आउनुहोस महासय
मसँग आउनुहोस,
एउटा आदिम समयको
अविश्वासिलो कथा
सुन्नुहोस र अरुलाई सुनाउनुहोस ।
ऐनाको आविस्कार नभएको बेलाको कुरा
आफ्नै छायाँ चिन्न नथालेको बेलाको कुरा
‘म’ राम्रो थियो –
‘म’ मात्र राम्रो थियो त्यो बेला
र ‘तँ’हरु
‘तँ’हरु सबै नराम्रा थिए
किनकी –
‘म’ नदेखिने
‘तँ’हरु मात्र देखिने बेला थियो त्यो ।
हो त्यही बेलाको कथा –
‘म’ को अल्पमत र तँ को बहुमत
तर प्रत्येक पटक
प्रत्येक ‘तँ’ ‘म’ मा रुपान्तर हुन्थ्यो
र प्रत्येक ‘म’ एउटा मात्र हुन्थ्यो
‘तँ’हरु कहिल्यै मिल्दैनथे
र उनीहरु –
‘म’ हरु भएर लडिरहन्थे ।
पानीको आफ्नै छायाँलाई
‘तँ’ ठानेर लड्थे ‘म’हरु
आफुलाई नछाड्ने आफ्नै छायाँलाई
‘तँ’ ठानेर आक्रमण गर्थे महरु
‘म’ र ‘तँ’ कहिल्यै मिल्दैनथे
कहिल्यै कसैले जित्दैनथ्यो त्यो युद्ध
प्रत्येक ‘म’
आफुलाई अपराजित ठान्थ्यो
र लडिरहन्थ्यो
किनकि
‘म’ मात्र राम्रो थियो त्यो बेला
र ‘तँ’हरु सबै नराम्रा थिए ।