जब निभिसक्छ घाम
हृदयको सन्दुकमा
साँझले बोकी ल्याएका पंक्षीहरु
अलाप्न थाल्छन्
भुलिसकेका भाकाहरु
मनको सङ्घार उक्लेर
सुसेल्न थाल्छन्
रातभरिको कहर
र सुसेल्छन्–
क्रमशः निद र सपनाहरु
सबेरै अँध्याराले ढाकिसक्छ
मेरो प्रिय आकाश
छुटेर जान्छ निमेषभरमै
आपूmसंगै रहेको
यौटा छाँया पनि
जसरी–
किनारालाई हिर्काएर
पहाडका असंख्य दुःख बोकी
बगिरहन्छ नदी
जसरी
विप्लव उफारेर वृक्षहरुमा
अगि नै भागिसक्छ बतास
जसरी–
यात्रामा अल्झेको मुस्कान सम्झेर
ओर्लिसक्छ अक्षरहरुमा
आँसुका दुईचार हरफ ।
निस्सन्देह ! यतिबेला
बसाई हिंडेर छाडिएको
सन्तानबिनाको बाबुआमा
टुहुरा नानीहरुको आँसु
र
प्रेमिकाको मृत्यु सहने मुटु पनि छुटेछ ।
सोध्नु–
जून अस्ताएको अँधेरीलाई
दिनभर आँखाबाट दौडिहिंड्ने निंदलाई सोध्नु
बरु ! रातभर घुमन्ते सपनाहरुलाई सोध्नु ।