14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

वरिष्ठ साहित्यकार तथा समालोचक आनन्ददेव भट्टसँग कुरकानी

वार्ता श्रीओम श्रेष्ठ "रोदन" June 6, 2011, 2:42 am

प्रगतिमुखी जीवनको कलात्मक अनुभूतिका रुपमा साहित्यलाई परिभाषित गर्नुहुन्छ वरिष्ठ साहित्यकार तथा समालोचक आनन्ददेव भट्ट । उहाँ सिर्जनात्मक साहित्यका साथै समालोचनाका क्षेत्रमा विगत छ दशकदेखि समर्पित हुनुहुन्छ ।

वि.सं. २००८ मा साहित्य लेखनको आरम्भ गर्नुका साथै कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभएका भट्टको पहिलो कविता वि. सं. २०१३ मा इन्द्रेणी पत्रिकामा प्रकाशित भएको थियो । उहाँका कविता, काव्य, निबन्ध, समालोचना अनुवाद आदिका बीस कृति प्रकाशित छन् । नेपाली साहित्य, शिक्षा र राजनीतिका त्रिवेणी आनन्ददेव भट्टको जन्म वि.सं. १९९३ साल असोज २५ गते जुम्ला जिल्लाको खलङ्गामा भएको हो ।

1)तपाईको लेखकीय जीवनको प्रारम्भ कसरी भएको थियो ?

मैले आफ्नो ११ वर्षदेखि १३ वर्षको उमेरसम्म पाल्पा, तानसेनमा पद्मोदय पाल्पा पब्लिक हाइस्कुलमा कक्षा ६ देखि कक्षा ८ सम्म पढेको थिएँ । त्यसबेला कविवर माधवप्रसाद देवकोटा हामीलाई नेपाली पढाउनु हुन्थ्यो । उहाँमा साहित्यप्रति विषेश आकर्षण उत्पन्न हुनेगरी पढाउने सिप थियो । त्यही बेलामा तानसेनको टक्सार टोलमा धवल पुस्तकालय खोलिएको थियो । काठमाडौँबाट निस्कने 'आँखा' र दार्जिलिङबाट निस्कने 'भारती' नामको साहित्यिक पत्रिका पनि मैले त्यही देखेको थिएँ । त्यसमा प्रकाशित रचनाले पनि मेरो मन तानेको थियो । त्यसपछि म काठमाडौँ आएर पढ्न थालेँ । त्यहाँका शिक्षकहरू ढकालज्यू र गोपाल पाण्डेले साहित्यसम्बन्धी चाख जगाउनु हुन्थ्यो । त्यसै अवधिमा मैले देवकोटाको मुनामदन पढ्न पाएँ । त्यसले मलाई धेरै गहिरो प्रभाव पार्‍यो र २००८ सालमा चारतारे झण्डा भन्ने शीर्षकमा १०-१५ पेजको कविता पनि लेखेँ । अनि काठमाडौँमा बस्न थालेपछि प्रसिद्ध लेखक कविका साहित्यिक कितावहरू पढ्न थालेँ । यसरी साहित्यमा स्वयम् सचेत, सजग भएर भन्दा आफैँलाई थाहा नभएको एउटा परोक्ष प्रभावबाट साहित्यिक कु्त्कुतीले छोएको अनुभव हुन्छ ।

2)साहित्य र राजनीतिको सम्बन्ध कस्तो हुनुपर्छ र कस्तो भइरहेको ठान्नुहुन्छ ?

संसारमा मानव सभ्यताको विकासको सन्दर्भमा राज्यको उदय भएपछि साहित्य र राजनीति मानव समाजमा दुई विषय हुँदै आएकोले तिनको सम्बन्ध नजिकै छ । तर मूल कुरो मानव समाजमा जे जति भिन्न भिन्न कुरा पाइन्छन्, तिनको आ-आˆनो विशिष्ट प्रकृति र प्रवृत्ति के हो त्यसको ज्ञान प्रत्येक पाठक लेखकलाई हुनुपर्छ र त्यसका आधारमा ती कुरा आपसमा कति समान र असमान हुन् भन्ने बुझेर सम्बन्ध राख्नुपर्छ । जसलाई राजनीति र साहित्य दुवै मनपर्छ तिनका निम्ति दुई विषयको सहकार्यको चर्चा रमणीय लाग्न सक्छ तर जसलाई ती दुई विषय अमिल्दा वा विरोधी लाग्छन् । तिनका निम्ति दुईको सम्बन्ध देखाउनु ठूलो आपत्ति हुन सक्छ ।

साहित्यभित्र जति पनि राजनीति प्रवेश गराउन सकिन्छ तर त्यो स्वाभाविक र सुपाच्य हुनुपर्छ । त्यसै राजनीतिका सन्दर्भमा पनि साहित्यको चर्चा जति पनि गर्न सकिन्छ तर त्यो पनि सान्दर्भिक र स्वीकार्य हुनुपर्छ ।

त्यसैले एउटा साहित्यिक संसारभित्र के कति विषय समावेश गर्न दिने भन्ने जम्मै लेखकको सिप, कला, शैली प्रस्तुति र विभिन्न विषयको प्रकृतिलाई चिनी त्यसमा स्वस्थ र समानुपातिकरूपले समावेश गर्ने खुबीमा भरपर्ने कुरा हो । यसका निम्ति ठूलो साधना, अध्ययन, जागर, धैर्य र परिश्रमको आवश्यकपर्ने हुन्छ ।

3)जहिले पनि व्यवस्था परिवर्तनका लागि स्रष्टाहरू लागेका छन् तर त्यहीअनुरूप सिर्जनामा परिवर्तन हुनसकेको भने पाइँदैन किन होला ?

ठीक हो, प्रत्येक व्यवस्था परिवर्तनका निम्ति धेरै जसो स्रष्टाहरूको योगदान भएको पाइन्छ । उनीहरूमा पनि नयाँ परिवर्तनको चाहना हुन्छ तर नयाँ परिवर्तनपछि सबै स्रष्टाहरूले त्यस अनुरूप सिर्जना गर्नभने सक्दैनन् । कारण प्रस्टै छ- वर्तमान वा यथास्थितिप्रति असन्तुष्ट हुन सजिलो छ तर त्यसको नयाँ विकल्प दिन भित्रैदेखि आफू पनि परिवर्तित हुनु पर्दछ । त्यसैले कुनै पनि समाजमा परिवर्तनको अगुवाई गर्न साँच्चै सफा र दृढ इच्छाशक्ति भएको स्रष्टालाई मात्रै सम्भव हुन्छ । त्यस्ता व्यक्तित्वहरू धेरै थोरै नै हुन्छन् । त्यस बाहेक अर्को एउटा महत्त्वपूर्ण कारण छ - त्यो हो मानिसको एउटा निजी स्वार्थ । जसलाई वर्गीय स्वार्थ पनि भन्न सकिन्छ । नयाँ परिवर्तन हुनुपर्छ भनी अगुवाई गरिसकेपछि आफ्नो अस्तित्वमा साँचो परिवर्तन ल्याउँनै पर्छ । त्यसो गर्दा उसलाई आफ्नो सुख सुविधा, मान, मर्यादामा खति पनि हुन सक्छ । त्यसैले भनिन्छ, मानिसको विचार जति चाँडो बदलिन्छ उसको व्यवहार त्यति चाँडो बदलिन नसक्ने हुनाले क्रान्तिको नेतृत्व गर्नेहरू नै सत्तामा पुगेपछि अर्कोमाथि शोषण गर्ने प्रवृत्ति देखापर्छन् ।

4) शिक्षा, साहित्य र राजनीतिमध्ये कुनमा बढी सामाजिक मूल्याङ्कन भएजस्तो लाग्छ ?

यी तीनै क्षेत्रमा मेरो सामाजिक मूल्याङ्कन झण्डै-झण्डै समान किसिमले भएजस्तो लाग्छ तर अनौठो अनुभव के छ भने २००८ सालमा १५-१६ वर्षको किशोरावस्थादेखि नै माक्र्सवादी दर्शन र विचारको सम्पर्कमा पुगी सोझै राजनीतिमा अग्रसर हुन पुगे । २०१६ सम्ममा मैले उच्च शिक्षा हासिल गर्ने मूल समय परेकाले राजनीति र पढाइ सँगसँगै लैजानु पर्‍यो । त्यसपछि २०१७ देखि कलेजहरूमा प्राध्यापनमा संलग्न भएँ । त्यहीबीच ०१७ साल पुस १ गतेदेखि देशमा निरङ्कुश पञ्चायती राजतन्त्रको उदय भएकोले म तत्कालीन व्यवहारिक राजनीतिबाट स्वतः छुट्न गएँ । त्यसपछि २०४६ सालको आन्दोलन सफल भएपछि २०५० देखि म कम्युनिस्ट राजनीतिमा संलग्न भएँ । आफ्नो पुर्खाको थलो बैतडीमा २०५६ सालसम्म जिल्लामै बसी नेकपा एमालेको राजनीतिक नेतृत्व सहृमाले र त्यहीँबाट विधिवत् बिदा भएँ । यसरी तीन क्षेत्रमध्ये राजनीतिमा सबैभन्दा चर्को चाख भए पनि व्यवहारिकरूपले अरू क्षेत्रलाई छोड्न नसकेकोले झण्डै २१-२२ वर्ष खर्च गरे पनि त्यसक्षेत्रमा जान्नुपर्ने साम, दाम, दण्ड, भेदका अवधारणादेखि सिप, कला व्यवहार कुशलताका धेरै जान्नुपर्ने बाँकी रहेकोले मूल्याङ्कन सबैभन्दा थोरै हुनु स्वभाविकै छ । शिक्षण र शैक्षिक प्रशासनमा मेरो सामाजिक मूल्याङ्कन भएकै छ । यस क्षेत्रको प्राप्तिप्रति मलाई कुनै गुनासो छैन । साहित्यमा पनि जे जति लगन, अध्ययन र साधना गरेको छु, त्यसअनुसार मैले निकै प्रेम र हार्दिकता प्राप्त गरेको छु ।

5) राजनीतिमा निकै सक्रिय हुनुभएको कारण सिर्जनाहरु कत्तिको प्रभावित भएका छन् भन्ने लाग्छ ?

कुनै कार्य गर्दा निश्चित उद्देश्य राखेर गर्न खोज्छ भने त्यो प्रभावकारी हुँदैन तर जुन कुरो उसको मनमा आउँछ, त्यो कुरो उसले स्वतः स्फूर्तरूपमा ल्याउन सक्यो भने त्यो प्रभावकारी हुन्छ । प्रत्येक मानिसको जस्तो जीवन छ, त्यसअनुसारको चिन्तन, मनन र व्यवहार हुन्छ । त्यसको प्रभाव उसको लेखनमा नपरि छोड्दैन । त्यसैले मभित्रको राजनीतिक चेतना र मैले निर्माण गर्न खोजेको साहित्य जति एकअर्काका परिपूरक होलान् तिनले स्वतः मेरो राजनीतिक विचारलाई साहित्यका माध्यमबाट प्रतिनिधित्व गर्लान् तर नक्कलीरूपमा यस्तो विचारको साहित्य पैदा गर्ने भन्ने मनसुवा राखेर मैले साहित्य लेखन गरेझैँ लाग्दैन । म जीवन र चिन्तनमा जतिजति परिपक्वता प्रति अग्रसर हुँदै गएँ त्यति मलाई व्यक्तिको समाजमा पर्ने छापको आधार उसको व्यक्तित्वको निष्ठा, निष्कलङ्कता, सक्कली सेवाभाव र समाजका कुनै पनि अन्याय अत्याचारका विरुद्ध उभिने उसको दृढता हो ।

6) प्रगतिवादको आदर्श के हो ?

प्रगतिवादको उद्देश्य कुनै पनि क्षेत्रमा प्रगतिलाई छेकबार लाउनसक्ने गरी खडा भएको यथास्थिति छ, त्यसलाई विस्थापित गरी वा रूपान्तरित गरी अग्रगमनको निम्ति ढोका खोलिदिनु हो । प्रभृतिको अस्तित्व त्यसको विकासक्रम र ठूलाठूला परिवर्तनलाई हेर्ने हो भने प्रगतिवादको नियम लागू भएको देखिन्छ ।

कुनै नयाँ कुरो अस्तित्वमा आउनासाथ ऊ त्यहाँको परिवेश भित्र पर्छ । त्यस परिवेशका कतिपय कुरा उसको अनुकूल होलान् वा अपरिहार्य पनि त्यस्तै कैयन कुरा बाधक पनि होलान् । सरल किसिमले आफ्नो अनुकूल पार्न सकिने कुरामा द्वन्द्व हुँदैन । बरू आदान प्रदान हुन्छ भनौँ तर जुन कुरासित प्रत्यक्ष टक्कर पर्छ, त्योसित सामना नगरी हुँदैन । दुवैको बीचमा सङ्घर्ष हुँदा जो प्रवल हुन्छ ऊ अगाडि बढ्छ र अर्को पछाडि पर्छ । प्रगतिवादी विचारले पनि त्यही सत्यलाई स्वीकारी आफ्नो अनुकूलतालाई बढाउने र प्रतिकूलतालाई घटाउने नियमअनुसार गति लिने हो ।

त्यसैले द्वन्द्व त सबै अस्तित्वको नियम नै हो । त्यसलाई सकारात्मक रूपमा लिएमा आदान-प्रदानको माध्यमबाट विस्तारै अघि बढ्न सकिन्छ । होइन एउटा वा अर्कोले मेरो गोरुको बाह्रै टक्का भन्ने हो भने त्यहाँ बेगका साथ द्वन्द्व हुन सक्छ ।

7) किन वामपन्थी विचार राख्नेहरुमात्र प्रगतिवादका कुरा गर्छन् ?

वामपन्थी इतर विचार राख्नेहरूमध्ये प्रगतिवादको आधारभूत माध्यता राख्नेहरूलाई सार्वभौम कुराको रूपमा नलिएर सीमित वा आङ्गिक कुराको रूपमा लिन्छन् । उनीहरूसित प्रगतिवादीहरूको कुरा मिल्दैन । अनि प्रत्येकले आफ्नो कुरालाई एक किसिमले बुझेर यस्तो दृष्टिकोण दिन्छन् र अनि वादको जन्म हुन्छ, जब कुनै अमूक विचारलाई एकथरि मानिसले बारम्बार प्रयोग गर्छन् र अरूलाई ती भन्दा फरक विचारका मानिसलाई त्यो वाद अर्काको मात्र जस्तो लाग्दछ ।

8) अहिलेको समयमा प्रगतिशील साहित्यको स्थितिलाई कसरी हेर्नु भएको छ ?

नेपालमा प्रगतिशील साहित्यको वैचारिक धरातल २००६ सालदेखि खडा भयो । त्यसको साङ्ग्ाठनिकरूपमा यसले २००८ सालमा स्थापित भयो वीरगञ्जबाट, श्यामप्रसाद शर्माको अगुवाइमा । यसरी नेपालको कम्युनिस्ट आन्दोलन र नेपालको प्रगतिशील साहित्यको आन्दोलन व्यापकरूपमा भन्दा एक प्रकारले सामानान्तररूपमा सँगसँगै बढिरहेको छ । अहिले साहित्यिक आन्दोलनले ६० वर्षमा प्रवेश गरेको छ । २००८ सालदेखि प्रगतिशील साहित्यले देशको प्रजातान्त्रिक वातावरणमा स्वतःस्फूर्त वैचारिक प्रतिस्पर्धा गर्दै जान पायो तर ०१७ सालदेखि ०४६ सम्मका तीन दशक सबै किसिमका प्रतिबन्धका दशक भएकाले धेरै उकुसमुकुसबाट अघि बढ्नु पर्‍यो । त्यसपछि प्रगतिवादी साहित्य र प्रजातन्त्रवादी साहित्यबीच राम्रो स्वस्थ प्रतिस्पर्धा भएकोले एकथरीले अर्कोथरीको वास्तविक महत्त्व र गरिमालाई इन्कार नगर्ने मात्र होइन तिनलाई बराबरीका आधारमा स्वीकार गर्ने प्रवृत्तिको विकास भयो । अहिले नेपालको प्रगतिशील साहित्यको स्थिति प्रजातान्त्रिक साहित्यसित जोडतोडले प्रतिस्पर्धा गर्ने स्थितिमा आइपुगेको छ । माओवादीको १० वर्षे जनयुद्धको अवधिमा जेजति प्रगतिशिल साहित्य सिर्जना भएका छन्, तिनले पनि हाम्रो साहित्य भण्डारमा नयाँ आयाम थप्दै जानेछन् ।

9) वामपन्थीहरु साहित्यमा भएका प्रयोग र वादहरुलाई किन सहज स्वीकार्दैनन् ?

सबै बामपन्थीहरू साहित्यमा भएका सबै प्रयोगलाई अस्वीकार गर्ने त पक्कै हुँदैनन् तर वादका विषयमा भने बढी अस्वीकार गर्ने सम्भावना हुन सक्छ । कारण के भने वाद, दर्शन, दृष्टिकोण आधारभूत विचारसित सम्बन्धित हुने हुँदा त्यहाँ विचार विविधताको अत्याधिकताले गर्दा विरोधको बढी गुञ्जायस हुनसक्छ तर प्रयोगचाहिँ विचारको विषय नभई सिप, कला, प्रविधि आदिको विषय बढी भएकोले त्यसमा दुरुहता, अस्पष्टता, वास्तविकतासितको वेमेल बोध, अभद्र, छाडावादी प्रयोगजस्ता विधिका कारणले विरोध हुनसक्छ ।

अर्को एउटा सत्य के पनि हुनसक्छ भने आजको कुनै एउटा प्रयोग आजका पाठक, लेखकमात्र होइन समीक्षक, समालोचकलाई पनि अश्लील अपि्रय वा अस्पष्ट लागे त्यो आलोच्य हुँदो रहेछ । त्यसैले माथिको प्रश्नमा उठाइएको कुरालाई सार्वभौम नभई व्यक्ति व्यक्ति पिच्छे फरक किसिमले लिइनु उचित हुनेछ । फेरि व्यक्तिहरूको मानसिक बनोटको पनि कहिले काहीँ धेरै नै फरक फरकलाग्दो रहेछ । कोही अलि साँघुरो दृष्टिका चिन्तनका हुन्छन् भने कोही चाहिँ तुलनात्मकरूपले निकै उदार ।

10) वर्तमान नेपाली साहित्यको सबैभन्दा सशक्त पक्ष के ठान्नुहुन्छ ?

नेपाली साहित्यको सबभन्दा सशक्तपक्ष काव्यात्मक चेत हो भन्ने लाग्छ । विक्रमको २० औँ शताब्दीको तेस्रो दशकदेखि चम्केको काव्यधारा यसको अन्तिम दशकमा आइपुग्दा झन् बेजोडले अग्रगति लिँदै गयो । अनि विक्रमको २१ औँ शताब्दीमा यसले अझ आधुनिकतम् चेतना र गद्यकविताको प्रवाहका साथ मौलाउँदै गयो । २१ औँ शताब्दीको तेस्रो शतकदेखि यसले पञ्चायति निरङ्कुश तन्त्र मुन्तिर रूप र शैली दुवैबाट जनमानसको आवाजलाई अभिव्यक्त गर्दै गयो र त्यसपछि २०४६ उप्रान्तको दशकदेखि अनेक उल्लास र सौन्दर्यका साथ अगाडि बढ्दै गयो ।

11) कमजोर नि ?

कमजोर पक्ष चाहिँ नाट्य पक्ष नै मान्नु पर्छ । यस क्षेत्रमा पनि अहिले जे जस्तो नयाँ प्रयोग र अभ्यास हुँदै आएका छन्, त्यसले अरू धेरै प्रतिभालाई पनि जन्माएर सर्वसाधारण जनताको आकर्षण र आस्थालाई पनि उँचालेको छ ।

12) आफ्नो साहित्यिक यात्रालाई फर्केर हेर्दा कत्ति मूल्याङ्कन भएको ठान्नु भएको छ ?

इमान्दारीपूर्वक भन्ने हो भने मेरो गुणात्मक र सङ्ख्यात्मक साहित्यिक उत्पादनलाई साधनाको परिणाम भन्नुभन्दा हठात् प्राप्त उमङ्ग, र भावनाको धक्काबाट भएका सिर्जना भन्नु ठीक हुन्छ झैँ लाग्छ । किनभने साधनामा डुब्दा साहित्यकारमा एउटा यस्तो गहिरो र गम्भीर उत्तरदायित्वपूर्ण चेतना हुन्छ, जसले आफ्नो सुनिश्चित कुनै महान् लक्ष्य र कर्तव्य प्राप्त गर्नका लागि त्यस व्यक्तिलाई तनमन र धनले अहोरात्र लगनशीलतापूर्वक साधनामा लागिरहने तुल्याउँछ तर मेरो काम गराइमा त्यो निरन्तरता सघन प्रयत्न र गुणात्मक उपलब्धि नै धेरै पाइन्न । त्यसैले मबाट सिर्जना भएका साहित्यमा महìवकाङ्क्षाको भोकले धेरै भूमिका खेलेको देखिन्छ कि जस्तो लाग्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।