19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लिबर्टी स्ट्याचू

कविता विजय देवकोटा April 8, 2011, 7:28 am
विजय देवकोटा
विजय देवकोटा

लिबर्टी स्ट्याचू !

तिमी त मूर्ति न प¥यौ,

मौनप्राय: छ्यौ,

आलंकारिक छ्यौ,

र;

लादेनको विमानले नष्ट गरेको ट्विनटावर नजिकै

फलामका डन्डीहरु र सुख्खा कंक्रिकटको सहारामा

‘स्वतन्त्रताकी प्रतिमुर्ति’ भएकी छ्यौ,

‘लिबर्टी स्ट्याचू' भएकी छ्यौ,

जसरी तिम्रा गोलभुगोलका स्वेतहरु

अफ्रिकी निग्रोका रगत पसिना चुसेर

सोझा गाई सताउने किर्नोजस्तै मोटाएर

आफुलाइ स्वनिर्भर घोषणा गरिरहेछन्,

तिमी पनि आफुलाई स्वनिर्भर ठान्छ्यौ ।

लिबर्टी स्ट्याचू !

सिमेन्ट जमाएर बनाईएका तिम्रा

पट्टी बाँधिएका दुवै आँखा छन्,

त्यसैले तिमी देख्दिनौ –

आफ्नै आँगनमा बनाइँदै गरेका

स्वतन्त्रता विरोधी युद्धयोजनाहरु,

तिम्रा सिमेन्टका उस्तै निर्जिव कान छन्

त्यसैले तिमी ती विस्फोटहरु सुन्दैनौ–

जो भोकानाङ्गा ईराकी अफगानीहरुको धुरीमा पड्किँदैछन् ।

लिबर्टी स्ट्याचू !

स्वतन्त्रता कुल्चनेहरुको राष्ट्रमा

यूगका फासिष्टहरुको साम्राज्यमा

तिमी स्वयं कैद छौ,

तिम्रा लाक्षणिक स्वत्वहरु कैद छन्,

त्यसैले;

तिम्रा भूगोलका अस्वेतहरुको आँखामा,

तिम्रै स्वतन्त्र नागरिकहरुको क्षेप्यास्त्र लागेर

अपाङ बनेका ईराकी नानीहरुको आँखामा

तिमी स्वतन्त्रताकी प्रतिमूर्ति हुन सकिनौ,

बरु;

मयूरको प्वाँख सिउरिएको कौवाजस्तो,

कूनै धर्मग्रन्थको छद्मभेषी दानवजस्तो,

मानौं, ऐरेलीहरुले देखेको डब्लिनको राक्षसजस्तै,

तिमी स्वतन्त्रताकी नामधारी कलंक बनेकी छ्यौ

बेइमानहरुको वहानावाजीमा

कुनै खेलौनाजस्तै बनेकी छ्यौ ।

पन्द्रूङ–३, जराङटारी, गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।