मैले भने—
मेरो हृदयको आँगनमा
हृदयकै तरबारले काटिएका
सौन्दर्यहरुलाई
तिम्रो प्लान्चेटको टेबलमा सजाइएका
पिचर प्लान्टको आहारा बनाइदिने हो भने
तिमीले थाहा पाउनेछौँ–
कस्ता हुन्छन् सौन्दर्यका अस्थिपञ्जरहरु ?
फेरि भनें–
ब्रम्हाण्डको चौतारीमा सुस्ताएका
ताराका रंगहरुलाई
सभ्यताको पुलमुनि फ्याँकिदिने हो भने
तिमीले देख्न पाउनेछौँ–
कस्ता हुन्छन् ताराका मिराकलहरु ?
अनि, भनें–
जीवनको प्रतिच्छाँयामा फक्रेका
डेलियाका थुंगाहरुलाई
सन्त्रासका बीउहरुले ढाकिदिने हो भने
तिमीले सुन्न पाउनेछौँ–
कस्ता हुन्छन् डेलियाका सिम्फोनी धूनहरु ?
यति भनिसकेपछि पनि
चुपचाप तिमी देखेर भनें–
ओ श्रृष्टि !
के तिमी
हेर्न चाहँदैनौँ सौन्दर्यका अस्थिपञ्जरहरु ?
देख्न चाहँदैनौँ ताराका मिराकलहरु ?
सुन्न चाहँदैनौँ डेलियाका सिम्फोनी धूनहरु ?
प्रश्नको प्रहारले–
तिमी त मबाट अझ टाढा पो गयौ र भन्यौ–
अहँ,
किनकी श्रृष्टिहरु मृत्यु माँग्दैनन् ।