14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

हरिप्रसाद भण्डारीको ‘अविरल यात्रा’ मा भेटिने वैचारिक डोबहरू

कृति/समीक्षा डा. मुरारि पराजुली June 7, 2011, 10:03 am

हरिप्रसाद भण्डारी वि.सं.२०१६ सालमा गुल्मीको धुर्कोट, वास्तुमा जन्मिएका हुन् । जनप्रशासन विषयमा स्नातकोत्तर गरेका भण्डारी पेसाले निजामती कर्मचारी हुन् । नेपाली साहित्यको फाँटमा उनी विधागत हिसाबले बढी कथाकारका रूपमा चिनिन्छन् । कथाबाहेक उनले कविता र लेखहरू पनि लेख्ने गर्छन् । सरल भाषामा नेपाली जनताका पीडामर्काको उद्घाटन, सामाजिक विसंगतिको भण्डाफोर, राजनीतिक भ्रष्टाचारको विरोध र समसामयिक घटनामाथि आफ्नोे निजी दृष्टिकोणलाई प्रस्तुत गर्ने उनका कथाको भावभूमि देखिन्छ । सारमा समाजका विकृति–विसंगतिको अन्त्य भई समानता, स्वस्थता र स्वतन्त्रतायुक्त वातावरणको स्थापना होस् भन्ने आकांक्षा भण्डारीका कथाको अन्तर्वस्तु हो, सन्देश हो । मूलरूपमा प्रगतिशील वैचारिक पक्षधरताका गोेरेटामा उनका कथाहरू हिंडेका हुन्छन् ।

नेपाली कथासाहित्यमा पुस्तकाकार कृतिका रूपमा उनको प्रवेश कथासंग्रह चिराग (वि.सं. २०४७) लिएर भएको हो । उनको यो कृति प्रगतिशील चेतनाको आलोकमा घुमेको छ । यस सङ्ग्रहका उनका रचनामा सामाजिक विकृति, अन्याय–अत्याचारको चित्रण र नोकरशाही कर्मचारीतन्त्र माथिको व्यङ्ग्य पाइन्छ । यस कृतिमा उनले बालमनोविज्ञान, वर्गीय द्वन्द्वको स्वरूप, धर्मको आडम्बर, राष्ट्रियताको क्षयीकरण, मानवीय स्वत्वको स्खलन एवं मानवताको खोज आदिलाई विषयका रूपमा चयन गरेका छन् । यसैगरी उनको दोस्रो कृति अस्वीकृत कथाहरू (कथासङ्ग्रह, २०५८) मा पनि देशप्रेम, सिद्धान्त र व्यवहारको तालमेल नमिलेको यथार्थता, मातृममता, भ्रष्टाचारको पोल खोल्ने काम, निम्नवर्गीय जनताको विवशता, अवसरवाद, सामाजिक विडम्बना, राजनीतिक बेइमानी, मानवमूल्यको अधपतन, शारीरिक एषणा आदिलाई अघि सारिएको छ । यी दुवै कथाकृतिले मूल रूपमा प्रगतिशील वैचारिकताको पक्षपोषण गरेका छन् ।

अविरल यात्रा (२०६३) हरिप्रसादको तेस्रो कथासंग्रह हो । यसमा जम्माजम्मी बयासी वटा लघुकथाहरू संगृहित छन् । उनका अघिल्ला कथाहरूलाई प्रचलित कथा (कजयचत कतयचष्भक) का रूपमा हेर्ने हो भने अविरल यात्रा लघुकथासंग्रह (mष्अचय कतयचष्भक) का रूपमा देखापरेको छ । लघुकथा संक्षिप्तताभित्र गम्भीर विषय उठाउने आधुनिक आख्यानशैली हो । विषयको मर्मलाई सूत्रात्मक वर्णनमा खिच्ने काम लघुकथाले गरेको हुन्छ । यान्त्रिक–भौतिक युगमा मानिस हरघडी भागमभागको स्थितिबाट गुज्रिरहेको छ । मनोरञ्जन र बौद्धिकताको खोज गर्न पुस्तक त्यसमा पनि ठूला–ठूला ग्रन्थ र रचना पढ्न अहिलेको मान्छेलाई फुर्सदको अभाव भएको छ । सारा कुराहरू विद्युतीय सामग्रीबाट प्राप्त भइरहेको अवस्थामा कथाहरूको स्थूल संरचनाबाट पनि मान्छे भागिरहेको स्थिति छ । यस्तो पाठकीय परिवेशमा लघुकथाहरू लोकप्रिय हुनु स्वाभाविक हो । धेरै बेर लगाएर निधार खुम्च्याई–खुम्च्याई लामा कथाहरू पढिदिने अधिकतर पाठक पाउनु गाह«ो छ । यसैले संक्षिप्तमा एक नजर लगाईसक्दा पढेर सकिने रचनाको खोज अहिलेका पाठकहरूले गरिरहेका हुन्छन् । यसैले पनि यतिखेर साहित्यको बजारमा लघुकथाहरू सबैभन्दा बढी प्रिय विधाका रूपमा लोकप्रिय हुँदै गएका छन् । चटनीको जस्तो ट्वाक्क स्वाद दिने यस्ता शैलीका कथा लेख्ने कथाकारका रूपमा हरिप्रसादले पनि आफ्नो पहिचान कायम गरेका छन् । तुलनात्मक हिसाबले साङ्गोपाङ्गो उनको कथायात्रामा उनी पछिल्लोपल्टको कथासंग्रहमा आइपुग्दा बढी जमेका देखिन्छन् ।

अविरल यात्राभित्र उनले साहित्यिक क्षेत्रमा देखापरेको विकृति र लेखकहरूको दुरवस्थाको चित्रण गरेका छन् । राष्ट्रका निम्ति जीवनभर साहित्य र संस्कृतिका निम्ति समर्पित व्यक्तिहरूको जीवन गरिबीले पिल्सिएको हुन्छ । खान, लगाउन र उपचारमात्र गर्न पाउने सामान्य आधारभूत आवश्यकता पनि पूरा नभएको मुलुकमा लेखकहरूको दुरवस्थाले कथाकार भावुक देखिन्छन् । अरुका स्वार्थका निम्ति निर्मूल्य दलिने साहित्यकारहरूको पीडाले उनलाई पोलेको छ । राष्ट्रका निधिहरूको गरिबीले उनी अतालिएका छन् । असली साहित्य जहिले पनि मिहिनेत र व्यावहारिक जीवनबाट फल्ने फुल्ने उनको निचोड छ । कथाकारले टपरटुइयाँ लेखकहरूको प्रवृत्तिलाई पनि उजागर गरिदिने काम गरेका छन् ।

कथाकार प्रशासनिक क्षेत्रका कर्मचारी भएकाले उनका कथाको कच्चावस्तु यो क्षेत्र पनि भएको छ । प्रशासनिक क्षेत्र जाँडको आहालमा डुबिरहेको र त्यसको धङधङीमा सुर गुमाइरहेको दृश्यलाई उनले आफ्नो औधी रमाइलोसित उतारेका छन् । यसभित्र घुस्याहा कर्मचारीको मनोदशा कस्तो हुन्छ भन्ने यथार्थताको पनि उनले खोजी गरेका छन् । हाम्रो प्रशासनमा राजनीतिक आस्थाका आधारमा पूर्वाग्रहपूर्ण व्यवहार गर्ने भेदभाववादी नीति र प्रतिशोधपूर्ण व्यवहारलाई कथाकारले अगाडि सारेका छन् । प्रशासनयन्त्रमा देखापरेको चाकरीको वृत्तान्त पनि यस संग्रहमा आएको छ । न्यायालयको ढिलासुस्तीले महँगो भइरहेको फैसलालाई कथाकारले आकर्षक ढंगले प्रस्तुत गरेका छन् ।

विडम्बनापूर्ण प्रवृत्ति र परिणामको औधि कुतूहलता उमार्नमा पनि कथाकार भण्डारी कुशल देखिएका छन् । दुराचारीहरूले भोग्नुपर्ने परिणामको एउटा प्रसङ्गमा उनले सधैंजसो यौनक्रियाका लागि वेश्यालय जाने पुरुषले एकदिन आफ्नै छोरी आफ्ना सम्मुखमा आइपुगेको विडम्बनालाई घतलाग्दो पाराले प्रस्तुत गरेका छन् । निम्नवर्गीय जनतालाई उपचार गर्न अन्कनाउने चिकित्सकहरूको प्रवृत्तिलाई अगाडि सार्दै एक घटनामा एउटा रिक्सावालाले एक दुर्घटित बालकलाई उपचार गरिदिन आग्रह गरेको तर डाक्टरले उसको कुरालाई बेवास्ता गर्दा अन्ततः त्यो बालक मर्न पुगेको र मरेको उक्त बालक सोही डाक्टरको छोरो भएको मार्मिक कथा कथाकारले बुनेका छन् । विडम्बनाको सन्दर्भमा एकातिर शान्तिको भाषण पनि गर्ने अर्कातिर निहत्था जनतालाई गोली ठोक्न आदेश पनि दिने सरकारी विडम्बनाप्रति पनि उनले धज्जी उडाउने काम गरेका छन् । समाजमा अनावश्यक ठस्सा प्रस्तुत गर्दै ठूलो–ठूलो स्वरमा आफ्नो टेलिभिजनमा चोरीडकैतीका सिनेमा हेर्ने परिवारले अन्ततः साँच्चिकै डाँकाहरू आएर हारगुहार गर्दा हो न हो टेलिभिजनकै कार्यक्रम होला भनेर गाउँलेले वास्ता नगर्दा अर्को दिन साँच्चै नै त्यहाँ चोरी हुन पुगेको विडम्बनापूर्ण घटना घटित हुन पुग्दछ ।

राजनीतिक विसंगति र विकृतिमाथि पनि कथाकारको कलम चलेको छ । भ्रष्टाचारी नेतृत्व, सिद्धान्त र व्यवहारमा देखापरेको अमेल, क्रान्तिकारिताभित्र देखापरेको भुत्तेपन आदिलाई यस कथासंग्रहमा उठाइएको छ । प्रजातन्त्रका नाममा संसदीय चुनावमा हुने धाँधलीको स्वरूपलाई कथाकारले प्रस्तुत गरेका छन् । उनले मुलुकमा सामन्तवादको त्रास रहिरहेको तर यसलाई ध्वस्त पार्न नेतृत्वशक्ति नालायक भएको अनुभव गरेका छन् । कम्युनिस्ट आन्दोलनमा देखापरेको अवसरवादबाट पनि उनी दिक्क छन् । राजनीतिको यही अवसरवादिता र पंगुपनबाट सिर्जित महाकालीसन्धिको प्रसङ्गले उनलाई व्यथित तुल्याएको छ । पटकपटक राजनीतिक परिवर्तन भए पनि सामाजिक र सांस्कृतिक क्षेत्रमा रूपान्तरण हुन नसकेको कुराले लेखक चिन्तित देखिन्छन् । राजनीतिमा देखापरेको यो उदासिनताका बाबजुद पनि मुलुक परिवर्तनको सम्भावनातिर लागेको आशालाग्दो दृश्य भने उनले दोस्रो जनान्दोलनको पूर्वसन्ध्यामा पनि अनुभव गर्न पुगेका छन् । उनले राजतन्त्रविरोधी आन्दोलनका पूर्व धर्साधर्सीहरूलाई देखाउँदै जनआन्दोलनपछि राजतन्त्रको विरुद्धमा उठिरहेको जनलहरलाई पनि प्रस्तुत गरेका छन् । आन्दोलनका बेला पशुहरूलाई रङ्गाएर निरङ्कुशताको विरोध गर्ने शैलीको प्रसङ्गलाई समेत यसमा ल्याइएको छ ।

भण्डारीका लघुकथामा बाह«वर्षे माओवादी द्वन्द्व पनि विषय भएर आएको छ । माओवादी दमनका नाममा सर्वसाधारण जनताले भोग्नुपरेको कष्टलाई उनले अगाडि सारेका छन् । सामान्यतया लगाउने खाने जस्ता कुरामा पनि त्यतिखेरको सत्ताले प्रतिबन्ध लगाउने गरेको अमानवीय र अनौठो व्यवस्थाको कथाकारले चित्रण गरेका छन् । द्वन्द्वका बेला मान्छेका आकांक्षामाथिको बन्देज झन् भयानक खालको थियो । कथाकारले द्वन्द्व मच्चाउनेहरूका छद्मभेषी रूपको मुखुण्डो उतार्ने काम पनि संग्रहभित्र गरेका छन् ।

भण्डारीले सामाजिक अन्धविश्वास र ईश्वरवादको पनि गुह्यता खोल्ने काम गरेका छन् । , हाम्रोजस्तो अधिकांश निरक्षर जनता भएको मुलुकमा अन्धविश्वासले वास्तविक जीवनमा पार्ने नकारात्मक असरलाई यसमा प्रस्तुत गरिएको छ । समाजमा विद्यमान अन्धविश्वासी व्रतादि र अन्यखाले रुढिवादी कुरामाथि कथाकारले व्यङ्ग्य कसेका छन् । भगवान्भक्तिको स्वाङ गर्ने तर मूर्तिहरूको बेचबिखन गर्ने तस्करको भण्डाफोर गर्न पनि कथाकार चुकेका छैनन् । सबैभन्दा ठूलो कुरो त देवताले मान्छेलाई नजन्माएर मान्छेले देवतालाई कसरी जन्मायो भन्ने कुरालाई उनले चित्तबुझ्दो पाराले अघि सार्ने काम गरेका छन् ।

नेपाली राजतन्त्र अवसान उन्मुख भइरहेको अनुभव कथाकारले गरेका छन् । मान्छेले आफ्नो विनाशको खाडल आफैले खनेको हुन्छ । नेपाली राजतन्त्रको अवस्था पनि त्यही खालको भएको उनको ठहर छ । एकाइसौं शताब्दीमा पनि मध्युयुगीन रहर पालेर प्रतिगमनको खेतीमा ओह्र्लेका राजा ज्ञानेन्द्रका अविवेकी हठहरू यसमा चित्रित छन् । जनआन्दोलनका घाइते र अपाङ्ग हुन पुगेकाहरूको दुर्दशाले कथाकार मर्माहत भएका छन् ।

अर्धसामन्ती तथा अर्धपुँजीवादी हाम्रो समाजमा मालिकहरूले मजदुरमाथि गर्ने शोषण र दमन देखेर लेखकमा आक्रोश उठेको छ । निजीकरणबाट उत्पन्न शैक्षिक क्षेत्रको विकृतिले उनलाई रन्थनाएको छ । जँड्याहाहरू जाँड छोड्न चाहन्छन् तर तिनीहरूको सङ्कल्प कति कमजोर हुन्छ भन्ने वास्तविकतालाई उनले हास्य र व्यङ्ग्यको मिश्रणबाट प्रस्तुत गरेका छन् । कुरो नबुझी बढी जान्ने हुनुपर्ने नेपाली प्रवृत्तिबाट छक्क कथाकार यस्ता प्रवृत्तिमाथि व्यङ्ग्य कस्न विलम्ब गर्दैनन् । हरेक मान्छेले आ–आफ्नै खालका रन्का लिएर हिंड्ने सामान्य जीवनको मर्मलाई पनि खोतल्ने काम कथाकारले गरेका छन् । परिस्थितिका अगाडि पराजित मान्छेको मनोदशा कतिसम्म लाचार र समर्पणकारी हुन्छ, कथाकारले निकै आकर्षक ढङ्गले प्रस्तुत गरेका छन् । पैसाले अवमूल्यन गदै गएको मानवीय नातासम्बन्ध र व्यक्तिवादी समाजको निर्दयतालाई नाङ्गेझार पार्ने काम उनबाट भएको छ । सामन्ती समाजमा खराब विचारहरूले कसरी पकड पाउँछन् र असल विश्वासहरू कसरी ओझेल पर्छन् त्यसको तीतो अनुभूति लेखकमा पाइन्छ । जस्तालाई तस्तै व्यवहार गर्नु पर्ने उनको सन्देश रहेको छ । नराम्रो गरेको परिणाम नराम्रै हुने सन्देश पनि यस संग्रहमा पाइन्छ । मिहिनेत गर्नेहरू नै पछि पर्नुपर्ने सामाजिक अव्यवस्थाबाट उनी साह«ै चिन्तित छन् । गैरसरकारी सस्ंथाहरूले विकासको नाममा गरिरहेको डलरखेतीबाट कथाकार आजित भएका छन् । दुःखमा परेकालाई सम्झाउन जति सजिलो छ आफैलाई पर्दा सम्झिन भने त्यत्तिकै गाह«ो हुने कुरालाई उनले घतलाग्दो पाराले प्रस्तुत गरेका छन् । मान्छेमा बढेको कृत्रिमताको मोह, निर्दयताप्रति उनी दुःखित छन् । सहरमा बढिरहेको फोहोरप्रति व्यङ्ग्य गर्न उनले छाडेका छैनन् । द्रव्यमोहले छटपट समाजलाई उनले व्यङ्ग्य प्रहार गरेका छन् । चिकित्साक्षेत्रमा बढेको भ्रष्टाचार र बनियापनले उनी मुर्मुरिएका छन् । गरिब देशमा देखापरेको पुँजीवादी नक्कल देखेर उनलाई सिकसिको लागेको छ ।

भण्डारीका कथामा आउने पात्रहरूमा समाजका बहुविध चरित्रहरू उपस्थित छन् । उनले कतै साहित्यकारलाई पात्रका रूपमा निम्त्याएका छन् भने कतै साधारण मिहिनेती किसान–मजदुरलाई डाकेका छन् कतै दृढ प्रतिज्ञ र कतै हुतिहाराहरू पनि उनका कथामा चरित्र भएर आएका छन् । सामाजिक दुराचारी, शैक्षिक क्षेत्रका ठग, जाँडमा भुल्ने प्रशासक, अन्धविश्वासी, लालची, भ्रष्ट राजनीतिज्ञ, आडम्बरी समाजसेवी, घुस्याहा कर्मचारी, ढोंगी धार्मिक चरित्र, पक्षपाती मन्त्री, तथाकथित् बुझक्कड, जँड्याहा, दमनकारी पुलिसगण, क्रान्तिकारिताका खोल ओढेका अवसरवादीहरू, द्वन्द्वका बेला व्यक्तिगत फाइदा लिने स्वार्थीहरू, एउटै परिवारभित्रका बदमासहरू आदि खलचरित्र भण्डारीका कथामा उपस्थित देखिन्छन् । त्यस्तै परिवर्तनकारी जनताहरू, क्रान्तिकारीहरू, शिक्षकहरू आदिलाई पनि उनले चरित्रका रूपमा कथामा उतारेका छन् । भण्डारीले मानवीय साथसाथै मानवेतर पात्रहरूलाई पनि चरित्रका रूपमा ल्याएका छन् । समग्रमा वर्गीय हिसाबले शोषक र शोषित, नैतिकताका हिसाबले भ्रष्ट र इमान्दार, शासनका हिसाबले शासक र शासित, ध्रुवीयताका हिसाबले नायक र खलनायक, गतिका हिसाबले स्थिर र परिवर्तनशील, प्रवृत्तिका हिसाबले सज्जन र दुर्जन, धारणाका हिसाबले पुरातन र आधुनिक, श्रमका हिसाबले मिहिनेती र कामचोर, परिस्थितिका हिसाबले अनुकूल र प्रतिकूल सबै खाले चरित्रलाई उनले कथामा प्रस्तुत गरेका छन् ।

पैसाका लागि मरिहत्ते गर्ने र दुःखी–असहायलाई मानवीय व्यवहार नगर्ने डाक्टरी पेसाका मान्छेलाई चेतना दिलाउने परिवेश मिलाउन आफ्नै सन्तान असहाय रूपमा मारिएको परिस्थिति उनले आकर्षक ढङ्गले खडा गरेका छन् । अर्काका छोरी बुहारीमाथि पैसाका बलले आँखा लगाउनेलाईु आफ्नै छोरीसित वेश्यालयमा अकस्मात यौनकार्यका निम्ति भेट हुन पुग्ने परिवेश पत्यारिलो ढङ्गले उनले प्रस्तुत गरेका छन् । कतिपय कथामा परिवेशको चित्तबुझ्दो समायोजन गर्न नसके पनि अक्सर धेरै कथामा यसको संयोजन उनले ठीकसित मिलाएका छन् ।

उनका कथाहरूमा प्रायः समानतामुखी, चेतनशील, वैज्ञानिक, सत्चारित्रिक, प्रगतिशील, गणतान्त्रिक समाजनिर्माणको सन्देश पाइन्छ । देशभक्ति, इमान्दारिता, श्रमको सम्मान, मानवीयता, न्यायपूर्ण विधिको आकांक्षा पनि उनका कथाले आग्रह गर्ने सूचनाहरू हुन् । आर्थिक शोषणको विरोध, अन्यायपूर्ण व्यवहारप्रतिको आक्रोश, परिवर्तनका लागि विद्रोह, नयाँ र समुन्नत नयाँ नेपालको आकांक्षा उनका कथाले गरेका छन् । उनका एकाध कथामा प्रगतिशील विचारइतर विषयको छिटफुट रन्को महसुस गर्न सकिए पनि सोलोडोलो प्रगत्योन्मुख उनको यात्रालाई व्यवधान पार्ने विषय तिनमा भेटिदैन । प्रगतिशीलताको एउटै सरलरेखामा साङ्गोपाङ्गो कथाकारिता प्रवाहित नभए पनि सघनता प्रगतिशील विचारकै पाइन्छ । विचारमा प्रस्टता ग्रहण गर्ने सवालमा प्रगतिशील चेतनाको एकध्रुवीय बहावको ठहरता उनमा अझै देखिंदैन । यति भएर पनि उनका कथाले सारमा जनजिन्दगीको उच्चताका निम्ति योगदान पुर्याउने कुरामा सन्देह छैन । व्यङ्ग्यका सुइरा र विसंगतिमाथिको उनको प्रहार तारिफयोग्य छ । शैलीगत हिसाबले विगतका तुलनामा अविरल यात्राका कथाहरु अलि परिष्कृत र आकर्षक लाग्दा छन् । सरल र बोधगम्य भाषाको प्रयोग तथा ठाउँठाउँमा कलापूर्ण बिम्बात्मक भाषा अगाडि सार्र्नमा उनी सफल देखिन्छन् । यति भईकन पनि परिष्कार र गहन चिन्तनको गम्भीरता उनका कथालाई माथि उठ्ने थप सिढीहरू हुन सक्छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।