म कविता हुँ
खाने कोशिश गर्छु कसैलाई
अर्थात्–
अँध्याराहरूलाई ।
म कविता हुँ
उठ्न चाहन्छु धेरै–धेरै माथि
अर्थात्–
सीमाहरू भन्दा धेरै माथि ।
म कविता हुँ
स्वप्नको सयलभन्दा
मीठो लाग्छ मलाई
अर्थात्–
त्यो पसीना ।
म कविता हुँ
काप कापबाट छिरेर छुन चाहन्छु कसैलाई
अर्थात्–
दिलहरूलाई ।
म कविता हुँ
कालो धेरै कालो तर मोती
अर्थात्–
नेल्सन मण्डेला ।
म कविता हुँ
र मेरो आराधना
त्यो फाटेको वस्त्रको उदास चित्र
अर्थात्–
सृष्टिले ठगेको त्यो मान्छे !
सायद मेरै प्रतिआकृति....
सायद मेरै नेपालकै प्रतिबिम्ब ... !!