जिन्दगीमा घाम-पानी हरेकसँग हुन्छ साथी ।
तिम्रो मात्र हैन मेरो पनि मन रुन्छ साथी ।
थाहा छ मलाई तीतो हुन्छ, कठोर हुन्छ, समन गर्न,
फूले पछि नवैलिने दुनियाँमा फूल कुनछ साथी?
खोल्सा खोल्सी तर्नु पर्छ, लड्नु पर्छ, हिलो लाग्छ,
दाग बोकी हाँसिरहने हाम्रै माथि जून छ साथी ।
कहिले काँही नखाएको बिस लाग्छ यस्तै रै'छ,
बेकसुर मकै सँगै पीसीई जाने घून छ साथी ।
आफ्नै आमा मारी खाने माकुरोको कथा कस्तो,
जानी-जानी सन्तानलाई फेरी जालो बुन्छ साथी ।
एक एक जोडी दुई हुन्न रै'छ जिन्दगीमा
एउटै जीबन सुत्र सही,फेरी गलत हुन्छ साथी ।
नबस भो कालो कालो बादल बोकी मनभरी,
रोउ बरु मेरै काँधमा आँसुले मन धुन्छ साथी ।