19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बन्द मुठी, अक्षर र शब्दहरू

कविता सुधीर छेत्री April 14, 2011, 7:19 am

अलि अलि हावाले हल्लाइरहने गुरॉंसका पातहरू

एक -एक झरेर जानलागेपछि

नबुझिने कविताका शल्यपरीक्षामा भेटिएका

सम्वेदनाका टुक्राटाक्री छेस्का बटुली आफैलाई खोज हिँडें म।

माइलौं कागजको यात्रा गरिसक्दा शरीरका व्यञ्जनाहरू

स्वरसितका सम्भोगमा स्खलित भइसके।

नाद सुक्ने भइसक्यो। गति, यति बरालिए।

म हिँडें, अनि धेरै टाढा आइपुगेछु

यो सुरुङभित्र,

शब्दका लुगाहरू च्यातिएछन् अनि अघिपट्टि द्रौपदीझैं अर्धनग्न

मेरा स्वरहरू, व्यञ्जनाहरू।

फेरि भोलिपल्ट

लय छालहरू घोडा चढी आए

अनेकौं भँगेराहरूमा वसन्तको पराग गनायो,

सुवासका ठिटीहरू सपनाको बर्को ओढी आए,

आए विद्रुपताको मेघ छोा कमलको पात लिई।

प्रकृतिको सरोवरमा

जति कमुला माछाहरू छन् आनन्दका

त्यति नै अमृत बोकेर आई

विष्णु सृष्टिको अमृतमन्थनबाट।

अब जान्नँ म अघि।

मेरा ढुकढुकीहरू मेरा छैनन्।

भाषाका ब्रेल हत्केलाले टाउको सुम्सुम्याउन

चेतनाका विरूवाहरू

अलि टुसाउन लागेपछि फर्कन्छु।

म फर्कन्छु,

घुंघुरूहरू छरिएका अल्फाबेटहरू बोकेर

कॉंधमा अक्षर र

अँगालोमा भदौका खस्रा भ्यागुताजस्ता शब्दहरू बोकेर

उकालै उकालो, अभिव्यक्तिको भीरैभीर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।