16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायास्पोरिक चेतनाका कथासङ्ग्रह :‘समुद्र र सपना’

कृति/समीक्षा छविरमण सिलवाल April 11, 2011, 3:13 pm
छविरमण सिलवाल
छविरमण सिलवाल

जन्मभूमि नेपाल भएपनि विदेशलाई कर्मभूमि बनाएर बसेका थुप्रै नेपालीहरू मध्ये सञ्जु बजगाईँ पनि एक हुन । विदेशमा रहेपनि नेपाली भाषा साहित्यप्रति अगाध स्नेह राख्ने, आफ्नो जन्मभूमि प्रति केही गरौं भन्ने भावना बोक्ने एउटी सर्जक हुन सञ्जु । साहित्यका विविध विधाहरू मध्ये कथा र कवितामा उनका कलम चलेका छन् । आफ्ना भावनासंगै स्वदेश तथा विदेशका भोगाईहरूलाई सञ्जुले कथा मार्फत व्यक्त गरेकी छिन । डायस्पोरिक भावनाले ओतप्रोत भएका उनका रचनाहरु निकै स्तरिय र उच्च कोटीमा पर्दछन् । सिर्जना क्षेत्रमा प्रवेश गरेको धेरै समय नभएपनि उनका सिर्जनाहरु स्थापित स्रष्टाका भन्दा कम छैनन् । राष्ट्रिय स्तरका विभिन्न पत्र–पत्रिकाहरूमा छरिएर रहेका उनका कथाहलाई सिङ्गो पुस्तकका रूपमा अहिले पढ्न सकिन्छ । ‘समुद्र र सपना’ शिर्षकको सञ्जुका प्रस्तुत कथासङ्ग्रहलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको छ । ‘समुद्र र सपना’मा पन्ध्रवटा चोटिला कथाहरू रहेका छन् । यस सङ्ग्रहमा सञ्जु डायस्पोरिक चेतना सहित नविन वान्कीका जीवन्त कथाहरू लिएर पाठक समक्ष देखा परेकी छिन् । समाकालीन नेपाली नारी कथाका क्षेत्रमा उनका कथाहरू पृथक रूपमा रहेका छन् । नेपाली र विदेशी परिवेशमा केन्द्रित भएका उनका कथाहरूले समग्रमा नारी भोगाईहरूका जीवन चेतनाहरूलाई समेटेकी छिन् । नविन प्रस्तुति, नयाँ परिवेश र पृथक विषयवस्तु सहित देखापरेको उनको कथासङ्ग्रह ‘समुद्र र सपना’ले सञ्जुलाई एउटा स्थापित नारी कथाकारको रूपमा दर्ज गराएको छ ।

वरिष्ठ साहित्यकार तथा समालोचक डा.लक्ष्मणप्रसाद गौतमा ‘समुद्र र सपना’ सङ्ग्रहभित्र लेख्नुहुन्छ:–‘समकालीन नेपाली डायास्पोरिक नारी कथा लेखनका क्षेत्रमा सञ्जु बजगाईँको उपस्थिति केही पृथक्ताका साथ देखापरेको छ । यस सङ्ग्रहका धेरै कथाहरू अन्तर्वस्तु, कथ्य, शैली आदि सबै दृष्टिले निकै सशक्त र प्रभावपूर्ण छन् । ‘समुद्र र सपना’ शीर्षकको यस सङ्ग्रहमा सङ्गृहीत कथाले आजको उत्तरआधुनिक जीवनशैली बाँचेका नेपाली नारीहरूका विविध पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको देखिन्छ । उनका कथा डायस्पोरिक छन् । नारी भोगाइका विविध आयामतिर अभिमुख छन् र स्वदेशका स्वजनका पीडा र नोस्टाल्जिक बिम्ब पालेर बस्न विवश धेरै नारीहरूका आफ्नै कथा जस्ता पनि लाग्न सक्छन् यी कथाहरू । सञ्जुका यी कथाहरूले नेपाली कथा साहित्यमा, डायस्पोरिक नेपाली कथा साहित्यमा र अझ डायस्पोरिक नेपाली नारीकथा साहित्यमा पृथक् पहिचान राख्न सक्छन् भन्ने आधारहरू स्वयम् तिनका कथा छन् । ‘समुद्र र सपना’ भित्रका कथाहरू यिनै प्रवृतिका परिचायक हुन् ।’

आफ्नो जन्मभूमिलाई छोडेर परायामुलुकमा पाइला टेक्दा सञ्जुलाई आफ्नो भाषा, साहित्य तथा संस्कृति नै विर्सने हो कि भन्ने चिन्ताले सताएको थियो । तर नेपाली डायास्पोराको विश्वव्यापी विस्तारसँगसँगै भाषा साहित्यमा केही कार्य भै रहेको देखेर आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहिन । त्यसैको परिणाम हो ‘समुद्र र सपना’ कथासङ्ग्रह । डिजिटल साहित्य मार्फत विश्वभरका नेपाली लेखक साहित्यकारहरुलाई सिर्जना मञ्च प्रदान गर्दै आउनु भएका साहित्यकार कृष्ण बजगाईँको प्रेरणा र लगनशिलताले पनि सञ्जुको साहित्य यात्रा फस्टाएको देखिन्छ । ‘समुद्र र सपना’ कथासङ्ग्रह मार्फत डायस्पोराका कुरासंगै नारी पात्रहरूलाई महत्वका साथ उभ्याउनु उनको कथाको महत्वपूर्ण पक्ष हो । नेपालकै नारी जीवनका भोगाईसंगै डायस्पोरिक नेपाली नारी जीवनका भोगाइहरु कथाका विषयवस्तुका रूपमा रहेका छन् । उनका कथाहरुमा परिवारबाट तिरष्कृत वृद्धवृद्धाहरूका माध्यमबाट तिनका दमित कुण्ठा र चाहनाको प्रकटिकरण भएका छन् । मानवयन्त्रको संसार, यन्त्रको सामाजीकरण र संवेदनाको यथार्थ चित्रणहरू भेटिन्छन् । धनि परिवार भित्रका पारम्परित सोचप्रति नारी विद्रोहका आवाजहरू प्रकट भएका छन्, पश्चिमी सभ्यता र संस्कारमा भिजेको नेपाली नारीको जीवनशैलीहरु पनि ‘समुद्र र सपना’भित्र अटाएका छन् । समग्र रूपमा हेर्दा उनको कथासङ्ग्रह ‘समुद्र र सपना’ले डायास्पोरिक सिर्जनाको प्रतिनिधित्व गरिरहेका छन् । र समकालीन नेपाली डायास्पोरिक महिला कथाकारको रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल देखिन्छिन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।