19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हरिप्रसाद भण्डारीका कथाहरूको वैचारिक विवेचना

व्यक्तित्व / कृतित्व मोहनविक्रम सिंह April 28, 2011, 10:16 am

श्री हरिप्रसाद भण्डारीका दुई वटा कथा सङ्ग्रहहरू प्रकाशित भएका छन्— चिराग (२०४७, दोश्रो प्रकाशन २०६१) र अस्वीकृत कथाहरू (२०५८) । ती दुवै कथा सङ्ग्रहहरू मैले पहिले पनि पढेको थिएँ । तर अहिले पुनः ती कथा सङ्ग्रहहरू पढ्दा तिनीहरूभित्र समाहित भएका विचारहरूले मलाई निकै प्रभाव पारेका छन् ।

अहिलेसम्म मैले पढेका विभिन्न साहित्यिक कृतिहरू उपन्यास, महाकाव्य वा कथाहरूमा मेरो सबैभन्दा बढी ध्यान तिनीहरूको भावनात्मक वा विचार पक्षमा नै जाने गरेको छ । कुनै साहित्यिक कृतिको कलात्मक पक्ष पनि महत्वपूर्ण हुन्छ । त्यसको अभावमा कुनै साहित्यिक कृति सामान्य रिपोर्ट वा समाचार बन्न जान्छ । त्यसकारण कुनै पनि साहित्यिक कृतिमा भावनात्मक वा विचार पक्षले जुन महत्व राख्दछ, त्यो कलात्मक पक्षको विरोध गर्दिन । कुनै साहित्यिक कृतिको कलात्मक पक्षको मूल्याङ्कन पनि महत्वपूर्ण पक्ष हो । त्यसकारण कुनै कथाको मूल्याङ्कन गर्दा कथावस्तु, ल्पट, चरित्र चित्रण, संवाद, भाषा, सौन्दर्य पक्ष आदि बेग्ला बेग्लै दृष्टिकोणले कृति कति सफल छ ? त्यस बारे पनि विचार गर्नु पर्दछ । तर त्यो पक्षमाथि त्यस बारे राम्रो ज्ञान भएको व्यक्तिले नै गर्न सक्ने कुरा हो । त्यस कारण मैले त्यो पक्षमाथि होइन, मुख्यतः कथाका भावनात्मक र वैचारिक पक्षहरूमाथि नै ध्यान दिने छु । कुनै साहित्यिक रचनाको वैचारिक र कलात्मक पक्ष मध्ये कुन प्रधान हो ? त्यस बारे साहित्यिक क्षेत्रमा मतभिन्नता पाइन्छ । त्यो विषयको खण्डन–मण्डनतिर नलागेर मैले खाली आफ्नो दृष्टिकोण मात्र प्रस्तुत गर्न गइरहेको छु ।

कुनै साहित्यिक रचनाको कलात्मक वा सौन्दर्यात्मक पक्षको महत्वलाई अलिकति कम न गरिकन मैले यो कुरामा जोड दिन चाहन्छु कि कुनै रचनाका ती दुबै पक्षहरूमध्ये वैचारिक पक्षले नै प्रधान वा निर्णायक महत्व राख्दछ । वास्तवमा कुनै रचना तयार गर्ने बेलामा कुनै साहित्यकारको दृष्टिकोणले नै निर्माणमा महत्व राख्दछ । हिन्दूहरूका महान महाकाव्यहरू रामायण वा महाभारतको नै कुरा गरौँ । ती दुबैको कलात्मक पक्ष उच्च प्रकारको भएको कुरामा कुनै शंका छैन । त्यही कुरा तुल्सीकृत रामायणका बारेमा पनि सत्य हो । ती सबै रचनाहरूका पछाडि हिन्दू धार्मिक दृष्टिकोणले काम गरेको छ । त्यसै गरी अन्य विभिन्न रचनाहरूका पछाडि पनि विश्व, समाज वा जीवन सम्बन्धि बेग्ला बेग्लै दृष्टिकोणहरू वा विचारधाराहरूले काम गरेका हुन्छन् । त्यस प्रकारका दृष्टिकोण वा विचारहरू विभिन्न काल, त्यहाँको आर्थिक, सामाजिक, राजनैतिक स्थिति वा तिनीहरूभित्र अन्तर्निहित अन्र्तसंर्घष वा अन्तरविरोधहरूद्वारा निर्धारित हुन्छन् । मानिसहरूले आफ्ना मातहतमा भएका साधन, शक्ति, दर्शन, साहित्य, कला, धर्म, संस्कृति, संगठन आदि सबैलाई ती दृष्टिकोण वा विचारहरूलाई पूरा गर्न नै उपयोग गर्दछन् । रामायण, महाभारत आदि ग्रन्थहरूको रचना कुनै खास कालको हिन्दू समाजमा नै हुन सक्थ्यो । तर त्यही प्रकारको रचना इसाई, मुस्लिम वा बौद्ध धर्मको प्रभाव भएका समाजमा हुन सक्दैनथ्यो । लक्ष्मीप्रसाद देवकोटाले सुलोचना महाकाव्य लेखे । तर उनी भानुभक्तको कालमा जन्मेका भए त्यसको रचना बेग्लै प्रकारको हुन्थ्यो । गोर्कीले आमा उपन्यास लेखे । तर त्यस प्रकारको रचनामा रुसमा र विश्वमा पनि समाजवादी आन्दोलन चलिरहेको बेलामा नै हुन सक्थ्यो । तर त्यो भन्दा ५० बर्ष पहिलेको कालमा आमा उपन्यासको रचना हुन सक्दैनथ्यो । त्यो उपन्यासको रचना समाजवादी आन्दोलनमा सक्रिय रुपले सम्बन्धित भएको सर्वहारावादी दर्शनद्वारा प्रभावित व्यक्तिद्वारा नै लेखिन सक्दथ्यो, तर आफ्नो उच्च प्रकारको प्रतिभाका वावजुत टालस्टाय, बालज्याक वा शेक्सपियरद्वारा त्यो उपन्यासको रचना हुन सक्दैनथ्यो । तुलसीदासले हिन्दू समाज व्यवस्थालाई पुष्ट हुने खालको रचना गर्न सक्दथे तर कुनै हिन्दू धर्म माथि आधारित राजनैतिक वा समाज व्यवस्थालाई ध्वस्त पार्ने प्रकारको कुनै साहित्यिक कृतिको रचना गर्नु उनका लागि सम्भव हुदैनथ्यो । गोर्कीले सामन्ती पूँजीवादी समाज व्यवस्थालाई पुष्ट गर्ने किसिमले एउटा पनि कृतिको रचना गर्न सक्दैनथे ।

कुनै एउटै देश वा समाजमा कैयौं वर्ग वा अन्तर्विरोधहरू हुन्छन् र त्यहाँ बेग्ला बेग्लै प्रकारका संघर्षहरू चलिरहेका हुन्छन् । त्यस अनुसार नै विभिन्न दर्शन, साहित्य, धर्म, सँस्कृति, राजनैतिक दल वा आन्दोलनहरूको निर्माण हुन्छ । अहिलेको हाम्रो समाज पनि त्यस प्रकारको अन्तर्विरोध वा संर्घषबाट मुक्त छैन र हुन पनि सक्दैन । कतिपय साहित्यकारहरूले त्यस प्रकारका अन्तर्विरोध वा संघर्षहरूबाट, स्पष्ट शब्दमा भन्ने हो भने वर्गीय अन्तद्र्वन्द्वहरूबाट, माथि भएको दावी गर्दछन् । तर जबसम्म कुनै व्यक्ति वर्गीय समाजको सदस्य हुन्छ, ऊ त्यहाँ हुने वर्गीय भावनाहरूबाट मुक्त हुन सक्दैन, यद्यपि कतिपय अवस्थाहरूमा कतिपय व्यक्तिहरूले प्रत्यक्ष रुपले त्यस प्रकारको अनुभूति गरिरहेका हुन्नन् । एउटा सानो बालकलाई लिऊँ । त्यसमा प्रकट रुपमा कुनै वर्गीय भावना हुन्न । तर विभिन्न चिजहरूलाई हेर्ने दृष्टिकोण आफ्नो समाजको अवस्था वा वर्गका भावनाहरूद्वारा प्रभावित हुन्छन् । उदाहरणका लागि तीन/तीन बर्षका हिन्दू, इसाई, मुस्लीम समूहका बाल बच्चाहरूलाई लिऊँ । उनीहरूले सचेत रुपले कुनै धर्मलाई मानेका हुन्नन् । तर उनीहरूको चिन्तन वा व्यवहार आफ्नो समाज वा धार्मिक मान्यताद्वारा प्रभावित भएको हुन्छ । त्यही कुरा कुनै वर्ग वा वर्ग संघर्षको भावना भन्दा बाहिर रहेको ठान्ने वा दावी गर्ने साहित्यकार बारे पनि सत्य हो । त्यसले प्रकट वा सचेत रुपले त्यस प्रकारको वर्गीय दृष्टिकोण न अपनाएको होस्, तैपनि त्यसको चिन्तन, व्यवहार स्वतस्फूर्त रुपले कुनै न कुनै वर्गको दृष्टिकोणद्वारा प्रभावित हुन गएको हुन्छ । त्यही कुरा साहित्यको रचनाका सन्दर्भमा पनि सत्य हुन जान्छ । त्यो नियमबाट हरिप्रसाद भण्डारीका रचना पनि मुक्त छैनन् ।

हरिप्रसाद भण्डारीका धेरैजसो कथाहरू, प्रथम, समाजमा विद्यमान शोषण, उत्पीडन, तिनीहरूका कारणले उत्पन्न गरिवी र तिनीहरूका विरुद्धको वर्गीय आन्दोलन वा वर्ग संघर्षसित र, द्वितीय, प्रेम र मानवीय भावनाहरूसित सम्बन्धित छन् । ती कतिपय कथाहरूमा सहर वा ग्रामीण समाजमा विद्यमान गुण्डागर्दी, अन्धविश्वास, नातावाद, भ्रष्टाचार, राजनीतिक पक्षहरू आदिसित सम्बन्धित विभिन्न पक्षहरू बारे पनि प्रकाश पार्न खोजिएको छ । त्यसरी समग्र रुपमा ती कथाहरूलाई प्रगतिशील साहित्यको श्रेणीमा राख्न सकिन्छ । तर अस्वीकृत कथाहरूमा राखिएको ‘रवि होइन चन्द्र’ कथालाई त्यो श्रेणीमा राख्न मुस्किल पर्छ । सबै जसो कथाहरू सोदेश्य प्रकारका छन् । तर जे भन्न खोजिएको छ, तिनीहरूलाई कलात्मक र नाटकीय प्रकारले प्रस्तुत गरिएको छ । कथा पढ्दा पाठकहरूमा एक प्रकारको उत्सुकता हन्छ । त्यसको उदाहरणका रुपमा ‘बाबा त त्यहाँ थिएनन्’ कथालाई लिन सकिन्छ । त्यो कथामा समाजको दुषित वातावरण, मधुरतम र मानवीय भावना, तिनीहरूका बीचमा चल्ने द्वन्द्व, उतार–चढाव समेतको अन्यन्त सुन्दर र कलात्मक प्रकारले तथा संक्षेपमा चित्रण गरिएको छ । त्यसरी सम्भवत भण्डारीका सबै कथाहरूमध्ये त्यो सर्बश्रेष्ठ कथा हो । बाबा त त्यहाँ थिएनन् कथा सर्वश्रेष्ठ कथा हो भने रवि होइन चन्द्र निकृष्ठ कथा हो ।

भण्डारीका कथाहरूमा राजनीतिक वा विचार पक्षहरूमाथि पनि प्रकाश हाल्ने प्रयास गरिएको छ । तर त्यसो गर्दा कैयौं कथाहरू अस्वभाविकता र कृत्रिमता प्रकट भएका छन् । कुनै विचारलाई कथाको स्वभाविक प्रवाहका साथ अभिव्यक्त गर्ने भन्दा जवरजस्ती पूर्वक लाद्न खोजेजस्तो । खास गरी विभिन्न पात्रहरूको सम्वादमा अस्वाभाविकता प्रष्ट रुपमा देखिन्छ । चुनाव, अन्तर, अठोट, फैसला, पुरानो मन्दिर, स्वर्ग जाने पुल, यसरी फेर्छ रङ छेपारोले, गैरसरकारी सहिद, नसोँचेको कुरा आदिका विषय–वस्तु राजनैतिक हुन् भन्न सकिन्छ ।

चुनावमा पञ्चायती व्यवस्था अन्तर्गतको चुनावको बहिस्कारको विषयलाई उठाइएको छ । त्यो कथाले निरङ्कुश र तानाशाही पञ्चायती व्यवस्थाका विरुद्धको जनमतलाई अगाडि ल्याउने प्रयत्न गरेको छ । अन्तर कथामा सामान्य अपराधमा र राजनीतिक विषयमा जेलमा जानुका वीचको अन्तरलाई देखाउने प्रयत्न गरिएको छ । एउटा व्यक्तिका दुइटी छोरी हुन्छन् । एउटीको पति तस्करीको आरोपमा जेलमा परेको हुन्छ । त्यसका लागि उसकी पत्नीको मनमा ग्लानी हुन्छ । तर अर्कीको पति देश र समाजको सेवाको लागि संघर्ष गर्दा जेलमा परेको हुन्छ । त्यसकारण आफ्नो पति त्यसरी गिरफ्तार भएको कुरा सुनाउँदा उसको छाती गर्वले फुलेको हुन्छ । त्यसरी एउटा समाजको अपराधका लागि र समाजको सेवा वा अन्यायका विरुद्धमा न्याय र समानताका लागि संघर्ष गर्दा जेलमा पर्नुको वीचको अन्तर देखाइएको छ । तर पहिला छोरीले आफ्नो पति जेलमा परेको बताउँदा जुन विचार प्रकट गरेको छ त्यसमा अस्वाभाविकता झल्केको छ । पिताले ज्वाइँ किन जेलमा परेका थिए भन्दा निरुले भनिन्— “असत्यको विरुद्धमा सत्य, अन्यायको विरुद्धमा न्याय र असमानताका विरुद्ध समानताको लागि” को भनाइ अतिशयोक्तिपूर्ण छ । उनका पतिलाई के आरोप लागेको हो सरल भाषामा बताइदिएको भए स्वभाविक हुन्थ्यो । उनका मनको भावलाई सरल र सामान्य शब्दहरूमा व्यक्त गर्न सकिन्थ्यो । यस प्रसङ्गलाई यसरी पनि लेख्न सकिन्थ्यो— ‘ती कुराहरू बताउँदा उनको अनुहारमा एक प्रकारको गर्वको अनुभूति झल्केको महसुस हुन्थ्यो ।’ वास्तवमा भण्डारीका करीव सबै सम्वादहरूमा त्यस प्रकारको अस्वाभाविकता र कृत्रिमता झल्केको पाइन्छ ।

समाजमा विद्यमान शोषण, उत्पीडन, अन्याय, गरिवीद्वारा उत्पन्न जनताको दयनीय अवस्था भण्डारीका दुबै कथा सङ्ग्रहहरूमा सबै भन्दा बढी चित्रण गरिएको छ । ती कथाहरूमा शोषण, उत्पीडन वा अन्यायका विरुद्धका असन्तोष र प्रतिशोधका भावनाहरूमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । कतिपय कथाहरूमा शोषण, उत्पीडन र गरिवीद्वारा पीडित जनताका भावनाहरूको अत्यन्त मार्मिक प्रकारले चित्रण गरिएको छ । त्यस सिलसिलामा सर्वप्रथम कुकुर तिहार आउँछ । त्यो कथा छोटो छ, तर यथार्थवादी र मार्मिक छ । एउटा माग्ने ठिटो र भुस्याहा कुकुरको अबस्थाको तुलना गर्दै माग्ने ठिटाको जीवन भुस्याहा कुकुरको भन्दा पनि नराम्रो भएको कुरा बताइएको छ । कुकुर तिहारको दिन कुकुरको पूजा हुन्छ । तर भोकै बसेको माग्ने ठिटोप्रति कसैको ध्यान जादैन । कुकुर अघाएको छ । त्यसैले उसका अगाडि राखिएको प्रसादलाई सुँघ्छ मात्र, तर खाँदैन । त्यो ठिटाले कुकुरले छोडेको त्यो टपरीलाई उठाउन खोज्दा कुकुरको पूजा गर्न आएकी महिलाले त्यसलाई हप्काउन खोज्देै भन्छिन्— “यो प्रसाद कुकुरका लागि भनेर राखेको तैंले उठाइस् फेरि ? मर्न नसकेका कङ्गालहरू !” तर त्यो कथामा ‘महिलाको दौलत र अहमताको तापले कठोर भएको पथ्थरको दिल’ को जुन चर्चा छ, त्यो स्वभाविक छैन । कथामा लेखकका तर्फबाट त्यो भनाइ नराखेको भए कथा बढी स्वभाविक प्रकारको हुन्थ्यो ।

पागल कथामा गुण्डाहरूद्वारा सामूहिक बलात्कार, पतिको हत्या, कानुनद्वारा गुण्डाहरूलाई सफाई पाएकी एउटी नारी पागल बनेको घटना चित्रण छ । त्यो समाजमा आम रुपमा घट्ने घटना हो । तर त्यस कथाको महत्व यो कुरामा छ कि त्यसमा अन्याय र कानुन समेतले द्वारा पीडित महिलाको चित्रण मात्र गरिएको छैन । तर त्यस प्रकारको अन्यायका विरुद्ध प्रतिरोध वा बदलाको भावनालाई पनि व्यक्त गरिएको छ । शीलाले कुनै पनि मान्छेलाई देख्ने वित्तिकै आफ्ना पतिका हत्यारा ठान्छिन् र ढुङ्गा टिपेर उनीहरूमाथि झम्टन पुग्छिन् । त्यसरी कथामा सबै प्रकारका अन्याय, अत्याचारका बिरुद्ध घृणा र आक्रोष देखाइएको छ । तर त्यसमा पनि सम्वादहरू अस्वाभाविक छन् । एउटी होस गुमाएकी पागल महिलाद्वारा “ए न्यायका ठेकेदारहरू ! मेरो लुटिएको पति र भुटिएको जीवन फिर्ता देऊ” जस्ता अभिव्यक्तिहरू स्वभाविक देखिदैनन् ।

कुनै कथामा पात्रको भनाइ, प्रथम, पात्र र चिन्तनको अवस्था र, द्वितीय, परिस्थितिसित मेल खाने हुनु पर्दछ । भण्डारीका कथाहरूमा लेखकहरूका तर्फबाट अन्याय र अत्याचारको विचारहरू प्रकट गर्ने तथा पात्रहरूतर्फबाट पनि अस्वाभाविक प्रकारले विचार व्यक्त गर्ने कुरा आम रुपले सबै कथाहरूमा पाइन्छ । त्यसकारण म यो लेखमा त्यस बारे बढी चर्चा गर्नेपट्टि लाग्दिन । शैलीगत वा कलापक्षको उल्लेख गर्नु यो लेखकको विषय पनि होइन । तैपनि त्यस प्रकारको कमजोरीका वावजुुत करीव करीव सबै कथाहरूमा प्रकट गरिएको वैचारिक पक्ष सही छ ।

खेलमा ख्याल ख्यालमा साच्चैको वर्ग संघर्ष भएको देखाइएको छ । त्यसमा खेलका दौरानमा केटाकेटीहरू दुई भागमा बाडिन्छन् र आपसमा कुटाकुट गर्न थाल्दछन् । तल्ला वर्गका केटाकेटीहरूले उच्च वर्गका केटाकेटीहरूमाथि कुटपिट गर्दछन् । साँझ त्यो वर्गीय द्वन्द्व उच्च वर्गीय मान्छे र तल्ला वर्गमा परिणत हुन्छ । त्यसरी लेखकले यो देखाउने प्रयास गरिएका छन् कि वर्ग संघर्ष सबैतिर व्याप्त हुन्छ र कुनै पनि बेला सानो कारणले पनि त्यसमा विस्फोट हुन सक्दछ ।

भण्डरीका कथाहरूमा समाजमा विद्यमान गरिवी, समाजसेवाका आडमा लुकेको पाखण्ड, अन्धविश्वास, कोमलतम् मानवीय भावनाहरू, भ्रष्टाचार, नातावादका साथै कोमलतम् मानवीय सपनाहरू आदि बेग्ला बेग्लै पक्षहरूमाथि पनि प्रकाश हालेको वा चित्रण गरेको पाइन्छ । खेलौनामा बच्चाको खेलौनाप्रतिको रहरद्वारा गरिवीका अवस्थाको मार्मिक चित्रण गरिएको छ । भण्डारीका कथाहरूमा खाली गरिवहरूको सामान्य प्रकारले चित्रण मात्र गरिन्न । त्यसका पछाडिको कारणको पनि विवेचना गर्ने वा त्यसको प्रतिरोध गर्ने पनि प्रयत्न गरिन्छ । भण्डारीका कथाहरूमा खालि सामान्य रुपले गरिवीको चित्रण मात्र गरिन्न । त्यस पछाडिको कारणको विवेचना गर्ने प्रयत्न पनि गरिन्छ । समाजमा विद्यमान गरिवीको मूल मुल कारण समाजमा विद्यमान शोषण वा उत्पीडन हो । भण्डारीका पात्रहरूले शोषण र उत्पीडनका विरुद्ध आक्रोष र क्षोभ प्रकट गर्दछन् । उनीहरू प्रतिरोधमा पनि उत्रिन्छन् । त्यो दृष्टिले सपना–विपना सफल कथा हो । त्यसमा अरु कथाहरूमा जस्तै अस्वाभाविकता वा कृत्रिमता छैन । त्यसमा सामान्य र स्वाभाविक प्रकारले समाजमा विद्यमान गरिवीको मार्मिक चित्रण गरिएको छ । त्यसका कारणको निरुपण गरिएको छ र त्यसमा परिवर्तनको उपाय बताइएको छ । सपना–विपनामा उनका पतिले भन्दछन्— ‘हामी सबै गरिव दुःखी एक हुनु पर्दछ र परिवर्तनका लागि जोडतोडले अगाडि बढ्नु पर्दछ । अब काम गर्ने र दःख पाउने हामी, अनि हाम्रो मेहनतबाट सुख पाउने अरु हुन दिनु हुन्न ।’ उत्तर दिन नसकेको तर्क शीर्षकको कथामा देशमा विद्यमान गरिवीको समस्यालाई अत्यन्त सही प्रकारले उठाउन खोजिएको छ । त्यो कथामा यो देखाउने प्रयत्न गरिएको छ कि समाजमा विद्यमान गरिवीको समस्या कुनै व्यक्तिगत उपकारद्वारा होइन, देशको व्यवस्थामा लागेको घाउ सन्चो भएपछि मात्र समाधान हुनेछ । त्यसरी देखिएको समस्यालाई समाधान गर्न समाजको विद्यमान ‘भाइरस’ हरूलाई नष्ट गर्नु पर्दछ । यस्तो विचार सही भए पनि एकजना सामान्य भिखारीका मुखबाट जुन प्रकारबाट विचारहरू प्रकट गरिएको छ ती अस्वभाविक छन् । त्यसले गर्दा कथा एकप्रकारको नारावादी साहित्यजस्तो बन्न गएको छ ।

भण्डारीले आफ्ना कतिपय कथाहरूमा मानिसमा पाइने झूठ र जालझेलद्वारा मानिसहरू ठग्ने प्रवृति (विचित्र गुफा), धर्मका नाममा मानिसहरूलाई ठग्ने कोशिस (पुरानो मन्दिर) व्यवहारबाट अलगिएको प्राविधिक शिक्षाको कमजोरी (पराजुली माइला), राजनीतिक अवसरवादिता (कसरी फेर्छ रङ् छेपाराले) अन्धविश्वास माथि पनि व्यङ्ग हानेका छन् । ती कथाहरूमा प्रकट गरिएका विचारहरूले समाजका बेग्ला बेग्लै पक्षहरूमाथि प्रकाश हाल्दछन् । त्यसकारण विचारका हिसाबले तिनीहरूले ठूलो महत्व राख्दछन् । उक्त विचारहरू बाहेक भण्डारीले समाज र जीवनसित सम्बन्धित अन्य कतिपय पक्षहरूमाथि पनि प्रकाश हालेका छन् । विचारका हिसाबले ती सबैले सही विचारको प्रतिनिधित्व गर्दछन् । तर कला वा शैलीका हिसाबले पुनः तिनीहरूमा कतिपय अस्वभाविकता वा कृत्रिमता देखा पर्दछन्, जुन भण्डारीको एक प्रकारको विशेषता नै भएको छ । प्रशासनमा योग्यताका आधारमा होइन नाता वा पहुचका आधारमा नै कुनै अनुकुल निर्णय गरिन्छ भन्ने कुरा घाम–पानी कथामा देखाउने प्रयास गरिएको छ, । जागरणमा एकातिर निम्नस्तरको कर्मचारीको दयनीय अबस्था र अर्कातिर देशमा चलेको आन्दोलनका कारणले पुलिसमा पनि असन्तोष देखापरेको तथा आन्दोलनको पक्षमा निक्लेको देखाइएको छ । उदाहरणमा समाज सेवाको आडमा लुकेको समाज विरोधी चरित्रलाई उदाङ्गो पारेर प्रस्तुत गरिएको छ । चुनावमा पञ्चायती तानाशाही व्यवस्थाप्रतिको जनताको घृणामाथि प्रकाश हालिएको छ । तरङ्गमा तीर्थ–वर्त र पूजा–पाठ गरेर जनताको शोषण उत्पीडन गर्ने भन्दा मेहनत गर्ने जनता श्रेष्ठ र उच्च हुन्छन् भन्ने देखाइएको छ ।

अठोटमा एउटा सामान्य युवकले पुलिस अफिसरको अन्यायपूर्ण व्यवहारको प्रतिरोध गरेको र त्यसमा विजय प्राप्त गरेको कुरा बताइएको छ । पक्का नेपालीमा घुस खुवाएर एउटा भारतीय नेपालको नागरिक बनेको कुराको चर्चा गरिएको छ । फैसलामा गाउँका ठालुहरूले गरिवहरू माथि गर्ने अन्याय फैसला तथा त्यसबाट गरिवमाथि पुग्ने पीडाको चर्चा गरिएको छ । स्वदेशको मायामा प्रवासी नेपालीको स्वदेशको माया र चेतना बारे प्रष्ट पारिएको छ । स्वर्ग जाने पुलमा विकास कार्यमा हुने भ्रष्टाचार बारे बताइएको छ । बाल अधिकारमा बाल अधिकारको रक्षाको नाममा वैकल्पिक व्यवस्था नगरिकन बालकहरूलाई कामबाट हटाउँदा बेरोजगार बनेर भिखारी समेत बन्नु परेको अबस्थाको चित्रण गरिएको छ । चिउरा र भेलीमा विकासका नाममा गराइने बेगारी प्रथाको बिरोध गरिएको छ । मान्छेको मासुमा मान्छेद्वारा मान्छेमा हुने शोषण र उत्पीडनको बिरोध गरिएको छ । गैर सरकारी सहिदमा दलको आधारमा सहिदप्रति गरिने भेदभावको आलोचना गरिएको छ । नसोंचेको कुरामा देश र जनताको सेवा भन्दा सम्पत्ति जोड्न बढी प्रयत्न गरेको नेतामा देखा परेको आत्मग्लानीको चर्चा गरिएको छ । एकादशी कथामा देवी देवता र धर्मप्रतिको बालसुलभ आक्रोषको उल्लेख गरिएको छ । जन्मदातामा कमैयाहरू मुक्त भएपछि गरिवीबाट मुक्ती पाउन कमैयाहरू जङ्गल पसेको कुराको चर्चा गरिएको छ ।

भण्डारीका कथाहरूमा मानवीय रुपमा र सम्वेदनाहरू बारे पनि मार्मिक र कुशलतापूर्वक चित्रण गरिएको छ । उनका कथाको यो पक्षमा प्रकाश हाल्नका लागि एउटा सिङ्गो लेखको आबश्यकता पर्दछ र यो सानो लेखमा त्यो सम्भब छैन । त्यसैले गर्दा तिनीहरूको सरसरती प्रकारको चर्चा गर्ने सम्म मैले आफूलाई सिमित गर्ने छु । ती लेखहरूमा विशद्ध रुपले प्रेम र मानवीय सपनाहरूको मात्र चित्रण गरिएको छैन । त्यसको माध्यमद्वारा समाज र जीवनका विभिन्न पक्षहरू बारे पनि चर्चा गर्ने प्रयत्न गरिएको छ । उनले बुनेको स्वीटरमा पत्नीले पतिप्रति मायाले स्वीटर बुनिदिएको, तर पतिले त्यसप्रति बेवास्ता देखाएको कुराको चित्रण छ । पतिले मन नपराएपछि त्यो स्वीटर बजारमा पुग्छ र एउटा युवकले किन्छ । त्यो युवकसित युवतीको भेट हुन्छ । त्यो अपरिचित युवकले त्यो स्वीटरमा व्यक्त कलात्मक पक्षको प्रशंसा गर्दछ र समाजमा उपेक्षित कलाका प्रतिभाहरूको पनि चर्चा गर्दछ । त्यसले गर्दा महिलाका मनमा उसप्रति आत्मीयताको रुप पैदा हुन्छ । बाबा त त्यहाँ थिएनन् कथामा मानवीय भावनाहरू र तिनीहरूमा अन्तर्निहित विरोधाभासहरूलाई सफलतापूर्वक चित्रण गरिएको छ । त्यो वास्तवमा एउटा सफल कथा हो । ममतामा सौतेनी आमा र सौतेनी छोराका बीचमा आम रुपमा पाइने बैमनस्यताको भावना माथि मानव मानव मात्रमा जन्मजात रुपमा पाइने ममताको श्रेष्ठता सिद्ध गर्ने प्रयास गरिएको छ । रगतको नातामा एक आमाबाट अलग्गिएको छोराको आमा प्रतिको स्नेहलाई चित्रण गर्न खोजिएको छ । सिमलको भुवामा एउटा अपाङ्ग पुरुषको एउटी युवतीसँगको प्रेमलाई चित्रण गरिएको छ । भाउजूमा पहिलो पतिको प्रेम पाउन नसकेका कारणले पुनर्विवाह गरेर सुखी दाम्पत्य जीवन विताइरहेको कुराको चर्चा छ । आफ्ना मान्छे कथामा पतिको मृत्युपछि र माइतमा पनि आमाका मृत्यु पछि माइतबाट पनि पराइजस्ती भएकी एउटी नारीको मनको व्यथाको चित्रण गरिएको छ ।

भण्डारीका कथाहरूको सर्सरी अध्ययन गर्दा तिनीहरूमा समाजका विभिन्न घटना वा पक्षहरू बारे र तिनीहरूको बारे प्रगतीशील दृष्टिकोण अपनाएको पाइन्छ । त्यसरी उनका सबै कथाहरूको अध्ययन गर्दा जीवनप्रतिको दृष्टिकोण प्रगतीशील भएको कुरामा कुनै शंका रहन्न । तर वैचारिक रुपले उनको दृष्टिकोण सही भए पनि कलात्मक र शैलगित पक्षमा सुधार गर्न सकेमा उनका कथाहरूको स्तर माथि उठ्ने छ । तर त्यो कुरा मैले एउटा सामान्य पाठकको हैसियतले नै बताइरहेको छु । तर त्यसरी कलात्मक वा शैलीगत रुपले आफ्नो स्तर माथि उठाउन उनले के गर्नु पर्दछ ? कुन कुराहरूमा ध्यान दिनु पर्दछ ? त्यस बारेमा कुनै सल्लाह दिनु मेरो क्षमता बाहिरको कुरा हो । त्यसकारण मैले त्यस बारे केही लेख्नु आफूलाई असमर्थ पाउँछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।