न सीमितता न अपरिमितता
जीवन एक क्षणभंगुर रङ्गमञ्च
रुनु-रुवाउनु, हाँस्नु-हसाउनु
पलभरको अभिनित ख्याल ठट्टा मात्तै।
त्यसैले, राँटा-बाँझाहरु नछोडी
सकेसम्म 'हलको मेलो' पुर्याउनू
र उच्च चेतनाको धारिलो फालीले
जीवनलाई उर्बर र हराभरा बनाउनू ।
धान रोपेर कोदोको बाला कहिल्यै फल्दैन
तर, बिऊ राख्नु अगावै बाला बल्याउनू
र, निख्खर र निख्लम गावा रोपेर
सकेसम्म ठिमाहा हुनबाट जोगाउनू ।
उसो त मकैको बोटमा काल्पोके पनि फल्छ-ले
काँडामा पनि फूलको सुन्दरता खोज्नू
र, ऐन्दृक संवेदनको अनन्त गहिराईबाट
त्यसको स्पर्श गर्नू / अनुभूत गर्नू ।
केचनाकलनबाट सगरमाथाको उचाई नियाल्नू
र, सगरमाथाको उचाईबाट केचनाकलन पनि नियाल्नू
कतै असादृश्यता र दुर्बोधता दृष्टिगोचर भए
समभाव र समदर्शिताको बाइनोकुलरले हेर्नू ।
अनि मात्रै बुझ्नेछौ तिमीले जीवनको सार्थकता
र, बुझ्नेछौ - पीडामा किन दुख्छ / रुन्छ मान्छे?
खुशीमा किन रमाउँछ / हाँस्छ मान्छे?
अर्थात जीवनको असली यथार्थता।