पूर्व फाटेर उक्लँदै गरेको रवि
प्रकृतिको बैँसलाई स्पर्श गर्दैगरेको अनिल
साँच्चै त्यो बिहान सर्वाङ्ग देखेँ
गोकुलमको छतबाट प्रकृतिको मैले।
प्रकृतिको तृष्णा मैले बुझ्न सकिनँ, प्रातकालमा
व्यस्त सहरसँगै उठेको बिहान, रोमाञ्चित हुनेहरू पनि देखिनँ
सर्वाङ्ग च्यातिएको क्षितिजमा रविको उल्लाससँग।
उल्लास अनिलको विस्तृत फैलावटमा, केही
रोमाञ्चित म हुँदै थिएँ, केही हद उत्साह र विह्वल ती घरहरू
मस्त सुतेको सपनामा तर पराकाष्ठा नाघिसकेको त्यो दृष्य
विस्तारै टटाउँदै थियो ललाटमा निस्केको पसिनाले। सुत्त
छोड़ेका अमिलो, पीरो, मीठो अनि नुनिलो बास्नाहरू।
बास्नाहरू परिभाषित छन् तर अपरिभाषित छन् पसिनाहरू!!
पसिनाहरू सर्वाङ्ग च्यातिएको राष्ट्रबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको संविधानबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको सदनबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको राज्यबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको जिल्लाबाट
पसिनाहरू सर्वाङ्ग च्यातिएको मौजाबाट
पसिनाहरू सर्वाङ्ग फाटेका गरिबीबाट अपरिभाषित छन् परिभाषाहरू।
सहरको गल्लीहरूमा
‘राजधानी’को नयाँ मार्केटहरूमा
‘बगैचा नगर’को डम्पिङग ग्राउण्डहरूमा।