हिजो मेरो सुहागरात
कुन्ठा दुलहीझै सज्जिएर
मेरो काखमा टाउको राखेर
मग्न थिई ।
उत्पीडनका गहनामा सज्जिएकी
मेरी प्यारी कुन्ठा
बनी धर्मपत्नी ।
व्यङ्ग्यका फुलहरुले सज्जिएको सेजमा
रातभरि
छटपटीको संगीत बजि रह्यो।
विवाहको मन्डपमा
साथी मेरा
अनुशासनहीनताको रक्सी पिएर
मात्तिरहे अनि
म
थुनुवा भै रहें अन्ध्यारो कैद खानामा
जहाँ
कुन्ठाले कन्ठ अबरुद्ध पारेर
तगारो लगाइ दिन्छे सन्धैका लागि
त्यसैले होला सायद
यस बङ्करभित्र
खुसीको हावा बग्दैन
यहाँ न बिजुली आउँछे बत्ती बाल्दै
न नै उषाले झुल्काउँछे
उदाइरहेको सूर्य
जस्ले
जन्माउन सकोस्
छोरो झल्मल ।