17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बेल्जियममा नेपाली भाषा हिजो, आज र भोलि

विचार कृष्ण बजगाईं June 3, 2011, 6:02 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

काम, अध्ययन, ब्यापार आदिको शिलशिलामा नेपालीहरु बिदेशीएको इतिहास लामो छ । यो क्रम २०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि बढेर गएको भए पनि माओवादी सशस्त्र आन्दोलनको क्रममा तिब्ररुपमा बढेर नेपालीहरु बिभिन्न बहानामा विदेशीएपछि अन्ततः त्यहीं जरो गाडेर बस्दै आएका छन् । अहिले कतिपय देशमा नेपालीहरुको सानो तिनो समूहदेखि ठूलो नेपाली डायोस्पोरा बनिसकेको छ ।

यसै क्रममा युरोपको राजधानी भनिने सानो देश बेल्जियममा पहिलोपटक कुन नेपालीको कहिले आगमन भयो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म नभेटिए पनि सन् १९८२ को जुलाईमा बेल्जियन नागरिकसँग बिवाह गरेर आएकी पोखरा निवासी सुकमाया नेपाली बेल्जियममा आएर स्थाइ बसोवास गर्ने पहिलो नेपाली हुन् । त्यसपछि फाट्टफुट्ट नेपालीको आगमन भएको देखिन्छ । सन् १९९० देखि बिभिन्न सहरमा नेपालीहरुको स–सानो समूह नै अस्तित्वमा रहेको देखिन्छ । सन् २००० देखि नेपालीहरु तिब्ररुपमा बेल्जियममा भित्रिएदेखि अहिलेसम्म करिब चारहजार नेपालीहरु रहेको अनुमान गरिन्छ ।

क्षेत्रफलको हिसाबले निकै सानो देश बेल्जियममा डच, फ्रेन्च र जर्मन गरी ३ वटा भाषा सरकारी कामकाजका भाषा छन् । मुख्य रुपमा भने डच र फ्रेन्च मात्र प्रयोगमा छ । यस्तो भाषाको विविधता भएको देशमा सबै नेपालीहरुका लागि सम्पर्क भाषा भने नेपाली नै बन्न पुगेको छ । नेपालमा आफ्नो मातृभाषा जे भए पनि बिदेशी भूमीमा सबैले नेपाली भाषा नै संपर्क भाषाका रुपमा प्रयोग गरेका कारण यो भाषा बिभिन्न जातिका नेपालीहरुलाई भावानात्मक एकतामा गाँस्ने प्रिय भाषाको रुपमा स्थापित भएको छ ।

सामाजिक संघसंस्था स्थापना

आफ्नो मातृभूमिको भौगोलिक, जातिय तथा सांस्कृतिक विविधता अनुरुप धार्मिक, साँस्कृतिक र राष्ट्रिय चाडपर्वमा एक आपसमा भेट घाट गर्न र आफ्ना मनका भावना पोख्न अनि मुख्यतः आफ्नो क्षेत्रका विकासमा सहयोग पुर्याउने उदेश्य लिएर बिभिन्न विभिन्न संघ संस्था र संगठनहरु बेल्जियममा खोलिएका छन् ।

बेल्जियममा अहिलेसम्म ४५ वटा संस्थाहरु स्थापना भैसकेका छन् । त्यसमध्ये सन् १९९८ मा स्थापना गरिएको नेपाली सांस्कृतिक समाज बेल्जियम नेपालीहरुको पहिलो संस्था हो । जसले प्रारम्भिक दिनमा यहाँ बस्ने सम्पूर्ण नेपालीहरुलाई समेटेर धार्मिक, सांस्कृतिक चाडपर्व र नयाँ वर्ष मनाएको देखिन्छ । उक्त संस्थाले दशैं, तिहार, नेपाली नयाँ वर्ष जस्ता कार्यक्रम र त्यसमा नाँचगान कार्यक्रम गरेर नेपाली भाषा संस्कृतिको जर्गेना गर्दै अघि बढे पनि सन् २००७ देखि सो संस्था निस्क्रिय छ ।

नेपाली भाषा साहित्यको संरक्षण, प्रचारप्रसार र विकाश गर्न स्थापना भएको एकमात्र संस्था अन्तर्राष्ट्रि नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले सन् २००७ देखि आफ्नो नाम अनुसारको काम गर्ने संस्थाकोरुपमा आफ्नो पहिचान कायम गरेको छ । यसले नियमितरुपमा बर्षेनि देवकोटा जयन्ती, भानु जयन्ती, मोती जयन्ती मनाउँदै आएको छ । साथै अनुकुलता हेरेर बीचबीचमा बिभिन्न साहित्यिक कार्यक्रम तथा प्रकाशनको कार्य सम्पन्न गर्दै आएको छ । अहिले बेल्जियममा नेपाली भाषा साहित्यमा काम गर्ने एक मात्र संस्था यही हो ।

प्रकाशन

बेल्जियमबाट सन् २००१ मा नेपाली सांस्कृतिक समाजले आफ्नो संस्थाको गतिबिधि समेटेरको प्रकाशित गरेको फोटोकपि पत्रिका पहिलो पत्रिका हो ।

त्यसपछि ल्यूभेन सहरमा इन्द्रधनुष क्लवले २००३ सालमा इन्दे्रणी नामक फोटोकपि गरिएको पत्रिका प्रकाशन भएको देखिन्छ । सोही संस्थाले त्यसको अर्को वर्ष सन् २००४ मा नेपालबाट मुद्रण गरी ल्याए पश्चात त्यो पत्रिका सदाको लागि बन्द भएको छ । अहिले सो संस्था सास्कृतिक चाडपर्व मनाउने कार्यमा मात्र सक्रिय भएको देखिन्छ ।

शैक्षिक तथा सामाजिक गतिविधिमा सक्रिय संस्था सांग्रीला समाजले २००६मा आफ्नो संस्थाको गतिबिधि र केही साहित्यिक रचना समावेश गरी बेल्जियम दर्पण नामक पत्रिकाको एक अंक प्रकाशन गरेपछि त्यसले अर्को अंक प्रकाशन गर्न सकेको छैन । तर सो संस्थाले “स्रष्टाको आँगनमा सांग्रीला” नामक कार्यक्रम मार्फत साहित्यकार कृष्ण बजगाई, कलाकार पार्वती अधिकारी, चित्रकार तथा कलाकार नारायण धिताल, उपन्यासकार पंचम अधिकारीलाई बोलाई उनीहरुसँग अन्तरंग कुराकानी गरी स्रष्टासँग पाठक तथा श्रोता दर्शकको प्रत्यक्ष भेटघाट र कुराकानी गर्ने नौलो कार्यक्रम गर्दै आएको छ ।

त्यस्तै यहाँबाट सँगालो तथा एभरेष्ट टाइम्स पत्रिकाले बिभिन्न संचार माध्यममा प्रकाशित समाचारको फोटो कपि गरी केही अंक बितरण गरे पश्चात पुनः प्रकाशन भएको देखिएको छैन ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको बिशुद्ध साहित्यिक प्रकाशन शब्दाञ्जली कृष्ण बजगाईंको सम्पादनमा दुई अंक २००८ मा प्रकाशन भैसकेको छ भने अर्को अंक प्रकाशन हुँदैछ ।

त्यस्तै बिगत एघार वर्षदेखि बेल्जियममा बसोवास गरीरहेका साहित्यकार कृष्ण बजगाईंको 'यन्त्रवत्' लघुकथासंग्रह २००७, 'हिउँको तन्ना' हाइकु संग्रह २००९, 'रोडम्याप' लघुकथासंग्रह २०१० र 'स्रष्टा र डिजिटल वार्ता' (साहित्यिक अन्तर्वार्ता) २०१० प्रकाशित छ । त्यस्तै विमल गिरीको गीतीसङ्ग्रह 'सम्झनाका तरेलीहरु'(२०६६), पंचम अधिकारीको पथिक 'प्रवासन'(२०६७) र सञ्जु बजगाईंको कथासङ्ग्रह 'समुद्र र सपना'(२०६७) प्रकाशन भएको छ ।

त्यस्तै बेल्जियमका स्रष्टाहरु राजकुमार पुडासैनी, दीपेन्द्र केसी, दीपक ज्योती पौडेल र राधाकृष्ण अधिकारीका पुस्तकाकार कृति आउने क्रममा छन् ।

वेब साईट

सम्पादक/प्रकाशक कृष्ण बजगाईं रहको बेल्जियमबाट संचालित विशुद्ध साहित्यिक वेब पत्रिका समकालीन साहित्य डटकम हो । संसार भर यसका हजारौं प्रशंसक र पाठक छन् । भर्खरै दीपेन्द्र केसी सम्पादकत्वमा प्रतिनिधी डट कम पनि संचालनमा आएको छ ।

बेल्जियमबाट संचालित अन्य समाचारमूलक वेब पत्रिकाहरु पनि छन् । जसले सानो स्थान साहित्यलाई पनि दिएका छन् । तिनमा चीतवन डट कम, इनेपाल न्युज डट कम, सँगालो न्युज डट कम, नमस्ते यूरोप डट कम, म्याग्दी डटकम, ब्रसेल्सनेपाल डटकम, नेपाली मित्र डटकम, हाम्रो खबर डट कम आदि छन् । यसका अलावा यहाँ अवस्थित विभिन्न संघसंस्था तथा राजनैतिक संस्था तिनका भातृ संगठनका आआफ्नै वेबसाइटहरु छन् । तिनको प्रमुख उद्येश्य आफ्नो संस्थाको गतिविधि दिनु भएकोले तिनीहरुको नाम यहाँ उल्लेख भएको छैन ।

बेल्जियमका सर्जकहरु

बेल्जियममा बसोवास गर्ने साहित्यिक सर्जकहरुमा कृष्ण बजगाईं, विमल गिरी, सञ्जु बजगाईं, पंचम अधिकारी, दीपेन्द्र केसी, राजकुमार पुडासैनी, दीपक ज्योति पौडेल, जे बी शेर्पा, रमेश कँडेल, राधाकृष्ण अधिकारी आदि मुख्य हुन् ।

नेपाली पाठशाला

शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रिय संस्था सांग्रीला समाजले ल्यूभेन सहरमा बेल्जियममा जन्मेका र भर्खरै नेपालबाट आएका स–साना नेपाली बच्चाहरुलाई नेपाली भाषा सिकाउने स्कूल सन् २००५ देखि संचालनमा ल्याएको छ ।

त्यस्तै सन् २०१० को जनवरीमा ब्रुज सहरमा स्थानिय नेपाली र नेपालमा काम गर्ने हिमालयन प्रोजेक्ट बेल्जियमको सहयोग मार्फत नेपाली बच्चाहरुका लागि नेपाली भाषा कक्षा संचालन सुरु गरिएको छ ।

उपसंहार

यसरी हेर्दा बेल्जियम जस्तो एउटा सानो देश जो नेपाल भन्दा पनि आधा सानो छ । जहाँ नेपाली समुदायको संख्या पनि एकदम कम छ । नेपालीहरुको आगमन पनि भर्खरै भएको ठाउँमा ब्यस्तताका बाबजुद पनि नेपाली भाषा साहित्यको लागि थुप्रै उल्लेखनिय काम भएको देख्न सकिन्छ । यसबाट अब के प्रष्ट हुन्छ भने बेल्जियम नेपाली भाषा साहित्य तथा संस्कृतिप्रेमीहरुको बसोवास भएको ठाउँ हो । भविष्यमा नेपाली भाषा साहित्यको लागि यहाँबाट ठूल्ठूला कार्य हुनेछन् भन्ने आशा गर्न सकिन्छ । नेपालमा नेपाली भाषा साहित्यमाथि हुने गरेको आक्रमण र बेल्जियममा भएका नियमित र उल्लेखनिय साहित्यिक गतिबिधि देखेर साहित्यकार तथा भाषा सेवी नरेन्द्रराज प्रसाईंले “स्रष्टा र डिजिटल वार्ता” पुस्तकका लागि समकालीन डट कममा कृष्ण बजगाईंसँग भन्नु भएको प्रसंग उल्लेखनिय छ –“नेपाली साहित्यको न्याय, निसाफ खोज्न गोरखा जानु भन्दा बेल्जियमतिर नै जानु पर्ला जस्तो छ ।”

(५–९ चैत, २०६६ काठमाण्डौंमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनमा प्रस्तुत कार्यपत्रको संशोधितरुप )

सन्दर्भ सामाग्री:

१. स्रष्टा र डिजिटल वार्ता सन् २०१०, अनेसास अमेरिका

२.समकालीन साहित्य डट कम (www.samakalinsahitya.com) बेल्जियम

३.शब्दाञ्जली २००८ अनेसास, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।