14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कीराहरू र दैलो

कविता मनोज बोगटी April 16, 2011, 3:08 am

विचारको रुख ठाड़ो हुनै दिँदैनन्‌

कीराहरू

जरैबाट चड्छन्‌।पात खान्छन्‌। कोपिला खान्छन्‌।

बोक्रा खान्छन्‌

तलबाट जरा टोक्नेहरूले त्यहीँ सन्तान काड्छन्‌

अनि सन्तानैले टोक्छन्‌।

विचार लिङ्‌ठिङ्ग उभिन्छ

चेतनाको ढुङ्गाघारीमा।

किन ढलिहाल्दैन हँ त्यो अझ्झ?

कीराहरू स्याउँस्याउँती छन्‌

क्यानिबल शहरमा।

आफ्नै छाला दाह्रेर

अनुहारमा टॉंस्छन्‌ अनि बोलाउँछन्‌ मिडियालाई।

मिडिया पुच्छर हल्लाउँदै फर्किन्छन्‌

रगतले एक्सक्लुसिब लेख्न

आफ्नै जीनको लाशमाथि।

भर्खर एउटा विचारको दुर्घटना भयो

घॉंटी रेटिएको दुर्लभ संसाधनलाई कसैले उठाएन।

त्यहीँ आए कीराहरू र खाए

आफ्ना दुर्भाग्य।

चपाए

आफ्नै दॉंत।

विचारहरू एकठाउँ भेला भयो कि

कर्फ्यू लाग्छ

इन्काउण्टर हुन्छ।

एकाएक हराएका विचारहरू

भूमिगत भएको कुरा

पुत्लाहरूले उभिएरै सुनाउँछ।

हल्ला छ

कीराहरूबाट लुकाएर राखिएको छ

एउटा सम्भावनालाई

जो अण्डाजस्तो जोखिमपूर्ण छ।

त्यो जोखिम फुटाउन

कुनै विचारले हिम्मत गरेको छैन।

कीराहरू भोकले व्याकूल छन्‌।

के संकेत पाएका छन्‌ कुन्नी उनीहरूले।

कीराहरू

सम्भवनाको दैलो रुङेर बसेको

निक्कै भयो।

हेर्नु नी

क्यामेरा र कलम बोकेर सम्भावनाको दैलोमा नै छन्‌

मिडिया नामका नोकरशाहहरू पनि।

यतिबेलै मर्नुपरेको यो

अक्टोपस बाबा पनि

थुक्क।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।