14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सौलको झरीमा नेपाली केटो

कविता नारायण श्रेष्ठ June 7, 2011, 9:42 am

कुहिरोको रापले घरहरुका छानामाथि गुँड जमाउँदा

हान नदी किनारमा तैरिरहने पानीहाँसमाथि

बाक्लो बर्षे झरीले चुट्दा

आधुनिकता र गतिको सिमानालाई यति नजिकबाट हेर्ने रहर जागेर आउँछ

कि मेरो जिन्दगी

फलाम काटेर आधा दिन काट्दा पनि मलाई

फेरि एकपटक बाँचेर हेर्ने रहर जागेर आउँछ

दुख मेरै देशबाट बोकेर आएको छु

घृणाले शरिरभरि छोपेको छु

के लाजको कुरा,

रातभर र दिनभर प्mयाक्ट्रिका मेसिन उचाल्दा

खेतको गह्रा गह्रामा कोदाली उचाल्दा

हिउँदको चिसो ठिही ­

जो कर्याङकुरुङले पनि बोकि नसक्ने

साईवेरियाली मैदानबाट बगेर आउँछ,

मेरै देशमा बाटो नदेख्नेगरि हण्डर खाएको म

यो झरीको पानीमा,

कुहिरोको रापमा

आधुनिकताको उभारमा

बल्ल बल्ल जिएको छु जहानको माया र केटाकेटीको प्यारमा

यो बाध्यता हो

जसरी पनि मलाई हिंड्नु छ आजको साँझ

यसैगरी नदी किनारमा हिंडिरहेका साँझका मानिसहरु जसरी

यिनीहरु प्यारले हिडेका छन हातमा हात समाउँदै

म हिंडिरहेको छु

जिन्दगीलाई एकफेर बाँचेर हेर्ने तिर्खामा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।