कर, त्रिपन्न घुच्ची खाएर बिउँझिएको श्रमिकहरूको समूह आफ्नो सामाजिक इतिहास नै तताएर सामन्तमाथि जाइलाग्नेसम्मको द्वन्द्व यसमा देखाइएको छ । हाम्रो नाट्यदर्शनलाई सञ्जीवनी दिने र पाठकलाई विश्वस्त पार्ने चुरो विषय पनि यही नै हो ।
निष्कर्ष
‘तुवाँलो फाट्दै छ’ नाटकका चरित्रलाई भाग्यवादी हीनभावनाले सताएको छैन । पात्रपात्राहरू कर्मप्रति विश्वस्त र भविष्यप्रति पूर्णरूपमा आशावादी देखिन्छन् । चरित्रलाई सपनाले जगाएको छ । उद्देश्यले उठाएको छ । नाटकद्वारा बम्बईमा बेचिन विवश सान्नानी र पराईको उन्नतिका निम्ति सात समुद्रपारि पुगेको हर्कजितलाई समस्याको चेपबाट निकाली युगौँ अघिदेखि थुप्रिएको आँगनको धूलो फ्याँक्न अभिप्रेरित गरिएको छ । घटिया चरित्रको सङ्कुचनले जन्माएको रीतिरिवाजको गन्ध, संस्कृतिको दुष्प्रभाव र नबोके पनि हुने चलनको भारीले समाजको ढाड बाङ्गिसकेको देखाउँदै नाटककारले आफ्नो भत्केको घर बनाउन छोडेर अरूको दरबार बनाउन समय खर्चिनु बुद्धिमानी होइन भन्ने निष्कर्ष दिन खोजेका छन् । नाटकमा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नका निम्ति अनावश्यक घुमाउरो भाषा प्रयोग गरिएको पनि छैन । स्रष्टाले बौद्धिक खज्मज्याइको अभिव्यक्ति पनि दिएका छैनन् । नरनाथ लुइँटेलले जनाताका शत्रु र मित्रशक्तिलाई स्पष्ट खुट्याएर दुई फ्याक पारि देखाउने हिक्मत गरेका छन् । गाउँगाउँमा चेतनाका राँका जलाएर मकरेजस्ता असङ्ख्य दुष्टलाई तह लगाउन दीर्घकालीन युद्ध चलाउनुपर्ने साहसको खाँचो औल्ँयाएका छन् । नाटकको निष्कर्ष सन्देश पनि यही हो । यति भनी सकेपछि, ‘तुवाँलो फाट्दै छ’मा लेखनका नाममा नाटककारले आफ्नो अहङ्कार प्रस्तुत गरेका छैनन् भन्न रोकिनुपर्दैन । गाउँले जनताको छरिएको शक्तिलाई उठाएर सामाजिक बोझ र भार फयाँकी चरित्रलाई परिवर्तनका लागि जुझारू एवम् क्रियाशील हुन अभिप्रेरित गर्ने प्रस्तुत नाटकलाई समयको उज्यालो दस्ताबेजका रूपमा स्वीकार्नुपर्छ ।
स्रष्टाको मनमा जे छ त्यही कुरा बाहिर आउँछ । ‘तुवाँलो फाट्दैछ’ भनी घोषणा गरेको तीन दशकपछि देशभित्र लागेको बाक्लो तुवाँलो फाट्यो पनि । यसबाट मात्र पनि नाटक पढ्ने पाठक वा हेर्ने दर्शकले लेखकको छातीभित्रको उज्यालो थाहा पाउन कुनै कसरत गर्नुपर्दैन । अब प्रश्न उठ्छ– परिणाममुखी (रिजल्टदायी) नाटक लेख्ने नरनाथका अन्य नाट्यकृतिहरू किन पढ्न पाइएनन् ?