मुख्य सडकमै फ्यॉंकेको समयको छिल्कामा
चिप्लेर
आज ओरियन्ट-को भीडमा कति मान्छे लड्ने हो।
घडीको कतै कुनातिर
विष पिएर मरेको सुकरात लम्पसार छ।
कालको भित्तेघडीभित्र
कॉंटा समातेर आदम् र इभ् घुमिरहेछन्।
कम्पनीको लेबल भएर
आइन्स्टाइन माथिपट्टि टॉंसिएकै छ सदा।
एउटा एकान्त पुल उभिएको छु सशंकित
माथिबाट हुँकार गर्दै एउटा समय-रेलले टेकेर जान्छ
सधैं।
युगको दुइ कुनामा उभिएका सम्वत्हरूको खॉंबोमा
आस्थाको तार अल्झाई
औपचारिकता र अनौपचारिकताका लुगाफाटा सुकाउँदै
यो जीवन समात्न खोजिरहेछु।
समयको तालिकामा मान्छेको जीवन
सॉंझपख चियापसलमा चिया पिउँदा
कपबाट हल्लँदै उकालो उडेको
वाफ जत्ति पनि छैन।
चुइङ्गम चपाएर कुनै नकच्चरीले
थू गरे जत्ति पनि छैन।
जीवन आज
बर्खामा ऐनाको भित्रपट्टि चिट्चिट् पसीना भएर
यो खलखली,
सम्भोगपछिको पूर्ण आनन्द झैं
रोगी रोगी छ।