18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अहिले गाउँ

कविता प्रवीण खालिङ May 29, 2011, 1:24 pm

उता शहरको लागी

छुट्टीको दिन सम्झने यौटा ठाँउ

कता कता नोष्ट्रालजिया हो गाउँ ।

यता गाउँ आफै पनि

पीएमजीएसवाईको किरिङ मिरिङ अक्षरहरूमा

धुल्लामे छ, कुनै रफ खाता जस्तो।

शब्द उमार्न नसकेर बीपीएल बेसाहमा बाँच्दैछ गाउँ ।

गाउँमा खडेरी छ

साहुलियतको खडेरीले अनिकाल छ

गाउँलाई कविताको बीउ जोगाउन हाम्मे पर्दैछ

भर्खरै आइपुगेको

नयाँ अक्षर विकास हो कि साहुलियत खुट्याउन नसक्ने ठाउँ

साहुलियत मै राजनीतिको कविता कोरिबस्छ गाउँ।

अनि

मरौमा

बिहेमा

र नौरानमा

धारा र पधेरोमा

जव कार्डको भिलेज पोल्टिक्स गरिबस्छ गाउँ।

बुढौली भत्तालाई विकास भनेर

प्रत्येक साँझ

अगेनाको डीलमा पुगेर सत्ता परिवर्तन गर्छ।

गाउँको लागि

शहरको थ्रीजी भन्दा महंगो छ

जाबो पार्ले जी

घाइते अक्षरहरू सुम्सुम्याएर

शब्द जन्माउने प्रयास गर्छ

तर शहर गएको छोरोलाई एसएमएस गर्ने

शब्दै पाउँदैन गाउँ

छोरोले गाउँ मिस गरेको फेसबुकको स्टाटस भन्दा

सपनामा धनेलाई देखेको सेयर गर्छ

फिक्का चिया पस्कने स्वास्नीलाई

अनि भन्छ

सञ्चो छैन कि क्या हो त्यसलाई

आफ्नो विसञ्चो चट्टै विर्सेर।

तर गाउँलाई थाहै हुँदैन

गाउँकै पौरख खान्छ शहर

गाउँकै गोरेटाहरू भएर जान्छ शहर

अनि

झुक्किबस्छ

त्यो छली साहुलियसित

त्यसले प्रत्येक पल्ट नाम परिवर्तन गर्दै विकास भएर आउँछ

सोझो गाउँलाई उल्लु बनाउँछ,

अनि मिडियामा विकास बाडेको कुरा गर्छ

बीच बीचमा एड्सको विज्ञापनसितै

गाउँमा साहुलियतको खडेरी पठाएको कुरा गर्छ।

यता शहरको निम्ति भने

छुट्टीको दिन सम्झने यौटा ठाँउ

कता कता नोष्ट्रालजिया मात्र हो गाउँ।

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।