19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

महिला हराएको सूचना

कविता प्रकाश नेपाल May 31, 2011, 5:14 am

एक आमा

युद्धमा हराएको तन्नेरी छोरा

छातीमा तस्बीर राखेर उहिलै

भौतारिदै घरबाट निस्केकी थिईन

कतै तपाईले देख्नु भो ?

मरूभूमिमा गिरेको छोरा

बाकसमा बन्द भएर फर्क्यो

होस गुमाएर भौतारिदै थिईन

कतै तपाईले भेट्नु भो?

पागल बस्तीमा जे पनि हुन्छ

पागल बस्तीमा जे गरे हुन्छ

बोक्सीको आरोप र अनुहारमा घाऊ

भगवान सराप्दै रुदै थिईन

कतै तपाईले देख्नु भो?

मान्छेको बस्तीमा मान्छे हुन्छ

पागलको बस्तीमा पागल हुन्छ

मान्छेले मान्छे नमाने पछि

मान्छेले मान्छे नभने पछि

जाती पातीको घाऊ दुखेर

मानबता थुक्दै चिच्यौदै थिईन

कतै तपाईले भेट्नु भो ?

ठमेलको बजारमा सर्बांग नंग्याई

निर्बस्त्र आफ्नो शरीर नाप्दै

बच्चाको फ़ीस माग्दै थिईन

कतै तपाईले देख्नु भो?

बम्बईको कोठीमा होस वा अरब

भेडा बाख्रा झै बेचिए पछि

बच्नुको अर्थ हराए पछि

मानबता मान्छेदेखि डराए पछि

घाटीमा पासो लगाउछु भंथिन

कतै तपाईले भेट्नु भो?

कतै तपाईले भेट्नु भो भने

कतै तपाईले देख्नु भो भने

मेरो खबर भन्दिनु होला

स्याल शहर पसेको बेला

शहर सधै त्रसित हुन्छ

धमंड पालेर बस्ने जन्तु

घमंडै धमंडले ग्रसित हुन्छ

अर्को खबर भन्दिनु होला

पागलको बस्तीमा आगो झोस्न

एउटा झिल्को बोकेर आउनु

अर्को नया सृजना गर्न

एउटा क्रांति बोकेर आउनु

कतै तपाईले भेट्नु भो भने

कतै तपाईले देख्नु भो भने

मेरो खबर भन्दिनु होला

शहर पसेका स्यालहरु

आखिर सबै मर्ने गर्छन

राती फूल्ने फूलहरू

बिहान सबै झर्ने गर्छन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।