14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

साहित्यकार विन्द्या सुब्बा

व्यक्तित्व / कृतित्व लीला लुइटेल April 4, 2011, 3:06 am
लीला लुइटेल
लीला लुइटेल

१. विषयप्रवेश

विन्द्या सुब्बाको जन्म सन् १९५५ जुलाई १३ मा दार्जिलिङको तीनधारे भन्ने ठाउ“मा भएको हो । यिनले एम्.ए., बी.एड्. सम्मको शिक्षा हासिल गरेकी छन् भने नर्सिङमा बी.एस्सी. गरेकी छन् । रेणुका कन्या विद्यालय, दार्जिलिङमा केही समय शिक्षण गरेकी विन्द्या सुब्बा हाल नर्सिङ सेवामा आबद्ध छन् । यस क्रममा यिनले सदर अस्पताल दार्जिलिङमा सेवा गर्नुका साथै स्वmुल अफ नर्सिङ दार्जिलिङमा सिस्टर ट्युटरको रूपमा पनि यिनको संलग्नता रहेको पाइन्छ । यसका साथै यिनी भारतीय ट्रेन्ड नर्स एसोसिएसनको आजीवन सदस्य पनि रहेकी छन् ।

पेसागत संलग्नताका अतिरिक्त विन्द्या सुब्बा विभिन्न साहित्यिक सङ्घसंस्थास“ग पनि आबद्ध छन् । नेपाली साहित्य सम्मेलन दार्जिलिङ तथा शिववmुमार राई स्मृति एकेडेमीको आजीवन सदस्य रहेकी यिनी तीनधारे साहित्यिक मञ्च (दार्जिलिङ) को संरक्षक पनि हुन् । यसैगरी यिनी भारतीय नेपाली महिला साहित्यिक मञ्च वसुधाको संस्थापनमा यिनको विशेष योगदान रहेको पाइन्छ । यिनी यस संस्थाको संस्थापक सचिव हुनाका साथै हाल यस संस्थाको अध्यक्षका रूपमा सक्रिय रहेकी छन् । मन्दरा स्मृति प्रकाशनको संस्थापक तथा प्रमुख संरक्षक रहेकी विन्द्या सुब्बा साहित्य अकादमी नया“ दिल्लीको नेपाली परामर्श समितिको सदस्य पनि रहेकी छन् ।

सुब्बाका लेखन–प्रकाशनको थालनी विद्यालय जीवनदेखि नै भएको देखिन्छ । सातौ“ श्रेणीमा पढ्दा तीनधारे दार्जिलिङबाट प्रकाशित हुने सागर नामक पत्रिकामा सन् १९६८ मा प्रकाशित ‘जीवनपूmल’ शीर्षक कविताबाट यिनको साहित्यिक यात्रा सुरु भएको हो । यसैगरी काठमाडौंबाट प्रकाशित हुने दर्पण (वि.सं. २०२७) मासिकमा प्रकाशित ‘जलन’ शीर्षक कथाका माध्यमबाट यिनी नेपाली कथामा प्रवेश गरेकी हुन् । २०२४–२५ सालदेखि निरन्तर रूपमा सिर्जनरत सुब्बाले आफ्नो साहित्य यात्राको चार दशकभन्दा लामो अवधि बिताइसकेकी छन् । यस क्रममा यिनका निम्नलिखित पुस्तकाकार कृति प्रकाशित छन् :

कविता : अन्तर्निहित (सन् २००४) ।

कथा : कथाक्रम (सन् १९८४),

हस्पिस (सन् २००३) ।

उपन्यास : त्यागपत्र (सन् १९७८ अनु.),

पूmलहरू, पहाडहरू, धर्साहरू (सन् १९८६),

अथाह (सन् १९९९),

निर्गमन (सन् २००६) ।

निबन्ध : तिम्रा अक्षरहरूको आयाम (२००७) ।

अरब सागरको किनारामा (सन् २००८) ।

अन्य : हृदयम् (सन् २००९) ।

विन्द्या सुब्बा साहित्यिक योगदानका लागि विजयश्री पुरकार (सन् १९९७), दियालो पुरस्कार (सन् १९९८), सिक्किमबाट स्रष्टा पुरस्कार (सन् १९९८), काठमाडौंबाट रामराज पन्त स्मृति पुरस्कार (२०५७), दिल्लीबाट साहित्य अकादमी पुरस्कार (सन् २००३) तथा आन्ध्रप्रदेशबाट राधेय कविता पुरस्कार (२००५) जस्ता विभिन्न पुरस्कारद्वारा पुरस्कृत भएकी छन् । यसका साथै यिनी नेपाली साहित्य सम्मेलन, वसुधा, गोर्खा साहित्य संस्कृति संस्थान, नेपाली साहित्यिक मञ्च (दिल्ली), मङ्पु साहित्य परिषद्, निर्माण प्रकाशन (सिक्किम), प्रेस क्लब (सिक्किम), सङ्कल्प फुवागढी, साहित्य संस्कृति संस्थान (बागडोग्रा), स्पन्दन एवं कवि सङ्गठन (आन्ध्रप्रदेश), वाणी प्रकाशन (विराटनगर), अगमसिंह गिरी संस्थान आदि विभिन्न सङ्घसंस्थाबाट सम्मानित एवं अभिनन्दित पनि भएकी छन् ।

२. विषयविस्तार

विन्द्या सुब्बाले नेपाली साहित्यका कविता कथा, उपन्यास, निबन्धजस्ता विभिन्न क्षेत्रमा कलम चलाएकी छन् भने अनुवाद, सम्पादनमा पनि यिनको सक्रियता रहेको देखिन्छ । यिनै बहुमुखी प्रतिभाशाली साहित्यकार विन्द्या सुब्बाका साहित्यिक व्यक्तित्वका विविध पाटाहरूको संक्षिप्त चर्चा गर्दै यिनका साहित्यिक योगदानको निरूपण तल क्रमशः गरिन्छ ।

२.१ कवि

विन्द्या सुब्बालाई कविको रूपमा परिचित गराउन अन्तर्निहित नामक कविता सङ्ग्रह प्रकाशित भएको छ । वर्तमान जीवन र समाजको चित्रण पाइने यिनका कविता मानवीय संवेदनाले ओतप्रोत छन् । मानव जीवनका सुख–दुख सबै खाले अनुभूतिलाई समेटी कविता सिर्जना गर्ने यिनका कवितामा सामाजिक, सांस्कृतिक आदि क्षेत्रमा देखापरेका विकृति–विसङ्गतिहरूलाई पनि विषयको रूपमा समेटिएको छ । नारीका विविध रूपको चित्रण पाइने यिनका कवितामा नारी अस्मिताको खोजी पनि गरिएको छ । सार्वकालिक र सार्वस्थानिक विशेषता पाइने यिनका कवितामा प्रयुक्त भाषा सरल एवं सहज छ । प्रकृति, समाजबाट टिपिएका बिम्ब–प्रतीकको प्रयोगले यिनका कवितालाई आकर्षक बनाउन भूमिका खेलेका छन् । यिनका कवितामध्ये ‘आमा’, ‘समय’,‘ओ तसलिमा नसरिन’ विशेष उल्लेखनीय रहेका छन् ।

२.२ कथाकार

आख्यानकार विन्द्या सुब्बाका कथाक्रम र हस्पिस शीर्षक दुई कथा सङ्ग्रह प्रकाशित छन् । यसबाहेक विभिन्न पत्रपत्रिकामा यिनका थुप्रै कथा छरिएर रहेका छन् । यिनका सुरुसुरुका कथाहरूमा स्वच्छन्दतावादी प्रवृत्तिको प्रबलता रहेको छ भने पछिल्लो समयमा लेखिएका कथाहरूमा मनोविश्लेषणात्मकताको आधिक्य पाइन्छ । यिनका सुरुका कथामा वैयक्तिक भावावेग, मानवता, युवासुलभ प्रेम, प्रणयवेदना, आत्मिक प्रेमजस्ता स्वच्छन्दतावादी प्रवृत्तिहरू पाइन्छन् । उसको निर्णय, मेला, प्रतीक्षा, शहर र त्यो बेसूर मान्छे आदि यिनका स्वच्छन्दतावादी कथाहरू हुन् । जीवनका उज्यालाभन्दा अ“ध्यारा पक्ष र हा“सोभन्दा रुवाइको चित्रण बढी मात्रामा गर्ने कथाकार सुब्बाका प्रायः सबै कथाहरू अत्यन्त कारुणिक र संवेदनशील देखिन्छन् । आपूm नारी भएका कारणले यिनका प्रायः कथाहरू नारीका पीडा, विरह र छटपटीस“ग बढी सम्बन्धित छन् । छोरी, बुहारी, पत्नी, प्रेमिकाजस्ता नारीका विविध रूपमाथि पुरुषले गरेको शारीरिक एवं मानसिक यातना र पीडाहरूलाई विषयवस्तु बनाइएका अधिकांश यिनका कथामा पुरुषको कठोर, क्रूर, हिंस्रक, हैकमवादी, निर्दयी र स्वार्थी प्रवृत्तिलाई देखाइएको छ । शहर र त्यो बेसूर मान्छे, के म उसको मृत्युको खबर पर्खिरहेछु जस्ता केही कथामा चाहि“ पुरुषको विवेकी स्वरूपलाई पनि प्रस्तुत गरिएको छ । यस प्रकारका कथाहरूमा नारीका वmुवृmत्यबाट आहत पुरुष ह्दयलाई केलाउ“दै नारीको वmुवृmत्यको विरोध पनि गरिएको छ । करुणा र संवेदनाले भरिएका यिनका कथाहरूमा कतै पलायनवादी र कतै जीवनप्रति आशावादी दृष्टिकोण रहेको पाइन्छ ।

विन्द्याका कतिपय कथाहरूमा गरिबी, अभाव र बेरोजगारीबाट उत्पन्न पीडा, निराशा, युगीन जीवनका विवशता, विसङ्गति, जातीय प्रेम, भाषाप्रेम आदिलाई पनि प्रस्तुत गरिएको छ । एउटा बेरोजगार युवकको त्रासद स्थिति विवशित सा“झहरूमा अभिव्यञ्जित छ । यस्तै गरी भारतमा बस्ने नेपालीहरूले आफ्नो जातीय अस्तित्वका लागि गरेको सङ्घर्षलाई अस्तित्वको खोज कथामा तथा आमा कथामा नेपाली भाषालाई संवैधानिक मान्यता प्राप्त गराउन गरेको सङ्घर्षलाई प्रस्तुत गरिएको छ ।

विन्द्याका हस्पिस, क्याथर्सिस, अन्ना जस्ता कथाहरू मनोविश्लेषणप्रधान कथा हुन् । यिनका मनोवैज्ञानिक कथाहरूमा मानिसका मनमा रहेका निराशा, सन्त्रास, द्विविधाजस्ता सन्दर्भहरूको प्रस्तुति पाइन्छ । हस्पिसमा प्राणघातक रोग एड्सबाट पीडित व्यक्तिको मनोविश्लेषण गरिएको छ भने क्याथरसिस कथामा पत्नीविहीन विधुरको मानसिक पीडालाई देखाइएको छ । घोर निराशाका कारण जीवनबाट पलायन हुन पुगेकी युवतीको पीडालाई अन्ना कथामा अगि सारिएको छ । यी सबै कथामा पात्रका मनोदशाको विश्लेषण सुन्दर ढङ्गले गरिएको छ ।

मानवीय संवेदना र करुणाकी कथाकार विन्द्या सुब्बाका कथाका सहभागीहरूले प्रायः विभिन्न वर्गका दार्जिलिङे नेपालीहरूको प्रतिनिधित्व गरेका छन् । प्रतिवूmल र अनुवूmल दुवैखाले चरित्र समावेश गरिएका यिनका कथामा युवावर्गका पात्रको बाहुल्य रहेको छ । यिनका अधिकांश कथामा नारीलाई प्रमुख पात्र बनाइएको छ भने विवशित सा“झहरू, शहर र त्यो बेसूर मान्छेमा पुरुषलाई प्रमुख पात्र बनाइएको छ । शारीरिक प्रेमलाई बेवास्ता गर्दै आत्मिक प्रेमलाई महत्व दिने यिनका अधिकांश पात्रहरू सङ्घर्ष गर्न नसक्ने, रुग्ण, हुतीहारा र पलायनवादी छन् । दार्जिलिङको सेरोफेरोको चित्रित यिनका अधिकांश कथाहरूमा आञ्चलिकताको स्पष्ट छाप पाइन्छ । पात्रको मनस्थितिअनुसार प्रवृmतिचित्रण पाइने यिनका कथाहरूमा दार्जिलिङे जनजीवनको क्षतविक्षत स्थिति र आत्मालाई टड्कारो रूपमा प्रस्तुत गरिएको छ । भावुक प्रेम, मानवता, मानवीय संवेदना, कारुणिकता जस्ता पक्षलाई दार्जिलिङको पृष्ठभूमिमा प्रस्तुत गर्नु यिनका कथाहरूको अभीष्ट रहेको देखिन्छ ।

विन्द्या सुब्बाका कथामा छोटोछरितो र मिठो संवाद पाइन्छ । यिनको भाषा सरल, सहज र रोचक खालको छ । ठाउ“ठाउ“मा अङ्ग्रेजी शब्दको समेत प्रयोग पाइने यिनका कथामा स्थानीय नेपाली भाषिकाको छाप प्रशस्त मात्रामा पाइन्छ । वर्णनात्मक शैलीमा लेखिएका यिनका कथाहरूमा कतैकतै पूर्वदीप्तिको पनि प्रयोग गरिएको छ । स्वच्छन्दतावादी तथा मनोवैज्ञानिक कारुणिक कथासिर्जना गर्ने कथाकार विन्द्या सुब्बा दार्जिलिङका नेपाली कथाकारहरू मध्येकी विशिष्ट कथाकार हुन् ।

२.३ उपन्यासकार

दार्जिलिङकी सशक्त आख्यानकारका रूपमा परिचित विन्द्या सुब्बाका पूmलहरू, पहाडहरू, धर्साहरू (२०४३), अथाह (२०५५) र निर्गमन (सन् २००६) गरी तीनवटा उपन्यासहरू प्रकाशित छन् । यसबाहेक यिनले त्यागपत्र शीर्षकको हिन्दी उपन्यास नेपालीमा अनुवाद पनि गरेकी छन् । यिनको पहिलो उपन्यास पूmलहरू, पहाडहरू, धर्साहरूमा अरूका इच्छाहरू लादिएर अरूकै लागि बा“च्न विवश निराशा र पलायनजन्य जीवन भोगिरहेको व्यक्तिको मनोविश्लेषण गरिएको छ । आफ्ना इच्छा र रहरअनुसार चल्न नपाएपछि मान्छे जस्तोसुकै सम्पन्नता, सम्मान र हरियालीमा खुसी हुन नसक्ने तथ्यलाई प्रस्तुत गरिएको यस उपन्यासमा मानवीय इच्छाआकङ्क्षा र रहरहरूको स्वाभाविक र जीवन्त प्रस्तुति पाइन्छ । नारी सुलभ इष्र्या, लज्जा तथा अपेक्षा आदिको प्रस्तुति पाइने यस उपन्यासमा अस्तित्वचेत स्वाभिमानी मानसिकताको पनि अभिव्यक्ति भएको छ । जीवन भावुकतामा नभएर व्यावहारिकतामा सफल हुने धारणालाई यस उपन्यासमा अगि सारिएको छ ।

परिच्छेदको सुरु र अन्त्यमा खाली ठाउ“ छोडेर विभाजन सङ्केत गरिएको विन्द्या सुब्बाको दोस्रो उपन्यास अथाह १२ परिच्छेदको बाहृय संरचनामा आबद्ध छ । स्वतन्त्र अस्तित्व राख्ने विभिन्न घटना, सन्दर्भ तथा व्यक्तिलाई समेटेर औपन्यासिक संरचना प्रदान गरिएको यस कृतिमा उल्लिखित विविध पक्षलाई एकै सूत्रमा समेट्ने काम नर्स अर्थात् म पात्रका माध्यमबाट भएको छ । यस उपन्यासमा अनेक प्रकारका बाहृय विसङ्गति, चरम निराशा, हीनताबोधजस्ता विभिन्न कारणबाट मानसिक सन्तुलन गुमाउन पुगेका व्यक्तिहरूको मनोविश्लेषण गर्ने प्रयास गरिएको छ । यसै क्रममा पितृरति ग्रन्थि, उच्चताभासजस्ता मनोविश्लेषणका क्षेत्रस“ग सम्बन्धित सन्दर्भलाई पनि केलाउने प्रयास प्रस्तुत उपन्यासमा गरिएको छ । यसरी विभिन्न कारणले मानसिक सन्तुलन गुमाएकाहरूलाई छुट्टै सुधार गृहमा राखी औषधी तथा मानसिक उपचारका माध्यमबाट सामान्य नागरिकसरह जीवनयापन गर्न सक्ने बनाउन सरकारी तथा गैरसरकारी निकायको ध्यान जानुपर्ने धारणा पनि यस उपन्यासमा मुखरित भएको छ । यसका अतिरिक्त यस उपन्यासमा शारीरिक तथा मानसिक रूपले शोषित पीडित नारीको निरीह अवस्थालाई पनि प्रस्तुत गरिएको छ । समय एक्काईसौं शताब्दीमा पुगिसक्दा पनि नारीलाई भोगको साधन ठान्ने, वस्तुसरह व्यवहार गर्नेजस्ता सङ्कीर्ण सोचाइले ग्रस्त पुरुष मानसिकताको प्रस्तुति पाइने यस उपन्यासमा तिनको विरोध सङ्केतात्मक पाराले गरिएको छ ।

यसैगरी अस्तित्वचेतका कारण परिवार नै त्याग्न पुगेकी नारीको रहस्यमयी अवस्थालाई प्रस्तुत गरिएको यिनको निर्गमन १५ भागमा विभक्त रहेको छ । नारीका विविध रूपको प्रस्तुति भएको यस उपन्यासमा अस्तित्व सचेत महिला लेखकका आन्तरिक एवं बा≈य विभिन्न क्रियाकलापलाई प्रस्तुत गरिएको छ । सूक्ष्म कथानक एवं घटनाको न्यूनता रहेको यस उपन्यासमा चरित्रलाई महत्व दि“दै विचारहरूलाई प्रस्तुत गरिएको छ । पौराणिक कालदेखि नै नारीहरू अपमानित एवं अपहेलित हु“दै आएको तथ्यलाई प्रस्तुत गरिएको यस उपन्यासमा नारीप्रतिको पारिवारिक एवं सामाजिक दृष्टिकोण उदार हुनुपर्ने भाव अभिव्यञ्जित छ ।

स्थान र समयलाई त्यति महत्व नदिइएका यिनका उपन्यासमा वातावरणको प्रस्तुति अत्यन्त सघन रूपमा भएको छ । असामान्य सहभागीका क्रियाकलाप एवं मनोविज्ञानको प्रस्तुति पाइने यिनका उपन्यासको वातावरण दुखद एवं त्रासद रहेको छ । मानिस स्वस्थ र सुखी रहन बाहृय एवं आन्तरिक परिस्थिति अनुकूल हुनुपर्ने धारणाको प्रस्तुति यिनको औपन्यासिक अभीष्ट रहेको देखिन्छ । यसका साथै महिला लेखकको आन्तरिक र बाह्य क्रियाकलापलाई प्रस्तुत गर्दै ऊभित्रको अस्तित्वचेतलाई देखाउनु यिनको निर्गमन उपन्यासको उद्देश्य रहेको छ । यिनको निर्गमन तृतीयपुरुष र अन्य उपन्यास प्रथमपुरुष दृष्टिबिन्दुमा संरचित छन् भने यिनका उपन्यासमा प्रयुक्त भाषा निकै परिमार्जित र परिष्कृत देखिन्छ । मनोविज्ञान, दर्शन एवं चिकित्सा क्षेत्रका पारिभाषिक शब्दको प्रयोगले यिनको अभिव्यक्ति कौशललाई विशिष्ट एवं बौद्धिक बनाएको छ । व्याकरणिक दृष्टिले त्रुटिपूर्ण भाषाको प्रयोग पाइए पनि त्यसले उपन्यासलाई खज्मज्याएको नभई अभिव्यक्तिमा नौल्याइ“ प्रदान गरेको छ ।

विन्द्या सुब्बाका उपन्यासमा प्रयुक्त शीर्षकहरू प्रतीकात्मक रहेका छन् । प्रतीकात्मक एवं कवितात्मक खालका शीर्षक भए पनि यिनका उपन्यासमा प्रयुक्त शीर्षकहरू उपन्यासको भाव, कथ्य तथा उद्देश्यका दृष्टिले सङ्तिमूलक देखिन्छन् ।

आदर्शाेन्मुख यथार्थवादी, यथार्थवादी, आलोचनात्मक यथार्थवादी, मनोविश्लेषणवादी, प्रतीकवादी तथा उच्चबौद्धिक उपन्यासकारका रूपमा देखापरेकी विन्द्या सुब्बाको योगदान भारतीय नेपाली उपन्यासको इतिहासमा नवीन शिल्प र प्रयोग दुवै दृष्टिले उल्लेखनीय, विशिष्ट र उपलब्धिमूलक रहेको छ ।

२.४ निबन्धकार

विन्द्या सुब्बालाई निबन्धकारको रूपमा परिचित गराउने तिम्रा अक्षरहरूको आयाम र अरब सागरको किनारामा दुई कृतिहरू प्रकाशित छन् । यिनको तिम्रा अक्षरहरूको आयाम शीर्षक कृतिमा अठारवटा संस्मरणात्मक निबन्ध समाविष्ट छन् । यीमध्ये अधिकांश निबन्धहरू पारिजात, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, कृष्णसिंह मोक्तान, जगत छेत्री, सानुमती राईजस्ता नेपाली साहित्यका साधकको संस्मरणमा लेखिएका छन् भने केही निबन्धहरू इन्दिरा गोस्वामी, अमृता प्रितम, तसलिमा नसरिनजस्ता हिन्दी एवं बङ्गाली साहित्यका साधकको संस्मरणमा लेखिएका छन् । यिनका निबन्धमा उल्लिखित साहित्यकारप्रति अगाध आस्था प्रकट गर्दै कसैकसैका लेखनप्रवृत्तिको विश्लेषण गर्ने प्रयास पनि गरिएको छ । यसरी हेर्दा यिनका निबन्धात्मक रचनाहरूमा समालोचनाको स्पर्श पनि भेटिन्छ ।

विन्द्या सुब्बाको अरब सागरको किनारमा शीर्षक यात्रानिबन्ध प्रकाशित छ । आयामका दृष्टिले यस नियात्रा सङ्ग्रहमा समाविष्ट रचनाहरू छोटाछरिता खालका छन् । भारतीय नारीवादी संस्था ‘स्प्यारो’ ले आयोजना गरेको छ दिने महिला लेखक शिविरमा नेपाली साहित्यको प्रतिनिधित्व गर्दै भाग लिन गएको बेलाको गतिविधिलाई प्रस्तुत गरिएको यस पुस्तकमा समाविष्ट विभिन्न रचनालाई नौवटा विभिन्न शीर्षकमा समायोजन गरी व्यवस्थित तुल्याइएको छ । महिला लेखक शिविरमा भाग लिन प्रस्थान गरेदेखि त्यहा“बाट फर्किएर घर आइपुग्दा सम्मको विवरणलाई प्रस्तुत गरिएको यस कृतिमा ती दिनहरूको मिति उल्लेख गरिएकाले र तिनै मितिअनुरूपका घटना विवरण समावेश गरिएकाले यसलाई दैनिकी साहित्य पनि भन्न सकिन्छ । यसरी दैनिकी र यात्रासंस्मरणलाई एकाकार गराई प्रस्तुत गर्नसक्नु विन्द्या सुब्बाको वैशिष्ट्य रहेको छ ।

नियात्राकारमा आपूmले घुमेका विभिन्न ठाउ“बारे अत्यन्त भावुक, कलात्मक र आकर्षक एवं कवितात्मक भाषाशैलीमा प्रस्तुत गर्नसक्ने सामथ्र्य रहेको छ । चोखो, मीठो, सरल, सहज र प्रवाहपूर्ण भाषिकविन्यासले यस कृतिलाई ओजपूर्ण बनाएको छ । नियात्रा पढ्दै जा“दा पाठक स्वयंले झलझली देखिरहेजस्तो लाग्ने गरी वर्णन गर्न लेखक सक्षम छन् । नेपाली नियात्रा लेखनको क्षेत्रमा महिलाहरूको सक्रियता अत्यन्त न्यून रहेको सन्दर्भमा यिनको कलम निकै आशालाग्दो देखिएको छ ।

२.५ अनुवादक

नेपाली, अङ्गे्रजी, हिन्दी, बङ्गाली आदि विभिन्न भाषाका ज्ञाता विन्द्या सुब्बाले मौलिक लेखनका अतिरिक्त अनुवादका क्षेत्रमा पनि कलम चलाएकी छन् । यिनले हिन्दी उपन्यास त्यागपत्रको अनुवाद–रूपान्तरण पनि गरेकी छन् । यिनले नेपालीइतर लेखकका रचनामा पनि मौलिकताको छनक र नेपालीपनको गन्ध आउने गरी अनुवाद गरेर आपूmलाई वmुशल अनुवादक र बहुभाषी व्यक्तित्वका रूपमा चिनाएकी छन् ।

३. विषयान्त

नेपाली साहित्यका विभिन्न क्षेत्रमा कलम चलाई परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले स˚लता प्राप्त गर्न सफल विन्द्या सुब्बा मूल रूपमा कथाकार र उपन्यासकार हुन् । आफूले कलम चलाएजति सबै विधा र क्षेत्रमा स˚लतापूर्वक आधुनिकता र नवीनता प्रदान गरी प्रसिद्धि कमाएकी साहित्यकार विन्द्या सुब्बा नेपाली साहित्यका बहुमुखी प्रतिभाशाली व्यक्तित्व हुन् । नेपाली आख्यानका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सुब्बा नेपाली साहित्यका अथक् साधक हुन् र यिनको साधना निरन्तर रूपमा अगि बढिरहेको छ ।

कीर्तिपुर, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।