14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

कविता मनोज बोगटी March 20, 2011, 3:43 am

जुक्ति रेखा, सम्बोधन र जोड़िने टुक्रा

कसले हो मेरो टुप्पीमा बसेर

मेरो आँखामा तीर राख्छ र हिँड़ भन्छ।

मलाई मात्र के सबलाई भन्छ।

आफ्नै शीरको खुइलिएको भरोसा

छ्‌याप्पै भिज्छ

कमारो पसीनाले।

मेरो मात्र के सबको भिज्छ।

म आफ्नै पसीनाले भिजेर मुसा भएको छु।

ममात्र के सब भएका छन्‌।

बिरालोहरूले चराउँछ मलाई

र भोक लागेको बेला चपाउँछ।

मेरो युगौँको हॉंक

नाकेडोरी भिजाएर सिङ्गानसरीको सास फेर्छ।

खै,

बाघ हुने नाटक गर्नेहरू पनि देखेँ।

स्याल जस्तो कराइरहेका छन्‌

हतियार बोकेर। डॉंड़ाडॉंड़ा।

मुक्ति भन्ने कुरा जङ्गलमा खोज्नेहरूको जङ्गली उखान

गाउँमा खुबै प्रचलित छ।

उनीहरूले कमसेकम आफ्नै घर भत्काउँछन्‌।

त्यो भन्दा बढ्‌ता खोकेको आवाज आउँदैन।

कि त गाउँको चिलाउनेको रूखमा आफैलाई झुण्डाउँछ।

र विज्ञापन गर्छ, छारेरोगको किटाणु कसरी सार्नु

शरीरभित्रसम्म

वा रानीमासुसम्म।

अब हामी भनौं उसलाई-

यो मृत्युखेल हो

हॉंसखेल होइन।

बासखेल होइन

गॉंसखेल होइन।

रगतको हिलोमा रगतनै फुल्छ

पसीनाको हिलोमा पसीना।

मान्छेको हिलोमा कसरी बन्दुक फुल्यो?

मन्दिरमा कसरी पायो बास

हतियारले?

शिकार खेल्ने रामलाई थाहा छ कि

मारको विज्ञानसम्मत जुक्तिको पुच्छर कत्रो छ।

आखिर कुन मुक्तिको निम्ति हो युद्ध?

नरसंहारको सिरक ओड़ेर देख्ने सपनाले

आँखालाई गरेको प्रताड़नाको कुनै सम्बोधन छ?

भर्खर रेखाजस्तो बाटो खनिँदैछ

अब त्यसबाट हिँड़ेर

युद्धको जगटा लुछ्‌ने होइन

लालटमा टीको लगाएर तमास विसर्जनको निम्ति जम्लेहात हुनेछ

युद्ध अघि।

हुन त मलाई थाहा छ

मलाई मात्र के सबलाई थाहा छ

युद्ध

बुद्ध होइन।

यो पनि थाहा छ कि

युद्द

बुद्ध हुनै सक्छ।

कमसेकम यो अश्त्रलाई भॉंती पुर्‍याएर प्रयोग गरिएको छैन।

एउटा सरल रेखा हुनको निम्ति हामी हजार टुक्रालाई जोड्न सक्छौं।

एक टुक्रा तिमी

एक टुक्रा म।

अरू टुक्राको कुरा पछि गरौं

अहिले तिमी र म नै पर्याप्त छ

सास फेर्नलाई।

फेर्ने सास?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।