उसको अनुहार अँगारजस्तो थियो । तर न्वारनमा नाउँ पाएको थियो शरत्चन्द्र । थर थियो राताटिंगुने । तर शरत्चन्द्र राताटिंगुने को दुर्भाग्य के थियो भने कसैले पनि उसलाई शरत्चन्द्र भन्दैनथे । बालसखाहरु उसलाई हाकुचा भन्थे । युवा–सखाहरु उसलाई मामपा.... भन्थे ।
हाकुचाले उमेरैमा के थाहा पायो भने मान्छे ‘उपनाम’ राख्ता रहेछन् । उसले उपनामहरुबारे सोच्यो । तर राख्न धक मान्यो । ‘प्रेमी’, ‘पागल’, ‘विरही’, ‘वियोगी’, ‘शशि’, ‘व्यथित’, ‘प्रेमर्षि’, ‘नेपाली’, ‘गोर्खाली’, ‘पहाडी’, ‘मन्थलीय’, ‘सिन्धुलीय’, ‘ओखलढुंगेली’, आदि उपनाम उनले नसुनेको होइन । पछि उर्दूका शायरीहरु पढ्दा के थाहा पायो भने उपनाम नभएका त शायर नै हुँदा रहेनछन् तर उपनाम राखिहाल्ने आँट गरेन । उसले सोचेको थियो, उपनाम राख्न त कवि–लेखक हुनुपर्छ । उ कति गर्दा पनि लेखक हुन सकेन, त्यसैले उपनाम राखेन ।
त्यस्तैमा उसले यो पनि थाहा पायो कि थर फेर्ने चलन पनि छ । उसले पनि थर सच्याउने अठोट ग¥यो ।
एक दिन घोषण ग¥यो, लेख्यो, बोल्यो– उसको थर परिवर्तन भएको कुरा उसले भन्यो – मेरो नाउँ अब शरत्चन्द्र राताटिंगुला होइन शरत्चन्द्र नेपाल हो ।
तर साथीहरुले त्यस कुरालाई मान्यता दिएनन् । बालसखाहरुले उसलाई हाकुचा नै भने । युव–सखाहरुले उसलाई मामपा....नै भने ।
मामपा... नाम उसले २०४६ सालको जनआन्दोलनपछि पाएको थियो । त्यस अघि उसको नामको कुनै समस्या थिएन । उसका पछि सबैले उसलाई हाकुचा भन्थे । उसका अघि सबैले उसलाई शरत्चन्द्रजी भन्थे । तर जनआन्दोलनले उसको जीवन शैलीको सन्तुलन बिगारिदिएको थियो । त्यसको मूल कारण थियो– राजनीति र राजनीतिज्ञहरप्रति उसको तीव्र दोषदर्शिता, सिनिसिज्म ।
पञ्चायत व्यवस्थामा उसलाई कुनैै समस्या थिएन । उसलाई राजनीतिको अस्तित्वको आभास पनि थिएन । मरुटोलमा घर थियो । घरमा भात खान पाउँथ्यो । डबलीमा गफ गर्न साथी पाउँथ्यो । मौका चान्सले अलि अलि डलर (उ डल्लर भन्थ्यो) “वारका पार” गर्न पाए उसलाई पप्लु खेल्न पुगिहाल्थ्यो । ब्राउन सुगर नै ‘वारका पार’ गर्न सके त झन् नानचाको पसलमा पाइने परिकार– ऐला, बजी, कचिला, छोएला, ममचा, भुटन, वः, सन्याखुना, टखा आदिको निकै दिनको खर्च चलिहाल्थ्यो । राजनीति गर्नेहरु राजनीति गर्थे । कमाउने कमाउँथे । गुमाउने गुमाउथे । उसको जीवन शान्त नदीजस्तै थियो ।
जनआन्दोलनले उसको शान्त नदीमा बाढी ल्यायो । बहुदल रे ! राजनैतिक अधिकार रे ! कांग्रेस र कम्युनिष्ट रे ! (त्यतिखेर राष्ट्रिय प्रजातन्त्र पाटीै जन्मिएको थिएन, त्यो पञ्चको गर्भमा थियो) । कपुरी क होइन कम्युनिष्ट क रे ! कान्नानी का होइन कांग्रस का रे ! क र का मिलेर शान्त पञ्चायत व्यवस्था ढाल्ने रे !
चाक्सीबारीको ऐतिहासिक भाषण सुनेपछि उसले भनेको थियो –“यी मामापाहरूले गरि खान्छ ? हेरौँला !”
जनआन्दोलनका हरेक क्रियाकलापलाई उ मामपा ..... भन्थ्यो । हरेक नेतालाई उ मामपा.. भन्थ्यो । ऊभन्थ्यो – “वी.पी. कोइराला सबभन्दा ठूलो मामपा....हो । त्यसपछिको मामपा.... हो पुष्पलाल । यो साला सहिद भन्नेहरू सब मामपा...हो । सब नेता मामपा... हो । सब मन्त्री मामपा... हो ।”
जनआन्दोलनताका जब उसको मामपा... टिप्पणी असहृ्य भयो – साथीहरुले उसलाई मामपा.... नामकरण गरेका थिए । सबैले उसलाई मामपा... भन्न थाले । तर सम्भवतः उसलाई आजसम्म आफ्नो नयाँ नामकरण भएको थाहा छैन । उसको नामकरण भएको आज चैत २६ गते २०५१ सालमा, जब म यो कथा लेख्तैछु, पाँच वर्ष पुगिसकेको छ ।
मामपा.... मेरो बालसखा हो । हामी सँगै गुच्चा खेल्थ्यौं । उमेर उस्तै छ । अथवा भनौं उ मभन्दा १–२ वर्ष जेठो पनि हुन सक्छ, कान्छो पनि हुन सक्छ । त्यसैले गर्दा उसले मलाई, बितेका वर्षहरुमा कहिले साथीजस्ततो व्यवहार ग¥यो । कहिले दाजुजस्तो र कहिले भाइजस्तो । कहिले तिमी भन्यो, कहिले तपाई र कहिले तँ । उसले मलाई “दाजु” भन्दा म पनि उसलाई “भाइ” भन्थेँ । उसले मलाई “भाइ” भन्दा म उसलाई “दाजु” भन्थेँ । उसले साथीजस्तो गरी मलाई “तिमी” भन्दा म पनि उसलाई “तिमी” भन्थेँ ।
पञ्चायत कालभरि मामपा..... ले मलाई दाजु भनेर बोलायो । झुकेर अभिवादन ग¥यो – त्यो पनि दुइ हात जोडेर । मलाई भन्थ्यो– “तपाई त लेखक, विद्धान्, हामीलाई सिकाउनोस्, सधाउनोस्, तपाईहरु त समाजका मार्गदर्शक । यी मामपा... राजनीतिज्ञहरुले गर्छन् र यो देशको लागि ! ... विदेशबाट ल्याएर प्रजातन्त्र ल्याइन्छ यहाँ ... मामपा.. ।”
२०४७ साल चैत २७ गतेको विजय जुलुसमा मैले उसलाई चारतारे झण्डा बोकेर सबभन्दा अघिल्लो पंक्तिमा नारा लगाउँदै जोसिदै हिंडेको देखेर मलाई चिन्न गाहारो भयो । मैले सोचें के यो उही मामपा.. हो ? धक्कम्धक्का गर्दै नजीक गएँ र बोलाएँ– “ए शरतचन्द्र, तिमी पनि !”
उसले मलाई गम्लङ्ग अँगालो हाल्दै भन्यो– “प्रजातन्त्र जिन्दावाद ! बहुदल जिन्दावाद ! वीर गणेशमान जिन्दावाद !”
मैले थाहा पाएँ, उ २६ गते मध्येराततिर एकाएक महान् प्रजातन्त्रवादी भैसकेछ । महान् कांग्रेस भैसकेछ । उ सात सालदेखिकै कांग्रेस भएको हुं भन्न थालेछ । पुस १ गते मार्शल जुलुमको ऐतिहासिक विरोध माइकिङको सहभागी हुँ भन्न थालेछ । नेपाल विद्यार्थी सङ्घको संस्थापक हुँ भन्न थालेछ । नेपाली कांग्रेसका नेताहरु निर्वासनमा बस्ता उहाँहरुसँग काम गरेको हुँ भन्न लागेछ । सत्र सालपछिका प्रजातन्त्र पुनःप्राप्तिका लागि होमिएको योद्धा हुँ भन्नलागेछ ।
जन–आन्दोलनपछि उसले मलाई तिमी भन्न लाग्यो । मलाई राजनीति सिकाउन लाग्यो । म सिक्न लागें । मैले सोचें– नेपाली कांग्रेस गुप्तवासमा हुँदा मामपा... साँच्चै सक्रिय कार्यकर्ता रहेछ । अलि बढाइ–चढाइ ग¥यो होला...त्यो त कसले गर्दैन ? तर अब उसले मसँग नमस्ते माग्न थालेको थियो । म पनि नकच्चरो भएर ठिङ्ग उभिइराख्थें । एक हात उठाएर– “हाई !” भन्ने शैलीमा हात उठाउँथ्यो, तर आधा मात्र ।
अन्तरीम कालको एक वर्षमा मापपाकहाँ कार्यकर्ताहरुको निकै घुइँचो हुन थालेको थियो । २०४८ को निर्वाचनमा मामपाले नेपाली कांग्रेसबाट सांसदको टिकट पाउने हल्ला पनि चलेको थियो । गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसबाद भट्टराईको “बार्गेन” नमिलेर मात्र टिकट नपाएको रे भन्ने पनि सुनियो ।
२०४८ सालको चुनावमा मामपा... निकै सक्रिय थियो । क अर्थात् कम्युनिष्ट र का अर्थात् कांग्रेस दुवैसँग मामपा..को गहिरा सम्बन्ध देखिन थाल्यो । मामपा दुवैका गाडीमा चढेर हिँडेको दखिन थाल्यो । टोलका मान्छेलाई थोरै र बाहिरका मान्छेलाई बढी चिन्न थाल्यो । उसको परम्परागत नाङ्लो पसलको व्यापार बढेर सुपर मार्केट भयो । ठेक्का पनि लिन थाल्यो । होटेल पनि चलाउने भयो । अनेक हल्ला पनि सुनिन थाले । तिनैताका उसले मलाई तँ भन्न थाल्यो र “भाइ” भनेर बोलाउन थाल्यो । अब उ पूर्व पञ्चहरुलाई मात्र मामपा... भन्थ्यो । कम्युनिष्ट र कांग्रेसलाई र जन – आन्दोलनका प्रमुख शक्ति र अगुवाका रुपमा तारीफ गर्दथ्यो । उ अवसरवादी र चैते कांग्रेसको घोर विरोधी थियो । उ बात बातमा बी. पी. को त्यो वाक्य दोहो¥याउँथ्यो, जसको यस्तो आशय थियो– “पार्टी पावरमा हुँदा चिल्ला कार चढ्नेले पार्टी माथि आक्रमण गर्नेछन् । सक्कली कार्यकर्ताले त्यसको प्रतिकार गर्नुपर्छ ।”
उ आफूलाई सक्कली कार्यकर्ता भन्दथ्यो । अरुलाई चैते कांग्रेस ।
यिनै ताका टोलका साथीहरुले मामपा... को अर्को नामकरण गरे– “लिड” । मैले बुझिनँ । के भनेको भनेर सोधें । एक जनाले भन्यो– “आजकल कांग्रेसको सरकार बनेदेखि यो मामपा... फुलेर गुको लिंडजस्तो भएको छ । त्यसैले लिंड भनेको !”
‘ए’ मैले भनें– ‘गुको लिंड !’
कांग्रेस सत्तामा छउञ्जेल मामपा... लिंडजस्तै फुलेको थियो । अघि अघि जसलाई नमस्ते गथ्र्यो, तीसँग नमस्ते खोज्न थालेको थियो । जसलाई मान गथ्र्यो, तिनसँग मान खोज्न थाल्यो । जसलाई तपाई – हजूर भन्थ्यो, उनीहरुलाई तिमी र तँ भन्न थाल्यो । तैपनि मैले भनें– “अर्कालाई यस्तो नाम राख्नु ठीक होइन !”
“किन ?” तुयुचाले तातेर भन्यो ।
“कति नाम राख्नु ! बाहुनले राखे शरत्चन्द्र । हामीले सानैदेखि भन्यौँ हाकुचा । त्यसपछि मामपा..., त्यसपछि लिंड...हद भो यार... ।”
सुवर्णले भन्यो – “हाकुचाको नाउँ हो र त्यो ? लिंड त कांग्रेलाई पो भनेको । हेर त अचेल कांग्रेसहरुको कस्तो फुइँ छ... मान्छेलाई मान्छे गन्दैनन् । साले कांग्रेसहरु.... ।”
रत्नले भन्यो– “यो कांग्रेस पावरमा छँदाको कुरा थियो ।”
“कुनै कांग्रेसले फुइँ ग¥यो भन्दैमा सबै कांग्रेसलाई लिंड भन्न पाइन्छ त ?” शिवले भन्यो ।
मलाई यो विवादमा सहभागी हुन मन लागेको थिएन । मैले सोचें सत्तामा पुगेको बेला, शक्तिको मात लागेको बेला को फरक हुदैन ?
हेर्दाहेर्दै कांग्रेस भत्कियो । मध्यावधि आयो । मध्यावधिमा पनि लिंड नै सक्रिय थियो । मध्यावधिमा उसले पनि कांग्रेस पार्टीबाट टिकट पाउने निकै हल्ला थियो तर पाएन । नपाएपछि उ कुनै दहीच्यूरे पार्टीबाट उम्मेदवार हुने निकै हल्ला भयो तर त्यसो भएको पनि देखिएन ।
एमाले सरकार सत्तामा पुगेपछि लिंड अब एमाले– समर्थक–प्रशंसक भएको छ । अब उ एमालेलाई, एमालेको नितिलाई, एमालेका नेता कार्यकर्तालाई मामपा... भन्दैन । अब उ नेपाली कांग्रेसका सबैलाई मामपा... भन्छ । राप्रपाका नेताबारे टिप्पणी गर्दा पनि बडो होशियारीसाथ टिप्पणी गर्छ ।
अब उसको आवत– जावत बढी एमालेहरुसँग छ । आजकल उ अब सबलाई एक हात उठाएर लाल सलाम गर्छ र भन्छ –“अब चाँडै सर्वहाराको अधिनायकवाद आउँदैछ यो मुलुकमा । जनताको राज्य । हामीजस्ता जन्मजात कम्युनिष्टहरुको पालो आउँदैछ ।”
आजकल उ कम्युनिष्टबाहेक सबैलाई मामपा... भन्छ ।
(पुनः २०६५ सालको टिप्पणी)ः २०६४ सालको सम्बिधान सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादीले सबभन्दा बढी सीट जितेर सरकारको नेतृत्व गर्नेबेलासम्म मामपा....जण्ड माओवादी नेता भैसकेको छ । हामी साथीहरू गौरवान्वित छौँ । अब हामीहरू मामपालाई उसको पिठ्यूँ पछाडि समेत कामरेड शरतचन्द्र नेपालजी भन्न थालेको छौँ ।)