19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुदूर भविष्यवाणी

कविता बिष्णु सुवेदी May 26, 2011, 7:51 am

कुनै नयाँ शताब्दीको एक साँझ

अनायास जानेछ एउटा डरलाग्दो भूकम्प !

र उँभो– उँभो पहाडतिर बग्न थाल्नेछन् नदीहरू !

रङ्गहरूले सिंगारिएर बनेका

मालिकका गुँडहरू भग्नावशेष लडिरहेछन्

यत्रतत्र !

आबाजहरूको कोलाहलमा चित्कारहरू

निस्कनेछ अर्को नयाँ सामवेद लयमा !

सम्भवतः त्यस बखत

घुम्नेछ पृथ्वी फनफनी घट्ट जस्तै

देख्न सक्नेछन्् जीवित आँखाहरूले

आकाशबाट पहिरो खसेर बस्ती पुर्दै गरेको !

फूलहरू डढेर खरानी हुनेछन्

र मासुको गन्धसँग मिसिएर

फैलनेछ अर्को नयाँ बासना !

कुनै नयाँ शताब्दीको एक बिहान

अनायास मर्नेछ तातो सूर्य आकाशमै !

र कहिल्यै ओर्लने छैन उज्यालो

पोखरीमा नुहाउन !

हरियो रङ्ग जलेर पहेंलो बन्नेछ

आमाका काखहरूमा बच्चाको सट्टा

खेल्नेछ कुनै प्राचीन आगो !

मनहरू सुकेर आगो पिउनेछन्

र बालुवा पेलेर दल्नेछन्

आफ्नै कुरूप अनुहारको सौन्दर्यमा !

सम्भवतः

कुनै नयाँ शताव्दीको नयाँ साँझ

वा, कुनै नयाँ शताब्दीको नयाँ बिहान

सम्भवत दुबै नहुन सक्छ

ठीक हुनसक्छ अर्को समय अनुमान

कुनै नयाँ शताब्दीको नयाँ मध्यान्ह !

एउटा ठूलो बिष्फोटको आबाज पड्केर

विज्ञानले आत्माहत्या गर्नेछ त्यतिवेला

औषधीहरू एसिड हुनेछन्

हिमालहरू भासिएर टाउकामा हिउँ पगाल्नेछन्

रूखहरू जलेर मुर्कुट्टा बन्नेछन् !

माछाहरू पोखरीबाट निस्केर

दौडनेछन् बालुवाको बाटो हुँदै !

देवताहरू त्राहीत्राही जप्नेछन्

जून पग्लनेछ, आकाश खस्नेछ

ढुङ्गाहरू बोल्नेछन् त्यसबखत

मान्छेहरूको इतिहास जलिरहनेछ

महासागरको बाँकी पानीमा !

त्यस भूकम्प वा आँधीबेहरीले

सबै बनाउने छ प्राचीन÷पुरातात्विक

रहने छैन अस्तित्वमा त्यसबखत

समय बाहेक अरू वस्तु !

र पनि, पृथ्वीको कुनै कुनामा उभिएर

भनिरहनेछ कुनै चतुर नेता

देख्नु भो मेरो नीति ?

यसपटक पनि भोट मलाई दिनुस् !

भनिरहनेछ एक्लो मतदाता नामावली पत्र बोकेर

कुनै नयाँ शताब्दीको समयमा

नयाँ अनुहार देखाएर गरिरहनेछ घोषणा

आफू देवता भएको,

आफू सम्राट भएको !

राम्पा, दोलखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।