16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'खाटा बस्न नसकेका घाउहरु"माथि समाजशास्त्रीय अन्तरदृष्टि

कृति/समीक्षा राजेन्द्र पहाडी May 18, 2011, 3:08 pm
राजेन्द्र पहाडी
राजेन्द्र पहाडी

घाउ लाग्नु आफैमा ननिको विषय हो । घाउ पीडा हो, जलन हो, दुःख हो र नकारात्मकताको संकेत हो । घाउभित्र खती र क्षतीका थुप्रै सम्भावनाहरु लुकेर बसेका हुन्छन् । घाउले व्यक्तिलाई अक्करमा पारेर अव्यक्त यातना दिने दाउ हेरिबस्छ । नलाग्नु लागेपछि घाउमा खाटा बसिदिए कति जाती हुन्थ्यो । निको भैदिए कति मस्ती हुन्थ्यो । तर सबै प्रकारका पिर, व्यथा, अभाव, भोक, रोग, अशिक्षा, अन्याय र शोषणरुपी घाउहरुमा अपेक्षित खाटा नबसिदि“दा पीडितले ठूलै हण्डर, ठक्कर र सास्ती खेप्नु पर्ने हु“दो रहेछ । घाउले व्यक्ति, परिवार तथा समाजलाई चरम यातना, कष्ट र सयौं हण्डर ठक्कर खुवाउन सक्छ । त्यसो त ‘घाउ’ चराचर जगतको वास्तविकता हो । घाउमा नुन चुक छर्कनेहरुको बाक्लो उपस्थिति हाम्रो समाजको अर्को तितो सत्य हो । फगत सिमाङ्कन घाउको दायरा कति फराकिलो या कति साघु“रो छ भन्ने मात्र हो । ज्ञातब्य छ, घाउको उपचार हुन सक्छ किनभने घाउका पछाडी थुप्रै कारणहरु निहित छन् । उपचार हुनु पनि पर्छ किनभने घाउ चोट सहितको जीवन खिरिलो, झरल र समुन्नत बन्न सक्दैन । जतिसुकै चेपुवामा परे पनि र जतिसुकै मन धमिलिए पनि घाउमा दबाई पानी गर्नुको विकल्प छैन । बरु ख्याल विचार गर्नै पर्ने विषय के हो भने मलम पट्टी लगाउनेले घाउको प्रकृति र गहिराईको आ“कलन गर्न सक्नु पर्दछ । तथापी घाउको धामी, उपचारक वा डाक्टर बन्न सबैले सक्षमता राख्दैनन् ।

यसै सन्दर्भमा हाम्रो समाज, संस्कृति र मानव जीवनमा ब्याप्त घाउलाई उजिल्याउने प्रयत्न कसै न कसैले गर्नै पर्दथ्यो, त्यो खा“चो पुरा गरेकाछन् पर्वतेली स्रष्टा शान्तिनारायण श्रेष्ठले । ‘‘खाटा बस्न नसकेका घाउहरु’’ मुक्तक संग्रह मार्फत धौलागिरि क्षेत्रका बरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले मौजुदा समाज र मानव देहका घाउहरुको समष्टी प्रस्तुत गरेकाछन् । उनले समाजमा का“डाको रुपमा रहेका बहुरुपी घाउहरुको अन्तर कुन्तर खोतल्ने प्रयन्त गरेकाछन् आफ्नो कलम मार्फत । लेखनीका दृष्टिले श्रेष्ठ सामाजिक परिवर्तन, एकता र रुपान्तरणका पक्षधर देखिन्छन् । समाजले भोगेका र आफ्ना आ“खाले देखेका बस्तु तथ्यलाई टपक्क टिपेर साहित्यमा ढाल्न सक्ने खुबी भएका श्रेष्ठ प्रस्तुत कृतिमा राम्रैस“ग जमेका छन् । यो कृतिले शान्तिनारायण श्रेष्ठको जीवनका भोगाइहरुको चश्मदिद गवाह बन्ने प्रयत्न गरेको छ । आम नागरिकले भोगेका तिता सत्य, विद्यमान प्रशासनिक संरचना र त्यस भित्रका कारिन्दाहरुको ‘अल्छे तिघ्रो–स्वादे जिब्रो’ लाई हदैसम्म उछितो काढ्न उनी सफल देखिन्छन् । नुतनताको पक्षपाती भएको बहाना गर्नेहरुभित्रै अचम्मको कुरौटे, चाकडीवाद र सामन्ती स्वभाव हावी भएको कुराले श्रेष्ठलाई पोलेको छ, ठालूवादी संस्कृति उनी रुचाउ“दैनन्, जनमतलाई दाउमा राखेर आफ्नो मात्र सोझो गर्ने नेतादेखि कार्यकर्तासम्म उनको कलमको प्रहारमा परेकाछन्, जनबलको आलोकमा बल्लबल्ल सुधारेको देशको अवस्था बिग्रेला की भन्ने उनलाई ठूलो चिन्ता छ–

आउन त लोकतन्त्र आयो हजुर

जे गरेनि हुने दम्भ छायो हजुर

फेरि त्यही लोकतन्त्र गुम्ने डरले

कुटुकुटु मन मुटु खायो हजुर

साहित्य समाजको दर्पणको रुपमा रहनुपर्दछ भन्ने मान्यताले सर्जकलाई छोएकै हुनुपर्दछ । भनिन्छ, मिठो साहित्यले समाजलाई उदाङ्गो पार्न सक्नु पर्दछ र युगान्तकारी परिवर्तनका लागि यथोचित दिशानिर्देश समेत गर्नुपर्दछ । सर्जकले आफ्नो मानसपटलमा अनुभूत भएका तरङ्गित भावहरुको सम्प्रेषण सरल, सहज, सुबोध र व्यवस्थित रुपमा गर्न सक्दा साहित्यको उचाई बढ्न पुग्दछ । समाजका राम्रा नराम्रा पक्षहरुलाई इमान्दारितापूर्वक उठाउनु साहित्यकारको धर्म हो भन्नुमा फरक मत रह“दैन । यसै तथ्यलाई हृदयङ्गम गरेर सर्जक श्रेष्ठले आफ्नो कृतिभित्र कथित राजनैतिक नेताहरुको मैमत्तापन, तदर्थवादी राज्य व्यवस्था, युवा पुस्तामा फैलिएको विकृति, विसंगति, भ्रष्टाचार, अन्याय, दुराचार, पापाचार, बेविचार, नैतिक पतन जस्ता सवालहरुलाई जोडदार ढंगले उठाएका छन् । मुद्दा उठाउने मात्र होइन आफ्ना रचना मार्फत श्रेष्ठले समुन्नत, सभ्य र समृद्ध समाज निर्माणका लागि नेपालीजनले निर्वाह गर्नुपर्ने दायित्वलाई पनि यथास्थानमा राखेका छन् । भाइचारा, बन्धुत्व, आपसी प्रेम, सद्भाव, एकता र मर्दापर्दाको भावना राखेर अगाडि बढ्नु पर्ने कुरामा उनले जोड दिएका छन् । मुक्तक मार्फत उनी आग्रह गर्दछन्–

बाबियोको लठ्ठो बाटी नदीमाथि पुल

होसियार् भै तर्नु पर्छ नहोस् कतै भुल

नया“ नेपाल सजाएर रमाउनु पर्छ

कोपिलामै नचुडालौं अष्टदल फूल

समसामयिक राजनैतिक घटनाक्रमलाई बडो सुन्दर ढंगले आफ्ना मुक्तकहरुमा प्रस्तुत गरेका श्रेष्ठले यो संग्रहलाई ऐतिहासिक महत्वको दस्तावेजका रुपमा साहित्यिक फा“टमा स्थापित गर्न खोजेको सहजै बुझ्न सकिन्छ । देशलाई दुःख्दा श्रेष्ठको मन भित्रभित्रै छियाछिया भएर अमिलिने रहेछ भन्ने कुरा उनका यस संग्रहमा समावेश थुप्रै मुक्तक पढ्दा बोध हुन्छ । बस्तुतः देश कसैको हु“दैन, बरु देश सबैको ‘सम्पत्ति’ हुन्छ । वास्तविक देश देशबासीको अनुहारमा प्रतिबिम्वित हुनुपर्दछ । मातृभूमिप्रति गौरव गर्ने अवसर सबैका लागि समान रुपमा विनियोजित हुनुपर्दछ भन्ने आग्रह राख्ने स्रष्टा शान्तिनारायण देशमा पनि युगीन शान्ति छाओस् भन्ने कामना गर्दछन् । नागरिकको अदम्य उत्साह, अथक् परिश्रम र गरिमामय उत्सर्गको जगमा भएको वर्तमान प्राप्तीको सुरक्षण हुनुपर्दछ भन्ने श्रेष्ठको भित्री आसय रहेको बुझिन्छ । आफ्ना रचनामा उनी यसरी खुलेका देखिन्छन्–

पहाडलाई घाउ लागे मधेशलाई दुख्नु पर्छ

मधेशलाई ठेस लागे हिमालले झुक्नुपर्छ

मेची महाकाली नदी सधैं बगिरहुन् तर

नेपालीको आ“खाबाट बग्ने नदी सुक्नु पर्छ

मधेश आन्दोलनदेखि लिएर सत्ता उलट पुलटका थुप्रै घटनालाई नजिकैबाट नियालेका मुक्तककारले हातमा डाडु पन्यू लिएकाहरुलाई देशको माटोलाई मिलन बिन्दु मान्दै ‘‘हामी’’ भन्ने भावना लिएर राष्ट्र र जनहितका लागि क्रियाशील रहन आव्हान गरेकाछन् । विचारदर्शनका हिसाबले दोधारे मनस्थितिमा रहेपनि आफ्ना रचना मार्फत उनले पश्चगामी कदमहरुको कडा प्रतिवाद गरेकाछन् र आफूलाई अग्रगमनको पक्षपातीको रुपमा उभ्याएकाछन् । उनका पछिल्ला रचनाहरुमा क्रान्तिको पक्षपोषण अनुभूत गर्न सकिन्छ । विगतका गल्ती कमजोरीलाई सम्बन्धित पक्षले सच्चाएर अगाडि बढ्नु पर्दछ भन्ने मान्यता उनले आफ्ना रचनाहरुमा छताछुल्ल प्रस्तुत गरेको भेटिन्छ । सवलता र दुर्वलताहरुलाई ठीक ढङ्गले विश्लेषण गरेर अघि बढ्दा मात्रै सही टुङ्गोमा पुग्न सकिने आग्रह उनका सृजनाहरुमा पाइन्छ । केही न केही नया“पनको आशामा उनी ब्यग्र देखिन्छन् र भन्छन्–

ज्ञानी गुनी भए“ भन्छन् तर बानी फेरिएन

इमान र जमानको लक्षण कतै देखिएन

अघिबाट चिल्लो घस्ने पछिबाट छुरी धस्ने

आफ्ना भन्ने मान्छेको नै विश्वास पर्न सकिएन

नया“ नेपाल विनिर्माणको वर्तमान सन्दर्भमा श्रेष्ठका अधिकांश मुक्तकहरुले नेपालीहरुलाई ऊर्जा दिन सक्छन् भन्ने विश्वास लिन सकिने प्रसस्त ठाउ“ रहेको छ । पुरानै सोच, ढा“चा, शैली, रवाफ र चिन्तनले नविनताको अपेक्षा ‘आकाशको फल, आ“खातरि मर’ बाहेक केही पनि हुन सक्दैन भन्ने श्रेष्ठको निष्कर्ष सामयिक देखिन्छ । शान्ति र अमनचयनका साथ आटो पिठो खानुमा अतिशय सुख एवम् आनन्द देख्ने श्रेष्ठले जालझेल, खुराफाती, फट्याई“ तथा राजनैतिक तिक्डमको खुलेर आलोचना गरेकाछन् आफ्ना मुक्तकहरुमा । सहिदको सपना साकार पार्न सबै नेपालीले बहुजनहितायको मर्मलाई आत्मसाथ गरी होष्टेमा हैसे गर्नु पर्ने कुरामा उनले आफ्ना रचना मार्फत जोड दिएकाछन् । राज्यको रुपान्तरणका कुरा उठिरहेको वर्तमान समयमा उनका रचनाहरुमा समयबोधको लेखकीय दायित्व झल्किन्छ । वर्तमानको कुरुप संस्कृति बिरुद्ध औंलो ठड्याउन सक्षम देखिएका उनी खुल्लम खुल्ला प्रश्न गर्दछन्–

नया“ नेपाल हेर्ने धोको पुग्दैन कि क्या हो ?

सहिदको रगत अझै सुक्दैन कि क्या हो ?

द्वन्द्व, बन्द, चक्काजाम, अशान्तिले यहा“

देशै दुख्दा तिम्रो मन दुख्दैन कि क्या हो ?

आफ्नो प्रणय चेतना, सौन्दर्यबोध, प्रेमप्रतिको लालसा र विनोदी स्वभावलाई स्रष्टा श्रेष्ठले यस कृतिमा पनि छताछुल्ल पोखेका छन् । त्यसो त शान्तिनारायण श्रेष्ठ नारी सौन्दर्यको सुविचारित शैलीमा बखान गर्न खप्पिस सर्जक मानिन्छन् । यिनका यस अघि प्रकाशन भएका कृतिको आधारमा पनि यो भन्नु अतिशयोक्ती हु“दैन की यिनी नारित्व, मातृत्व र नारी प्रेम प्रसङ्गमा मज्जाले खुल्न सक्दछन्, भित्रैसम्म घोत्लिन सक्छन् । यसै मेसोमा उनका आ“खाले युवा युवतीका उमेरशुलभ वृत्तिलाई टपक्क टिपिहाल्छ र उनी माया पिरतिका ठट्यौला विषय उठाउ“छन् आफ्ना रचनामा । श्रेष्ठ प्रेम बिनाको जीवन अधुरो, अपुरो र एकलकाटे देख्छन् र लेख्छन्–

तिमी कहा“ छौ के गर्दै छौ खै ! केही थाहा छैन

अब त मलाई जिउनुको पनि चाह छैन

मिलन पछिको वियोगी जीवन भोग्नु भन्दा

अब मलाई मर्न पनि कुनै परवाह छैन

यति मात्र होइन, व्यवहारिक जीवनका पाटाहरुलाई साहित्यमा मोहक संयोजन गर्न सक्नु श्रेष्ठको परिचय हो भन्नुमा अन्यथा होओइन । बिम्ब र प्रतिकको निखारिएको प्रयोगमा उनी सुहाउ“दिला लाग्छन् । घुमाई फिराई सामाजिक अचाक्ली र बेइमानीलाई सत्तोसराप गर्न माहिर छन् शान्तिनारायण । कलम र मसीको सहायताले कापीका खाली पन्नामा जीवन र जगतलाई कोर्ने उनको प्रयास सार्थक बन्दै गएको छनक पाउन सकिन्छ उनका मुक्तकहरुमा । अहा π कति शिष्ट र सौम्य प्रस्तुति–

खडेरीले सुकेको पानीको मूलजस्तै

फलेकहरु कुहेको झोलुङ्गे पुलजस्तै

त्यस्तै त्यस्तैझै लागिरहेछ यो जीवन

नफक्रदैं ओइलिएर झरेको फूलजस्तै

जे होस् शान्तिनारायण श्रेष्ठको प्रस्तुत कृतिमा नेपाली समाजको सारभूत रुपान्तरणका लागि बहुमूल्य सुझाव संग्रहित छन् । श्रेष्ठ बिना हिच्किचाहट समाजलाई केस्रा केस्रामा छुट्टाउन लागिपरेकाछन् । जुवा तास, जा“ड रक्सी, धुमपान नियन्त्रणदेखि राजनैतिक क्षेत्रको कुर्सी भागबण्डाको संस्कृतिसम्मको बस्तुगत विवरण पस्कन श्रेष्ठको कलम सक्षम छ । उच्चस्तरको रचना शिल्प प्रयोग गरेर विद्यमान सामाजिक सांस्कृतिक उहापोहको दर्पण प्रस्तुत गर्न सक्नुमा उनका मुक्तकहरु कामयावी बनेकाछन् । इतिहासप्रति सचेत र भविष्यप्रति आशावादी हु“दै श्रेष्ठ आफ्ना मुक्तक मार्फत बिधिको शासनका पक्षमा आफूलाई उभ्याउन रुचाएका देखिन्छन् । मातृभूमी प्रेमले ओतप्रोत भएर उनी लेख्छन्–

मधेशमा विद्रोहको आगो सल्केकोछ

सीमा अतिक्रमण गर्न भारत पल्केकोछ

सत्तासीना नेता मौन व्रत बसेकाछन्

वास्ता छैन सुस्ताको घाउ कति बल्केकोछ

अन्त्यमा, निर्भिक, निर्भय, दृढ निश्चयी र उच्च साहित्य चेतनाले ओतप्रोत स्रष्टा श्रेष्ठको १४ औं कृतिको रुपमा आएको मुक्तक संग्रह ‘‘खाटा बस्न नसकेका घाउहरु’’ आद्योपान्त अध्ययन गरी आफ्ना भनाईहरु प्रस्तुत गर्न पाउ“दा असिम हर्षले पुलकित भएको छु । रचनाकारले यस कृति मार्फत आफूलाई साहित्यिक डाक्टरको रुपमा घाउहरुको निदान गरेकाछन्, घाउ लाग्नु र बल्झनुको कारण पत्ता लगाएपछि उपचार सहज हुने कुरामा विमती रह“दैन । आशा एवम् विश्वास छ पीडादायक घाउहरुमा खाटा बस्नै पर्छ । घाउ निको हुनु जीवन सार्थक, समृद्ध र सभ्य हुनु हो । रुप र सार दुबै पक्षमा जीवन गुल्जार हुनु ‘सत्यम् शिवम् सुन्दरम्’ को चोटीलाई स्पर्श गर्नु हो । निराशा भित्र आशा, अध्यारो भित्र उज्यालो र प्रतिकुलता भित्र अनुकुलता खोज्ने श्रेष्ठको यत्न प्रस्तुत कृतिमा अटाएको छ भन्ने मैले अनुभूत गरेको छु । गुप्तेश्वर बहुउद्देश्यीय पुस्तकालय, पर्वत कुश्माका संस्थापक अध्यक्ष समेत रहेका श्री शान्तिनारायण श्रेष्ठको साहित्यिक यात्रा अविचलित ढंगले थप ओझिलो र गर्विलो बन्दै जाओस् तथा आगामी दिनमा उनको लेखनयात्रा जीवन र जगतको गतिशीलता एवं अग्रगामिताको कलात्मक प्रतिबिम्बन गर्न सफल होस् भन्ने सुभेच्छा व्यक्त गर्दै प्रस्तुत कृतिले नेपाली साहित्याकाशमा पृथक खालको वैशिष्यठता कायम राख्न सक्ने विश्वास गर्दछु । धन्यवाद ।

(समीक्षक श्री पहाडी शिवालय बहुमुखी क्याम्पस, कुश्मा पर्वतमा प्राध्यापन गर्नुहुन्छ ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।