अस्ताएछ नउदाउदै मेरो झुल्के घाम हजुर
च्यतिएछ रित्तै भै प्रीति बोक्ने खाम हजुर
तगारा छन् बाटै भरि अलमल्ल परें म त
खै कसरी बन्द भएछ मेरो जाने ठाम हजुर
परिश्रम र कर्तब्येको सागर खन्याँउदा पनि
कवाडीमा गनिएछ आज मेरो काम हजुर
आफ्नो भन्ने कोही छैनन् कुन रह्यो र नाता बाँकी
जताततै देख्छु म त बिरोधी कै मात्र लाम हजुर
फुल्दैनन क्यारे अब जीवनमा हर्षका मखमलीहरु
सधै भरि रहने भयो मेरो शिशिर याम हजुर
नबिकेको वस्तुसरि बजारभरि छरिएकी छु
कस्तो सस्तो भएछ यो 'सुदिनाको' नाम हजुर