14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

नेपाल आमाको पुकार

कविता डीग बहादुर तामाङ्ग May 12, 2011, 5:08 am
डीग बहादुर तामाङ्ग
डीग बहादुर तामाङ्ग

मेरो अस्मिता लुटन तम्सिनेहरु

सुन म उहिले नै मुर्दा बनिसकें

मेरा स्तनहरुमा नजर लाउनेहरु

उहिले नै क्यान्सर लागेर

नौ दश बर्ष पहिलै झरि सक्यो ।

मेरा मुहारमा नजर लाउनेहरु

सुन अब म मखुन्डो झै बनि सकें

तर्साउने बस्तुमा परिणत भै सकें

अब त निश्चल कुहिन लागेको

झिंगाहरु भनभनाइएका

एउटा शास नभएको निर्जीव प्राणी

अचेत अवस्थामा चिर निद्रामा

शील ढुंगा झै बसेकी अवस्था मात्र बाँकी छ ।

कुनै दिन मुर्दाघरका मालिक आएर

मेरो दाहसंस्कार गर्लान नगर्लान

त्यहि समाचार विश्वभरी ठूलो खबर बन्ला नबन्ला ।

सायद त्यो शौभाग्य पनि मेरो मुर्दाले

नपाएर, स्याल, कुकुर र गिद्धहरुको

लुछाचुँडीमा पो पर्ने हो कि ?

मुर्दा भएको शरीरलाई के मतलब

जहाँ घोचेपनि, जहाँ काटेपनि दुख्ने होइन,

जे गरोस के मतलब आखिर मुर्दा न हो ।

तर याद गरिराख हे मुकदर्शकहरु हो

मुर्दा ब्यूँझेको दिन उनीहरुको सातो जानेछ ।

मेरिल्यण्ड, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।