14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उपन्यासकार भीम दाहालको 'द्रोह' उपन्यासको विश्लेषण

कृति/समीक्षा लीला लुइटेल June 7, 2011, 10:00 am
लीला लुइटेल
लीला लुइटेल

१. भीम दाहालको परिचय

भीम दाहालको जन्म सन् १९५४ नोभेम्बर २९ मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने ठाउँमा भएको हो । यिनले बी.ए. अनर्स सम्मको शिक्षा हासिल गरेका छन् भने पत्रकारितामा पिजी गरेका छन् । सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन् । रेबुङला सब डिभिजनल अफिसरको जिम्मेवारी बहन गर्दै १९९६ मा लोकसभाका सदस्य पनि भएका दाहाल हाल सिक्किम डेमोक्रेटिक फन्टको उपसभापतिको रुपमा सक्रिय छन् ।

राजनीति, सम्पादन, प्रशासनिक क्षेत्रमा संलग्न भीम दाहाल एक कुशल साहित्यकार पनि हुन् । नेपाली साहित्यका विविध विधामा कलम चलाएका दाहालका हालसम्म निम्नलिखित पुस्तकाकार कृति प्रकाशित छन् :

उपन्यास : अभीष्टको खोज (सन् १९९२),

द्रोह (सन् २००२),

विद्रोह (सन् २००५) ।

कथा सङ्ग्रह : मेरो मनको साइनो तिम्रो मनलाई (सन् १९९२) ।

कविता सङ्ग्रह : समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति (सन् १९९७),

रगतको हस्ताक्षर (सन् २०००) ।

विविध : विचार, क्रान्ति र परिवर्तन ।

आफ्नो साहित्यिक योगदानका लागि भीम दाहाल हालसम्म स्रष्टा पुरस्कार (१९८६), आशारानी निर्माण पुरस्कार (२००३), साहित्य अकादेमी पुरस्कार (२००६), भानु पुरस्कार (२००७) जस्ता विभिन्न पुरस्कारद्वारा पुरस्कृत भएका छन् । यसका साथै यिनी विभिन्न सङ्घसंस्थाबाट सम्मानित एवं अभिनन्दित पनि भएका छन् । यिनका औपन्यासिक प्रवृत्ति केलाउँदै यिनको द्रोह उपन्यासको विश्लेषण गर्नु यस लेखको अभीष्ट रहेको छ ।

२. भीम दाहालका औपन्यासिक प्रवृत्ति

सिक्किममा रहेर नेपाली साहित्यकाका कविता, कथा, उपन्यास आदि विभिन्न विधामा कलम चलाएका भीम दाहालका तीनवटा उपन्यास प्रकाशित छन् । यी सबै उपन्यास मूलतः प्रगतिवादी चिन्तनमा आधारित रहेकाले यिनका औपन्यासिक यात्राको चरण विभाजन हुने स्थिति देखिन्न । आपूm बाँचेको र आपूmले भोगेको युगमा व्याप्त विवृmति–विसङ्गति र अनैतिकतालाई चिरफार गरेर प्रस्तुत गर्नसक्ने निडर, निर्भीक एवं आँटी आख्यानकारका रूपमा लिन सकिने भीम दाहालका औपन्यासिक प्रवृत्तिहरू निम्नलिखित छन् ः

(१) भीम दाहाल घटनाप्रधान उपन्यासकार हुन् । यिनका उपन्यासमा अनेकौँ घटनाको प्रस्तुति पाइन्छ र तिनै घटनाले पात्रलाई गतिमान बनाएका छन् । यिनका उपन्यासमा घटनाहरूको विन्यास व्यतिक्रमिक रूपमा नभएर क्रमिक रूपमा भएको छ ।

(२) दाहाल समाजवादी यथार्थवादी÷प्रगतिवादी उपन्यासकार हुन् । प्रगतिवादी विचारका रूपमा यिनले आफ््ना उपन्यासहरूमा वर्ग सङ्घर्ष र शोषणको अन्त्य, रूढिवादी संस्कार तथा परम्परागत मूल्यमान्यताको विरोध र रूढिमुक्त समाजको समाजको स्थापना, जातीय भेदभावको विरोध र अन्र्तजातीय सम्बन्धको स्थापना, शोषक र शोषणको विरोध तथा शोषितको उत्थान हुने शोषणरहित समाजको सिर्जना आदि धारणाहरूलाई व्यक्त गरेका छन् । समाजवादी यथार्थ अर्थात् प्रगतिवादी दृष्टिकोणको प्रस्तुति सचेत र प्रतिबद्ध ढङ्गबाट गरिएका यिनका उपन्यासहरू प्रगतिवादी विचारधाराको प्रयोगस्थल बनेका छन् ।

(३) दाहाल विचारप्रधान उपन्यासकार हुन् । यिनले आप्mना उपन्यासमा कम्युनिस्ट सिद्धान्तबाट प्रभावित विचारहरू प्रकट गरेका छन् । विचारप्रधान भएकाले यिनका उपन्यासहरू शिल्प र कलाको दृष्टिबाट भन्दा विचारको प्रस्तुतिका दृष्टिबाट बढी गहन देखिन्छन् । वैचारिक प्रस्तुतिका दृष्टिले यिनका उपन्यास धनात्मक देखिए पनि औपन्यासिकताका दृष्टिले ऋणात्मक रहेका छन् । विचारको प्रस्तुतिकै कारण यिनका उपन्यासमा कथानकको गति र बनोट जटिल पनि बन्नपुगेका देखिन्छन् ।

(४) दाहाल द्वन्द्ववादी उपन्यासकार हुन् । यिनका उपन्यासमा शोषक र शोषितका बीच, शासक र शासितका बीच, तथाकथित तल्लो र माथिल्लो जातिका बीच हुने वर्गीय द्वन्दको विधान गरिएको छ । यिनले आप्mना उपन्यासमा द्वन्द्वका माध्यमद्वारा पात्रहरूलाई सङ्घर्षरत देखाएर जीवन्त बनाई कथानकलाई अगि बढाएका छन् । यिनका उपन्यासमा आन्तरिक द्वन्द्वको छिटफुट प्रस्तुति पाइए पनि बाह्य द्वन्द्व बढी प्रखर भएर देखापरेको छ ।

(५) दाहाल सुधारवादी उपन्यासकार हुन् । यिनले समाजमा जागरण ल्याई सुधारको चाहना राखेका छन् । सामाजिक अन्धपरम्परा, शोषणवृत्ति, वmुसंस्कार, पछौटेपन, साम्प्रदायिकता आदिलाई हटाएर जागरुक समाजको निर्माण गर्ने चाहना राखिएका यिनका उपन्यासमा व्यक्तिको सङ्घर्षशील क्षमतालाई ज्यादै महत्वपूर्ण वmुरा ठानिएको छ । यिनी वर्ग सङ्घर्षबाट समाजमा सुधार ल्याउने पक्षका अनुयायी देखिन्छन् । भ्रष्टाचारमा रोक, विजातीय विवाहद्वारा समन्वय, आडम्बररहित जीवनद्वारा सरलता, समानता र स्वतन्त्रताद्वारा अन्याय अत्याचारको समाप्ति, नारीप्रति समान सामाजिक व्यवहारद्वारा विभिन्न क्षेत्रमा सुधार एवं परिवर्तन गर्न सकिन्छ भन्ने यिनको दृष्टिकोण छ । यिनका सुधारवादको लक्ष्य स्वस्थ तथा न्यायपूर्ण समाजको सिर्जना रहेको देखिन्छ ।

(६) दाहाल समस्यासमाधानमुखी उपन्यासकार हुन् । यिनले सामाजिक, राजनैतिक, आर्थिक आदि विविध प्रकारका समस्याहरूलाई खोज्ने, नङ्ग्याउने र तिनको समाधान पहिल्याउने प्रयास गरेका छन् । उपन्यासकार दाहालले वर्ग सङ्घर्षद्वारा शोषणको अन्त्य गर्ने, प्रगतिशील विचारका माध्यमबाट सामाजिक अन्धता र वmुरीति हटाउने, सामाजिक, आर्थिक समानताद्वारा स्वच्छ समाजको निर्माण गर्ने, समाजलाई रूढिमुक्त तुल्याएर नारी जागरण र मुक्ति ल्याउने समाधानतर्पm सङ्केत गरेका छन् ।

(७) दाहाल अधिक पात्रको प्रयोग गर्ने उपन्यासकार हुन् । विभिन्न वर्गका बहुल पात्रहरूको प्रयोग पाइने यिनका उपन्यासमा विशेष गरी निम्नवर्गीय सहभागीको बाहुल्य रहेको छ । यिनी व्यक्तिभन्दा वर्गीय पात्रको सिर्जना गर्न रुचाउने उपन्यासकार भएकाले यिनका उपन्यासमा चरित्रचित्रणको सूक्ष्मताभन्दा घटनाको वर्णन बढी पाइन्छ । विशेष सहानुभूतिका साथ किसान, भरिया, सुकुम्बासी आदि निम्न वर्गीय सहभागीहरूको प्रयोग पाइने यिनका उपन्यासमा अनुवूmल पात्रको कम र प्रतिवूmल पात्रको बढी वर्णन पाइन्छ ।

(८) दाहाल स्थानीयताको दिग्दर्शन गर्ने उपन्यासकार हुन् । यिनका उपन्यासमा मुख्यतः सिक्किमको स्थानीय रङ्ग र आञ्चलिकताको प्रस्तुति पाइन्छ । आप्mना उपन्यासका माध्यमबाट यिनले सिक्किमको रहनसहन, चालचलन, वेषभूषा, बोलीचाली, परम्परित सामाजिक संस्कार, शैक्षिक स्तर, राजनैतिक परिस्थिति, जीवन चेतनाका साथै स्थानीय प्रवृmतिको पनि चित्रण गरेका छन् । यिनका उपन्यासहरू सिक्किमेली नेपाली ग्रामीण जीवनका यथार्थ चित्र हुन् ।

(९) दाहाल कथ्य भाषाको प्रयोग गर्ने उपन्यासकार हुन् । सिक्किमको ग्रामीण समाजमा बोलिने कथ्य नेपाली भाषाको प्रयोग यिनका उपन्यासमा भएको छ । पुराण, इतिहास, राजनीति, दर्शन आदिसँग सम्बद्ध बिम्ब र प्रतीक प्रशस्त प्रयोग गरिएकाले यिनका उपन्यासमा साधारण पाठकका लागि बोधगम्य र सहज पठनीय छैनन् । यिनका उपन्यासमा प्रयुक्त बिम्ब र प्रतीकहरू कतैकतै सङ्गतिहीन र कतैकतै त्रुटिपूर्ण पनि देखिन्छन् । विश्वइतिहास, दर्शन, राजनीति आदि विविध सन्दर्भहरू प्रस्तुत गरिएका यिनका उपन्यास औपन्यासिक कृतिभन्दा बढी कुनै दार्शनिक, इतिहासकार र विज्ञानवेत्ताको भाषणजस्ता लाग्छन् ।

३. द्रोह उपन्यासको विश्लेषण

तीनवटा उपन्यासको सिर्जना गरी भारतीय नेपाली साहित्यको इतिहासमा प्रगतिवादी उपन्यासकारका रूपमा आफ्नो स्थान सुरक्षित गरेका भीम दाहालको द्रोह दोस्रो उपन्यास हो । यहाँ विभिन्न कोणबाट यस उपन्यासको विश्लेषण गरिन्छ ः

१. शिल्पसंरचना

लामा छोटा २४ भाग वा परिच्छेदमा संरचित भीम दाहालको द्रोह उपन्यास २२० पृष्ठमा आबद्ध रहेको छ । यसका प्रत्येक परिच्छेदलाई बेग्लाबेग्लै शीर्षक दिइएको छ । ती यस प्रकार छन् ः

१. प्रवेश २. सुबेदार्नी आमा

३. कैजरबहादुर सुतार ४. मुन्नाको अव्यक्त वेदना

५. द्रोह ६. सुबेदार, लेखलाल र जिल्लारामलाई आलूदम पूरी

७. मानक चन्द मनीष ः मनीषा गुरुमा ८. रामलाल भट्टराईको ‘हाउस एरेस्ट’

९. विचारलालको विद्रोह १०. कहिले लेला, कहिले देला कानूनले

११. काँचो रगत १२. एक अञ्जुली माटो

१३. एल. बी. के. सी. राई १४. रूपान्तरण

१५. नम्बर एकाउन्नको भाउन्न १६. डैमोक्रैसी

१७. मुसदन्डे र गुलबदन १८. प्रतिभा

१९. मिलन समाजको नानी २०. मानक र मनीषको दुखान्त

२१. सङ्घर्ष र द्रोहको बन्धन २२. ढकालको घटमा नारायण

२३. धर्म र समाजलाई नम्बर १७ लाग्यो २४. विचारलालले थालजस्तो टाइ लाउन नपाउने भयो

२५. कैजरबहादुर सुतारको आत्महत्या

माथि उल्लेख गरिएका अधिकांश शीर्षकहरू सहभागीको नामसँग सम्बद्ध छन् र ती शीर्षकबाटै सम्बन्धित परिच्छेदमा वर्णित कथ्यको अनुमान लगाउन सकिने स्थिति छ । उपन्यासका परिच्छेदहरू बेग्लाबेग्लै शीर्षकमा भए पनि ती स्वतन्त्र रूपका संरचनाजस्तो नभएर कथानकको क्रमिकताका साथ प्रस्तुत भएकाले कथावस्तुको क्रम भङ्ग नभई तिनका बीच अन्विति रहेको छ । एउटै शीर्षकको परिच्छेदमा प्रसङ्ग परिवर्तनको स्थितिमा कुनै पनि प्रकारको चिह्न वा सङ्केतको प्रयोग गरिएको छैन, अनुच्छेद मात्र परिवर्तन गरिएको छ । यसरी बेग्लाबेग्लै शीर्षक दिइए पनि कथालाई एउटै सूत्रमा उनेर क्रमिकताका साथ प्रस्तुत गरी औपन्यासिक स्वरूप प्रदान गर्नु उपन्यासकार भीम दाहालको द्रोह उपन्यासमा पाइने शिल्पसंरचनागत वैशिष्ट्य हो ।

२. कथावस्तु

सामाजिक–राजनैतिक विषयवस्तुमा आधारित द्रोह शीर्षक उपन्यासको मूल कथावस्तु यस्तो छ ः

द्रोह उपन्यासमा राजतन्त्र समाप्त भएर प्रजातन्त्रोत्तर सिक्किमका सामाजिक, राजनैतिक, प्रशासनिक, शैक्षिक आदि क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिको सर्वाङ्ग नाङ्गो चित्र खिचिएको छ । भारतको सिक्किममा राजतन्त्रको समाप्ति भएर जनतन्त्र आएको धेरै समय भएको छैन । सिक्किम राज्यमा पर्ने रिधाङ बोजेक भन्ने क्षेत्र दार्जिलिङको नजिकै पर्छ । यस क्षेत्रबाट विधायकका रूपमा विचारलाल धिताल चुनिएको छ । पहिले पुरेत्याइँ गरेर हिँड्ने विचारलाल विधायक भएपछि कसैलाई नगन्ने भएको छ । उसले आफ्नो नाम पनि विचारलाल धितालबाट बी.एल्.डी. मा परिवर्तन गरेको छ । गाउँकै शोषक, अन्यायी, दुराचारी कैजरेलाई हातमा लिएर ऊ सोझा निमुखा गाउँलेहरूप्रति अन्याय–अत्याचार गर्न थाल्छ । यसमा सुँगुर र गोरुको सुकुटी खाने र घरमा सत्यनारायणको पाठ लगाउने तथा समाजवादी दलमा लागेर देवीदेवता पुकार्ने विचारलाल, प्रेमिका मनीषाको काखमा सुतेर जेठी स्वास्नी गुलबदनको नाम जप्ने मानक मनीष हेडमास्टर, घरमा पालेका नोकर्नीहरूका साथै आफ्नै बुहारी पनि बाँकी नराख्ने कैजरे, साधुका पछि लागेर हिँड्ने कैजरेकी बुहारी, प्रशासनिक कर्मचारी एवं पुलिसका दुराचार आदि सबका माध्यमबाट विसङ्गतिलाई चिरफार गरेर देखाउने प्रयास गरिएको छ । गाउँमा निमुखा जनताको सहयोगका लागि भनेर मिलन समाज खोलिएको छ । यसमा केशरे दमाई र राममाया बाहुनीको भावी सन्तानलाई स्वीकार्ने घोषणा गरेर जातीयताका विरुद्धमा एक पाइलो अगि बढाइएको छ । मिलन समाजको यस निर्णयको विरोधमा धर्मसभाबाट उनीहरूलाई जातबाट झार्ने काम हुन्छ । यस्तैयस्ता विकृति र विसङ्गतिका बीचबाट अगि बढेको यस उपन्यासमा अन्त्यमा विचारलाललाई पाखा लगाएर पार्टीले कैजरेलाई चुनावको टिकट दिएपछि आक्रोशित जनताले कैजरेलाई झुन्ड्याइदिन्छन् । चुनावको बेला भएकाले यस घटनालाई प्रशासनले ढाकछोप गरी आत्महत्या घोषणा गर्छ । यस्ता अनेक विसङ्गत घटनावर्णनका साथ रविरत्न अध्ययनका लागि दार्जिलिङ गएपछि उपन्यासको अन्त्य भएको छ ।

प्रस्तुत उपन्यासमा सिक्किमको छिमेकी राज्य पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङबाट उपन्यासकार अत्यन्त प्रभावित रहेको देखिन्छ । ‘पहाडकी रानी’ भनेर चिनिने दार्जिलिङको भौगोलिक, सामाजिक–सांस्कृतिक, आर्थिक, शैक्षिक आदि विविध सन्दर्भबाट दार्जिलिङका सकारात्मक पाटाहरूको प्रशंसा गरिएको यस उपन्यासमा अहिले पहाड अर्थात् दार्जिलिङप्रति मैदान र त्यहाँका सोझा निमुखा नेपालीजातिप्रति अन्य जातिले गरेको अन्याय–अत्याचारप्रति व्यङ्ग्य प्रहार गरिएको छ । यसमा मानक मनीषका माध्यमबाट विहारी राजनीतिप्रति व्यङ्ग्य हानिएको छ भने नेपालको झापा क्षेत्रमा व्याप्त विसङ्गति र विकृतिको चित्रण पनि गरिएको छ । बा≈य द्वन्द्वको सघन प्रस्तुति पाइने यस उपन्यासमा विचारलाल र कैजरे तथा सोझा निमुखा गाउँलेका बीचको द्वन्द्वलाई महत्वका साथ प्रस्तुत गरिएको छ । यस द्वन्द्वमा विचारलाल एवं कैजरेको हार भएर सोझा निमुखा जनताको विजय देखाइएको यो द्वन्द्व व्यक्तिगत नभएर वर्गीय द्वन्द्व हो ।

द्रोह उपन्यासमा कथानकको विन्यास आदि, मध्य र अन्त्यका क्रममा क्रमिक रूपले भएको छ । प्रवेशदेखि मुन्नाको अव्यक्त वेदनासम्मका सुरुका परिच्छेदहरूमा सहभागीको परिचय दिइएको छ । यिनलाई यस उपन्यासको आदि भागका रूपमा लिनसकिन्छ । विचारलालको ज्यादती र कैजरेको अत्याचार बढ्दै जानु, केशरे दमाईंको मृत्यु हुनु र उसको गर्भ बोकेकी बाहुनी राममाया अलपत्र पर्नु, हेडमास्टर मानक मनीषको हत्या हुनुजस्ता प्रसङ्गहरूको वर्णन उपन्यासको मध्य भाग हो । दुष्ट कैजरेलाई पार्टीले टिकट दिनु र गाउँलेहरू मिलेर कैजरेको हत्या गरेको देखाउँदै अकस्मात् देखापरेकी नारी पात्र प्रतिभाको पनि मृत्यु भएको जानकारी दिनु उपन्यासको अन्त्य भाग हो । प्रेमप्रसङ्गको उल्लेख नभएको र विचारको सघन प्रस्तुति पाइने यस उपन्यासमा घटना वर्णनमा प्रायः एकरूपता र स्वाभाविकता पाइन्छ । अधिकांश ठाउँमा विविध विषयमा उपन्यासकारका विचार विविध प्रकारका सहभागीका माध्यमबाट अभिव्यक्त भएका छन् । सिक्किमेली जनजीवनका अँध्यारा पाटाहरूलाई प्रस्तुत गरिएको यस उपन्यासको केहीकेही प्रसङ्गहरू अस्वाभाविकजस्ता लागे पनि अधिकांश प्रसङ्गहरू स्वाभाविक नै देखिन्छन् । समग्रतः उपन्यासका कथानकको विन्यास र व्यवस्थापन क्रमिक एवं व्यवस्थित रहेकाले उपन्यास सहज पठनीय बन्नपुगेको छ ।

३. सहभागी

द्रोह बहुपात्रीय उपन्यास हो । यस उपन्यासमा सिक्किमको रिधाङ बोजेक क्षेत्रमा बसोबास गर्ने विभिन्न उमेर, जाति, वर्ग एवं स्तरका सहभागीको प्रयोग गरिएको छ । यस उपन्यासमा कैजरे, विचारलाल, रविरत्न, सुबेदार, केशरे, मानक मनीष चन्द, कुमार स्याङदेन, धूलपूजे, जिल्लाराम, एल. एम. बी. के. आदि पुरुष सहभागी तथा मुन्ना, सुबेदार्नी, मनीषा, राममाया, प्रतिभा आदि नारी सहभागीको प्रयोग पाइन्छ । तीमध्ये उल्लेख्य भूमिका रहेका पुरुष तथा नारी सहभागीहरूको चरित्रचित्रण तल दिइन्छ ः

(१) कैजरे

कैजरेको पूरा नाम कैजरबहादुर सुतार हो । कैजरे बोल्दा सर्पजस्तो स्याँकस्याँक गर्ने र हाँस्दा रोएजस्तो देखिने, कर्मकाण्ड गराएको बाहुनलाई पनि धेरै दक्षिणा दिएको भनेर प्रचार गर्ने तर उचित दक्षिणा नदिने खलपात्र हो । उसलाई गाउँलेहरू घृणा गरेर कैजरे भन्ने गर्छन् तर अर्काे गाउँमा गएपछि ऊ आपूmलाई कैजरबहादुर नभएर के. बी. कार्कीको नाममा चिनाउँछ । बोलेको कुरा कहिल्यै पूरा नगर्ने र गरेको काम कसैलाई नभन्ने प्रवृत्तिको कैजरे सामन्तीका साथै नरभक्षी पनि हो । आपूmले राखेका गोठालाहरूलाई तलब दिने समयमा ऊ कुटेर खेद्छ । ऊ घरमा स्वास्नी हुँदाहुँदै गरिबका चेलीबेटीलाई बलात्कार गर्ने तथा आफ्नै बुहारीलाई पनि नछाड्ने अधम पात्र हो । घरमा राखेका नोकर्नीहरू गर्भवती भएपछि तिनलाई रुखमा झुन्ड्याउन पनि ऊ पछि पर्दैन । ऊ मान्छेलाई मात्र नभएर पशुलाई समेत बलात्कार गर्न पछि नहट्ने नरपशु हो । महाभारतको शकुनिजस्तो कैजरे राजनीतिमा पनि सक्रिय छ । ऊ गरिबलाई मासुभात खुवाएर आफ्नो पक्षको उम्मेदवारलाई भोट माग्न सिपालु छ । उसको शोषण पराकाष्ठामा पुगेका बेला पार्टीले उसैलाई टिकट दिएको हुनाले गाउँलेहरूको मिलेमतोमा झुन्ड्याएर उसको हत्या गरिन्छ र त्यसलाई आत्महत्या ठह¥याइन्छ । समग्रमा ऊ प्रतिकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध प्रमुख पुरुष पात्र हो ।

(२) विचारलाल

पहिले पुरेत्याइँ पेसा भएको विचारलाल पछि विधायक भएको छ । कान्छी बिहे गरेपछि चार सन्तानकी आमा जेठी स्वास्नीलाई ऊ वास्तै गर्दैन । ऊ अशिक्षित हुनाका साथै मूर्ख एवं स्वाँठ पनि छ । आपूmलाई ज्ञान नभएका विषयमा पनि जान्ने हुन खोज्दा इज्जत खुस्केको पनि थाहा पाउँदैन । सधँै धक्कु लगाएर मात्र कुरा गर्ने विचारलाल दोधारे कुरा गर्न पनि सिपालु छ । समाजवादी दलमा लागेर देवीदेवता पुकार्ने परस्पर विरोधी चरित्र भएको विचारलाल विवेक र मानवीय संवेदना नभएको अनुशासनहीन दुष्ट सहभागी हो । समग्रमा ऊ प्रतिकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध प्रमुख पुरुष पात्रका रूपमा यस उपन्यासमा देखापरेको छ ।

(३) मुन्ना

स्थानीय पाठशालामा आठौँ श्रेणीसम्म पढेकी मुन्ना साधारण घरकी कान्छी छोरी हो । नेवारकी छोरी भए पनि नेवारी संस्कार नपाएकी ऊ मनभरि वेदना बोकेर बाहिर हाँसीहाँसी हिँड्न सक्ने सहभागी हो । १४–१५ वर्षकै उमेरमा बलात्कारको पीडा भोग्न बाध्य मुन्ना आफ्ना वेदनालाई बा≈य रूपमा प्रकट नगरी रातमा आँसुद्वारा पखाल्छे । ऊ दार्जिलिङको कुनै ठाउँबाट आएर सिक्किमको रिधाङ बोजेकमा दोकान खोलेर बसेकी छे । अरूको दुखलाई आफ्नै सम्झने ऊ भावुक र संवेदनशील हुँदाहुँदै पनि अत्याचार सहन नसक्ने, न्यायको पक्षमा आवाज बुलन्द गर्दै गाउँका ठालुहरूलाई चुनौती दिनसक्ने साहसी नारी हो । परिस्थिति बुझ्नसक्ने क्षमता भएकी मुन्ना व्यङ्ग्य प्रहार गर्न पनि निकै सिपालु छे । मिलन समाजको सक्रिय सदस्य मुन्ना जातीय प्रथाको विरोधमा आवाज बुलन्द गर्छे र केशरे दमाईं र राममाया बाहुनीबाट जन्मने सन्तानलाई मिलन समाजले संरक्षण गर्ने कुरामा पनि ऊ सबैलाई विश्वास दिलाउँछे । समग्रमा ऊ अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध प्रमुख नारी पात्रका रूपमा यस उपन्यासमा चित्रित छ ।

(४) रविरत्न

सुबेदार र सुबेदार्नीको छोरो रविरत्न तिक्खर दिमाग भएको इमानदार व्यक्ति हो । ऊ अल्पभाषी, गम्भीर एवं भावुुक भए पनि कमजोर व्यक्तिचाहिँ होइन । विद्रोह र सङ्घर्षको नेतृत्व लिनसक्ने क्षमता भएको शिक्षित रविरत्नलाई विशेष भूमिका नहुँदानहुँदै पनि उपन्यासकारले आफ्नो मुखपात्रका रूपमा उभ्याएका छन् । समग्रमा ऊ अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध प्रमुख पुरुष पात्रका रूपमा चित्रित भए पनि उपन्यासमा ऊ त्यति धेरै देखापरेको छैन ।

(५) सुबेदारनी आमा

सिनेमाकी हिरोनीजस्ती सुन्दरी सुबेदारनीको आनीबानी पनि अत्यन्त राम्रो छ । गाउँलेलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने, सरसापट दिएर काम चलाइदिने हुनाले गाउँमा सबैले उनको सम्मान गर्छन् र उसले भनेको पनि सबैले मान्छन् । अन्याय सहन नसक्ने तथा अन्यायमा परेकालाई न्याय दिन पनि अगि सर्ने स्वभाव भएकी सुबेदारनी सङ्गठन गर्न पनि निकै सिपालु छे । समग्रमा उसलाई अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध, सहायक नारी पात्रका रूपमा यस उपन्यासमा चित्रण गरिएको छ ।

(६) लेखलाल

रामलाल र मन्दोदराको छोरो लेखलाल अत्यन्त विसङ्गत परिस्थितिमा बाँचेको पात्रको रूपमा चित्रित छ । नाम लेखलाल भए पनि ऊ लेखपढ गर्न जान्दैन । समग्रमा ऊ अनुकूल, स्थिर, वर्गीय, मञ्च, बद्ध एवं सहायक पुरुष पात्र हो ।

यस उपन्यासमा प्रयुक्त कैजरे, विचारलाल, मुन्ना, रविरत्न प्रमुख सहभागी हुन् भने सुबेदार्नी, केशरे, लेखलाल आदि सहायक सहभागी तथा अन्य गौण सहभागी हुन् । यस उपन्यासमा मुन्ना, रविरत्न, सुबेदार, सुबेदार्नी अनुवूmल सहभागी हुन् भने कैजरे, विचारलाल, मानक मनीष आदि प्रतिकूल सहभागी हुन् । यसमा सबै स्थिर एवं वर्गीय सहभागीका रूपमा चित्रित छन् ।

४. परिवेश

परिवेशसूचक स्थानका दृष्टिले हेर्दा यो उपन्यास भारतको सिक्किम राज्यमा पर्ने रिधाङ बोजेकको सेरोफेरोमा घुमेको छ । रिधाङ बोजेकका प्राकृतिक, सामाजिक, आर्थिक, राजनैतिक आदि पक्षको विस्तृत चित्रण पाइने यस उपन्यासमा सिक्किमका छिमेकी राज्यहरू पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ, सिलिगुडी र विहारअन्तर्गत पर्ने वैशाली जिल्लाका सामाजिक, राजनैतिक परिवेशलाई पनि समेटिएको छ । यसमा एकातिर भौगोलिक, शैक्षिक, सामाजिक, राजनैतिक आदि विभिन्न सन्दर्भबाट दार्जिलिङको प्रशंसा गर्दै त्यहाँको अनुकूल परिवेशको चित्रण गरिएको छ भने अर्कातिर ‘पहाडकी रानी’ दार्जिलिङमाथि मैदानेहरूले गरेका शोषण, अत्याचार आदिको दुखद परिवेश चित्रण पनि अत्यन्त कलात्मक एवं दार्शनिक पाराले गरिएको छ । विहारको सामाजिक एवं प्रतिकूल राजनैतिक परिवेश चित्रित यस उपन्यासमा भारतका विभिन्न राज्यका अतिरिक्त नेपालका झापा क्षेत्रको सामाजिक, सांस्कृतिक परिवेशलाई पनि समेट्ने प्रयास गरिएको छ । यसरी व्यापक परिवेशको चित्रण पाइने यस उपन्यासमा सिक्किममा राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना भएपछिको समय चित्रित छ ।

यस उपन्यासमा वातावरणसूचक सङ्केतकहरू प्रशस्तै छन् । विसङ्गत एवं दुखद वातावरणको प्रस्तुति पाइने यस उपन्यासको प्रारम्भ भागमै भट्टीका माध्यमबाट रिधाङ बोजेकको प्रसङ्ग उल्लेख गरिएकाले कथाको सम्पूर्ण वातावरण विसङ्गत, दुखद एवं त्रासद हुने कुराको सङ्केत पाइन्छ । विचारलाल र कैजरेको अत्याचार बढ्दै जानु, कैजरेले आपैmँद्वारा गर्भवती तुल्याइएका नोकर्नीहरूलाई झुन्ड्याएर आत्महत्याको प्रचार गराउनु, गाउँका सोझानिमुखा जनतामाथि प्रशासनिक शोषण हुनु, चार सन्तानको बाबु हेडमास्टर मानक मनीषचन्दले गुरुमा मनीषासँग बिहे गर्नु, मनीषचन्दको हत्या हुनु, केशरे दमाइको मृत्यु हुनु र राममाया अलपत्र पर्नु, गाउँलेहरू मिलेर कैजरेको हत्या गर्नुजस्ता विविध प्रसङ्गले उपन्यासको वातावरणलाई विसङ्गत, दुखद एवं त्रासद तुल्याएको छ । यसरी परिवेशको व्यापकताका साथ विसङ्गत, दुखद एवं त्रासद वातावरणको प्रस्तुति यस उपन्यासको परिवेशगत प्रवृत्ति हो ।

५. उद्देश्य

राजतन्त्रको समाप्तिपश्चात् जनतन्त्र आएको सिक्किमको सामाजिक, राजनैतिक, प्रशासनिक क्षेत्रमा व्याप्त विविध प्रकारका विकृति, विसङ्गति, अन्याय, शोषण, दुराचारजस्ता प्रतिकूल परिस्थिति एवं अँध्यारा पाटाहरू प्रस्तुत गर्नु यस उपन्यासको उद्देश्य रहेको पाइन्छ । मानिसले एउटा सीमासम्म सहन्छ र सीमा नाघेपछि सोझा निमुखा जनताहरू पनि आफ्नो विवेक बिर्सेर द्रोह गर्न पुग्छन् भन्ने भावाभिव्यक्तिका साथ सिक्किमेली नेपाली समाजमा व्याप्त जातीय विभेद एवं विविध प्रकारका विकृति, विसङ्गति, शोषण, उत्पीडन, अन्याय, अत्याचार दुराचार निर्मूल गर्दै शोषणरहित समतामूलक समाजको चाहना मुखरित गर्नु पनि यस उपन्यासको उद्देश्य रहेको छ ।

६. दृष्टिबिन्दु

तृतीय पुरुष दृष्टिबिन्दु सर्वज्ञ दृष्टिबिन्दुमा संरचित यस उपन्यासमा समाख्याताले नै पात्रका भावना, विचार, अनुभूति, प्रतिव्रिmया आदि प्रस्तुत गरेका छन् । उपन्यासकारले प्रायः तटस्थ रही विश्वसनीय रूपमा घटनावलीलाई प्रस्तुत गर्दै ठाउँठाउँमा सहभागीमार्पmत विविध विषयमा आफ्ना विचार पोखेका छन् । समाजमा व्याप्त शोषणको पराकाष्ठा भएपछि जनमानस द्रोहको स्थितिमा पुग्छ र द्रोह गर्छ भन्ने वर्गसङ्घर्षको दृष्टिकोण यस उपन्यासमा प्रस्तुत भएको छ ।

७. भाषाशैलीय विन्यास

भाषाशैलीय विन्यासका दृष्टिबाट हेर्दा भीम दाहालको द्रोह उपन्यासमा विशेष गरी सिक्किमको ग्रामीण भेगमा बोलिने सरल, सहज र सुबोध नेपाली भाषाको प्रयोग पाइन्छ । कतिपय ठाउँमा मानक नेपाली भाषामा अप्रचलित शब्द पनि प्रयोग गरिएका छन् । यस प्रकारको भाषिक प्रयोगले उपन्यास कतैकतै बोझिलो एवं निरस पनि बन्नपुगेको छ । यसका साथै अनेपाली भाषीले बोल्ने नेपाली भाषामा ती भाषाका उच्चारण र शब्दहरूको प्रभाव देखाएर भाषिक प्रयोगलाई स्वाभाविक र जीवन्त तुल्याइएको छ । यस उपन्यास बिरमाइलो, नेतानी, भनभान, खेतीहार, उखोपात, बेनिसाफ, नठीक, खोकालु आदि नयाँ निर्माण गरिएका शब्दहरूको प्रयोग गरिएको छ । यसप्रकारको कोशीय विचलनयुक्त भाषिकविन्यासले उपन्यासको पठन एवं भाव सम्प्रेषणमा खासै असर पारेको छैन । सुरसा, दुर्वासा, नारद, सूर्यपुत्र कर्ण, धृतराष्ट्र, सञ्जयबयान, हनुमान्जस्ता पौराणिक एवं ऐतिहासिक बिम्बात्मक प्रयोगले भाषालाई आलङ्कारिक बनाउने प्रयास गरिए पनि यसप्रकारको बिम्बात्मक प्रयोगले उपन्यास कतिपय ठाउँमा साधारण पाठकका लागि जटिल र दुरुह पनि बन्नपुगेको छ । विकृत, विसङ्गत परिवेशलाई पनि देखाउनु उपन्यासकारको ध्येय भएकाले यस उपन्यासको भाषिक प्रयोगमा पनि विसङ्गतिको छाप पाइन्छ । समग्रमा विविध प्रकारका बिम्बप्रतीकको प्रयोग गर्दै कथ्य नेपाली भाषाको प्रयोग गर्नु यस उपन्यासको भाषाशैलीय विन्यासगत प्रवृत्ति हो ।

८. उपसंहार

राजतन्त्रको अन्त्य भएर जनतन्त्र आएपछि प्रजातन्त्रोत्तर सिक्किममा व्याप्त विसङ्गति र विवृmतिको सर्वाङ्ग नाङ्गो चित्र खिचिएको द्रोह उपन्यासमा तत्काल व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचारले सीमा पार गरिसकेको प्रसङ्गसमेत चित्रित छ । कथित नेता एवं तिनका आसेपासे र भरौटेहरू मोज गरिरहेका छन् भने जनताचाहिँ झन्झन् दयनीय स्थितिमा गुज्रिरहेका छन् । यहाँ प्रजातन्त्रका नाममा खुलेआम मनपरीतन्त्र मच्चाइँदैछ, राजनीतिलाई चाकरी, चाप्लुसी र गुण्डागर्दीको पर्याय बनाइँदैछ भन्दै तत्कालीन सिक्किममा व्याप्त विवृmति, विसङ्गति र जर्जरतापूर्ण अवस्थालाई यस उपन्यासमा सहज, स्वाभाविक र यथार्थमूलक ढङ्गले प्रस्तुत गरिएको छ । यस उपन्यासलाई तत्कालीन सिक्किमेली जनजीवनको दुर्दशा र पीडा तथा शासक वर्गको उच्छृङ्खलता र अकर्मन्यताको भिडियो एक्सरेका रूपमा लिन सकिन्छ । युगीन सिक्किममा मानवीयता समाप्त भई दानवीयताको प्रादुर्भाव भएको कटुयथार्थको सुन्दर प्रस्तुति नै यस उपन्यासको चुरो वmुरो हो । यहाँका राज्य सञ्चालक, प्रशासक, आदिमा मात्र नभई सामान्य मानिसमा पनि नैतिक संवेदना समाप्त भएको तथ्यलाई प्रस्तुत गरिएको यस उपन्यासमा सामान्य जनताचाहिँ शोषणको पराकाष्ठामा पुगेपछि द्रोही बनेको यथार्थलाई पूरै चिरफार गरी देखाइएको छ ।

यस उपन्यासको शीर्षकका रूपमा प्रयुक्त द्रोह शब्दले प्रतिहिंसा अर्थ बुझाउँछ । सहनुको पनि हद हुन्छ, सीमा हुन्छ, सीमा नाघेपछि व्यक्तिमा प्रतिहिंसाको भावना जागृत हुन्छ र विवेक हराउँछ । यस उपन्यासका सहभागीहरूले प्रतिकूल सहभागी विचारलाल र उसको मतियार कैजरेको अत्याचार सहनुसम्म सहेका छन् तर पार्टीले समेत खलपात्र कैजरेलाई चुनावका लागि टिकट दिएर पुरस्कृत गरेपछि उनीहरूको धैर्यको बाँध टुट्छ, उनीहरू प्रतिहिंसामा उत्रिन्छन् र कैजरेलाई झुन्ड्याइदिन्छन् । यसरी प्रतिहिंसा अर्थात् द्रोहबाट उपन्यासको अन्त्य गरी कथ्यअनुरूप चयन गरिएको प्रस्तुत उपन्यासको शीर्षक द्रोह सार्थक, सामञ्जस्यमूलक र औचित्यपूर्ण देखिन्छ ।

समग्रमा प्रचलितभन्दा बेग्लै ढङ्गको बा≈य संरचनामा पच्चीस भागमा विभाजित तथा आदि, मध्य र अन्त्यको क्रमिक विन्यासमा सङ्गठित द्रोह शीर्षक उपन्यास सामाजिक–राजनैतिक विषयवस्तुमा आधारित विचारमूलक कृति हो । यसमा युगीन सामाजिक–राजनैति जनजीवनसँग मेल खाने खालका विभिन्न सहभागीहरूका माध्यमबाट कथ्यलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ । तत्कालीन सिक्किमको ज्यादै विसङ्गत, दुखद, त्रासदीय एवं विकराल परिस्थितिप्रति चिन्ता प्रकट गर्दै देशभक्तिको भावना व्यक्त गरिएको यो उपन्यास सोद्देश्यमूलक रहेको छ । कथ्य भाषा र वर्णनात्मक शैलीको प्रयोग गरी स्पष्ट विचारका साथ तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित यो उपन्यास प्रगतिवादी कित्ताको उल्लेख्य कृति हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।