14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आख्यानकार गीता केशरी

व्यक्तित्व / कृतित्व लीला लुइटेल June 2, 2011, 2:18 am
लीला लुइटेल
लीला लुइटेल

१. व्यक्ति परिचय

१९९७ साल असार २० गते पकनाजोल, काठमाडौंमा जन्मेकी गीता पन्त नेपाली साहित्यमा गीता केशरीका नामबाट प्रसिद्ध छन् । राजनीतिशास्त्रमा एम्.ए. गरी केही समय श्री ५ रत्नराज्य लक्ष्मी हाईस्कुल, वानेश्वरमा शिक्षण गरेपछि यिनले शाही नेपाल वायुसेवा निगममा सहायक बिक्री अधिकृतबाट सेवा सुरु गरिन् र निर्देशकसम्म भई त्यस संस्थाबाट सेवा निवृत्त भइन् । त्यसपछि यिनले एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल्समा डेपुटी जनरल मेनेजर भएर काम गरेको देखिन्छ ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव पनि भएकी गीता केशरी समकालीन साहित्य पत्रिकामा सम्पादक मण्डलको सदस्य पनि भएकी हुन् । नारी साहित्यिक संस्था गुञ्जनको संस्थापक सदस्यका रूपमा रहेकी गीता केशरी हाल उक्त संस्थामा अध्यक्षको कार्यभार समालिरहेकी छन् । नारी साहित्य प्रतिष्ठानको संरक्षक–सल्लाहकारसमेत रहेकी यिनी पन्त स्मृति प्रतिष्ठानको अध्यक्षका साथै नेपाल आख्यान समाज, वाणी प्रकाशन एवं सार्क लेखक तथा साहित्य संस्था नेपालको सदस्य पनि हुन् । उपन्यास समाजको उपाध्यक्ष, नेपाल फाउन्डेसन अफ सार्क राइटर एन्ड लिटरेचरको सहअध्यक्षका रूपमा यिनको सक्रियता रहेको पाइन्छ । साहित्यिक संस्थाका अतिरिक्त विभिन्न सामाजिक संस्थामा पनि संलग्न यिनी विशाल मिलन केन्द्रको उपाध्यक्ष, बालकुमारी युनेस्को क्लबको अध्यक्षका तथा गणेशमानसिंह अध्ययन प्रतिष्ठानको सदस्य पनि हुन् ।

विभिन्न साहित्यिक सामाजिक सङ्घसंस्थामा सक्रिय गीता केशरीले व्यक्तिगत रूपमा विभिन्न प्रकारका छात्रवृत्ति एवं पुरस्कारहरूको स्थापना पनि गरेकी छन् । यिनले केशवराज मेमोरियल छात्रवृत्तिको स्थापनाका साथै भेषराज केशरी अक्षय कोषको स्थापना गरेकी छन् । यसैगरी कादम्बिनी केशरी बालसाहित्य पुरस्कारको स्थापनाबाट यिनले बालसाहित्यको विकासमा प्रेरणा प्रदान गरेको कुरा पनि अविस्मरणीय छ । यिनले सीताश्री प्रतिभा पुरस्कारको पनि स्थापना गरेकी छन् । यसरी आफ्नो निजी खर्च तथा सक्रियतामा स्थापित अधिकांश पुरस्कारको संरक्षकमा आपूm स्वयं रहेर यिनले तिनलाई गतिशीलता प्रदान गरिरहेकी छन् ।

साहित्यकार गीता केशरी विभिन्न संस्थाबाट पुरस्कृत एवं सम्मानित पनि भएकी छन् । यिनले धरणीधर पुरस्कार, गंकी–वसुन्धरा पुरस्कार, लोकप्रिया पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, रुद्रराज पुरस्कारजस्ता विभिन्न पुरस्कार प्राप्त गरेकी छन् । भानु साहित्य सम्मान, नारी साहित्य प्रतिष्ठान नेपाल सम्मान, नवरङ्ग साहित्य प्रतिष्ठान सम्मान, वनिता साहित्य प्रकाशन सम्मान, हृदयचन्द्र स्मृति सिर्जना सम्मान, बी.डी.त्यागी स्मृति सम्मानजस्ता विभिन्न सम्मान प्राप्त गरेकी यिनी दायित्व वाङ्मय प्रतिष्ठान तथा सयपत्री युवा क्लबद्वारा पनि सम्मानित भइसकेकी छन् ।

२. विषय विस्तार ः आख्यानकार गीता केशरी

२०२१ सालको अरुणोदयमा प्रकाशित ‘अपराधी को ?’ शीर्षक कथाबाट साहित्ययात्रा प्रारम्भ गर्ने गीता केशरीको लेखनमा निरन्तरता पाइन्छ । पुगनपुग पा“च दशक लामो सक्रिय साहित्य यात्रामा यिनले आख्यानका क्षेत्रमा ख्याति आर्जन गरेकी छन् । आख्यानअन्तर्गत पर्ने कथा र उपन्यास लेखन यिनको विशेष रुचिको क्षेत्र रहेको छ । त्यसमा पनि उपन्यास लेखनलाई आफ्नो साधनाको केन्द्रबिन्दु बनाएकी गीता केशरीे २०३४ सालमा प्रकाशित कसिंगरका माध्यमबाट नेपाली उपन्यासका क्षेत्रमा प्रवेश गरेकी हुन् । यिनका तीन वटा कथा सङ्ग्रह तथा एघारवटा उपन्यास प्रकाशित छन् । यिनको खोज उपन्यास अङ्ग्रेजीमा अनुदित भई The search शीर्षकमा प्रकाशित छ । आख्यानअन्तर्गत पर्ने कथा र उपन्यासमा आधारित भएर गीता केशरीका लेखनीको वैशिष्ट्य केलाउनु यस लेखको उद्देश्य रहेको छ ।

२.१ कथाकार

गीता केशरीका तरङ्ग (२०५७), भुमरी (२०५९), लहर (२०६६) जस्ता कथाकृति प्रकाशित छन् । यिनका कथामा समाजमा व्याप्त रोग, भोक, गरिबी, अन्धविश्वास, शोषणजस्ता विविध व्यक्तिगत, पारिवारिक र सामाजिक पक्षहरूको यथार्थमूलक प्रस्तुति पाइन्छ । नारीका विभिन्न समस्यालाई विशेष स्थान दिइएका यिनका कथामा विभिन्न उमेर, अवस्था र वर्गका नारीहरूले भोग्नुपरेका दुरवस्था, अत्याचार, दुराचार, पीडा, अभाव, असन्तुष्टि, विवशता, वmुण्ठा, निराशा, तनाउ, विसङ्गति आदि पक्ष चित्रित छ । नारीप्रति हुने विविध खाले शोषणका विरुद्ध आवाज उठाई समस्या समाधानको खोजीतर्पm विशेष रुचि देखाइएका यिनका कथामा परिस्थितिसापेक्ष नारीहरू केही मात्रामा भए पनि आफ्नो अस्मिताप्रति सचेत देखिन्छन् । दस महिनासम्म कोखमा राखेर आप्mनो रगत चुसाई हुर्काएका सन्तानले आमाको नामबाट नागरिकता पाउनु पर्ने भाव अभिव्यञ्जित यिनका कथामा नारीप्रति सम्मान र श्रद्धा प्रकट गर्नुपर्ने दृष्टिकोण अगि सारिएको छ । नारीको शाश्वत पक्ष मातृत्वलाई पुरुषको कमजोरीका कारण बञ्चित गर्न नहुने धारणाको प्रस्तुति पाइने यिनका कथामा वैज्ञानिक उपलब्धिले दिनसक्ने सुविधाको प्रयोगबाट नारीको आमा हुने अधिकार सुरक्षित हुनुपर्ने भाव मुखरित छ । वैज्ञानिक उपलब्धिका कारण निर्दाेष नारीले न्याय पाउने सम्भावनाको सङ्केत पाइने यिनका कथामा महिला सशक्तीकरणको भाव पनि अभिव्यञ्जित छ ।

गीता केशरीका कथामा काम र मामको खोजीमा विदेसिन बाध्य नेपालीका समस्या, लोडसेडिङ, बढ्दो मह“गी, अव्यवस्थित यातायात प्रणाली, मानव तस्करी, सशस्त्र द्वन्द्वबाट उत्पन्न पीडा र परिणाम, शान्तिको चाहना, राष्ट्रप्रेम, रहस्यमयता, प्रकृतिचित्रण, वर्गीय विभेदजस्ता अनेक सन्दर्भ र प्रसङ्लाई पनि विषय बनाइएको छ । उचित अवसर पाए अपाङ्गले पनि अन्य मानिस सरह सिर्जनात्मक काम गरी सम्मानित जीवन जिउन सक्छन् भन्ने भाव मुखरित यिनका केही कथामा बालमनोविज्ञानको पनि प्रस्तुति पाइन्छ । यिनका अधिकांश कथामा जीवनसम्बन्धी धारणा अभिव्यक्त गर्नुका साथै साथै विचार वाक्यको पनि प्रयोग गरिएको पाइन्छ । आप्mना विविध धारणालाई प्रस्तुत गर्दै युगीन सामाजिक यथार्थको प्रकटीकरण यिनका कथा सिर्जनाको मुख्य उद्देश्य रहेको देखिन्छ । जीवनमा समझदारीका साथ अगि बढ्दै पारिवारिक एवं सामाजिक सुधारका साथै सुखद समाज निर्माणको चाहनाको प्रकटीकरण तथा सकारात्मक एवं सुधारोन्मुख वैचारिकताको प्रस्तुति यिनको कथागत वैशिष्ट्य रहेको देखिन्छ ।

सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचि राख्ने गीता केशरीका कथामा मानक नेपाली भाषाको प्रयोग पाइन्छ । यिनले आप्mना कथामा विभिन्न प्राविधिक शब्दको पनि प्रयोग गरेकी छन् । यदाकदा वार्तालापीय र एकालापीय शैलीको प्रयोग पाइए पनि वर्णनात्मकता नै गीता केशरीको कथा लेखनको शैलीगत पहिचान हो ।

२.२ उपन्यासकार

२०३४ सालमा प्रकाशित कसिङ्गरका माध्यमबाट नेपाली उपन्यासमा प्रवेश गरेकी गीता केशरीका सौगात (२०४६), आवाज (२०४७), मुक्ति (२०४८), खोज (२०५०), अन्तिम निम्तो (२०५१), विश्वास (२०५२), खुला आकाश (२०५४), नोकरी (२०५५), निष्कर्ष (२०६०), बद्लि“दो क्षितिज (२०६६) जस्ता औपन्यासिक कृति प्रकाशित छन् । नेपाली समाजमा व्याप्त विविध प्रकारका नारी समस्यालाई केन्द्रमा राखी उपन्यास सिर्जना गर्ने यिनका उपन्यासमा पाइने मूल स्वर लैङ्गिक समानताको खोजी हो । सामाजिक अन्धविश्वास, रुढिग्रस्त धार्मिक÷पारम्परिक मान्यता तथा पक्षपातपूर्ण कानुनी नियमबाट तिरस्कृत एवं अपहेलित भएका सन्दर्भमा नारी अस्मिताको रक्षा र स्वतन्त्रताका लागि यिनका उपन्यासमा आवाज उठाइएको छ । नारी शिक्षित र चेतनशील भए परिवार, समाज एवं राष्ट्रकै उन्नति हुने धारणा अभिव्यक्त यिनका उपन्यासमा नारीशोषणको जिम्मेवार पुरुष मात्र नभई नारी पनि भएको यथार्थ पनि चित्रित छ । यिनका प्रायः सबै उपन्यासमा नारीमा क्रमशः देखापर्दै गएको अस्तित्वचेत र नारीवादी अवधारणाको प्रस्तुति पाइन्छ । सङ्कीर्ण सामाजिक मानसिकतालाई स्वीकारी नारकीय जीवन जिउनुभन्दा विवेकपूर्ण ढङ्गले आफ्नो शक्ति पहिचानेर अगि बढेमा नारीको व्यक्तिगत जीवन सफल हुनाका साथै नारीविरोधी सम्पूर्ण सामाजिक क्रियाकलाप क्रमशः न्यून हु“दै जाने विश्वास अभिव्यक्त यिनका उपन्यासमा नारी विद्रोेहलाई कोरा सैद्धान्तिक रूपमा नभई विवेकपूर्ण ढङ्गले समयसापेक्ष रूपमा प्रस्तुत गरिएको छ । वैज्ञानिक उपलब्धि ‘टेस्टट्युब बेबी’ लाई आपसी समझदारीका साथ स्वीकारेर मातृत्वको कदर र सम्मान गर्नु पर्ने धारणाको प्रस्तुति पनि यिनका उपन्यासमा अभिव्यक्त नारीवादी चेतकै उदाहरण हो । यौनको तृप्तिमा नारी–पुरुष दुवैको साझेदारी भए पनि स्वतन्त्रताका आडमा पुरुषले मनपरी ढङ्गले परिस्थितिको फाइदा उठाउने र नारीचाहि“ त्यसबाट उत्पन्न नकारात्मक परिणाम एवं समस्याबाट पीडित भई सदा पिल्सिरहनुपर्ने एकाङ्गी सामाजिक दृष्टिकोणको विरोध प्रत्यक्ष–परोक्ष दुवै ढङ्गले गरिएको छ । ऐतिहासिक विषय समेटिएको यिनको मुक्तिमा प्रयुक्त ऐतिहासिक घटना प्रस्तुतिको अभीष्ट इतिहासको चित्रण नभई लामो समयदेखि शोषण तथा उत्पीडनको जालोमा पिल्सिएर रहन बाध्य निरीह नेपाली महिलाको स्थितिलाई प्रस्ट पार्ने उद्देश्यले प्रेरित देखिन्छ । यिनको खुला आकाशमा चाहि“ विभिन्न कारणवश सडकमा जिउन विवश बालकहरूको दयनीय स्थितिलाई विषय बनाइएको छ ।

गीता केशरीका उपन्यासमा आन्तरिक र बाह्य दुवै प्रकारका द्वन्द्वको प्रयोग सतही रूपमा भएको छ । दुई भिन्न परिवेश र मानसिकताका व्यक्तिको वैचारिक द्वन्द्व बाह्य द्वन्द्वका रूपमा देखिएका यिनका उपन्यासमा आन्तरिक द्वन्द्वका रूपमा अस्तित्व सचेत व्यक्तिगत चाहना र संस्कारका बीचमा पिल्सिन पुगेको सङ्कटग्रस्त मानसिकतालाई प्रस्तुत गरिए पनि द्वन्द्वको प्रयोगचाहि“ सशक्त रूपमा भएको देखि“दैन । लैङ्गिक समानताको खोजी गर्दै नारी स्वतन्त्रताको सम्मानका साथ नारीवादी अवधारणालाई प्रस्तुत गर्नु उपन्यासकारको ध्येय भएकाले द्वन्द्व विधानमा अल्झिएर यसलाई लम्ब्याउने पक्षमा नरहेका कारण यिनका उपन्यासमा द्वन्द्वविधान सशक्त रूपमा देखानपरेको हो ।

गीता केशरीका उपन्यासमा प्रयुक्त अधिकांश सहभागी शिक्षित, बौद्धिक हुनाका साथै आफ्नो अस्तित्वप्रति सचेत देखिन्छन् । यिनका उपन्यासमा प्रयुक्त कतिपय पुरुष सहभागी सङ्कीर्ण मानसिकतालाई छोड्न नसक्ने खालका छन् भने कतिपय दयालु, विवेकी तथा नारीप्रति संवेदनशील भई सहयोग गर्ने उदार पनि छन् । नारी सहभागीको आधिक्य पाइने यिनका उपन्यासमा कतिपय सहभागीलाई आदर्शको आवरणभित्र प्रस्तुत गरिएको छ । यिनका उपन्यासमा प्रयुक्त नारी सहभागी चेतनशील, गतिशील, विवेकी हुनाका साथै आफ्नो अस्तित्व रक्षाका लागि डटेर सङ्घर्ष गर्नसक्ने, निर्भीक, दृढ, सबल, सशक्त र निर्णयात्मक शक्ति भएका तथा सङ्कीर्ण सामाजिक सोचाइलाई चुनौती दिनसक्ने खालका देखिछन् ।

समयको सघन एवं विस्तृत प्रस्तुति पाइने गीता केशरीका उपन्यासमा ६–७ वर्षदेखि एक शताब्दीभन्दा बढीको सेराफेरो समेटिएको छ । मूल रूपमा काठमाडौंको मध्यमवर्गीय पारिवारिक परिवेश चित्रित यिनका उपन्यासमा वस्तुको आवश्यकताअनुसार गाउ“घर तथा विदेशी भूमि पनि चित्रित छन् । विदेशी परिवेशका सन्दर्भमा स्थानीय रीतिरिवाज र संस्कारको चित्रणमा निकै सचेतता पाइने यिनका उपन्यासमा ग्रामीण जीवनका सरलता, हार्दिकता, इमानदारी तथा सहरी जीवनका कृत्रिमता एवं कुटिलता पनि चित्रित छन् । यिनका उपन्यासमा वातावरण आन्तरिक र बाह्य दुवै पक्षबाट सुखदभन्दा बढी दुखद र त्रासद रहेको भए पनि प्रायः उपन्यासको अन्त्यतिर सुखद वातावरणको सङ्केत पाइन्छ ।

विभिन्न उमेर, वर्ग र परिस्थितिका नेपाली नारीले भोग्नुपरेका अन्याय, अत्याचार र शोषणको अन्त्य गर्दै समतामूलक समाजको चाहनाको अभिव्यक्तिका साथ नेपाली नारीमा क्रमशः देखापर्दै गएको सामाजिक विकृति–विसङ्गतिका विरुद्ध विद्रोह र अस्तित्वचेतको प्रस्तुति गीता केशरीको औपन्यासिक उद्देश्य रहेको देखिन्छ । नारी स्वतन्त्रताको सम्मानका लागि आग्रह गर्दै नारीवादी अवधारणालाई शिष्ट, शालीन, विवेकपूर्ण ढङ्गले अभिव्यक्त गर्नु तथा नारी अबला नभई सबल, शक्तिशाली तथा सशक्त छन् भन्ने सन्देश प्रवाह गर्नु पनि यिनको औपन्यासिक अभीष्ट रहेको पाइन्छ । प्रायः तृतीय पुरुष दृष्टिबिन्दु प्रयोगमा रुचि राख्ने गीता केशरीको आवाज प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छ भने मुक्तिचाहि“ प्रथम तथा तृतीयपुरुष दृष्टिबिन्दुको मिश्रित शैलीमा संरचित छ । लैङ्गिक समानता तथा नारी स्वतन्त्रताको परिभाषा खोज्ने तथा त्यसको व्याख्या गर्ने प्रयास भएका यिनका उपन्यासहरू नारी शोषण र उत्पीडनको मार्मिक प्रस्तुतिले गर्दा संवेदनशीलता र तार्किकताको मिश्रित रूप बनेर देखापरेका छन् ।

सरल एवं सहज तथा सहभागीको स्तरअनुरूपको भाषिक प्रयोगमा रुचि राख्ने गीता केशरीका उपन्यासमा उखान तथा टुक्काको प्रयोग पनि यथोचित ढङ्गमा गरिएको छ । यसप्रकारको प्रयोगले यिनको अभिव्यक्तिलाई रोचक र प्रभावकारी बनाएको छ । वस्तुको आवश्यकता तथा सहभागीको स्थितिलाई ध्यानमा राखेर हिन्दी, अङ्ग्रेजीका शब्द, पदावली तथा वाक्यको प्रयोग सचेततापूर्वक गरिएका यिनका उपन्यास यसप्रकारका विविधतायुक्त प्रयोगले सहज, स्वाभाविक तथा जीवन्त बन्नपुगेका छन् । वर्णनात्मक, विवरणात्मक तथा संवादात्मक शैली प्रयुक्त यिनका उपन्यासमा सामाजिक, प्राकृतिक क्षेत्रबाट टिपिएका बिम्ब–प्रतीकको पनि प्रयोग पाइन्छ । यसले भाषालाई आकर्षक र कलात्मक बनाएको देखिन्छ । यिनका उपन्यासमा प्रयुक्त शीर्षक तथा उपन्यासको भाव, कथ्य एवं उद्देश्यका बीच पूरै तालमेल रहेकाले ती सामञ्जस्यमूलक देखिन्छन् । यिनका कसिंगर, अन्तिम निम्तोजस्ता शीर्षकचाहि“ उपन्यासको त्रासद परिणतितर्पm उन्मुख देखिन्छन् भने अन्य शीर्षकहरू सुखद परिणतितर्पm उन्मुख देखिन्छन् ।

३. निष्कर्ष

पुगनपुग पा“च दशक लामो साहित्ययात्रामा थुप्रै आख्यानात्मक कृतिको सिर्जना गरी नेपाली आख्यानका क्षेत्रमा आफ्नो पहिचान बनाउन सक्षम कथाकार गीता केशरी प्रायः छोटाछोटा अजटिल संरचनाका कथा सर्जक हुन् । युगीन यथार्थका विविध पाटालाई विचारमा ढालेर आदर्शाेन्मुख यथार्थवादी एवं स्वच्छन्दतावादी ढङ्गमा प्रस्तुत गर्ने गीता केशरी नेपालीकी उल्लेखनीय कथाकार हुन् ।

गीता केशरीका उपन्यासको मूल विषय विविध क्षेत्रमा व्याप्त नारी समस्या नै हो । समाजमा घट्ने र घट्न सक्ने घटनाहरूलाई समेटेर औपन्यासिक स्वरूप प्रदान गरिएका यिनका कृतिमा नारी शिक्षित र सबल भए मात्र नारी स्वतन्त्रता र समानता प्राप्त हुने धारणा मुखरित छ । नीतिवादी–सुधारवादी चेतना प्रबल रूपमा पाइने यिनका उपन्यासमा नारीवादी अवधारणाको सशक्त प्रस्तुति पाइन्छ । वर्णनात्मक, विवरणात्मक, वार्तालापीय तथा एकालापीयजस्ता विविध शैलीको प्रयोग गर्ने गीता केशरीका उपन्यासको भाषा सरल र सहज देखिन्छ । समग्रमा भन्नुपर्दा वर्तमान समयकी आदर्शाेन्मुख यथार्थवादी, यथार्थवादी, आलोचनात्मक यथार्थवादी, ऐतिहासिक यथार्थवादी तथा नारीवादी उपन्यासकारका रूपमा देखापरेकी गीता केशरीको योगदान नेपाली उपन्यासको इतिहासमा परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले उल्लेखनीय र विशिष्ट रहेको छ ।

कीर्तिपुर, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।